१४ माघ, काठमाडौं । सडक विभागले कलंकी-सातदोबाटो-कोटेश्वर खण्डमा भएका त्रुटीहरुको तत्कालै अध्ययन सुरु गर्ने भएको छ । चीन सरकारले हस्तान्तरण गर्नासाथै सडकमा यो खण्डमा भएका त्रुटीहरु सच्याउने गरी अध्ययन सुरु गर्ने योजना बनाइएको हो ।
सोमबारमात्रै चीन सरकारले यो खण्ड विस्तारको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
विभागमा महानिर्देशक रवीन्द्र श्रेष्ठका अनुसार अब सडकमा चीन सरकारले काम बन्द गरेकाले आवश्यक स्थानमा पूर्वाधार थप्ने र गल्ती भएका स्थानमा सच्याउने काम अघि बढाइने बताए ।
‘यो खण्डमा सवारी तथा यात्रु सुरक्षाका सवालहरु उठेका छन्,’ श्रेष्ठले भने,’महानगरीय ट्राफिक प्रहरी महाशाखासँग छलफल गरेर तत्कालै ट्राफिक सुरक्षाका पक्षमा सुधारका लागि के-के गर्न सकिन्छ भनेर जानकारी लिन्छौं ।’
ट्राफिक प्रहरीको सुझाव अनुसार पहिलो चरणमा थप गर्नुपर्ने पूर्वाधारहरुमा ध्यान दिइने श्रेष्ठले बताए । उनले आवश्यक स्थानहरुमा जेब्रा क्रसिङ राख्ने, डिभाइडर राख्ने वा हटाउने लगायत सडकलाई सुरक्षित बनाउन के-के गर्न सकिन्छ भनेर काम हुने उनले बताए ।
‘यो सडकमा प्रतिघन्टा सय किलोमिटरसम्मको गतिमा गाडी दौडने रहेछन्, यसले गर्दा यो अरु खण्डमा पुग्ने चोकहरुमा जाम धेरै बढेको छ, दुर्घटनाको सम्भावना पनि वृद्धि भएको छ,’ श्रेष्ठले भने,’अब सवारीलाई ४० किलोमिटर प्रतिघण्टाभन्दा माथि चलाउन नदिने गरी ट्राफिकसँग मिलेर आवश्यक प्रयत्न गर्छौं ।’
महानिर्देशक श्रेष्ठ अध्ययन नगरी मर्मतका लागि सडक नभत्काइने बताउँछन् । उनले अध्ययनका लागि एउटा प्राविधिक समिति बनाउने र त्यसले दिने रिर्पोटका आधारमा भौतिक पूर्वाधार थप-घटका लागि प्रयत्न हुने हुनेको भनाइ छ । यो सडकको बीचमा मेडियन राख्नुपर्ने पक्षामा विभाग पनि छ ।
के-के भए त्रुटी ?
चक्रपथको कलंकी-सातदोबाटो-काटेश्वर खण्ड जोखिमयुक्त बनेको छ । पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । त्यसैले सडकको वारपार हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं मान्छे सडक वारपार गर्दैछन् ।
कोटश्वर, ग्वार्की, सातदोबेाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्रै जेब्रा क्रसिङ छ । बाटो काट्ने यात्रुको चाप हेरेर विभिन्न स्थानमा जेब्रा क्रसिङ थप्नैपर्ने आवश्यकता छ ।
हाल आयोजना अन्तरगत चीन सरकारको सहयोगमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् । मुख्य चोकहरुमै आकाशे पुल नभएपछि यो सडकमा बाटो काट्नु नै जोखिम पूर्ण छ । अन्य ६ स्थानमा आकाशे पुल निर्माणको योजना त बनेको छ, तर कहिले बनिसकेर सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ ।
विभागका महानिर्देशक श्रेष्ठ डिजाइनमै त्रुटी हुँदा यस्तो समस्याहरु आएको स्वीर्काछन् । चक्रपथ शहरी सडक भएपनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिएको छ ।
चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल यो सडक नबनेको पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु बताउँछन् ।
एक्प्रेश-वेको शैलीमा डिजाइन गरिँदा यो सडक निकै अवैज्ञानिक भएको विज्ञ बताउँछन् । सडकममा बीचका ४ लेनमा ५० कलिोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ । यो सहरी सडकमा अत्याधिक गति हो । सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ ।
सडकका विभिन्न चोकमा सवारीलाई क्रसिङहरु दिन कुनै पूर्वाधारहरु बनाइएका छैनन् । जसले गर्दा क्रस लिन सवारीहरुलाई पनि ठूलौ जोखिम उठाउनुपर्छ । कतिपय स्थानमा त विकल्पहरु पनि छैनन् । सडक पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ ।
सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ । २-२ वटा स्पीड लनेहरु छुट्टनिे सडकका बीच भागमा ‘मिडियन’हरु राखिएका छैनन् । जसले गर्दा दुईतर्फको लाइट जुधेर दुर्घटनाको जोखिम उच्च हुन्छ ।
यसैका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बला दुर्घटना गराउने जोखिम उच्च छ । रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरुलाई बेवास्ता गरिएको छ ।
नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ । झन चक्रपथ फराकिलो हुँदा चालकहरुमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम उच्च भएको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।
मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाव पर्छ । बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्को लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो । तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्न कम्ती सास्ती र जोखिमयुक्त छैन ।
चक्रपथमा दैनिक हजारौं यात्रुले हाल जोखिम मोलेर सडक क्रस गरिरहेका छन् । यसका कारण चक्रपथ सवारी दुर्घटनाको ‘ब्ल्याक स्पट’ बन्ने खतरा बढेको हाछेथु बताउँछन् ।
विभागका महानिर्देशक श्रेष्ठ पनि बल्खुदेखि कलंकीसम्मको सर्भिस ट्रयाक बनाउने कामसँगै सडकलाई सुरक्षित बनाउने गरी थप कामहरु अघि बढाइहाल्ने बताउँछन् । उनले विस्तारित खण्डलाई सुरक्षित बनाउन विभागले गर्नुपर्ने कामहरुमा सम्झौता नगर्ने बताए ।
प्रतिक्रिया 4