+

अस्मित कसरी बनिन् अस्मिता ?

२०८२ जेठ  २६ गते २१:५२ २०८२ जेठ २६ गते २१:५२

पुरुषबाट महिलामा परिवर्तन गर्ने शल्यक्रियामा ग्ल्यान्स (लिंगको टुप्पो) जस्ता संवेदनशील भागलाई सुरक्षित राख्नुपर्छ । पुरुष यौनांगको ग्ल्यान्स भागलाई सुरक्षित राखेर त्यसबाट महिलाको क्लाइटरिस निर्माण गरिन्छ ।

अस्मित कसरी बनिन् अस्मिता ?

२६ जेठ, काठमाडौं । जनकपुरको एक सामान्य घरमा जन्मिएका अस्मितको (नाम परिवर्तन) शरीर बाह्य रूपमा पुरुष थियो । तर भित्रको संसारमा उनका भावना, सपना र चाहना बिल्कुलै फरक थिए । बाल्यकालदेखि नै उनको अनुभूति महिलाको जस्तै थियो । खेल्दा केटीसँग घुलमिल हुन्थे । उनका रुचि, पहिरनप्रति लगाव र व्यवहार महिलाको जस्तै थियो ।

‘मलाई लाग्थ्यो, म अरूभन्दा फरक छु,’ उनको भनाइलाई उद्धृत गर्दै चिकित्सक भन्छन्, ‘तर के गर्नु, शरीर र समाजले मलाई पुरुष भन्थे ।’

अस्मितको पहिचानको संकट दिनप्रतिदिन बढ्दै गयो । उनको शरीर पुरुषका लक्षणमा विकसित हुँदा जाँदा मानसिक पीडा पनि बढ्दो थियो । अरू केटीजस्तै स्तन विकास नहुनु, अनुहारमा दाह्री आउनु, आवाज भारी हुनु- यी सबैले उनलाई व्यथित बनाउँथ्यो ।

परिवार र समाजले उनलाई निरन्तर पुरुषको रूपमा हेर्थे । उनका आन्तरिक भावनालाई कसैले बुझ्न चाहँदैनथे ।

‘तिमी केटा हौ, केटाजस्तै व्यवहार गर’ भन्ने दबाब निरन्तर सहनु परेको थियो ।

आफ्नो वास्तविक पहिचानका लागि अस्मितले घर छोड्ने निर्णय गरे । यो निर्णय सजिलो थिएन । परिवारको माया त्याग्नु र अनिश्चित भविष्यतर्फ हिँड्नु- यो सबै उनको लागि चुनौतीपूर्ण थियो ।

उनले आफ्नो खुसीको लागि पहिचान रोजे । ट्रान्सजेन्डरको पैरवी गर्ने नेपाल ब्ल्यू डायमन्ड सोसाइटीको संस्थामा सहयोगमा उनले आफ्नै तरिकाले नयाँ जीवन सुरु गरे ।

अस्मितको भेट चैतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का चिकित्सकसँग भयो । नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया गर्ने तयारी भयो ।

यो उनका लागि आशाको किरण थियो ।

ट्रान्सजेन्डरको अपरेसनमा खटिएको चिकित्सकको टोली।

चिकित्सकले उनको मानसिक अवस्था, शारीरिक स्थिति र सामाजिक परिस्थितिको गहिरो अध्ययन गरे । मनोचिकित्सक, प्लाष्टिक सर्जन, हर्मोन विशेषज्ञ र शल्यचिकित्सकको टोलीले उनको उपचारको योजना बनायो । १३ जेठमा नेपालमै पहिलोपटक शल्यक्रियामार्फत पुरुष व्यक्तिको लिंग परिवर्तन गरी महिला बनाइयो ।

शल्यक्रियापछि अस्मित भए अस्मिता (नाम परिवर्तन) । उनको शरीर र मनबीचको द्वन्द्व अन्त्य भयो । पहिलो पटक उनलाई आफ्नो शरीर आफ्नो जस्तो लाग्यो ।

‘अहिले पूर्ण महसुस गरेको छु,’ अस्मिता भन्छिन्, ‘मलाई जीवनमा पहिलो पटक आफ्नो शरीर आफ्नो जस्तै लाग्यो ।’

