+
+
Shares
पौरखी प्रवासी :

११ लाखको जागिर छोडेर दुबईमा १ अर्बको कम्पनी

मोरङ बुढीगंगाका कमल चौधरी सीए पढ्न चाहन्थे । तर आर्थिक अवस्था कमजोर भएका कारण विदेशिन बाध्य भए । रोजगारीका लागि कतार पुगेका कमलले विभिन्न ठूला कम्पनीमा काम गरे । मासिक ११ लाखको जागिर छोडेर सन् २०२२ देखि दुबईमा आफ्नै कम्पनी खोलेका छन् । 

सहदेव चौधरी सहदेव चौधरी
२०८२ कात्तिक १७ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमल चौधरीले आर्थिक अभावका कारण चार्टर्ड एकाउन्टेन्ट बन्न नसकेर वैदेशिक रोजगारीमा गएर कतार र दुबईमा ठूलो सफलता हासिल गरे।
  • कतार आल्मुनियमको ५.२ बिलियन डलर प्रोजेक्टमा कन्ट्रोलर भएर काम गरेका कमलले कम्पनीबाट म्यानेजर पदमा बढुवा पाए।
  • सन् २०२२ मा कमलले दुबईमा आफ्नै कम्पनी खोलेर नेपाली युवालाई रोजगारी दिलाउन थाले र वार्षिक झण्डै १ अर्ब रुपैयाँ कारोबार गर्छन्।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

कमल चौधरी (४६) ले वैदेशिक रोजगारीमा जाउँला, मनग्ये पैसा कमाउँला अनि विदेशी भूमिमा आफ्नै कम्पनी खोलेर अरूलाई रोजगारी दिउँला भन्ने कहिल्यै सोचेका थिएनन् । उनको बाल्यकालदेखिकै सपना त चार्टर्ड एकाउन्टेन्ट (सीए) पढेर कुशल एकाउन्टेन्ट बन्ने र स्वदेशमै रमाउने पो थियो ।

सपना देख्दैमा सबै कहाँ पूरा हुन्छ र ? कमलको जीवन पनि नसोचेको दिशातर्फ मोडियो । घरको आर्थिक अवस्थाले सीए पढ्न पाएनन् । नियतिले वैदेशिक रोगजारीमा जान बाध्य बनायो ।

जब कमल कतार पुगे, त्यहाँ उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गए । सामान्य लेखापालको रूपमा कतार पुगेका उनी ठूल्ठूला कम्पनीमा काम गर्ने अवसर पाए । अर्काको कम्पनीमा काम गरेर लाखौं तलब कमाइरहेका कमल अहिले दुबईमा आफ्नै कम्पनीका मालिक बनेका छन् ।

२०३६ सालमा मोरङको बुढीगंगा नगरपालिका-४ मा जन्मिएका कमल चौधरीको बाल्यकाल गाउँमै बित्यो । गाउँकै बोर्डिङ स्कुलमा कक्षा ५ सम्म पढेका उनले कमजोर आर्थिक अवस्थाका कारण त्यसपछिको अध्ययन भने सरकारी स्कुलमा गरे ।

कक्षा ६ देखि दुहबीको सरस्वती मावि पढेका कमलले २०५० सालमा त्यही स्कुलबाट एसएलसी गरे । स्कुल जान १ घण्टा पैदल हिँड्नुपर्थ्यो, त्यो पनि धुलाम्य बाटो ।
बाटोमा धेरै खोला तरेर बल्ल स्कुल पुग्थे साथीहरूसँग । उनी भन्छन्, सरकारी स्कुल पढ्दाको दु:ख भनिसाध्य छैन। बिहान स्कुल हिँडेका हामी साँझ मात्रै घर पुग्थ्यौं।

कमलले एसएसलसीपछिको अध्ययन महेन्द्र मोरङ क्याम्पसबाट गरे। अब्बल विद्यार्थी नभए पनि पढ्नुपर्छ भन्ने चेत भने उनमा थियो। ‘त्यतिबेला सबैभन्दा बद्‌मास विद्यार्थी म नै थिएँ। तर जति बद्‌मास भए पनि बढाइ चाहिँ चाहिँदो रहेछ भन्ने बुझेको थिएँ। त्यसकारण काम गर्दै कलेज पढ्न जान्थें,’ उनले सुनाए ।

