
१६ माघ, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।
उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरे ।
थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाए । उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।
राजदूत यान्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास जनाइन् ।
उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत जनाइन् । भेटमा राजदूत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिइन् ।
प्रतिक्रिया 4