News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गर्नको लागि आवश्यक मापदण्ड र तयारी पूरा भएको छ।
- शल्यक्रिया नेपालको चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले ट्रान्सजेन्डर समुदायलाई सेवा प्रदान गर्दछ।
- कानुनी व्यवस्था अभावले यस क्षेत्रमा चुनौतिहरू रहे पनि, विशेषज्ञता र प्राविधिक क्षमता उपलब्ध छन्।
२७ जेठ, काठमाडौं । पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनेको जन्मिँदा एक लिङ्गका साथ जन्मिएका तर पछि गएर आफ्नो लिङ्गीय पहिचान फरक भएको महसुस गर्ने व्यक्ति हो । यस्ता व्यक्तिले आफ्नो वर्तमान यौन अंगहरू हटाएर विपरीत लिङ्गका अंगहरू बनाउन चाहन्छन् । यो इच्छाको कुरा मात्र नभएर गम्भीर मानसिक र शारीरिक समस्याको विषय हो ।
कुनै पनि शल्यक्रिया गर्नुअघि सबैभन्दा महत्त्वपूर्ण काम भनेको व्यक्ति वास्तवमै ट्रान्सजेन्डर हो कि होइन भन्ने निश्चित गर्नुपर्छ । यसका लागि यौन मनोचिकित्सकले विस्तृत जाँच र अध्ययन गर्नुपर्छ । उनीहरूले व्यक्तिको मानसिक अवस्था, जीवनशैली र वास्तविक समस्याको गहिरो अध्ययन गर्छन् । ट्रान्सजेन्डर भएको पुष्टि भएपछि मात्र शल्यक्रियाको योजना बनाइन्छ ।
विश्व व्यावसायिक संघ ट्रान्सजेन्डर स्वास्थ्य (डब्ल्यूपीएटीएच) नामक संस्थाले ट्रान्सजेन्डर व्यक्तिको उपचारका लागि केही मापदण्ड तोकेको छ । यो संस्थामा ट्रान्सजेन्डरको उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र ट्रान्सजेन्डर व्यक्तिहरू नै सामेल छन् । उनीहरूले ‘स्ट्यान्डर्ड अफ केयर’ दिशानिर्देश बनाएका छन्, जसमा उपचारका लागि केके गर्नुपर्छ भन्ने स्पष्ट उल्लेख छ ।
उक्त मापदण्डअनुसार लिङ्ग परिवर्तनको शल्यक्रिया गर्नका लागि केही सर्त पूरा गर्नुपर्छ ।
पहिलो त साइकोलोजिस्टले व्यक्ति ट्रान्सजेन्डर हो भन्ने पुष्टि गर्नुपर्छ ।
दोस्रो, व्यक्तिले कम्तीमा एक वर्षसम्म आफूले चाहेको लिङ्गका रूपमा जीवन बिताएको हुनुपर्छ । यसरी एक वर्ष बिताएर कुनै समस्या भएन भने शल्यक्रिया गर्न सकिन्छ ।
तेस्रो, व्यक्ति १८ वर्षभन्दा माथिको हुनुपर्छ ताकि उसले आफ्नै सहमति दिन सकोस् ।
चौथो, सामान्यतया व्यक्तिले केही समयसम्म हार्मोन थेरापी लिएको हुनुपर्छ । हार्मोन लिएपछि विस्तारै व्यक्तिले आफूले चाहेको लिङ्गका शारीरिक परिवर्तनहरू महसुस गर्न थाल्छ । यसमा सहज भएपछि शल्यक्रिया गर्न सकिन्छ।

यी मापदण्डहरू सामान्य दिशानिर्देश मात्र हुन् । हरेक व्यक्तिको अवस्था फरक हुन्छ र त्यसैअनुसार उपचार पनि फरक हुन्छ ।
त्रिवि शिक्षण अस्पतालले (पारलैंगिक) ट्रान्सजेन्डर व्यक्तिमा शल्यक्रिया गर्ने योजना १ वर्षदेखि बनाइरहेको थियो । जसका लागि अमेरिकामा कार्यरत प्लास्टिक सर्जन तथा जेन्डर एफर्मेसन सर्जन डा. अलिरेजा हामिदियन जारोमीसँग छलफल भएको थियो ।
डा. जारोमीले ६ वर्षदेखि ट्रान्सजेन्डरसम्बन्धी विभिन्न उपचार गरिराख्नुभएको छ ।
नेपालमा ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया लागि चिकित्सक ब्लू डाइमन्ड सोसाइटीसँग छलफल गरिरहेका थियौँ ।
