+
+
Shares
पौरखी प्रवासी :

अमेरिकामा रोग नियन्त्रणको गणितीय सूत्र खोजिरहेका नेपाली वैज्ञानिक

सिन्धुलीको सामान्य गाउँमा टुकीको धिपधिपे उज्यालोबाट शुरु भएको नवीन वैद्यको यात्रा आज विश्वस्तरीय वैज्ञानिकसम्म पुगेको छ। उनी अमेरिका बसेर रोगको गणित लेखिरहेका छन्।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक १३ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. नवीन वैद्य सिन्धुली रातमाटास्थित झागाझोली गाउँमा जन्मेका थिए र संघर्षपूर्ण जीवनबाट उठ्दै विश्वस्तरीय वैज्ञानिक बनेका छन्।
  • उनले क्यानडाको योर्क विश्वविद्यालयमा औद्योगिक र अनुप्रयुक्त गणितमा स्नातकोत्तर गरे र अमेरिकामा सान डिएगो स्टेट युनिभर्सिटीमा प्राध्यापकका रूपमा कार्यरत छन्।
  • डा. नवीनले नेपालमा गणितीय जीव विज्ञान अनुसन्धान केन्द्र स्थापना गरी अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य र नेपाली विद्यार्थीहरूको विकासमा योगदान पुर्‍याएका छन्।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्।

पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो।

हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

माथि टलक्क घाम टल्किने टाकुरो, तल कलकल बग्ने सुनकोशी नदी। वरिपरि हरियो वनले घेरिएको सिन्धुली रातमाटास्थित, झागाझोली गाउँमा जन्मिएका थिए नवीन वैद्य।
नवीनको परिवार संघर्षले भरिएको थियो।बुवा सामान्य सरकारी जागिरे थिए। तर नवीन बालकै छँदा बुवा बिते। बुवाको हात समाउन नपाउनु ठूलो पीडा थियो उनमा।

घरमा आमा एकमात्र आधार थिइन्। खेतीपाती र सानोतिनो काम गरेर आमाले सन्तानलाई पढाउनुपर्‍यो। आमाको त्यही संघर्ष र आँसु मिसिएको साहसले नवीनलाई पढाइको बाटोमा टिकाइराख्यो।

नवीनले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरे। टुकीको धुवाँले भरिएको मधुरो कोठामा किताब पढेका दिन अझै उनको मानसपटलमा ताजै छन्।

आमा बिहान-बेलुकी खेतबारीको काममा व्यस्त भइरहँदा उनी भने पढाइमा तल्लीन हुन्थे। स्कूल पुग्न एक घण्टा उकालो-ओरालो हिंड्नुपर्थ्यो। तर कठिनाइले उनलाई रोक्न सकेन। बरु, पढ्ने जाँगर अझ बढ्दै गयो। विद्यालय तहमा उत्कृष्ट नतिजा ल्याएर नवीन आफ्नो गाउँको मात्र होइन, छिमेकी गाउँका लागि पनि गर्वको पात्र बने।

काठमाडौंदेखि अन्तर्राष्ट्रिय यात्रा

नवीन विद्यालयको पढाइ सकिएपछि ठूलो सपना बोकेर काठमाडौं पसे। गाउँका मान्छेका लागि काठमाडौं अर्कै संसार थियो। राजधानीमा टिक्न सजिलो थिएन। तर नवीनले काठमाडौंमा संघर्ष गरे। पार्टटाइम काम गरेर पढाइलाई निरन्तरता दिए।

पाटन संयुक्त क्याम्पसबाट विज्ञान पढे, त्रिचन्द्र कलेजबाट स्नातक गरे। त्यसपछि अमृत साइन्स क्याम्पसबाट गणितमा स्नातकोत्तर गरे। पढाइसँगै उनी शिक्षक बने। काठमाडौंका कलेज र विद्यालयमा गणित पढाए।

नवीनको सपना भने यतिमा मात्र सीमित थिएन। उनले बुझेका थिए- नेपालमा सैद्धान्तिक ज्ञान राम्रो छ, तर अनुसन्धान गर्न अन्तर्राष्ट्रियस्तरको अवसर आवश्यक छ। यही चाहनाले उनलाई विदेशतिर डोर्‍यायो।

क्यानडाबाट अमेरिकासम्म

क्यानडाको योर्क विश्वविद्यालयमा भर्ना भएपछि नवीनको जीवन नयाँ दिशातर्फ मोडियो। त्यहाँ उनले पहिलो पटक औद्योगिक र अनुप्रयुक्त गणितमा स्नातकोत्तर गरे। त्यसपछि पीएचडी शुरु गरे।