बीबीएस पास गर्नुअघि कमल भगवती स्टोर, त्यतिबेलाको चर्चित लाइन ब्याट्री र पछि डालिमा साबुनको फ्याक्ट्रीको स्टोरमा काम गरे। आफ्नो पढाइ खर्च जुटाउन कहिले बोर्डिङ स्कुलमा पढाए त कहिले आफू पढेकै विद्यालयमा स्वयंसेवकको रूपमा काम गरे । तर त्यो काममा उनले उज्यालो भविष्य देखेनन्। बीबीएस पास गरेपछि भविष्य खोज्दै २०५७ सालतिर काठमाडौं हान्निए।

सीए पढ्ने सपना अधुरै

कमलले महेन्द्र मोरङ क्याम्पस पढ्दा चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना बुनेका थिए । तर उनको घरबाट सीए पढ्ने अनुमति आएन। ‘तिमीलाई सीए पढाउन २ बिघा खेत बेच्नुपर्छ । अरू छोराछोरीलाई कसरी पढाउनू ?,’ उनका बुवा भन्थे, ‘कसरी पढ्ने हो, आफैं पढ्ने व्यवस्था मिलाऊ।’ त्यसपछि सीए पढ्ने कमलको सपना जहाँको त्यही रह्यो ।

उनी भन्छन्, ‘महेन्द्र मोरङमा बीबीएस पढ्दै गर्दा सीए बन्ने सपना थियो । तर घरबाट पढ्नको लागि आर्थिक सहयोग जुटेन। अनि मेरो सीए पढ्ने सपनामा तुषारापात भयो। त्यतिबेला नेपालमा सीए पढ्ने सुविधा थिएन, भारतको दिल्ली जानुपर्थ्यो भने पढ्न करिब ६ लाख भारू खर्च हुन्थ्यो। मसँग पैसा नभएपछि सुन्दर भविष्य खोज्नका लागि काठमाडौं हिँडे’

काठमाडौंमा सुरु भयो पढाइसँगै संघर्ष

काठमाडौं आएपछि कमल २०५७ सालमा पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा मास्टर्स भर्ना भए। क्याम्पस त भर्ना भए, तर बस्ने ठेगान थिएन । डेरा नपाएपछि सुरुमा गाउँका साथीहरू शुभनारायण थन्दार, महेश थन्दारसँग मिलेर बसे । पछि ठूलोबुवाका छोरीहरूसँग मंगलबजारमा बसे ।

समयक्रममा उनले ललितपुरको च्यासलमा एउटा अध्याँरो कोठा पाए। महिनाको ४०० थियो कोठाभाडा । त्यहाँ उनी चारजना साथीहरूसँग बस्न थाले र कामको खोजी गर्न थाले ।

२०५८ सालतिर उनले कमलादीमा रहेको एससीएस ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्सीमा लेखापालको काम पाए । तलब थियो, ४ हजार । यति तलबले कलेजको फी तिर्न र घरबेटीको भाडा तिर्न धौधौ हुन्थ्यो।

एक वर्ष अफिसमै सुते, रत्नपार्कमा सस्तोमा भात खाए

समयमा कोठाको भाडा तिर्न नसकेपछि कमल एक वर्ष त अफिसमै सुते ।’४०० कोठाभाडा तिर्न पनि नसक्ने स्थिति थियो । ४ हजार तलबले कलेजको फी तिर्नु कि कोठा भाडा तिर्नु कि आफ्नो खर्च गर्नु । एक वर्ष त जहाँ गर्थें त्यहीँ सुत्थें ।’

अफिसमै सुत्न थालेपछि खाना खान भने रत्नपार्क जान्थे, जहाँ सस्तो खाना पाइन्थ्यो। उनी त्यो बेलाको क्षण सुनाउँछन्, ‘रत्नपार्कमा ५ रुपैयाँमा भुटन पाइन्थ्यो। खाना खाने पैसा नपुगेको दिन त्यही भुटन पेटभरि खाइदिन्थें । पानी खान्थें अनि कलेज र अफिस जान्थे । यसरी मैले केही वर्ष गुजारा चलाए। ती दिनहरू हिजो जस्तो लाग्छ।’

