
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएपछि स्थानीय सर्वसाधारण र सम्पदा संरक्षणका अभियन्ता आन्दोलित बनेका छन् । उनीहरुले बिहीबार खुलामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘खुला मञ्चलाई खुला राखौं’ अभियान सुरु गरेका छन् ।
प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईसमेत सहभागी थिइन् ।
काठमाडौंको सीमित खुला क्षेत्रमा मध्येको एक खुलामञ्चमा हाल काठमाडौं महानगरपालिकाले बसपार्क चलाएको छ । पुरानो बसपार्कमा ब्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेको छ ।
ठेकेदार कम्पनीले खुलामञ्चमा अहिले ४० वटा नयाँ ब्यापारिक सटर हालेको छ । जसका कारण खुलामञ्च अतिक्रमणको शिकार हुन पुगेको छ । नियम, मापदण्ड र सहमति विपरित ठेकेदारले खुलामञ्चमा सटर हाल्दा पनि काठमाडौंमा महानगरपालिका मुकदर्शक बनेको छ । ब्यापारीसँग प्रतिसटर ६ देखि १२ लाख रुपैयाँ उठाएर बिक्री गरिँदैछ ।
विरोधपछि महानगरपालिकाले यस विषयमा हेर्न भन्दै उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएको छ । तर, त्यसले अझै काम थालेको छैन ।
ठेकेदार कम्पनीले महानगरपालिकासँग कै सेटिङमा सटर हालेकाले ढुक्क हुन त्यहाँ पसल किनेका ब्यापारीलाई भनेको छ । तर, वडा नम्बर २८का वडाध्यक्ष भाइराम खड्गी भने ठेकेदारले गरेको खुलामञ्च अतिक्रमणको विपक्षमा उभिएका छन् ।
झण्डै ५ करोडको चलखेल गरेर महानगरपालिकाले यहाँ ठेकेदारलाई अतिक्रमणमा सहयोग गरेपछि सर्वसाधारण र सम्पदा अभियान्ताले विरोध सुरु गरेका छन् । उनीहरुले डोजर लगाएर सटरहरु नहटाएसम्म यो अभियान नरोक्ने बताएका छन् ।
खुलामञ्च अतिक्रमणको बिरोधका थप तस्वीर
तस्वीर : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4