+
+

विप्लवलाई जेलमा हालेर भए पनि मुलधारमा ल्याउँछौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते २०:५०

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहका अतिवादी र विध्वसात्मक क्रियाकलाप चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् ।

विप्लव समूहले नेताहरुलाई मार्न मान्छे खटाएको भन्दै उनले उनीहरुलाई छुट दिन नसकिने बताए ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामी सहिषुष्ण व्यवहार गर्ने, उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने । फलानो नेता मार्न खटाउने क फलानो, फलानो नेता मार्न खटाउने क फलानो यस्ता नक्कली क हरुलाई छुट दिन सकिँदैन ।’

विप्लव समूहले हरिया हथौडाकै झण्डा, कम्युनिष्ट पार्टीकै नाम राखेर विकास निर्माणका काम हुन नदिएको, समाजवाद उन्मुख प्रयासहरुमा अवराध गरेको तथा कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने खोजेको उनको आरोप छ ।

कतिपयले कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले सरकारले छुट नदिने बताए ।

२८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले धमाधम नेताहरुलाई पक्राउ गरिरहेको छ । पछिल्लो पटक समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ८ जना पक्राउ परेका थिए ।

प्रधानमन्त्री ओली विप्लव समूहका बाँकी नेताहरुलाई पनि पक्राउ गर्ने संकेत गरेका छन् । उनले भने, राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउँछौं । सहज आउनुहुन्छ भने आउनुहुन्छ, आउनु हुन्न भने जेलमा बसेर आउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे । एक महिनामा सक्नुपर्ने काम तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिइने बताए ।

उनले सरकारले असाधारण काम गरेपनि पार्टी भित्रैबाट प्रचार हुन नसकेको गुनासो पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?