+
+

बालिका हत्या प्रकरण : गरिब परिवारलाई सरकारले नहेरेको गुनासो

हरि अधिकारी हरि अधिकारी
२०७५ माघ १६ गते १८:२२

१६ माघ, विराटनगर । शनिबार साँझ सम्पर्कविहीन भएकी विराटनगर ८ बलुवाहीकी ११ बर्षीया रुपमती दासको शव आइतबार बिहान सिंघिया खोला किनारमा भेटियो । खोला किनार नजिकै घर भएकी बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीको निश्कर्ष छ ।

बालिकाको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ चिकित्सकको टोलीले गरेको छ । प्रहरीले हत्यामा संलग्नको आशंकामा आइतबार र सोमबार गरी १० जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये केही छुटेका छन् ।

बालिकाको शव भेटिएपछि मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान गरेको छ । गत शनिबार छिमेकी मोहमद नेमाको घरमा टिभी हेर्न गएकी दासको शव सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो ।

शव भेटिएको स्थान विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सीमा क्षेत्रमा पर्छ । दुबैतर्फ बस्ती पातलो छ ।

प्रदेश सरकारले वास्ता नगरेको गुनासो

घटना भएको शहर विराटनगर स्थानीय सरकार र प्रदेश सरकार छ । मृतक बालिकाको परिवार विराटेश्वर वृद्धा आश्रमको अगाडि सिंघिया खोला किनारमा बस्दै आएको छ । सामान्य झुपडीमा बसेर ज्याला मजदुरीमार्फत चलेको परिवारमा विपत्ति पर्दा सरकारले सहानुभूतिसम्म नदिएको उनीहरुको गुनासो छ ।

प्रदेश सरकारले पीडित परिवारप्रति समवेदना पनि प्रकट गरेको छैन । ‘प्रदेश सरकार र स्थानीय सरकारले केही गरेको छैन’ स्थानीय युवा मोहमद नसरुल भन्छन् ‘विपन्न परिवार भएर होला ।’

गत पुस २७ गते मोवाइलको ब्याट्री पड्किएर ११ बर्षका अमित साहको मृत्यु हुदा प्रदेश १ सरकारले मृतक परिवारलाई एक लाख रुपैया सहयोग गर्‍यो । बलात्कारपछि हत्या भएको अनुमान गरिएको घटनामा भने प्रदेश सरकारले सहानुभूति देखाएको छैन ।

मन्त्री भन्छन् : पोस्टमार्टम रिपोर्ट आओस्  

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की शोकमा रहेको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले पोस्टमार्टम रिपोर्ट आएपछि प्रदेश सरकारले पीडित परिवारलाई सहयोग गर्ने बताए ।

‘पोस्टमार्टम रिपोर्ट आएपछी हामी हेर्छाै’ उनी भन्छन् ‘प्रहरीलाई अनुसन्धानमा कुनै कसर बाँकी नराख्नुहोस भनेको छु ।’ सामान्य मृत्यु हुन नसक्ने बताउदै मन्त्री कार्कीले पोस्टमार्टम रिपोर्ट आएपछि प्रदेश सरकारले केही गर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?