उनको अनुसन्धान विषय थियो- इन्फ्लुएन्जा भाइरस र मानव कोषबीच हुने मेम्ब्रेन फ्युजनको गणितीय मोडेल। यो अध्ययन अद्वितीय थियो, जसले उनलाई अन्तर्राष्ट्रियस्तरमा चिनायो। उनले यो शोधपत्रको लागि युनिभर्सिटीकै प्रतिष्ठित सुसान मान डिजर्टेसन अवार्ड पाए।

नवीनले पीएचडीपछि अमेरिका र क्यानडाका विश्वप्रसिद्ध संस्थामा अनुसन्धान गर्ने अवसर पाए। लस अलामोस नेसनल ल्यावोरेटरीमा पोस्टडक गरे। त्यसपछि क्यानडाको युनिभर्सिटी अफ वेस्टर्न रिसर्चमा फेलो बने।

अमेरिकाकै युनिभर्सिटी अफ मिजोरी क्यान्सास सिटीमा सहायक प्राध्यापक भए। अन्ततः सन् २०१७ मा उनी सान डिएगो स्टेट युनिभर्सिटी (एसडीएसयू) पुगे, जहाँ अहिले प्राध्यापकका रूपमा कार्यरत छन्।

अनुसन्धान र उपलब्धि

डा. नवीन वैद्यको अनुसन्धानको केन्द्रबिन्दु रोग–विज्ञान हो। तर रोगलाई उनी चिकित्सक जस्तो होइन, गणितज्ञको दृष्टिले बुझ्छन्। उनी गणितीय समीकरणमार्फत भाइरस शरीरभित्र कसरी फैलिन्छ भन्ने मोडेल गर्छन्। उनले एचआईभी, हेपाटाइटिस, कोभिड-१९ जस्ता भाइरसहरूको गतिको गणितीय अध्ययन गरेका छन्।

नेपालका डाटामा आधारित गरेर उनले कोभिड-१९, मलेरिया, रेबिज, डेंगु, लम्पी स्किन आदिको समुदायस्तरीय मोडेलिङ गरेका छन्। उनका अनुसार रोग नियन्त्रणका रणनीतिहरू बनाउन गणितीय मोडेल महत्वपूर्ण आधार हुन्छ।

डा. नवीनको योगदान केवल अनुसन्धानमा मात्र सीमित छैन। उनले चार वटा एनएसएफ ग्रान्ट्स, दुई साइमोन्स फाउन्डेसन ग्रान्ट र २० भन्दा बढी अन्तर्राष्ट्रिय अनुदान प्राप्त गरेका छन्। ६१ भन्दा बढी अन्तर्राष्ट्रिय जर्नलमा उनका लेख प्रकाशित छन्।

विश्वका विभिन्न देशहरूमा १२५ भन्दा बढी रिसर्च टक्स जसको धेरै किनोट स्पिच पनि उनले समावेश र प्रस्तुत गरेका छन्।

नेपालप्रतिको समर्पण

विदेशमा भए पनि डा. नवीन वैद्य सधैं नेपालसँग जोडिएका छन्। ‘नेपालमा स्रोत र प्रविधि सीमित भए पनि क्षमता असीमित छ। त्यसैले जहाँ भए पनि म देशकै लागि योगदान गर्ने सोच राख्छु’, उनी भन्छन्।

यही सोचको परिणाम थियो डा. नवीनले आयोजना गरेको सन् २०१९ को सिम्पा समर स्कूल इन म्याथम्याटिकल बायोलोजी नेपाल। त्यो विद्यालय केही दिनको कार्यक्रम मात्र थिएन, यसले नेपाली विद्यार्थी र वैज्ञानिकहरूको लागि नयाँ युग सुरु गरिदियो।

सहभागीहरूले एएमएनएस-२०१९ सम्मेलनमा पोस्टर प्रस्तुत गरे। कतिपयले आफ्ना काम प्रतिष्ठित जर्नलमा प्रकाशित पनि गरे। धेरैले अमेरिका तथा क्यानडाका वैज्ञानिकहरूसँग निरन्तर सहकार्य शुरु गरे। सबैभन्दा ठूलो उपलब्धि भनेको यस विद्यालयले त्रिभुवन विश्वविद्यालय र सान डिएगो स्टेट युनिभर्सिटी (एसडीएसयू) बीचको सहकार्यलाई दीर्घकालीन आधारमा मजबुत बनाउनु हो।