यस्तो किसिमको शल्यक्रिया गर्न खोजेको जानकारी दिँदै इच्छुक कोही हुनुहुन्छ कि भनेर ब्लु डाइमन्ड सोसाइटी संस्थासँग सम्पर्क गरेका थियौँ । त्यसपछि दुई/तीनजना व्यक्ति हाम्रो सम्पर्कमा आउनुभएको थियो ।
त्यसमध्येबाट जनकपुरका २५ वर्षीय पुरुषको शल्यक्रिया गर्ने तयारी भयो । उहाँसँग हाम्रो चैतमा भेट भएपछि शल्यक्रिया गर्नुभन्दा अगाडिका केही प्रारम्भिक जाँच गरेका थियौं । उहाँले हार्मोन थेरापी लिनुभएको थिएन ।
कहिलेकाहीँ व्यक्तिले आफैं हार्मोन लिन आवश्यक ठान्दैन वा स्वास्थ्य समस्याका कारण लिन सक्दैन । यस्तो अवस्थामा पनि अन्य मापदण्ड पूरा भएमा शल्यक्रिया गर्न सकिन्छ ।
उक्त व्यक्तिमा दुईवटा मुख्य मापदण्ड पूरा भएका थिए । पहिलो, उहाँले पहिलेदेखि नै ट्रान्सजेन्डरको रूपमा जीवन बिताइरहनुभएको थियो । दोस्रो, साइकियाट्रिस्ट र साइकोलोजिस्टले सबै परीक्षा गरेर उहाँ ट्रान्सजेन्डर हो भन्ने पुष्टि गरेको थियो ।
ट्रान्सजेन्डर हुनु मात्र पर्याप्त हुँदैन । ‘व्यक्तिमा जेन्डर डिसफोरिया’ नामक चिकित्सा अवस्था पनि हुनुपर्छ । यो भनेको व्यक्तिले आफूले चाहेको लिङ्ग नपाएको कारणले अत्यधिक मानसिक पीडा भोग्नुपर्ने अवस्था हो । यसले उनीहरूलाई दैनिक जीवनमा ठूलो समस्या हुन्छ र मानसिक रूपमा यातना सहनुपर्छ । यो अवस्थाको निदान भएपछि मात्र शल्यक्रिया एक उपचारको रूपमा मानिन्छ ।
ट्रान्सजेन्डर शल्यक्रिया कुनै सजावटी काम नभएर वास्तविक चिकित्सा उपचार हो । ट्रान्सजेन्डर व्यक्तिमा भएको समस्या निको पार्न यो आवश्यक छ ।
१३ जेठमा उहाँको शरीरमा भएको पुरुष लिङ्गको तन्तुहरू चाहिने मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रीय पुनर्निर्माण गरियो । पुरुषबाट महिलामा परिवर्तन गर्ने शल्यक्रियामा ग्ल्यान्स (लिंगको टुप्पो) जस्ता संवेदनशील भागलाई सुरक्षित राख्नुपर्छ । यस भाग विशेषगरी संवेदनशील हुन्छ, किनकि यसमा धेरै नसा हुन्छन् ।
पुरुष यौनांगको ग्ल्यान्स भागलाई सुरक्षित राखेर त्यसबाट महिलाको क्लाइटरिस निर्माण गरिन्छ ।
आवश्यक नपर्ने अंगहरूलाई हटाइन्छ भने उपयोगी अंगहरूलाई संरक्षण गरिन्छ। । ग्ल्यान्सको एउटा सानो भागबाट महिलाको क्लाइटरिस जस्तै संरचना बनाइन्छ ।
यसैगरी पिसाबको नली बनाउने र अन्य आवश्यक अंगहरू निर्माण गर्ने जस्ता सम्पूर्ण प्रक्रिया गरिएको थियो ।
यस्तो जटिल शल्यक्रियाका लागि लामो समयको तयारी चाहिन्छ । हामीले यो केसका लागि दुई महिनादेखि तयारी गरेका थियौं । सबै आवश्यक जाँचहरू, मानसिक स्वास्थ्य मूल्याङ्कन र चिकित्सा योजना बनाएर मात्र शल्यक्रिया गरेका हौं ।
यो ऐतिहासिक शल्यक्रिया डाक्टर अलिरेजाको सहयोगमा गरिएको थियो, उहाँ अनुभवी प्लास्टिक सर्जन र जेन्डर एफर्मेसन सर्जनका रूपमा परिचित हुनुहुन्छ ।

डाक्टर अलिरेजाले विगत ५–६ वर्षदेखि ट्रान्सजेन्डर समुदायसँग सम्बन्धित विभिन्न प्रकारका उपचार गरिराख्नुभएको छ । शल्यक्रिया गर्नुअघि लामो समयसम्म डाक्टर अलिरेजासँग निरन्तर सम्पर्कमा रहेर विभिन्न विषयहरूमा छलफल गरिएको थियौं ।