उनको यात्रा सकिएको छैन । समाजमा स्वीकार्यता, रोजगारीका अवसर र दैनिक जीवनका चुनौती अझै बाँकी छन् । तर उनको सफल शल्यक्रियाले नेपालमा ट्रान्सजेन्डर समुदायका लागि नयाँ आशाको ढोका खोलेको छ ।

‘यो शल्यक्रियाले म जस्तै अरू साथीलाई हिम्मत दिएको छ,’ उनी भन्छिन्, ‘हाम्रो पनि अस्तित्व छ । सम्मानजनक जीवन पाउने अधिकार छ ।’

ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन कसरी सम्भव भयो ?

त्रिवि शिक्षण अस्पतालले (पारलैंगिक) ट्रान्सजेन्डर व्यक्तिमा शल्यक्रिया गर्ने योजना १ वर्षदेखि बनाइरहेको थियो । जसका लागि अमेरिकामा कार्यरत प्लास्टिक सर्जन तथा जेन्डर एफर्मेसन सर्जन डा. अलिरेजा हामिदियन जारोमीसँग छलफल भएको थियो ।

डा. जारोमीले ६ वर्षदेखि ट्रान्सजेन्डर सम्बन्धीका विभिन्न उपचार गरिरहेका छन् ।

नेपालमा ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया सुरुवात गराउन डा. जारोमीको सहयोग लिने तयारी थियो । जसका लागि चिकित्सक ब्लू डाइमन्ड सोसाइटीसँग छलफल गरिरहेका थिए ।

‘यस्तो किसिमको शल्यक्रिया गर्न खोजेको जानकारी दिँदै इच्छुक कोही हुनुहुन्छ कि भनेर ब्लु डाइमन्ड सोसाइटी संस्थासँग सम्पर्क गरेका थियौँ,’ प्लास्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठ भन्छन्, ‘त्यसपछि दुई/तीनजना व्यक्ति हाम्रो सम्पर्कमा आउनुभएको थियो ।’

त्यहीँ चिकित्सक र अस्मितबीच भेट भयो । २ महिनाअघि ब्लू डाइमन्ड सोसाइटीमार्फत अस्मितसँग भेट भएको उनी बताउँछन् ।

‘शरीरिक रूपमा उहाँमा महिला बन्ने चाहना थियो । विपरीत लिंगको बन्न चाहन्छु भनेपछि हामीले केही प्रारम्भिक जाँच गर्‍यौं,’ डा. श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उहाँ ट्रान्सजेन्डर व्यक्ति प्रमाणित भएपछि शल्यक्रियाको तयारी अगाडि बढायौं ।’

प्लास्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठ

उनका अनुसार, विस्तृत अध्ययन र जाँच गरेर व्यक्ति साँच्चै ट्रान्सजेन्डर हो कि होइन भन्ने कुरा पुष्टि गरिएको थियो ।

यस्तो शल्यक्रिया अघि बढाउनका लागि विस्तृत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

आफ्नो वास्तविक पहिचानका लागि अस्मितले घर छोड्ने निर्णय गरे । यो निर्णय सजिलो थिएन । परिवारको माया त्याग्नु र अनिश्चित भविष्यतर्फ हिँड्नु- यो सबै उनको लागि चुनौतीपूर्ण थियो ।

चिकित्सकका अनुसार सबैभन्दा पहिले यस्ता बिरामीलाई मानसिक विशेषज्ञ, विशेषगरी सेक्सुअल साइकोलोजिस्ट वा साइक्याट्रिस्टमार्फत परीक्षण गरिन्छ ।

‘मानसिक अवस्था, यौनिक पहिचान र भावनात्मक स्थायित्वको अध्ययन गरेर मात्रै साँच्चिकै ट्रान्सजेन्डर हुन् कि होइन भनेर पुष्टि गर्नुपर्छ,’ डा. श्रेष्ठ भन्छन् ।

यस प्रक्रियामा वर्ल्ड प्रोफेसनल एसोसिएसन फर ट्रान्सजेन्डर हेल्थले निर्धारण गरेको स्ट्यान्डर्ड अफ केयर निर्देशिका आधार मानिन्छ ।