त्यसकै परिणामस्वरूप तीन जना विद्यार्थीले डा. नवीन र डा. केदारनाथ उप्रेतीको सुपरीवेक्षणमा त्रिविबाट पीएचडी पूरा गरे। तीमध्ये डा.खगेन्द्र अधिकारी ताइवान सरकारको छात्रवृत्तिमा ताइवानमा अनुसन्धान सहकार्य गरिरहेका छन्। थप ८ जना विद्यार्थी हाल त्रिविमा पीएचडी गर्दैछन्।

यस सहकार्यका लागि आईएमयू, कमिसन फर डेभलोपिङ कन्ट्रिज (सीडीसी) बाट अनुदान पनि प्राप्त भयो। यस छात्रवृत्तिमा प्रत्येक विद्यार्थीले १२ लाख रुपैयाँभन्दा बढी सहयोग पाए, जुन नेपालको सन्दर्भमा ठूलो शैक्षिक सहयोग थियो।

यस अवधिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभाग र एसडीएसयू अमेरिका बीच अनुसन्धान साझेदारीमा औपचारिक हस्ताक्षर भयो। यो पहलले गणितलाई सरकारी नीतिगत तहमा मान्यता दिने उदाहरणका रूपमा चिनाएको छ।

सन् २०२३ मा उनी र उनका सहकर्मीहरूले मिलेर गणितीय जीव विज्ञान अनुसन्धान केन्द्र, नेपाल स्थापना गरे। सन् २०२५ मा पनि सिम्पा पाठ्यक्रम, एईएसआईएम स्कूल (काठमाडौं), आईसीएमबी-२०२५ (पोखरा) जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना भए।

ती कार्यक्रममा नेपाल सहित १४ देशका शोधकर्ता सहभागी भए। यी कार्यक्रमहरूले नेपालको अन्तर्राष्ट्रिय बायोमाथेमेटिक्स समुदायमा मजबुत उपस्थिति स्थापित गरिदिए।

जीवनशैलीमै नेपालसँगको सम्बन्ध

नेपालसँगको सम्बन्ध उनको जीवनशैली बनेको छ। ‘जब शनिबार बिहान ७ बज्छ नेपालमा र शुक्रबार बेलुकी हुन्छ सान डिएगोमा, म मेरो रिसर्च समूहसँग जुम मिटिङमा जोडिन्छु’, उनी भन्छन्।

हरेक सातामा करिब दुईदेखि तीन घण्टा लामो यो बैठकमा अनुसन्धानका गम्भीर विषयहरूमा छलफल हुन्छ। नयाँ विचारहरूको आदान–प्रदान, ताजा नतिजाहरूको बहस र आगामी योजनाहरूको खाका तयार हुन्छ।

यस्ता बैठकलाई उनले विगत ६ वर्षदेखि निरन्तरता दिएका छन्। यसले नेपाली विद्यार्थी र अनुसन्धानकर्तालाई प्रत्यक्ष अन्तर्राष्ट्रिय अनुभव दिनुका साथै डायस्पोरा वैज्ञानिक समुदायबाट ज्ञान र सीपको निरन्तर हस्तान्तरणमा ठूलो योगदान पुर्‍याएको छ।

यस निरन्तरताले नेपाल र विदेश बीच वैज्ञानिक सहकार्यलाई पुलको रूपमा मात्र होइन, एक किसिमको जीवित प्रयोगशाला बनाइदिएको छ, जहाँ विचारहरू न सीमामा अड्किन्छन्, न त समयको फरकले रोकिन्छन्।

डा. नवीन आज अमेरिका बसेर रोगको गणित लेखिरहेका छन्। तर उनको कथा शुरु भएको थियो, सिन्धुलीको टुकीको मधुरो उज्यालोमा। बुबा गुमाएको पीडा, आमाको संघर्ष, गाउँको बाटो हुँदै राजधानीको चहलपहल, अनि अन्तर्राष्ट्रिय विश्वविद्यालयको प्रयोगशाला- यी सबै अनुभव उनको जीवनमा जोडिंदै गए। यही संघर्ष र लगनले उनलाई विश्वस्तरीय वैज्ञानिक बनायो।

सामान्य गाउँको केटाले पनि संसारलाई योगदान दिने वैज्ञानिक बन्न सक्छ भन्ने प्रमाण डा. नवीन वैद्य बनेका छन्। उनको साधना र समर्पणले विज्ञान मार्फत राष्ट्रको प्रतिष्ठा उजिल्याउने दीप जलेको छ- जहाँ उनले हरेक उपलब्धि मातृभूमिप्रतिको प्रेम र दायित्वको प्रतीक बनाएका छन्।

पौरखी प्रवासी
लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?