२९ पुस, काठमाडौं । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा स्थानीय २४ वर्षीय राजेश राजवंशी छन् ।
झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरुले २२ पुसमा राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् ।
अनुसन्धान अधिकारीहरुका अनुसार उनीहरु भद्रपुर–४, भगवती टोलमा हेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार गरेका थिए । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’
त्यसबीच अर्की एक किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् ।
फरार रहेका राजवंशीको पनि खोजी भइरहेको छ भने पक्राउ परेका लिम्बुमाथि करणी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4