उक्त मापदण्डअनुसार, सेक्स चेन्ज शल्यक्रिया अघि बिरामीले कम्तीमा एक वर्ष आफ्नो पहिचान अनुसारको लिंगको रूपमा जीवन बिताएको हुनु आवश्यक छ ।

साथै, बिरामी १८ वर्षभन्दा माथिको हुनुपर्ने र आफ्नै सहमतिमा शल्यक्रियामा जाने अवस्था हुनुपर्ने प्रावधान छ ।

यसबाहेक, शल्यक्रियाका लागि आवश्यक अर्को महत्वपूर्ण प्रक्रिया हर्मोन थेरापी हो ।

चिकित्सकका अनुसार बिरामीले निर्धारित समयसम्म हर्मोन थेरापी लिएर शारीरिक र मानसिक रूपान्तरणमा आफू सहज महसुस गरेको हुनुपर्छ । त्यसपछि मात्र शल्यक्रिया गर्ने अन्तिम निर्णयमा पुगिन्छ ।

‘सबै मापदण्ड पूरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुगेको थियौं,’ डा. श्रेष्ठले भने । उक्त शल्यक्रिया गर्न ६ घन्टा लागेको थियो ।

चिकित्सकका अनुसार शल्यक्रियामा सबैभन्दा चुनौतीपूर्ण भनेको प्राकृतिक अंगहरूको संरचना र कार्यलाई ध्यानमा राखेर नयाँ संरचना निर्माण गर्नु हो ।

शल्यक्रियाका क्रममा हरेक चरणमा अत्यधिक सावधानी अपनाउनुपर्छ ।

पुरुषबाट महिलामा परिवर्तन गर्ने शल्यक्रियामा ग्ल्यान्स (लिंगको टुप्पो) जस्ता संवेदनशील भागलाई सुरक्षित राख्नुपर्छ । यस भाग विशेषगरी संवेदनशील हुन्छ किनकि यसमा धेरै नसा हुन्छन् ।

पुरुष यौनांगको ग्ल्यान्स भागलाई सुरक्षित राखेर त्यसबाट महिलाको क्लाइटरिस निर्माण गरिन्छ ।

शल्यक्रियाका क्रममा आवश्यक नपर्ने भागलाई सावधानीपूर्वक हटाइन्छ । तर उपयोगी तन्तुलाई संरक्षण गरिन्छ ।

‘हामीलाई शल्यक्रिया गर्नका लागि ६ घन्टा लागेको थियो । किनकि प्रत्येक चरणमा हामीले सावधानी अपनाउनुपर्ने हुन्छ,’ डा. श्रेष्ठले भने, ‘मूत्रनलीको पुनर्निर्माण र अन्य महत्वपूर्ण भागको निर्माण गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाहरू अत्यन्तै सूक्ष्म र जटिल हुन्छन् ।’

पहिलो पटक भएकाले पनि अनुभवी विदेशी चिकित्सकलाई सहभागी गराइएको उनले बताए ।

‘हामीलाई यो अप्रेसन आफैंले गर्नुपर्छ भन्ने कुरा पहिले नै लागेको थियो । तर कानुनी हिसाबले केही अन्योल थियो, त्यसैले सुरु गर्न ढिलाइ भएको हो,’ उनी भन्छन् ।

उनका अनुसार प्राविधिक हिसाबले यस्ता शल्यक्रिया नेपालका चिकित्सकले सजिलै गर्न सक्छन् । ‘हामीले यस्ता खालका अप्रेसन त गरिरहेकै छौं । योभन्दा जटिल शल्यक्रिया पनि गरिरहेका छौं,’ उनी भन्छन्, ‘टेक्निकल्ली हामी सक्षम छौं । हामीलाई कुनै अप्ठ्यारो छैन ।’

यस्तो अप्रेसन गर्न तालिमप्राप्त विशेषज्ञ रहेको र नेपालमै यस्ता सेवा नियमित रूपमा दिन सकिने उनले बताए ।

