
११ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमामा व्यवसायिक र ‘स्मार्ट’ बाख्रापालन सुरु हुने भएको छ ।
प्रदेश ५ सरकारले कृषि र पशुजन्य उत्पादन दोब्बर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही २ (क) को तिलोत्तमा नगरपालिका-६ स्थित पश्चिम पहुनी गाउँ बाख्रापालनका लागि छनोट भएको हो ।
बाख्रा मात्रै पाल्ने गरी स्मार्ट कृषि गाउँका लागि छनोट भएको यो पहिलो गाउँ बनेको छ । यहाँका ५३ घरधुरीबाट सबैको सामुहिक सहभागितामा पश्चिम पहुनी बाख्रापालन समूह गठन गरी यही आर्थिक वर्षभित्रै बाख्रापालन सुरु हुने छ ।
प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यान्वयनका लागि ५० लाख रुपैयाँ प्रदान गर्नेछ भने गाउँका ५३ परिवारले ५० हजारका दरले शेयर लगानी गर्नेछन् ।
बाख्रापालनका लागि खोर बनाउन, घाँस लगाउन स्थानीय सत्यजित आधारभूत विद्यालयको साढे २ बिघा जग्गा १५ वर्षका लागि समूहले लिजमा लिएको छ । यहाँ उन्नत जातका बाख्रा पालनसंगै नश्न सुधार केन्द्र पनि स्थापना गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष देवीप्रसाद भुसालले बताए ।
अहिले यो गाउँमा स्थानीय जातका ५०० बाख्रापालन भइरहेको छ । सुरुमा पांचसय बाख्रा पालनबाट सुरु गरी अर्को वर्ष दुई हजार र ५ वर्षभित्र १५ हजार बाख्रा पुर्याइने भुसालले बताए ।
हाल यो गाउँका ५३ वटै परिवारले कम्तीमा ३-४ वटा बाख्रा पाल्दै आएका छन् । यहाँ एउटा व्यवसायिक बाख्रा फार्म, २ वटा भैंसी फार्म र ३ वटा गाई फार्म छन् ।
साविकको आनन्दवन गाविसमा रहेको यो गाउँ तुलनात्मकरुपमा विपन्न वर्गको बसोबास रहेको र विकासमा पछाडि परेको गाउँको रुपमा रहेकाले बाख्रापालनका लागि स्मार्ट कृषि गाउँ कार्यक्रममा छनोट गर्न पहल गरिएको वडा अध्यक्ष सुखदेव न्यौपानेले बताए । ‘यहाँका जनता मेहनती छन्, भविष्यमा यो गाउँलाई बाख्रापालनमा देशकै नमूना बनाएर देखाउछौं’-अध्यक्ष न्यौपानेले भने ।
बाख्रापालनसँगै समूहले मासुको प्रशोधन गरी मिट मार्ट समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ । बाख्रापालन हुने आधुनिक खोर निर्माणको शिलान्यास सोही निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य एवंम उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सोमबार गरेका छन् ।
मन्त्री गिरीले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारको नौलो र गौरवको आयोजना भएको उल्लेख गर्दै कामको खोजीमा विदेश जानुभन्दा स्वदेशमै कृषि कार्यमा लाग्न सुझाए । ‘अब अरबको खाडीमा गएर पसिना बगाउने,भेंडा चराउने हैन,आफ्नै गाउंमा कृषि कर्म गर्ने बाख्रा पाल्ने गरेरै राम्रो आयआर्जन गर्न सकिन्छ,’ मन्त्री गिरीले भने, ‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन र ब्यापार घाटा घटाउन कृषिको व्यवसायिकरणको विकल्प छैन ।’
भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बाख्रा किसानको एटीएम भएकाले यसमा लगनशील भएर लागे आर्थिक जीवनस्तरमा सुधार हुने बताए । ‘किसानका लागि बाख्रा भनेको बैंकको एटीएम मेसिनबाट पैसा झिके जस्तै हो,’ उनले भने, ‘५२ वटा मध्ये उत्कृष्ट गाउँलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति छ ।’
प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक-एक वटा गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने घोषणा गरी सरकारले २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।
यसअघि रुपन्देही- १ को देवदह र ओमसतियामा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयनमा आइसकेको छ ।
स्मार्ट कृषि गाउँमा खाद्यान्न बाली, तरकारी खेती वा पशुपालन गर्न सकिन्छ । स्मार्ट कृषिका लागि जलवायू, पोषण, सिँचाइ -पानी), प्रविधि र बजारीकरण गरी पांच वटा विषयमा स्मार्ट हुनुपर्ने कार्यविधि बनेको छ ।
स्मार्ट कृषि गाउँका कृषकलाई आवश्यक सूचना, जानकारी दिन स्मार्ट कृषि गाउँको आफ्नै एप र सूचना केन्द्र बनाइने र तिनबाट कृषकले आवश्यक जानकारी, समस्या आइपरे समाधानका उपाय र खरिद विक्री मूल्य, बजारको अवस्था आदिबारे घरमै बसेर जानकारी लिन पाउने छन् ।
कृषकलाई आवश्यक प्राविधिक सेवा दिन सबै कृषि गाउँमा एक-एकजना सामाजिक परिचालकको व्यवस्था गरिने छ ।
प्रतिक्रिया 4