शल्यक्रियाको तयारी कसरी गर्ने, कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र कुन–कुन उपकरणहरू आवश्यक पर्छ भन्ने बारेमा विस्तृत जानकारी लिइएको थियो । सबै तयारी पूरा भएपछि मात्र यो शल्यक्रिया गर्न सम्भव भएको हो ।
यो जटिल शल्यक्रिया पूरा गर्न झन्डै ६ घण्टा लागेको थियो । शल्यक्रियाका हरेक चरणहरू अत्यन्त महत्वपूर्ण र संवेदनशील भएकाले प्रत्येक अंग र तन्तुलाई धेरै सावधानीपूर्वक सम्हाल्नुपर्ने हुन्छ ।
यो नेपालको चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले ट्रान्सजेन्डर समुदायलाई आवश्यक चिकित्सा सेवा प्रदान गर्ने दिशामा एक नयाँ आयाम थपेको छ ।
शल्यक्रिया गरिएको व्यक्तिको स्वास्थ्य अवस्था अहिले निकै सुधार हुँदै गएको छ । उहाँ विस्तारै निको हुने क्रममा हुनुहुन्छ र रिकभरिङ फेजमा हुनुहुन्छ । नियमित फलोअपमा राखेर स्वास्थ्यको निगरानी भइरहेको छ । पहिलेभन्दा धेरै सुधार भएको छ र पाँच दिनअघि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
शल्यक्रिया सम्पन्न भएको एक सातादेखि १० दिनको अवधिमा नै यझ सेवाबारे धेरैलाई थाहा भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा यस्तो शल्यक्रिया हुन थालेपछि धेरै व्यक्तिहरू यो सेवा लिन आउने अपेक्षा गरिएको छ ।
यो नेपालको चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले ट्रान्सजेन्डर समुदायलाई आवश्यक चिकित्सा सेवा प्रदान गर्ने दिशामा नयाँ आयाम थपेको छ ।
विदेशको तुलनामा १०–१५ गुणासम्म कम खर्च
नेपालमा लैंगिक पुनर्निर्माण शल्यक्रिया गर्ने प्राविधिक क्षमता पहिलेदेखि नै छ । चिकित्सा विभागमा यस प्रकारका जटिल शल्यक्रिया गर्न आवश्यक तालिम र दक्षता उपलब्ध छ । शल्यक्रिया प्राविधिक दृष्टिकोणले गर्न सकिने अवस्थामा छ र यस क्षेत्रमा आवश्यक विशेषज्ञता पहिलेदेखि नै विकसित भइसकेको छ ।
यस्ता शल्यक्रियाहरू अन्य जटिल चिकित्सा प्रक्रियाहरूसँग तुलना गर्दा कम जटिल पनि मानिन्छन् । चिकित्सा टोलीले यस प्रकारका अपरेस सफलतापूर्वक सम्पन्न गर्नसक्ने आत्मविश्वास छ ।
मुख्य समस्या प्राविधिक नभएर कानुनी क्षेत्रमा रहेको देखिन्छ । नेपालमा अंग प्रत्यारोपणसम्बन्धी कानुन भए तापनि लैंगिक पुनर्निर्माण शल्यक्रियाका लागि छुट्टै कानुनी व्यवस्था स्पष्ट छैन । अंग प्रत्यारोपणको कानुन यहाँ लागु हुँदैन । किनभने, यो शल्यक्रियामा अन्य व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गरिँदैन, व्यक्तिकै शरीरका अंगलाई परिमार्जन गर्ने हो ।
नेपालमा अंग प्रत्यारोपणसम्बन्धी कानुन भए तापनि लैंगिक पुनर्निर्माण शल्यक्रियाका लागि छुट्टै कानुनी व्यवस्था स्पष्ट छैन । अंग प्रत्यारोपणको कानुन यहाँ लागु हुँदैन । किनभने, यो शल्यक्रियामा अन्य व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गरिँदैन, व्यक्तिकै शरीरका अंगलाई परिमार्जन गर्ने हो ।
यस विषयमा स्पष्ट कानुनी मापदण्ड बनाउनुपर्ने आवश्यकता छ । हालसम्म कानुनले यस प्रकारका शल्यक्रियाका बारेमा स्पष्ट रूपमा उल्लेख गरेको छैन, जसले गर्दा चिकित्सक र बिरामीहरू दुवैलाई कानुनी अनिश्चितताको सामना गर्नुपरेको छ ।
लैंगिक पुनर्निर्माण शल्यक्रियाका लागि स्पष्ट कानुनी ढाँचा निर्माण गर्नुपर्ने आवश्यकता छ । प्राविधिक क्षमता र व्यावहारिक अभ्यास उपलब्ध भए तापनि कानुनी स्पष्टताको अभावले यस क्षेत्रमा काम गर्न चाहने चिकित्सकहरू र सेवा लिन चाहने व्यक्तिहरूलाई कठिनाइ भइरहेको छ ।
सरकारले यस विषयमा समग्र नीति निर्माण गरी चिकित्सा सेवाको गुणस्तर र पहुँच दुवैलाई सुनिश्चित गर्नुपर्ने देखिन्छ । यसले गर्दा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई आवश्यक चिकित्सा सेवा पाउन सहज हुनेछ ।
नेपालमा अहिले साधारणतया डेढ लाखदेखि दुई लाखसम्ममा धेरै प्रकारका अप्रेसन गर्न सकिने भएको छ । यद्यपि, यस्ता अप्रेसनहरूको निश्चित मूल्य निर्धारण गरिएको छैन । तर समयको आवश्यकता र अन्य खर्चहरूको आधारमा यो अनुमान गरिएको हो ।

विदेशमा महँगो उपचार
थाइल्यान्ड : राम्रो सेन्टरमा उपचार गराउन २५–३० लाखदेखि ३५ लाख रुपैयाँसम्म लाग्न सक्छ ।
भारत : केही ठाउँमा तुलनात्मक रूपमा सस्तो भए तापनि ४–५ लाख रुपैयाँ लाग्न सक्छ ।
अन्य देश : सामान्यतया २५–३० लाख रुपैयाँ वा सोभन्दा बढी खर्च हुन्छ ।
नेपालमा उपचार गराउँदा विदेशको तुलनामा १०–१५ गुणासम्म कम खर्च लाग्छ । यसले बिरामी र उनका परिवारलाई ठूलो आर्थिक राहत प्रदान गर्छ । विदेशमा उपचारका लागि जाँदा यात्रा, बसाइ र अन्य सहायक खर्च पनि थपिन्छ । नेपालमा उपचार गराउँदा यी सबै खर्चबाट बच्न सकिन्छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा यो एक ऐतिहासिक कदम हो । चिकित्सा सेवाको सुरुवात नेपालका लागि मात्र नभएर दक्षिण एसियाली क्षेत्रकै लागि महत्वपूर्ण मोड साबित हुने देखिन्छ । विश्वका धेरै देशहरूमा अझै पनि यस्ता उन्नत चिकित्सा सेवाहरू उपलब्ध छैनन् ।
नयाँ चिकित्सा प्रविधिको सुरुवातमा विभिन्न कानुनी र प्राविधिक समस्याको सम्भावना रहन्छ । यस्ता आधुनिक अपरेसनहरू सुरु गर्दा देखिने जटिलता र चुनौतीका कारण सुरुमा केही हिच्किचाहट स्वाभाविक थियो । तथापि, उचित तयारी र अनुभवी विशेषज्ञहरूको सहयोगमा यी चुनौतीलाई सफलतापूर्वक सामना गरिएको छ । प्रारम्भिक चरणमा विदेशी विशेषज्ञको नेतृत्वमा सुरु भए पनि अब नेपाली चिकित्सकले गर्न सक्छन् ।
यस्ता विशेष चिकित्सा सेवाहरू कुनै एक विभागको एकल प्रयासले मात्र सम्भव हुँदैन । विभिन्न चिकित्सा विभागहरूको समन्वयमा एक व्यापक टोली निर्माण गर्नु आवश्यक हुन्छ । प्रत्येक विभागको विशेषज्ञताको उचित उपयोग गरेर मात्र यस्ता जटिल चिकित्सा प्रक्रियाहरू सफल हुन सक्छन् ।
अब ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरेर नियमित रूपमा उक्त सेवा प्रवाह गर्ने योजना बनाएका छौं ।
(त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्लास्टिक सर्जरी विभागीय प्रमुख डा. श्रेष्ठसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)
तस्बिर/भिडियो : आर्यन धिमाल ।
प्रतिक्रिया 4