‘प्राविधिक रूपमा हामी तयार छौं । अब कानुनी प्रक्रिया र नीति निर्माणमा स्पष्टता भए अझ सहज हुने थियो,’ डा. श्रेष्ठ भन्छन् ।

डेढदेखि दुई लाखमै ट्रान्सजेन्डर शल्यक्रिया, कानुनी स्पष्टता भने अझै बाँकी

अहिले ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र विस्तारै पूर्ण रूपमा सुधार हुँदै गएको डा. श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त बिरामी ५ दिनअघि अस्पतालबाट डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन् ।

‘उहाँ अहिले रिकभरिङ फेजमा हुनुहुन्छ । घाउ पनि क्रमशः निको हुँदैछ,’ उपचारमा संलग्न डा. श्रेष्ठले भने, ‘हामीले उहाँलाई निरन्तर फलोअपमा राखेका छौं । पहिलेको अवस्थासँग तुलना गर्दा अहिले धेरै सुधार भइसकेको छ ।’

नेपालमै पहिलो पटक यस्तो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको खबर बाहिरिएपछि अहिले परामर्शका लागि आउनेको संख्यामा पनि वृद्धि भएको उनले बताए ।

‘अप्रेसन भएको चाहिँ करिब एक हप्ता जति भयो । अहिले केही मानिस परामर्शका लागि आउन थालेका छन्,’ डा. श्रेष्ठ भन्छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकको जनसंख्या २ हजार ९ सय २८ छ । यो कुल जनसंख्याको ० दशमलव ०.१ प्रतिशत हो । तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३२ दशमलव ७ प्रतिशत यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति छन् ।

नेपालमा पहिलोपटक ट्रान्सजेन्डर शल्यक्रिया (सेक्स चेन्ज अप्रेसन) सफल भएपछि यसलाई निरन्तरता दिने तयारी गरिएको छ । यसअघि ट्रान्सजेन्डर समुदायलाई यस्तो सेवा लिन भारत, थाइल्यान्ड लगायतका विदेशी मुलुक जानुपर्ने बाध्यता थियो ।

विदेशमा यस्तो शल्यक्रियामा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । तर नेपालमा भने करिब डेढदेखि दुई लाख रुपैयाँ खर्चमा नै यस्तो अप्रेसन गराउन सकिने डा. श्रेष्ठ बताउँछन् ।

पहिलो केसको शल्यक्रिया लागि नेपाल मेडिकल काउन्सिलसँग आवश्यक परामर्श गरिएको थियो । तर अब यस्तो शल्यक्रिया सरल तरिकाले गर्न कानुन बनाउनुपर्ने चिकित्सक बताउँछन् ।

तर, चिकित्सकका अनुसार अहिले कानुनी रूपमा अझ स्पष्ट व्यवस्था आवश्यक छ ।

त्रिवि शिक्षण अस्पतालमा आइतबार पत्रकार सम्मेलन गर्दै चिकित्सक

‘यो मेडिकल अवस्था हो, रोग नभए पनि उपचार विधि चाहिने भएकाले यस्तो शल्यक्रिया गर्न कानुनी रूपमा पनि प्रक्रिया सहज बनाउनुपर्छ,’ डा. श्रेष्ठ भन्छन् ।

कानुनी स्पष्टता नहुँदा चिकित्सकलाई भविष्यमा अप्ठ्यारो पर्न सक्ने उनीको भनाइ छ । यसका लागि ट्रान्सजेन्डर समुदाय स्वयं पनि सक्रिय हुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

‘उहाँहरूलाई यस्तो सेवा नेपालमै सहज रूपमा उपलब्ध होस् भन्ने चाहना छ,’ श्रेष्ठ भन्छन्, ‘यदि ट्रान्सजेन्डर समुदायले पनि कानुनी रूपमा यो प्रक्रिया सहज बनाउनेतर्फ पहल गरे, सबैलाई सजिलो हुन्छ ।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका विषयमा पैरवी गर्दै आएका सङ्घसंस्थाले उक्त शल्यक्रियाप्रति खुसी व्यक्त गरेका छन् ।

नेपाल ब्ल्यू डायमन्ड सोसाइटीका अध्यक्ष युनिसा पाण्डे भन्छिन्, ‘यस्तो अप्रेसन गर्न अन्य देशमा गर्न जानुपर्दा निको महँगो पर्थ्यो । नेपालमा यस्तो शल्यक्रिया हुँदा हामीलाई धेरै राहत मिलेको छ ।’

उनका अनुसार लिंग परिवर्तन गर्न धेरै साथीले इच्छा व्यक्त गरेका छन् ।

‘हाम्रा साथीहरूले लामो समयदेखि विदेशमा गएर त्यस्तो शल्यक्रिया गराउँदा १५-२० लाख तिनुपर्ने थियो, ‘उनले भनिन्, ‘पहिल्लो शल्यक्रिया सफल भएको छ । यसले निरन्तरता पाउँछ भन्ने आशामा छौं ।’

लिङ्ग परिवर्तन गर्ने शल्यक्रिया ‘ट्रान्सजेन्डर’ व्यक्तिहरूका लागि आफ्नो लैङ्गिक पहिचानका निम्ति महत्त्वपूर्ण उपाय भएको भन्दै अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरेर नियमित रूपमा उक्त सेवा प्रवाह गर्ने जनाएको छ ।

बाल्यकालदेखि नै फरक पहिचानको अनुभूति

ट्रान्सजेन्डर व्यक्तिको जीवनसँग जोडिएको अनुभव मात्र चिकित्सकीय नभई सामाजिक र पारिवारिक चुनौतीसँग समेत गाँसिएको हुन्छ । चिकित्सकका अनुसार, यस्ता व्यक्तिहरूले सानो उमेरदेखि नै आफू जन्मिएको जैविक लिंगभन्दा फरक पहिचान बोकेको अनुभूति गर्न थाल्छन् ।

‘धेरैजसोले १०-११ वर्षको उमेरदेखि नै आफू फरक जेन्डरको व्यक्ति हुँ भन्ने महसुस गर्न थाल्छन्,’ प्लास्टिक सर्जन डा. श्रेष्ठ भन्छन्, ‘तर त्यो अनुभूति समयसँगै व्यवहार र गतिविधिमा प्रकट हुँदै जान्छ ।’

उनका अनुसार, सुरुवाती चरणमा लुगा लगाउने शैली, कपालको स्टाइल, मेकअप गर्ने बानीजस्ता कुराबाट फरकपन देखा पर्न थाल्छ ।

‘केटा जन्मिएका भए पनि केटीहरू जस्तो लुगा लगाउन मन लाग्ने वा केटी जन्मिएर केटाजस्तो क्रियाकलाप गर्न मनपर्छ,’ उनी भन्छन् ।

तर, परिवार र समाजमा यस्ता परिवर्तन सजिलै स्वीकारिँदैन । सुरुमा कहिलेकाहीँ यस्ता व्यवहार हुँदा खासै समस्या नदेखिए पनि दीर्घकालीन रूपमा ती गतिविधिहरू दोहोरिँदा परिवारबाट दबाब आउन थाल्छ ।

समाज र परिवारले ‘त्यस्तो नगर्नु’ भन्दै दबाब दिन्छ । तर आफूभित्रको त्यो अनुभूति रोकेर रोकिँदैन ।

धेरैजसो अवस्थामा जब परिवारसँग मतभेद बढ्न थाल्छ, ट्रान्सजेन्डर व्यक्तिहरूलाई अन्ततः परिवार नै छोडेर अलग बस्नुपर्ने अवस्था आउँछ । यस्तै अवस्थामा, अहिले विभिन्न ट्रान्सजेन्डर अधिकारसम्बन्धी संस्थामा पुगेर उनीहरूले सहयोग लिने र आफ्नै तरिकाले नयाँ जीवन सुरु गर्ने गरेका छन् ।

‘यी सामाजिक चुनौतीहरू पार गर्दै चिकित्सकीय प्रक्रियामा आउँदा मात्रै उनीहरूले आफूलाई पूर्ण रूपमा स्वीकार गर्ने अवसर पाउँछन्,’ डा. श्रेष्ठले भने ।

ट्रान्सजेन्डर त्रिवि शिक्षण अस्पताल शल्यक्रिया

धेरै कमेन्ट गरिएका

लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय