+
+

राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण तय, राष्ट्रसंघीय कार्यक्रमलाई सम्वोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १३:४१
Photo Credit : अनलाइनखबर फाइल

१५ फागुन, न्युयोर्क । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा यसपटक नेपालको शीर्ष सहभागिता हुने भएको छ । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क आउने तय भएको हो ।

न्युयोर्कस्थित नेपाली नियोगले राष्ट्रपतिको भ्रमणको तयारी तीब्र बनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी करिब दुई सातादेखि अमेरिकामै छन् । राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसँग अधिकारीले राष्ट्रपतिको भ्रमणको तयारीबारे छलफल गरेका छन् ।

मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३ औं सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले पुष्टि गरे । अन्य कार्यक्रम भने परराष्ट्र मन्त्रालयले तय गर्ने उनले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभाबाट फर्किएपछि राष्ट्रपतिको भ्रमण कार्यक्रम तय हुने स्रोतले जनाएको छ । राष्ट्रपतिसँग महिला वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत भ्रमण दलमा सामेल हुनेछन् ।

संयुक्त राष्ट्रसंघको स्थापनासँगै अस्थितवमा आएको महिला अधिकार र लैंगिक समानतासम्बन्धी यो संस्थाको कार्यक्रममा नेपालको सबैभन्दा उच्चस्तरीय संलग्नता यो पहिलोपटक हो । सम्मेलनमा राष्ट्रसंघका सदस्य मुलुकका प्रतिनिधि र गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरी करीव ५ हजार जना सहभागी हुनेछन् ।

सीडब्लुएसको ६३ औं सेसनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने दूतावास स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?