कमलादीको कन्सल्टेन्सी छाडेर कुरिन्टारमा रहेको डालिमा रिसोर्टमा एक वर्ष वरिष्ठ लेखापालको काम गरे। त्यसलगत्तै उनले डाइकिन/हिमाल एसीको कम्पनीमा वित्तीय प्रमुखको जिम्मेवारी पनि सम्हाले ।

जहाँ काम गर्दा पनि पैसाले नपुगेपछि अब यसरी हुँदैन भन्ने सोचे, र विदेश जाने योजना बनाउन थाले।सन् २००४ मा पहिलो पटक कतार गए साट्को ट्रेडिङमा, लेखापालकै रूपमा। उनका अनुसार साट्को ट्रेडिङ कन्स्ट्रक्सन कम्पनी थियो जसले बिल्डिङको काम गर्थ्यो। त्यो कम्पनीले चीन, भियतनाम, जर्मनी, ताइवान, भारत, पाकिस्तानबाट निर्माणसम्बन्धी कच्चा पदार्थ ल्याएर कतारमा बेच्‍थ्यो ।

‘रत्नपार्कमा ५ रुपैयाँमा भुटन पाइन्थ्यो। खाना खाने पैसा नपुगेको दिन त्यही भुटन पेटभरि खाइदिन्थें । पानी खान्थें अनि कलेज र अफिस जान्थे । यसरी मैले केही वर्ष गुजारा चलाए। ती दिनहरू हिजो जस्तो लाग्छ।’

कतारमा कमलको सुरुको तलब १ हजार २०० दिनार (२५ हजार नेपाली रुपैयाँ) थियो। उनलाई त्यो तलब चित्त बुझेन र ६ महिनामै त्यो कम्पनीबाट राजीनामा दिए । र, कतारमै अर्को कम्पनीमा काम गर्न थाले ।

उनी भन्छन्, ‘तर त्यतिबेला एनओसी नलिई अर्को कम्पनीमा काम गर्न नपाइने रहेछ। त्यसैले मलाई यही कम्पनीले १ हजार २०० बाट ३ हजार ६०० तलब बनाइदियो । मैले त्यहाँ २ वर्ष लेखापाल भएर काम गरेँ ।

उनलाई अझै थप पैसा कमाउने हुटहुटी थियो। त्यसैले अरू कम्पनीमा काम खोज्न थाले । फलस्वरूप, दोहामा सामको इन्टरनेसनमा कामको लागि निवेदन दिए र सन् २००७ मा छानिए ।

सामको इन्टरनेसनलले मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ (एमईपीई)को काम गर्थ्यो र दोहा टावर बनाउने प्रोजेक्टको जिम्मा पाएको थियो। उनले त्यहाँ कन्ट्रोलरको काम पाए।

‘मैले दोहा टावर बनाउने प्रोजेक्टमा २ वर्ष कन्ट्रोलरको काम गरें। प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गरें। मेरो तलब त्यतिबेला ९ हजार कतारी दिनार थियो,’ उनी भन्छन्, ‘तपाईंहरू अहिले दोहा जाँदा गोलो टावर देख्नुहुन्छ नि, मैले त्यही प्रोजेक्टमा कन्ट्रोलर भएर काम गरेको हुँ। अरू थुप्रै नेपालीहरूले यो टावर बनाउन पसिना बगाउनुभएको छ।’

त्यसपछि कमललाई अर्को फरक प्रोजेक्टमा काम गर्ने सोच आयो । तर कमलले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस मात्र गरेका थिए । त्यो पढाइ र योग्यताले विदेशमा उनलाई पहिचान दिएन । फेरि अन्तर्राष्ट्रियस्तरको डिप्लोमा कोर्ष गर्नुपर्‍यो।

केम्पे इन्जिनियरिङ जीवनको ‘टर्निङ प्वाइन्ट’

एउटा अष्ट्रेलियन कम्पनी केम्पे इन्जिनियरिङले कतार अल्मुनियमका लागि प्रोजेक्ट कन्ट्रोलर खोजिरहेको थियो। कमलले पनि कामका लागि सन् २००८ को जुन महिनामा निवेदन दिए।

मे महिनामा अन्तर्वार्ताका लागि कमललाई पनि बोलायो कम्पनीले। अन्तर्वार्ता दिने सबै उम्मेदवार विदेशी थिए।कोही भारतबाट सीए गरेका थिए, कोही सीसीए गरेका थिए । कमल मात्र त्रिविबाट एमबीएस गरेका लेखापाल थिए।

उनी भन्छन्, ‘उक्त अन्तर्वार्तामा सबैभन्दा कम योग्यता मेरै थियो। तर मसँग दोहा टावर बनाएको कन्ट्रोलरको अनुभव थियो। विदेशी उम्मेदवारहरू सबैले बढी तलब माग गरे । तर मैले एभरेजमै तलब दिए हुन्छ भनेर अन्तर्वार्ता दिएँ।’

अन्तर्वार्ता दिएको १५/२० दिनपछि उनलाई फोन आयो दोस्रो अन्तर्वार्ताका लागि। दोस्रो अन्तर्वार्ताका लागि जाँदा उनी एक्लै छानिएका रहेछन्। त्यो क्षण सुनाउँदै कमल भन्छन्, ‘मलाई उक्त प्रोजेक्टमा कन्ट्रोलरमा छानियो। मैले चाँडै कम्पनीमा आवद्ध भएर काम गर्न आउँछु भनें।तर त्यतिबेला एनओसी लिनुपर्ने झन्झट आइलाग्यो। त्यतिबेला मैले विभिन्न राजदूतहरूलाई सोर्स लगाएर एनओसी बनाएँ र काममा सामेल भएँ।’

‘मैले कतार आल्मुनियमको प्रोजेक्ट कन्ट्रोलर भएर ५.२ बिलियन डलर अर्थात् ३८० मिलियन डलरको बजेट बनाएँ । त्यसपछि कामलाई गति दिएँ र सफलतापूर्वक सम्पन्न गरें। यही नै मेरो जीवनको टर्निङ प्वाइन्ट थियो।’

कमलका अनुसार कतार आल्मुनियमको बहुराष्ट्रिय कम्पनी थियो। उक्त आल्मुनियम परियोजना ५ अर्ब अमेरिकी डलरको थियो।त्यसमध्ये केम्पी इन्जिनियरिङले पाएको काम १.५ अर्ब अमेरिकी डलरको थियो।

उनले आल्मुनियम, फलाम, तामा, सुन प्रशोधनका सबै कामहरू नजिकबाट सिके र बजेट प्लानिङमा लागे । ‘मैले कतार आल्मुनियमको प्रोजेक्ट कन्ट्रोलर भएर ५.२ बिलियन डलर अर्थात् ३८० मिलियन डलरको बजेट बनाएँ । त्यसपछि कामलाई गति दिएँ र सफलतापूर्वक सम्पन्न गरें,’ उनी भन्छन्, ‘यही नै मेरो जीवनको टर्निङ प्वाइन्ट थियो। जसका लागि कम्पनीका प्रमुख मार्क जलेन्स्कीले पूर्ण रूपमा विश्वास गर्नुभयो ।’

उक्त प्रोजेक्टमा कमलसँग ७०० जना कामदार थिए जसमा १५ देखि २० जना नेपाली, १० जना भारतीय र ३ जना फिलिपिनोले सँगै काम गरेका थिए । उक्त प्रोजेक्टमा टार्गेट २/३ प्रतिशत मार्जिन पाए पनि कमलले ७ प्रतिशत मार्जिन राखेर कम्पनीलाई बुझाएका थिए।

प्रोजेक्टले सफलता पाइसकेपछि कम्पनीले कमललाई प्रोत्साहनस्वरूप म्यानेजर लेभलमा बढुवा गर्यो । उनलाई कम्पनीले असिस्टेन्ट फाइनान्स म्यानेजर बनाएर सन् २०११ मा मोजाम्बिक पठायो।

कमलले त्यहाँ आल्मुनियमसम्बन्धी परिमार्जन र अपग्रेड प्रोजेक्टमा ६ महिना काम गरे । उनी भन्छन्, ‘मोजाम्बिकमा मैले असिसटेन्ट फाइनान्स म्यानेजरको रूपमा काम गरें। त्यहाँ बेलायतको कम्पनी बीएचपी बिलिटनसँग मिलेर आल्मुनियमको अपग्रेड एन्ड मोडिफिकेसन मोडलमा काम गरें। त्यहाँ पनि ४६० मिलियन डलरको प्रोजेक्ट थियो।’

कम्पनीले मोजाम्बिकको प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गरे केही नयाँ पदमा काम गर्ने अवसर आउन सक्छ भनेर आश्वासन दिएको थियो। कमल उक्त प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गरी संयुक्त अरब इमिरेट्स फर्किए । कम्पनीले दुबईमा उनलाई रिजनल फाइनान्स म्यानेजर बनायो।

उनी भन्छन्, ‘कम्पनीको ४/५ वटा शाखा थिए दुबई, कतार, ओमान साउदीमा । म चार/पाँचवटा शाखाको रिजनल म्यानेजर भएँ।’ त्यो कम्पनी सन् २०१४ मा अष्ट्रेलियन र फिनिस कम्पनीसँग मर्ज भयो।

आफ्नो कम्पनीमा नेपालीलाई रोजगारी

कम्पनी मर्ज भइसकेपछि कमलले आफूले काम गर्ने कम्पनीमा थुप्रै नेपाली युवाहरूलाई रोजगारी दिलाए । उनले पूर्वदेखि पश्चिमसम्मका नेपालीहरूलाई रोजगारी दिलाउन सक्दो मद्दत गरे। काम मात्र होइन नेपालीहरूको तलबमा पनि आफूले सक्ने जति वृद्धि गरिदिएँ।

उनी भन्छन्, ‘म काम गर्ने कम्पनीमा थुप्रै नेपाली युवायुवतीलाई काम लगाइदिएँ। उहाँहरूलाई टीब्वायबाट क्लर्क, सुपरभाइजरसम्म बनाएँ जसमा पूर्वदेखि पश्चिमसम्मका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू हुनुहुन्थ्यो। उहाँहरूको तलब १ लाखबाट ५/६ लाख खाने बनाइदिएँ।’

कम्पनी मर्ज भएपछि कमलले दुई वर्ष काम गरे । त्यसपछि प्रोमोसनको कुरा आयो । त्यतिबेला क्याम्पेको वार्षिक टर्नओभर ३०० देखि ४०० मिलियन डलर थियो भने मेस्टो कम्पनीको ५.२ बिलियन डलर वार्षिक टर्नओभर थियो ।

उनी आवद्ध हुँदा ४.३ बिलियन डलरको कम्पनी थियो। कमलका अनुसार उनी रिजनलको फाइनान्स कन्ट्रोलर हुँदा पनि रिजनको मात्रै वार्षिक टर्न ओभर १ बिलियन, १.३ बिलियन डलर थियो। कम्पनीमा कन्ट्रोलर, फाइनान्सियल म्यानेजर, रिजनल फाइनान्स कन्ट्रोलर र अन्तिममा बिजनेस कन्ट्रोलर उच्च पद हुन्छ।

उनी भन्छन्, ‘प्रोमोसन हुने बेलामा सबैभन्दा सिनियर म थिएँ। तर सीए हुनुपर्ने रहेछ। म भने सीए थिइनँ। त्यहाँ केही नोकझोक भयो। कम्पनीमा कुरा मिलेन। नेपाली भनेर हेपेको जस्तो फिल भयो । मेरो तलब त्यतिबेला मासिक ११ लाख थियो। मैले कम्पनी छाडिदिएँ।’

अनि दुबईमा आफ्नै कम्पनी खोले

उनीहरूले यो नेपाली त हो, कहाँ जान्छ र, फेरि आउने त होला भनेर गरेको हेलाहोचोले मनमा इख जागायो कमलको। उनले सन् २०२२ मा आफ्नै कम्पनी खोले र नाम राखे ‘क्लिन वर्ल्ड म्यानेजमेन्ट कन्सल्टेन्सी’।

उक्त कम्पनीमा कमलले एकजना फिनल्यान्डका नागरिक पेन्टी कोर्जेनेनलाई पनि पार्टनरको रूपमा भित्र्याए। उनी भन्छन्, ‘मैले किन उहाँसँग सहकार्य गर्नुपर्‍यो भने ठुल्ठूलो प्रोजेक्टमा एकजना गोरो छाला भएको मान्छे देखाउनैपर्छ। उहाँ उमेरले ६० वर्षको हुनुहुन्छ । अहिले रिटार्यट फेजमा हुनुहुन्छ। यो हामी एसियनहरूको दुर्भाग्य, गोरो छाला नराखेमा प्रोजेक्टमा काम ल्याउन र पाउन गाह्रो छ।’

उनको कम्पनी क्लिन वर्ल्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले वार्षिक झण्डै १ अर्ब बराबरको कारोबार गर्छ । उनी भन्छन्, ‘हाम्रो कम्पनीले वार्षिक ७० लाख अमेरिकी डलरभन्दा बढी (झण्डै १ अर्ब नेपाली रूपैयाँ) अमेरिकी डलरको कारोबार गर्छ।’

कमलका अनुसार जतिसुकै अनुभवी र विशेषज्ञता हासिल गरे पनि बिलियन डलरको प्रोजेक्टमा काम ल्याउन र पाउन एसियनहरूलाई विश्वास नै नगर्ने रहेछन्।’

कमलका अनुसार ६० वर्यीय पेन्टीको मार्केटिङ फिल्डमा लामो अनुभव छ। पेन्टीले साउदीको अल मसुरा गोल्ड प्रोजेक्ट, जिजानको इजिप्टको स्विस स्टिल्समा २०० देखि ३०० मिलियन डलरको प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गरेको कमलको भनाइ छ।

कमलको क्लिन वर्ल्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले वार्षिक झण्डै १ अर्ब बराबरको कारोबार गर्छ । उनी भन्छन्, ‘हाम्रो कम्पनीले वार्षिक ७० लाख डलरभन्दा बढी (झण्डै १ अर्ब नेपाली रूपैयाँ) अमेरिकी डलरको कारोबार गर्छ।’

उनी भन्छन्, ‘मैले एउटै कम्पनीमा त्यतिबेला फाइनान्स सम्हालेको थिएँ भने उहाँले सेल्स डिपार्टमेन्ट हेर्नुभएको थियो। गोल्ड, जिजान र इजिप्टको सबै प्रोजेक्ट उहाँको डिलमा सफलता प्राप्त गरेको थियो।’

कमलका अनुसार दुबई कतारमा नेपालको जस्तो टेबलमुनिबाट कुनै पनि काम नहुने भएकाले त्यहाँ शतप्रतिशत काम हुन्छ । ‘दुबई, कतारमा कुनै पनि काम गर्दा नेपालमा जस्तो घुस खुवाउनु पर्दैन। जे काम हो, त्यही काममा सबै मिलेर गर्नुपर्छ, नत्र जरिवाना बेहोर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा ठिक त्यसको उल्टो छ। त्यसकारण नेपाल विकासमा धेरै पछाडि छ।’

नेपालको विकास गर्न यहाँ नीति र कानुन मात्रै नभई नेतृत्वमा रहेका नेताहरूको नियत पनि सफा हुनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले जेनजी आन्दोलनले केही नयाँ आशा पलाएको छ। तर यसअघिका कुनै पनि नेतृत्वले सफा नियतले काम गरेको देखिएको थिएन।सबै विकासका काममा घुस र भ्रष्टाचार नै बढी समाचारहरूमा सुनिन्थ्यो।’

नेपाल बनाउन अब युवाहरू सक्रिय हुनुपर्ने र विकासमा विदेशमा रहेका युवाहरूको सिप र ज्ञान लगाए मात्रै देशको मुहार फेर्न सकिने उनको भनाइ छ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

पौरखी प्रवासी
लेखक
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?