Comments Add Comment

बिक्रीमा खुलामञ्च !

११ वैशाख, काठमाडौं । भोटाहिटीका राजमती बज्राचार्यलाई खुलामञ्च मासिँदै गएको दृश्यले आँखै बिझाउँछ । खुलामञ्चलाई सरकार र भू-माफियाहरुले कमाइको भाँडो बनाएको उनलाई एक रत्ति पनि चित्त बुझेको छैन ।

झन् काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको खुलामञ्चको बसपार्कमै नयाँ पक्की व्यापारिक सटर निर्माण गरेपछि स्थानीयले यसलाई ‘महानगरको मनलाग्दी’ भनेका छन् ।  प्रतीक्षालयका लागि हालिएको जस्ताको छानोमुनि नै सटर हालिएपछि विरोध शुरु भएको छ ।

‘खुलामञ्च बिक्रीमा छ भनेर मेयर सा’बले पत्रिकामा विज्ञापन छापिदिए हुन्छ,’ बज्राचार्यले आक्रोश पोखिन्,’खुलामञ्च काठमाडौंको छाती हो, हाम्रो छातीमा सटर हालेर पैसा कमाउने अधिकार मेयरसा’बलाई संविधानले नै दिएको हो ?’

यो त्यही खुलामञ्च हो, जसले महाभूकम्पको बेला काठमाडौंमा हजारौं परिवारलाई आश्रय दियो । तर, यही खुलामञ्च अहिले बिक्रीमा छ, यहाँ १० लाख लिएर जानेले तयारी अवस्थामा राखिएका व्यापारिक सटर किन्न पाउँछन् ।

के भन्छन् मेयर ? 

काठमाडौंको पुरानो बसपार्क पहिले सैनिक मञ्चको अघिल्तिर  थियो । ब्यापारिक ‘काठमाडौं टावर’ बनाउने भन्दै त्यहाँबाट खुलामञ्चमा सारिएको ४ वर्ष भयो ।

योजनाअनुसार यतिबेला पुरानो बसपार्कमा टावर बनिसकेर त्यसको भुईंतलामा बन्ने बस टर्मिनल भित्र बस पार्क बनिसक्नुपर्थ्यो । तर, टावरको काम शुरु भएकै छैन ।

योजनाअनुसार टावरको काम नभएपछि खुलामञ्चको अस्थायी बसपार्क भद्रगोल त छँदै थियो, अहिले त्यही ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकोइ कम्पनी’ले खुलामञ्चमा अनधिकृत रुपमा झण्डै ४० वटा पक्की ब्यापारिक सटर हालेको महानगरपालिका स्रोत बताउँछ । ३ दर्जन बढी सटर हालेपछि खुलामञ्च झन् अस्तव्यस्त भएको छ ।

यस्तो सटर हाल्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता नभएको काठमाडौं महानगरपालिका बताउँछ । वडा कार्यालयले पनि यसबारे जानकारी नभएको बताएको छ ।

सटरबारे वडाले लेखेको पत्र

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य भने खुलामञ्चमा के भएको हो भन्नेबारे बुझ्न बाँकी रहेको बताउँछन् । उनले उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएर प्रतिवेदन बुझाउन भनिएको उनले बताए ।  मेयर शाक्यले समितिले के भएको रहेछ भन्ने बुझेर रिर्पोट दिएपछि कानुनअनुसार अघि बढ्ने अनलाइनखबरसँग बताए ।

५ करोडको चलखेल

ठेकेदारले निर्माणकै लागि ‘सलामी’ भन्दै प्रतिसटर ६ देखि ११ लाखसम्म अग्रिम भुक्तानी लिएको त्यहाँ पसल चलाउन आएका नयाँ व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार भाडा पनि प्रतिसटर एक महिनामा ६ हजारदेखि २० हजार रुपैयाँसम्म उठाइएको छ ।

‘हामीलाई ठेकेदारले जो आए पनि केही नबोल्नू भनेका छन् । अग्रिम भुक्तानी दिएको कुरा पनि कतै नभन्नू भनेका छन्,’ खुलामञ्चमा सटर लिएर भर्खरै पसल खोलेका एक ब्यापारीले भने,’भाडा पनि घटाएर भन्नू भनेका छन् ।’

ब्याापरीहरुका अनुसार यहाँ ४० वटा सटर बनाउँदा ५ करोड बराबरको अग्रिम भुक्तानी लिइएको छ । ‘महानगरपालिकाका हाकिमहरुसँगै सेटिङ छ डराउनुपर्दैन भनेका छन्,’ ती व्यापारीले भने ।


पछिल्लो दिनमा बसपार्कभित्र ठेकेदार कम्पनीले अन्य फुटपाथ ब्यापारी छिर्न दिएको छैन । सटर किनेर बस्नेलाई ठेकेदार कम्पनीले फूटपाथका अरु ब्यापारी छिर्न नदिने बचन नै दिएको छ ।

बुधबार दिउँसो पनि ठेकेदार कम्पनीका प्रतिनिधि भैरव भेटवाल पुरानो बसपार्कमा ब्यस्त भेटिए । अनलाइनखबरसँगको कुराकानीमा उनले नयाँ सटर कसले हालेको हो भन्ने आफूहरुलाई थाहा नभएको बताए । ‘खै कसले किन हालेको हो, थाहा भएन,’ भेटवालले भने ।

सेटिङमा बसपार्कभित्रै हाटबजार

पुरानो बसर्पाकमा बसपार्कका लागि न्युनतम् पूर्वाधार पनि छैन । यहाँ यात्रुलाई मात्रै सास्ती छैन, सवारी चालक र ट्राफिक प्रहरी पनि खुलामञ्चको अस्थायी बसपार्कको अव्यवस्थाले हैरान छन् ।

पुरानो बसपार्कको व्यवस्थापपनको जिम्मा काठमाडौ महानगरपालिकाको हो । व्यवस्थापनको पाटोमा उसको उपस्थिति यहाँ लगभग ‘शून्य’ जस्तै छ । महानगरपालिकाले यो बसपार्कलाई झनै भद्रगोल बनाइदिएको आरोप भोटाहिटी क्षेत्रका स्थानीयहरु लगाउँछन् ।

यहाँ सेटिङमा हाटबजार नै चलाइएको छ । सीमित बसमात्रै अट्ने साँघुरो बसपार्कमा सटर थपिएपछि ब्यापारी र बाहिरी ग्राहकको भीड हुन थालेको छ ।

बसपार्कभित्रै ब्यापारीसँग अनाधिकृत रुपमा साँठगाँठ गरेर महानगरले व्यवसाय चलाउन दिएपछि सम्पदाका विज्ञ पनि त्यसको विरोधमा छन् ।

सम्पदा संरक्षण अभियान्ता गणपतिलाल श्रेष्ठ खुला स्थानको संरक्षण गर्नुपर्नेमा व्यापारीकरण गरिएको बताउँछन् । खुला मञ्चभित्र बनाइएका सबै सटर तत्काल भत्काउनुपर्ने पक्षमा सम्पदा अभियन्ता छन् ।

प्रतिक्षालयसम्म छैन

सटर थपिएपछि बसपार्कमा यात्रुभन्दा बढी सामान किन्न पुग्नेहरु देखिन थालेका छन् । बसपार्कभित्र अब घाम चर्किंदा र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयसमेत छैन ।

यसका कारण बस कुर्ने यात्रुहरु उभिनुको विकल्प हुन्न । अशक्त, अपांग, वृद्धवृद्धा, बालबालिका र बिरामीहरु जोखिमयुक्त रुपमा भुइँमै बसिरहेको देखिन्छ ।

बसपार्कमा खुद्रा ब्यापारीलाई प्रवेश दिएपछि यहाँ ट्राफिक मात्रै अस्तव्यस्त छैन, फोहोरमैला पनि बढेको छ । बसपार्क सफा गर्न महानगरले ध्यान दिएको छैन ।


बसपार्कमा जताततै फोहोर डंगुर छन् । यहाँ न फालिएका प्लास्टिक टिप्न कोही अघि सर्छ, न फाल्नेमाथि कसैले निगरानी र कारवाही नै गर्छ ।

बसपार्कभित्र ठाउँ-ठाउँका ढलजस्तै भएर फोहोर पानी जम्छ । त्यसमाथि झिंगा भन्किएका छन् । बसपार्क नै गन्हाइरहेको छ ।

अस्तब्यस्त

बसपार्कभित्र ठूला-ठूला खाल्डा परेका छन् । जहाँ पानी पर्नासाथै पोखरी बन्छ । घाम लाग्नासाथै धुलो उड्छ । बसपार्कमा धुलोको समस्या बढ्नुमा सँगै थुपारिएको वीर अस्पतालको निर्माणाधीन कंक्रिट पनि हो । त्यसलाई छोपिएको छैन । शहरको बीचमा रहेको बसपार्कसँगै थुपारिएको गिट्टी बालुवालाई खुलै छाडिएको छ ।

हावा चल्नासाथ त्यसको धुलो उडेर यात्रुमाथि खनिन्छ । बसपार्कभित्र हिलो, धुलोको समस्या ब्याप्त भएपछि ट्राफिक प्रहरीलाई उभिएर काम गर्न गाह्रो छ ।


बसपार्कभित्र कतै पनि ट्राफिक संकेत राखिएको छैन, लेन पनि छुट्याइएको छैन । पार्किङ स्लटहरु व्यवस्थित गरिएको छैन । ट्राफिक प्रहरीले रुटअनुसार सवारी पाउने ठाउँ निश्चित गरे पनि बसपार्कको अस्तव्यस्ताले व्यवस्थापनमा समस्या छ । बसपार्कभित्र निजी सवारीको पार्किङ समेत गरेको भेटिएको छ । भित्र व्यवसाय चलाउनेलाई पार्किङ गर्न पनि सेटिङ भएको छ ।

बसपार्कभित्र व्यवस्थित शौचालयको अभाव छ । एउटा सानो शौचालय त छ, तर निकै फोहोर छ । त्यसमा यात्रुको चाप अनुसारको प्यान र युरिनरी पनि छैनन् । महिलातर्फ त झन २ वटामात्रै प्यान छन्, जसले गर्दा शौचका लागि महिलाहरुको लाइन लाग्छ, पालो पाइँदैन ।


भएको शौचालय प्रयोग नगर्ने यात्रुको प्रवृत्ति पनि यहाँ मौलाएको छ । बसको छेको लगाएर पिसाब गर्ने यात्रु र चालकको संख्या बाक्लै देखिन्छ ।

बसपार्कभित्र नगर प्रहरीको मात्रै हैन, प्रहरीको निगरानी पनि कमजोर छ । यसले गर्दा भीडमा पकेटमारी हुने समस्या पनि पुरानो बसपार्क वरपर मौलाएको छ ।

बसपार्कमा आवश्यक बत्तीको व्यवस्था पनि छैन । जसले गर्दा बेलुकीको समयमा बसपार्कमा लुटपाटको डर हुन्छ । यहाँ यौनकर्मी र तिनका ग्राहकले पनि बेलुकी अड्डा जमाउँछन् । बसपार्कमा बेलुकीको समयमा परिवार र साथीभाइसँग हिँड्न अप्ठेरो छ ।

बसपार्कका यस्ता अनेकन समस्यामा भने महानगरपालिका मुकदर्शक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment