+
+
Shares
महिनावारी र स्वास्थ्य समस्या :

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

हामी पुरुषको पहिचान बोकेर हिँड्छौं, तर महिनावारी हुँदा लुकाउनुपर्ने बाध्यता हुन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ कात्तिक ११ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रान्सजेन्डर पुरुष बद्रि पुनले महिनावारीका कारण भोग्ने शारीरिक, सामाजिक र मानसिक चुनौतीहरूबारे खुलेर कुरा गर्नुभयो।
  • उनले महिनावारी रोक्न औषधि र सुई प्रयोग गर्दा साइड इफेक्टहरू देखिएको र सामाजिक लज्जा, शौचालय सुविधा अभाव मुख्य समस्या भएको बताउनुभयो।
  • पुनले सरकारलाई ट्रान्सजेन्डर पुरुषका लागि छुट्टै शौचालय र स्वास्थ्य सुविधा उपलब्ध गराउन र महिला अधिकारकर्मीहरूले पनि उनीहरूको समस्या उठाउनुपर्ने सुझाव दिनुभयो।

बद्रि पुन (डिलु बुदुजा), समावेशी मञ्चका अध्यक्ष हुन् । उनी आफूलाई ट्रान्सजेन्डर पुरुषका रूपमा चिनाउन रुचाउँछन् । आफ्नो अनुभव, विशेष गरी महिनावारी र ट्रान्सजेन्डर पुरुषहरूले भोग्ने स्वास्थ्य समस्याहरूबारे खुलेर कुरा गर्छन् पुन ।

ट्रान्सजेन्डर पुरुषहरूले महिनावारीका कारण भोग्ने शारीरिक, सामाजिक र मानसिक चुनौतीहरू, साथै समाज र सरकारले गर्नुपर्ने सुधारका विषयमा पुनसँग गरिएको कुराकानी :

तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

म आफूलाई ट्रान्सजेन्डर भनेर चिनाउन चाहन्छु । हामी न महिला हुन्छौं न पुरुष, हामी ट्रान्सजेन्डर हौं । अहिलेको भाषामा मलाई ‘फिमेल टु मेल ट्रान्सजेन्सन’ पनि भन्छन्, तर मलाई ‘ट्रान्सजेन्डर’ शब्द नै मनपर्छ । प्राकृतिक रूपमा मेरो शरीर महिलाको जस्तो बन्यो, तर हर्मोन पुरुषको जस्तो छ । म न त पूर्णमहिला थिएँ, न त पूर्णपुरुष, म बीचको थिएँ । त्यसैले म आफूलाई ट्रान्सजेन्डर पुरुष भन्न रुचाउँछु ।

तपाईंलाई महिनावारी कहिलेदेखि भयो ?

मलाई ठ्याक्कै उमेर याद छैन, तर लगभग १४ वर्षको उमेरमा महिनावारी भएको हुनुपर्छ । यो मेरा लागि सामान्य प्रक्रिया थिएन । किनभने मेरो शारीरिक बनावट महिलाको भए पनि मेरो मन पुरुषको जस्तो थियो । त्यसैले महिनावारी हुँदा मलाई एकदम अप्ठ्यारो र चिडचिडाहट हुन्थ्यो । विशेष गरी खेलकुदमा भाग लिँदा र साथीहरूसँग सुत्दा झनै गाह्रो हुन्थ्यो । महिनावारी बार्ने चलनले त झनै समस्या थपिन्थ्यो । मलाई लाग्छ, ट्रान्सजेन्डर पुरुषहरूका लागि महिनावारी सबैभन्दा अप्ठ्यारो र मन नपर्ने समय हो ।

तपाईंले महिनावारी रोक्ने प्रयास पनि गर्नुभयो ?

लगभग २२ वर्षको उमेरदेखि मैले औषधि खाएर महिनावारी रोकें । यी औषधिहरू सामान्यतया महिनावारी सार्न प्रयोग गरिन्छ, तर मैले लामो समयसम्म खाएँ । कहिलेकाहीँ भारतबाट ल्याइएका सुईहरू पनि प्रयोग गरें । यी औषधि र सुईहरूले महिनावारी रोकिन्थ्यो, तर साइड इफेक्टहरू पनि थिए । पेट फुल्ने, वाकवाकी हुने, खाना खान मन नलाग्ने, पसिना आउने जस्ता समस्याहरू देखिन्थे । तर पनि, महिनावारी नहुँदा मलाई सहज महसुस हुन्थ्यो ।

ट्रान्सजेन्डर पुरुषले महिनावारीका कारण कस्ता समस्या भोग्छन् ?

ट्रान्सजेन्डर पुरुषहरूले महिनावारीका कारण भोग्ने प्रमुख समस्या सामाजिक लज्जा र अप्ठ्यारो हो । हामी पुरुषको पहिचान बोकेर हिँड्छौं, तर महिनावारी हुँदा लुकाउनुपर्ने बाध्यता हुन्छ । साथीहरू र परिवारसँग यो कुरा भन्न लाज लाग्छ । गाउँमा ‘छाउपडी’ र ‘बार्ने’ चलनले झनै गाह्रो बनाउँछ ।

सरसफाइको पनि समस्या हुन्छ । गाउँघरमा शौचालय र पानीको सुविधा हुँदैन । प्याड फेर्ने ठाउँ नहुँदा दिनभरि गन्हाउने र असहज हुने अवस्था हुन्छ । शहरमा पनि शौचालयहरू पुरुष र महिलाका लागि मात्रै हुन्छन्, ट्रान्सजेन्डरका लागि छुट्टै हुँदैन ।

मलाई काठमाडौं मलमा महिलाको शौचालयमा जाँदा चप्पलले हानिएको छ । पुरुषको शौचालयमा साइज र वातावरण नमिल्ने हुन्छ । दिनभरि पिसाब रोक्दा मलाई स्टोनको समस्या देखियो । डाक्टरले धेरै पानी खान भने, तर पानी खाए पिसाब लाग्ने र शौचालय नहुने समस्या थियो, त्यसैले पानी नै नखाइ बस्थे जसले गर्दा पत्थरीको समस्याले सतायो ।

महिनावारी रोक्न औषधि र सुई प्रयोग गर्दा पाठेघरमा रगत जम्ने, पेट फुल्ने, र अन्य साइड इफेक्टहरू देखिन्छन् । टाइट लुगा लगाउँदा छातीमा रगत जम्ने (गिर्खा) र इन्फेक्सन हुने जोखिम हुन्छ ।

तपाईंले यी समस्याहरू समाधान गर्न के प्रयास गर्नुभयो ?

मैले ब्लु डायमन्ड सोसाइटीमा रहँदा ट्रान्सजेन्डर पुरुषहरूको प्रजनन स्वास्थ्यको विषय उठाए । तर सुरुमा मेरो कुरालाई गलत बुझियो र कारबाही पनि गरियो । तैपनि, मैले हार मानिनँ । अदालतसम्म गएर मुद्दा जितें । अहिले प्रजनन स्वास्थ्यको अवधारणा ल्याइएको छ, जुन सकारात्मक छ । तर यो पर्याप्त छैन ।

महिनावारी रोक्न र पुरुषजस्तो देखिन औषधि र शल्यक्रियाको प्रयोगबारे के भन्नुहुन्छ ?

धेरै ट्रान्सजेन्डर पुरुषहरू दारी–जुँगा उमार्न र महिनावारी रोक्न हर्मोनल औषधि र सुई प्रयोग गर्छन् । कतिपयले छाती र पाठेघर हटाउन शल्यक्रिया गर्छन् । यस्ता प्रक्रियाले तत्काल सहजता ल्याए पनि दीर्घकालीन स्वास्थ्य जोखिमहरू छन् ।

हर्मोनल औषधिका धेरै साइड इफेक्ट हुन्छन् । जस्तो:- पेट फुल्ने, वाकवाकी, सास फुल्ने र प्रजनन क्षमता कमजोर हुने आदि । शल्यक्रिया मार्फत पाठेघर हटाउँदा शरीर कमजोर हुन्छ, सानो रोगले पनि च्याप्छ । मैले छातीमा ६ वटा गिर्खा फालेको छु, रगत जमेका कारण । यस्ता प्रक्रियाले कहिलेकाहीं मानसिक तनावको अवस्था समेत निम्त्याउछ ।

मेरो सुझाव छ, हामीले आफूलाई प्राकृतिक रूपमा स्वीकार गर्न सिक्नुपर्छ । ट्रान्सजेन्डर हुनुमा गर्व गर्नुपर्छ । हामीले आफ्नो स्वास्थ्य बिगारेर पुरुष वा महिला बन्न खोज्नु हुँदैन । बरू, स्वस्थ रहन र देश तथा परिवारप्रति जिम्मेवार बन्नुपर्छ ।

ट्रान्सजेन्डर पुरुषहरूका लागि शौचालय र अन्य सुविधाबारे के भन्नुहुन्छ ?

ट्रान्सजेन्डर पुरुषहरूका लागि शौचालयको अभाव ठूलो समस्या हो । गाउँमा पानी र शौचालयको सुविधा हुँदैन, शहरमा पनि पुरुष र महिलाको शौचालय मात्र हुन्छ । यो समस्याले हामीलाई इन्फेक्सन र अन्य रोगहरूको जोखिममा पार्छ । मेरो आफ्नै अनुभवमा, पिसाब रोक्दा पेटमा ढुंगा भए ।

नेपाल सरकारले स्कुल, कार्यालय र सार्वजनिक ठाउँमा महिला, पुरुष र अन्य गरी तीन प्रकारका शौचालय बनाउन अभियान चलाउनुपर्छ । ग्रामीण क्षेत्रमा प्याड र सरसफाइ सुविधा विस्तार गर्नुपर्छ । प्रजनन् स्वास्थ्य कार्यक्रममा ट्रान्सजेन्डर पुरुषहरूलाई समावेश गर्नुपर्छ । महिला अधिकारकर्मीहरूले पनि ट्रान्सजेन्डर पुरुषहरूको महिनावारी र स्वास्थ्य समस्यालाई प्राथमिकता दिनुपर्छ ।

ट्रान्सजेन्डर पुरुषहरूले महिनावारीजस्ता प्राकृतिक प्रक्रियालाई सहज रूपमा स्वीकार्दै आफ्नो स्वास्थ्य र पहिचानको संरक्षण कसरी गर्ने ?

ट्रान्सजेन्डर पुरुषहरूलाई मेरो सुझाव छ, महिनावारी प्राकृतिक प्रक्रिया हो, यसलाई लज्जाको विषय नमान्नुस् । आफ्नो स्वास्थ्य र सरसफाइमा ध्यान दिनुहोस् । राज्य र समाजले हाम्रा समस्यालाई बुझेर छुट्टै शौचालय र स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्छ । हामीले आफ्नो पहिचानमा गर्व गर्दै स्वस्थ र जिम्मेवार जीवन बिताउनुपर्छ ।

हाम्रा समस्यालाई महिला अधिकारकर्मीहरूले पनि उठाउनुपर्छ किनभने हाम्रा चुनौतीहरू महिलाहरूको भन्दा फरक र जटिल छन् । हामीले देश र परिवारका लागि योगदान गर्न सक्नुपर्छ, तर त्यसका लागि हामी स्वस्थ हुनु जरुरी छ । त्यसैले पहिचान स्विकार गर्दै आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?