Comments Add Comment

रिनाको मृत्युपछि कमलले श्रीमतीलाई सुनाएका थिए प्रेम सम्बन्ध

५० जनासँग प्रहरीको केरकार, निष्कर्ष के ?

१६ वैशाख, विराटनगर । जब कमल नेपालले पथरीमा रिना बस्नेतको शव उनकै कोठा अगाडि सडकमा भेटिएको खबर पाए, श्रीमती मनितालाई फोन गरेर सुनाए, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ।’

उनी त्यतिमा रोकिएनन् । उनले अघि भने, ‘त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, तैले हिजो सुनेको, म हिँडेको, डुलेको, खाएको त्यही केटी हो ।’

मनिताकाअनुसार ससुरालीको जग्गालाई लिएर उनको परिवारमा पनि विवाद थियो । कमलले आफ्नो सालोले कमाएको पैसाबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका थिए । सालो अफगानिस्तानबाट फर्किएर हिसाब खोजे तर, भाका सार्दै जग्गा फिर्ता नगरेपछि कमल र मनिताको सम्बन्ध पनि बिग्रियो ।

पथरी आसपासका क्षेत्रमा जग्गाको कारोबार गर्दै आएका कमललाई ४ वैशाखमा ससुराली पक्षका व्यक्तिले पथरी बजारमै कुटपिट गर्दै इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए । तर लेनदेनको विषय नेहेर्ने भन्दै प्रहरीले फर्कायो ।

मनिता

विवादकै कारण मनिता बुधबार पथरी गएकी थिइन् । त्यसबेला उनलाई कसैले तेरो श्रीमानले अर्कैसँग बिहे गरेको छ, केही लिएर हिँड्छ भनेर सुनाए । उनी मोरङको सुन्दरहरै‌ंचा नगरपालिका–३ स्थित घर फर्किइन् । शुक्रबार श्रीमानलाई फोन गरेर केटीको सम्बन्धबारे सोधिन् ।

तपाईसँग बस्दिनँ भनेर हिँडिन् । इटहरी पुगेर श्रीमानलाई फोन गरिन्, ‘तपाई आइमाई लिएर हिँड्नु हुन्छ रे । छोराहरुलाई काठमाडौंमा लगेर राख्छु र आएर तपाई र त्यो आइमाईलाई जुत्ताको माला लगाएर पथरी बजार घुमाउँछु’ भनिन् ।

कमलले घर आऊ, माइतीको जग्गाको कागज गरिदिन्छु भनेर फकाए । उनी घर फर्किइन् । साँझ ६ बजेतिर कमल पनि घरमा आए । मनिताका अनुसार सासु ससुराकै अगाडि केटीबारे सोधिन् तर, कमलले त्यसलाई अस्वीकार गरे ।

मनिताले पाथीभरा लगेर कसम खानुपर्ने सर्त राखिन् । कमल भोलिपल्ट विहानै घरबाट हिँडे ।

मनिताले फोन गरेर ‘म तपाईंसँग बस्दिन’ भनिन् । त्यसको केहीबेरमा कमलले नै फोन गरे, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ’ भने । त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, ‘तैले हिजो सुनेको थिइस् नि । म हिँडेको, डुलेको, खाएको त्यही केटी हो ।’

मनिताकाअनुसार आफ्नो श्रीमान र त्यो केटीलाई कालो मोसो दलेर पथरी घुमाउने धम्की उनले श्रीमानलाई दिएकी थिइन् । तर, शायद कमलले रिनालाई सुनाए र रिनाको शंकास्पद मृत्युपछि मनितामाथि पनि धेरैले शंका गरेका छन् ।

उनकाअनुसार रिनासँग सामान्य चिनजान थियो तर, उनीसँगै आफ्नो श्रीमानको प्रेम सम्बन्ध भएको थाहा थिएन । उनी भन्छन्, ‘यदि मैले थाहा पाएको भए टीका लगाएर पठाउथेँ तर, रिनाको मृत्युपछि मलाई दोषी बनाउन खोजियो ।’

मनिताकाअनुसार प्रहरीले पनि उनीसँग सोधपुछ गरिरहेकेको छ तर, प्रमाण नपुगी आफूलाई दोषीका रुपमा प्रचार गर्दा आफू र छोराहरु पीडित भएको बताइन् ।

दर्जनौंसँग केरकार तर खुलेन रहस्य

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी रिनाको मृत्युलाई लिएर प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको छ । उनीहरु मध्ये ३० जनाको लिखित बयान लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

बयानका लागि प्रहरीले बोलाएकामध्ये केही आफन्त र रिनाका साथी छन् भने धेरै पथरी, उर्लाबारी क्षेत्रका व्यपारीहरु छन् । सामाजिक सञ्जाल र फोन अध्ययनपछि प्रहरीले अनुसन्धानका लागि थप व्यक्तिलाई पनि बोलाएको छ ।

कमल नेपाल प्रहरी नियन्त्रणमा छन् । सोमबार पक्राउ परेका उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ । उनको पोलिग्राफ जाँच पनि गरेको छ । तर, स्थानीयबासीले आशंका गरे जस्तो रिनाको हत्या भएको कुनै प्रमाण भेटिएको छैन ।

अनुसन्धानमा संलग्न प्रहरीकाअनुसार घटना भएको राति उनको डेरामा कोही पुरुष पुगेको भेटिँदैन । मृत्युको कारण भवितव्य दुर्घटना हुनसक्ने प्रहरीको आशंका छ ।

तर, स्थानीय त्यसलाई मान्न तयार छैनन् । शवको अवस्था, शव भेटिएको स्थान आदि कारण तीन तलामाथिबाट झरेर रिनाको मृत्यु भएको होइन भन्छन् उनीहरु ।

त्यसैले स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन समेत थालेका थिए । तर, नेकपा र कांग्रेसको राजनीतिक स्वार्थ बाझिएपछि समिति नै विघठन भएको छ । घटना भएको नौ दिनपछि आइतबार आफन्तले सुनसरीको चतरा घाटमा रिनाको दाहसंस्कार गरेपछि संघर्ष समिति पनि विघटन भएको छ ।

प्रेम सम्बन्धबारे जानकार थिए श्रीमान सन्तोष

रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको १४ वर्षका छोरा छ । सन्तोष विदेश गएपछि रिना छोरासँग पथरीमा बस्दै आएकी थिइन् ।

सन्तोष बेलाबेला छुट्टी मिलाएर घर आउँथे । डेढ वर्षअघि नेपाल आएको बेला श्रीमतीको प्रेम सम्बन्धबारे जानकारी पाएका थिए । त्यसैले पैसा पठाउन पनि कम गरेका थिए ।

श्रीमतीको प्रेम सम्बन्धका कारण उनले विदेशबाट पैसा पनि कम पठाउने गरेका थिए । उनले प्रहरीलाई दिएको बयानमा पनि त्यसलाई स्वीकार गरेका छन् ।

ठेलावालालाई तनाव

घटनाबारे अनेक शंका उपशंका भइरहेका बेला ठेलावाला देखिएको एउटा सीसीटीभी फुटेज सार्वजनिक भयो, जसलाई मानिसहरुले रिनाको हत्यापछि शव फाल्न लगेको अनुमान गरे ।

प्रहरीले पनि ठेला कुदाउने कान्छा शेर्पालाई खोजेर ल्यायो । विहान पौने ५ बजे ठेलामा आलु र प्याज बोकेका उनले प्रहरी समक्ष विहान लास देखेको तर डरले नभनेको बताएका थिए । विहानीपख दमकबाट आएको ट्रकले ल्याएको आलु तरकारी पसलमा पुर्‍याएका शेर्पाको संलग्नता नदेखिएपछि प्रहरीले छाड्यो । तर, कतिपयले आफूलाई दोषीका रुपमा प्रस्तुत गर्दा तनाव भोग्नुपरेको छ ।

प्रहरीले आलु झार्ने र उनले आलु पुर्‍याइदिएको पसलका सञ्चालकसँग पनि सोधपुछ गर्‍यो ।

इञ्चार्ज फेरिए

रिनाको शंकास्पद मृत्युलाई इलाका प्रहरी कार्यालय पथरीको प्रहरी इञ्चार्ज फेरिएका छन् । स्थानीयबासीले सोमबार र मंगलबार आन्दोलन गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले पथरीका इञ्चार्ज प्रहरी निरिक्षक कमल बजगाईंलाई जिल्ला तानेर प्रहरी निरीक्षक सुभास भट्टराईलाई पथरी इञ्चार्ज बनाएको छ ।

घटनाको प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment