Comments Add Comment

संसदमा उठेको सवाल : जनता निराश छन् कि खुशी ?

१६ वैशाख, काठमाडौं । नेपाली जनता अहिले निराश छन् कि खुशी ? संघीय संसदको बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै सत्तापक्ष र प्रतिपक्षवीच खुशी र निराशाबारे बहस सुरु भएको छ ।

सोमबार संघीय संसदको अधिवेशनलाई सम्वोधन गर्ने क्रममा प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जनतामा निराशा बढ्दै गइरहेको बताए । तर, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चाहिँ देउवाको दाबीको खण्डन गर्दै नेपाली जनता निराश हैन, खुशी देखिएको दाबी गरे ।

आखिर नेपाली जनतामा निराशा बढिरहेको छ या खुशी छाइरहेको छ ? देउवा र नेम्वाङले संसदको मञ्चबाटै यसबारे बहसको सुरुवात गरिदिएका छन् । अब जनतामा निराशा छ कि खुशी भन्नेबारेमा पक्कै पनि बहस हुने छ ।

देउवाको दाबी

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसदमा लिखित भाषण पढेका थिए । त्यसक्रममा उनले सरकारले राम्रो काम गरमो प्रतिपक्षले सहयोग गर्ने भन्दै प्रधानमन्त्रीलाई सुशभकामना समेत दिए ।

विपक्षी दलका नेता देउवाले जनतामा निराशा बढेको तर्क गर्दै यसो भने –

‘सरकार बनेको चौध महिनामा पनि देखाउन लायक र जनतालाई आशा जगाउने एउटा पनि काम सरकारले अहिलेसम्म सम्पन्न गर्न सकेको छैन । आज मुलुकभरि निराशा व्याप्त छ । यस्तो निराशा हामी सबैका लागि घातक हुन सक्छ । सबैभन्दा गहिरोरुपमा यो कुरालाई प्रधानमन्त्रीले आत्मसात गर्नु पर्दछ ।’

जनता निराश होइन खुशी छन्– नेम्वाङ

प्रमुख प्रतिपक्षी दलका नेता देउवाको सम्वोधनपछि संसदलाई सम्वोधन गरेका नेकपाका उपनेता सुवास नेम्वाङले सरकारलाई सहयोग गर्न तयार भएको भन्दै शुभकामना व्यक्त गरेकोमा देउवालाई धन्यवाद दिए । तर, नेम्वाङले नेपाली जनतामा यतिबेला निराशा नदेखिएको, बरु खुशी देखिएको दाबी गरे ।

पूर्वसभामुखसमेत रहेका नेकपाका उपनेता नेम्वाङले भने, ‘जनता निराश हैन, उत्साहित छन् । जनता निराश छन् भनेर भन्नु कतिको उपयुक्त हुन्छ ?’

नेम्वाङले अगाडि भने, ‘के भएको छ, के गरेको छ भन्ने चर्चा उठ्ला, म व्याख्या गर्नेतिर जान चाहँदिनँ । यतिमात्रै निवेदन थप गर्न चाहन्छु कि विगतमा प्रत्येक क्षेत्र अस्तव्यस्त भएका कारणले होला, जनताले तिमीहरुले परिवर्तन गर्छौं कि त भनेर जनताले विश्वास गरे । लगभग दुई तिहाई बहुमतको सरकार सञ्चालनको जिम्मेवारी दिए । झण्डै यो एक वर्षको अवधि त्यही अस्तव्यस्ततालाई टाल्दै यहाँसम्म आइपुग्दा समय लाग्यो । अब आधार तयार भएको छ । यो आधारमा उभिएर अब देश समृद्धितर्फ अगाडि बढ्छ । समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ अगाडि बढ्छ । त्यसका लागि यो अधिवेशनले सुनिश्चित आधारहरु तयार गर्छ ।’

संसदको बजेट अधिवेशन प्रारम्भ भएका दिने सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना तर्क र दाबीहरु प्रस्तुत गरेता पनि मिलेर अगाडि बढ्ने प्रविद्धता पनि देउवा र नेम्वाङ दुबैबाट व्यक्त गरिए ।

‘हामी मिलेर यो देशको विकास गर्नुबाहेक अर्को विकल्प छैन । विगतका कुनै कमी कमजोरीहरु छन् भने छलफल गरौं, कमी कमजोरीहरुलाई हामी सबैले सच्याउनुपर्छ’ सत्तापक्षका नेता नेम्वाङले संसदमा भने, ‘सबै आग्रह पूर्वाग्रहबाट माथि उठेर जनतालाई परिणाम देखाउने गरिकन हामीले काम गर्न सक्नुपर्छ । यसका लागि हामी एक ठाउँमा उभिनैपर्छ ।’

बालुवाटारको जग्गादेखि संविधान संशोधनसम्म

संसद अधिवेशनमा बोल्ने क्रममा नेताहरुले बालुवाटारको जग्गा प्रकरणदेखि संविधान संशोधनसम्मका कुराहरु उठाए । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा प्रकरणको छानविन हुनुपर्ने बताए ।

त्यसैगरी संसदलाई सम्वोधन गर्ने क्रममा राजपा र संघीय समाजवादी फोरमका नेताहरुले संविधान संशोधनको आफ्नो एजेण्डालाई सम्झाउने प्रयास गरे ।

सत्तारुढ दल फोरमका नेताले संविधान संशोधन नगरिए ओली सरकारसँग गरिएको गठबन्धन टुट्न सक्ने चेतावनीसमेत दिए ।

यो पनि पढ्नुहोस बालुवाटार जग्गाको जरैसम्म पुगेर छानबिन होस्, दण्ड स्वीकार्न तयार छु : बाबुराम भट्टराई यो पनि पढ्नुहोस बालुवाटार जग्गा प्रकरणमा देउवा र नेम्वाङको जुहारी यो पनि पढ्नुहोस फोरमको चेतावनी : संविधान संशोधन नभए सत्ता सहकार्य टुट्न सक्छ यो पनि पढ्नुहोस सरकारलाई राजपाको चेतावनी : सडकमा जान बाध्य नपारियोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment