News Summary
Generated by OK AI. Editorially reviewed.- बद्री पुन, जसलाई डिलु बुदुजा भनेर चिनिन्छ, म्याग्दीको दुर्गम गाउँमा ५० वर्षअघि जन्मिएका ट्रान्सजेन्डर पुरुष हुन्।
- बद्रीले २०६४ सालमा सर्वोच्च अदालतको आदेशपछि नेपालमा पहिलो पटक 'अन्य' लिंगको नागरिकता प्राप्त गरे।
- हाल बद्री काठमाडौंमा समावेशी मञ्च नेपालको अध्यक्ष र नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सचिवालय सदस्यको रूपमा काम गरिरहेका छन्।
बद्री पुन, जसलाई धेरैले डिलु बुदुजा भनेर चिन्छन्, उनी एक ट्रान्सजेन्डर पुरुष हुन् । म्याग्दी जिल्लाको दुर्गम गाउँमा ५० वर्षअघि जन्मिएका हुन् बद्री पुन । आफ्नो ट्रान्सजेन्डर पहिचानलाई स्वीकार गरी सामाजिक र कानुनी बाधाहरू पार गर्दै अघि बढिरहेका छन् उनी ।
नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लड्ने एक व्यक्ति हुन् बद्री । उनको जीवन एक प्रेरणादायी कथा हो, जसले लैंगिक पहिचान, सामाजिक स्वीकार्यता र समानताका लागि संघर्षको महत्वलाई उजागर गर्छ।
बाल्यकाल
बद्रीको जन्म म्याग्दीको एक सामान्य तर सम्मानित परिवारमा भएको थियो । उनको जन्म स्वरूपका आधारमा महिलाका रूपमा भएको थियो । तर, उनको मानसिक झुकाव सधैं पुरुषको पहिचानतर्फ थियो । ‘मेरो जन्म महिलाको रूपमा भएको थियो, तर मेरो हर्मोन र व्यवहारले मलाई सधैं पुरुषको पहिचानतर्फ डोर्यायो’ बद्री सुनाउँछन् ।
उनको परिवारमा दुई दिदी र एक दाइ थिए। उनी कान्छी छोरीको रूपमा जन्मिए ।बुबा बद्रीको जन्म हुनुअघि नै बितिसकेका थिए, त्यसैले उनकी आमाले एक्लै चार सन्तानलाई हुर्काइन् ।
त्यतिबेला गाउँमा छोरीहरूलाई स्कुल पठाउने चलन थिएन । ‘छोरी बिहे गरेर अर्काको घर गइहाल्छन् किन पढाउनु’ भन्ने सामाजिक मान्यता थियो । उतर, एक दिन कास्कीबाट आएका एक डोको व्यापारीले बद्रीकी आमालाई भने- किन छोरीलाई स्कुल नपठाएको ? आमाले जवाफ दिइन्, ‘यहाँ छोरी मान्छेले पढ्ने चलन छैन, विहे गरेर अर्काको घर जाने जातलाई पढाउनु जरूरी छैन ।’
ती व्यापारीले उनकी आमालाई सम्झाए- म यसरी डुल्दै डोको नाम्लो बेच्न हिँड्छु तर मेरो छोरीलाई पढाउँछु, तपाईंको मुखियाको परिवार छोरीलाई स्कुल पठाउनुहोस् ।
यो सुझावले बद्रीकी आमाको मन छोयो र बद्रीलाई स्कुल भर्ना गरिदिइन् । यो निर्णयले बद्रीको जीवनमा ठूलो परिवर्तन ल्यायो ।
स्कुले जीवन
स्कुलमा बद्रीको अनुभव मिश्रित थियो । गाउँमा छोरीहरूलाई पढाउनु असामान्य मानिन्थ्यो । उनकी आमालाई समाजले ‘आइमाईको जातलाई किन स्कुल पठाएको ? भन्दै आलोचना गर्थ्यो । स्कुलमा पनि उनी एक्लै केटी भएकोले उनलाई केटाहरूले जिस्काउने र हिंसा गर्ने गर्थे । उनको लामो कपालमा काँडा हाल्ने, सलाई कोरेर कपाल जलाउने जस्ता व्यवहारले उनलाई आक्रोशित बनायो । यी अनुभवहरूले उनलाई आक्रामक बनायो ।स्कुलमा जिस्क्याउने केटाहरूलाई बाटो ढुकेर कुट्ने गर्थे ।
बद्रीलाई सानैदेखि भलिबल खेल्न रुचि थियो । उनले आफ्नो रुचिलाई खेलकुदमा केन्द्रित गरे । उनका दाइ र भिनाजुले भलिबल खेल्न र बन्दुक चलाउन सिकाए । उनले भलिबलमा उत्कृष्ट प्रदर्शन गरेर पछि राष्ट्रिय स्तरमा समेत खेले । तर, उनको व्यवहार र शारीरिक हाउभाउ पुरुषको जस्तो थियो ।
उनलाई दिदीहरूले जस्तो भाँडा माझ्ने, चुरा लगाउने वा सारी लगाउने गर्न मन हुँदैनथ्यो । बरु, दाइहरूको लुगा लगाउन र पुरुषहरूले खेल्ने खेलमा भाग लिन पाउँदा स्वतन्त्रता महसुस हुन्थ्यो । उनकी आमाले पनि उनको व्यवहारलाई स्वीकार्दै भन्थिन्, ‘यो त पुरुषजस्तो भयो, यसको चालचलन फरक छ ।’
ट्रान्सजेन्डर पहिचानको प्रारम्भिक संकेत
बद्रीको शारीरिक र मानसिक झुकाव पुरुषको जस्तो थियो, जुन उनको हर्मोनको प्रभावले भएको थियो । स्कुलमा पढ्दै गर्दा उनलाई केटीहरू मन पर्न थाल्यो । आठौं कक्षामा साथीहरूले उनलाई प्रेमपत्र लेख्थे, जसले उनको पुरुष पहिचानप्रति गर्व महसुस गरायो । तर, स्कुलको वातावरण उनको लागि सहज थिएन ।
शिक्षक र वाडेनहरूले उनको व्यवहारलाई ‘होमोफोबिक’ भन्दै गाली गर्थे । त्यतिबेला उनलाई यो शब्दको अर्थ थाहा थिएन । पछि, २०४६/४७ सालतिर काठमाडौं आएपछि मात्र उनले यो शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई जनाउने बुझिन् ।
स्कुलमा शिक्षकहरुले गर्ने फरक व्यवहारले गर्दा पढाइलाई निरन्तरता दिन गाह्रो भयो । समाज र स्कुलको अपहेलनाले अगाडि बढ्न बाधा पुर्यायो । उनले बागलुङमा पढ्ने प्रयास गरे तर त्यहाँ पनि हिंसा र अपहेलनाले पछ्याइरह्यो । यद्यपि, उनले आफ्नो पहिचानलाई स्वीकार्दै अगाडि बढ्ने हिम्मत जुटाए ।
राजनीतिक यात्रा र सामाजिक सक्रियता
बद्रीको परिवारको पृष्ठभूमि राजनीतिक थियो । उनका दाइ लाहुरे भएपछि परिवारको गाउँमा प्रभाव घट्यो, तर बद्रीलाई सानैदेखि राजनीतिमा रुचि थियो । बागलुङमा पढ्दा एकजना गुरुले उनलाई कम्युनिस्ट विचारधाराबारे सिकाए । २०४६ सालको जनआन्दोलनमा उनी काठमाडौं आए, जहाँ आफ्नो ट्रान्सजेन्डर पहिचानलाई थप बुझ्ने मौका मिल्यो। यहाँ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरू भेटे, जसले उनको पहिचानलाई स्वीकार गरे ।
बद्रीले ब्लु डायमन्ड सोसाइटीमा आबद्ध भएर १२ वर्षसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गरे । २०६४ सालमा सर्वोच्च अदालतको आदेशपछि उनले ‘अन्य’ लिंगको नागरिकता प्राप्त गरे । जुन नेपालमा यस्तो नागरिकता लिने पहिलो घटना थियो । यो उपलब्धिले उनको पहिचानलाई कानुनी मान्यता दियो, तर उनको यात्रा अझै जटिल थियो ।
स्थानीय निर्वाचनमा उम्मेदवार बन्न खोज्दा एमाले पार्टी र निर्वाचन आयोगले उनको तेस्रो लिंगको नागरिकतालाई लिएर आपत्ति जनाए । ‘मैले सर्वोच्च अदालतमा मुद्दा दायर गरें र मेरो पक्षमा फैसला आयो’ उनी भन्छन्, ‘तर निर्वाचन आयोगले बारम्बार मेरो उम्मेदवारी खारेज गर्यो, जसले मलाई ठूलो पीडा दियो ।’
यी चुनौतीहरूले उनलाई झनै बलियो बनायो ।
भविष्यको योजना
हाल बद्री काठमाडौंमा समावेशी मञ्च नेपालको संस्थापक अध्यक्षको रूपमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम गरिरहेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटी सचिवालय सदस्य छन् । उनको जीवनमा धेरै संघर्ष भए, तर उनले कहिल्यै हार मानेनन् । उनकी आमाले उनलाई शिक्षक बनाउन चाहन्थिन्, तर उनी बक्सर, खेलाडी र राजनीतिज्ञ बने ।
बद्रीलाई विवाहप्रति रुचि छैन, यद्यपि उनलाई केटीहरू मनपर्छ । सामाजिक र कानुनी सुरक्षाको अभावले उनलाई विवाहको योजना बनाउन रोकेको छ । उनको जीवनको उद्देश्य आफ्नो समुदायको अधिकार सुनिश्चित गर्नु र समाजमा समानताको वकालत गर्नु हो । उनको गाउँमा आज पुरुषभन्दा बढी महिला शिक्षित छन्, जुन उनका लागि गर्वको कुरा हो । पहिचान र कामले उनलाई बद्री पुन बनाएको छ, र उनी यो पहिचानलाई लिएर अगाडि बढिरहने छन् ।
उनले आफ्नो गाउँमा महिलाहरूको शिक्षामा परिवर्तन ल्याए, र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लडिरहेका छन् । उनको साहस र दृढताले नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पारेको छ । बद्री पुनको कथा हरेक व्यक्तिलाई आफ्नो पहिचानलाई स्वीकार गर्न र समाजमा परिवर्तन ल्याउन प्रेरित गर्छ ।
प्रतिक्रिया 4