+
+

मोदीले आफ्नो नाम अगाडि थपे चौकीदार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १३:२३

३ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो ट्विटर ह्यान्डलमा आफ्नो नाम फेरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका छन् । आफूलाई देशको चौकिदार बताउने गरेका मोदीले चुनाव नजिकिँदै गर्दा नयाँ फन्डा निकालेका हुन् ।

मोदीसँग भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले ट्विटर ह्यान्डलमा आफ्नो नाम ‘चौकीदार अमित शाह’ राख्दै भनेका छन्, ‘जसले स्वच्छतालाई संस्कार बनायो, उही चौकीदार हो ।’

यसअगाडि लोकसभा चुनावलाई मध्यनजर गरेर भाजपाले चुनाव प्रचारलाई गति दिने क्रममा ‘मै भी चौकीदार’ अभियान सुरु गरेको थियो । प्रधानमन्त्री मोदीले शनिबार आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो जारी गर्दै यो अभियानको सुरुवात गरेका थिए । उनले ३ मिनेट ४५ सेकेन्डको भिडियोसहितको ट्विटमा भनेका छन्, ‘तपाईंको यो चौकिदार राष्ट्रको सेवामा बलियोसँग उभिएको छ, तर म एक्लो छैन ।’

मोदीले भनेका छन् कि भारतको प्रगतिको लागि कठिन परिश्रम गरिरहेका सबै व्यक्ति चौकिदार हुन् । उनले विगतदेखि नै आफूलाई चौकीदार भन्ने गरेका छन् ।

मोदी भन्ने गर्छन्, ‘म देशको यस्तो चौकीदार हुँ जसले भ्रष्टाचारलाई अनुमति दिँदैन र आफूले पनि भ्रष्टाचार गर्दैन ।’

मोदीको यस भनाइलाई व्यंग्य गर्दा आम आदमी पार्टीकी एक सांसदले गत साता नेपालीलाई समेत मुछेर स्टाटस लेखेकी थिइन् ।

‘हामीलाई देश हाँक्ने नेता चाहिएको हो, चौकिदार त हामी नेपालबाटै ल्याउन सक्छौं,’ उनले ट्विटरमा लेखेकी थिइन् । यसमा नेपालीहरुले तीव्र आलोचना गरेपछि उनले सो ट्विट हटाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?