
५ फागुन, काठमाडौं । औषधि व्यवस्था विभाग (डीडीए)का महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको छ । ढकालले नियम मिचेर राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुख नियुक्त गरेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
ढकालले गत पुस ३० गते सिनियर डिभिजनल केमिष्ट शैलेस कुमार झालाई राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा निमित्त प्रमुख नियुक्त गरेका थिए । निमित्त प्रमुख झालाई प्रयोगशालाको आर्थिक र प्रशासनिक अधिकारसमेत दिइएको छ । तर, निमित्तको जिम्मेवारीमा भएकालाई सामान्यतया आर्थिक अधिकार दिइँदैन ।
‘एघारौं तहको निर्णय नेपाल सरकारबाट हुनुपर्नेमा पदीय अधिकारको दुरुपयोग गरी औषधि प्रयोगशालामा नियुक्ति दिएकोबारे के हो भनेर पत्र काटेका छौं,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘शुक्रबार पत्र काटेका थियौं, आइतबार पत्र बुझेको जानकारीसहितको कागज विभागबाट मन्त्रालय आइपुगेको छ ।’
समान तहको कर्मचारी, समान तहमा नियुक्ति !
विभागका महानिर्देशक ढकाल आफैं ११ औं तहका कर्मचारी हुन् । उनले ११ औं तहकै निमित्त प्रमुखमा झालाई नियुक्त गरेका छन् । समान तहको कर्मचारीले समान तहमै नियुक्त गर्न मिल्दैन । त्यसैले ढकालले पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

व्यवस्थापन महाशाखाले वरिष्ठताका आधारमा निमित्त प्रमुख तोक्न मन्त्रालय समक्ष सिफारिस गर्ने भनेको थियो, तर मन्त्रालयमा सिफारिस नगरी ढकाल आफैंले निमित्त प्रमुख नियुक्त गरेका छन् । ‘व्यवस्थापन महाशाखाको राय विपरीत र सेवा समूह विपरीत निमित्त प्रमुख पहिलोपटक नियुक्त गरिएको छ,’ विभागका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यो गम्भीर लापरवाहीमात्र होइन, अख्तियारको दुरुपयोग पनि हो ।’
झा स्वास्थ्य सेवाको नभई इन्जिनियरिङ सेवाको कर्मचारी भएकाले सेवासमूह विपरितको व्यक्ति नियुक्त गरिएको कर्मचारीहरुको आरोप छ । यसअघि स्वास्थ्य मन्त्रालयले फार्मेसी समूहबाट प्रयोगशालाको प्रमुख तोक्ने गरेको थियो । भावराज भण्डारी, तिर्थराज शाक्य, मोहन अमात्य लगायत त्यसका उदाहरण हुन् ।
विभागका महानिर्देशक ढकालले भने आफूले कानुनी अधिकारअनुसार नै झालाई निमित्त प्रमुख नियुक्त गरेको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘माथिल्लो तहको कर्मचारी नभए स्वतः तलको कर्मचारी तत्काल निमित्त भई काम गर्ने व्यवस्था छ, यो नियमअनुसार नै भएको नियुक्ति हो ।’
प्रतिक्रिया 4