
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. विनयकुमार श्रेष्ठले नेपालमा अत्याधुनिक क्यान्सर अस्पताल स्थापना गर्ने सपना लिएर स्विट्जरल्यान्डमा काम गरिरहेका छन्।
- स्विस क्यान्सर सेन्टरसँग एमओयू गरी नेपाली चिकित्सकलाई तालिम र अनुभव दिने योजना बनाइएको छ।
- कास्कीको ढिकुरपोखरीमा अस्पताल निर्माणको लागि करिब पाँच करोड रुपैयाँ निजी लगानी भइसकेको छ।
बार्सिलोना । बेर्नस्थित युनिभर्सिटी अस्पतालको रेडिएसन अंकोलोजी विभाग। अत्याधुनिक उपकरणहरूको घेराभित्र एक नेपाली चिकित्सक चुपचाप बिरामीसँग समय बिताउँछन्। उनको मन भने हजारौँ किलोमिटर टाढा, मातृभूमि नेपालतिरै छ।
उनी हुन्- डा. विनयकुमार श्रेष्ठ, जसको सपना छ, नेपालमा अत्याधुनिक क्यान्सर अस्पताल स्थापना गर्ने।
करिब दुई दशक युरोपमा उच्चस्तरीय क्यान्सर उपचारमा संलग्न डा. श्रेष्ठ, दिनहुँ असंख्य जीवनसँग जुधिरहेका छन्। तर नेपालप्रति उनका लगाव र जिम्मेवारी कहिल्यै घटेका छैनन्।
कास्कीको ढिकुरपोखरीमा जग्गाको तयारी, डच आर्किटेक्ट प्रो. फेन्स्त्रासँग अस्पतालको डिजाइन तयार पार्ने काम र स्विस क्यान्सर सेन्टरसँग समझदारीपत्र (एमओयू) सम्झौता भइसकेको छ।
‘धेरैले सोच्छन्, विदेशमा सिकेको अनुभव मात्र साझा गर्नुपर्छ,’ चितवनमा जन्मिएका डा. श्रेष्ठ भन्छन्, ‘तर म भने ठूलो सपना लिएर केही गर्ने प्रयास गरिरहेको छु। यो अस्पताल केवल भवन होइन, नेपाल र स्विट्जरल्यान्डबीच स्वास्थ्य सेवाको बलियो पुल हुनेछ।’
तर, यो सपना पूरा गर्न सजिलो छैन। नेपालका जटिल प्रशासनिक प्रक्रियाले डा. श्रेष्ठको उत्साहलाई बारम्बार चुनौती दिइरहेका छन्। अर्कोतर्फ, अर्बौँ रुपैयाँको लगानी जुटाउनु ठूलो चुनौती हो। अहिलेसम्म करिब पाँच करोड रुपैयाँ खर्च भइसकेको छ। तर डा. श्रेष्ठ अडिग छन्, ‘दुनियामा असम्भव केही छैन। ठोस योजना र दृढ अठोट भएमा सबै चुनौती पार गर्न सकिन्छ ।’
बाल्यकालको प्रेरणा
सन् १९७३, चितवनको सानो गाउँ मंगलपुरमा जन्मिए विनयकुमार श्रेष्ठ। उनका बुबा चामुनारायण श्रेष्ठ शिक्षक, आमा गृहिणी। घरमा पढाइ र संस्कारको महत्व कहिल्यै छुट्दैनथ्यो। बिहानैदेखि साहित्य र शिक्षा घरको हावा जस्तै थियो। परिवारमा प्रायः ‘मुनामदन’ कण्ठस्थ सुन्ने चलन थियो, र बुबा–आमाले सधैं पढाइको महत्व सम्झाइरहन्थे।
श्रेष्ठका लागि शिक्षा केवल किताबी ज्ञान मात्र थिएन। उनी बाल्यकालमै उनी जिम्मेवारी र संवेदनशिलताको पाठ सिक्न थाले। चौथो कक्षामा पढ्दा हजुरआमा बिरामी परिन्। सानो मनले महसुस गर्यो- मानिसको स्वास्थ्य रक्षा गर्नसक्ने क्षमता पाउनु जीवनकै ठूलो उपलब्धि हो। त्यही क्षणले उनलाई डाक्टर बन्ने लक्ष्य तय गरिदियो।
उनले बालकुमारी माध्यमिक विद्यालय, नारायणगढबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे। त्यसपछि काठमाडौं आएर नेपाल साइन्स क्याम्पस, रामशाहपथबाट आईएससी पनि प्रथम श्रेणीमै पास गरे।
दृढ इच्छाशक्ति र लगातार मिहिनेतको फलस्वरूप, उनलाई चितवनको कलेज अफ मेडिकल साइन्सेस, भरतपुरबाट छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर प्राप्त भयो। यही अवसरले उनलाई अन्तर्राष्ट्रिय स्तरको चिकित्सक बन्ने बाटो खोलिदियो।
अन्तर्राष्ट्रिय यात्रा
सन् २००२, युनाइटेड मिसन हस्पिटल, तानसेनबाट इन्टर्नसिप पूरा गरेपछि डा. विनय श्रेष्ठको जीवन मोडियो। प्रारम्भिक अभ्यासको समयमै उनको रुचि अस्थी शल्यक्रिया (अर्थोपेडिक सर्जरी)मा केन्द्रित थियो। त्यसैअनुरूप उनले बनेपास्थित एचआरडीसी अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा काम सुरु गरे।
त्यही क्रममा उनले पहिलोपटक स्विट्जरल्यान्डको अस्पतालमा आवेदन दिए। तर त्यहाँ काम गर्न अंग्रेजी मात्र पर्याप्त थिएन, जर्मन भाषा अनिवार्य रहेछ। त्यसैले सुरुको अवसर उनीबाट छिनियो। ‘जर्मन नजानी यहाँ पात पनि नहाल्ने रहेछ,’ उनी सम्झिन्छन्।
अर्थोपेडिक सर्जरीमा रुचि राखेका डा. श्रेष्ठ पछि अष्ट्रिया र स्विट्जरल्यान्डका विभिन्न अस्पतालमा फेलोसिप गर्दै डेढ वर्षसम्म हाडजोर्नी र शल्यक्रियासम्बन्धी तालिममा संलग्न भए। यही समयलाई उनले जर्मन भाषा सिक्ने सुनौलो अवसरको रूपमा सदुपयोग गरे।
सफल अभ्यासपछि उनी स्विट्जरल्यान्डका ग्रामीण गाउँमा फ्यामिली मेडिसिन अभ्यास गर्न गए। दुई वर्षसम्म गाउँमा बसेर समुदायसँग नजिक हुँदै उनले चिकित्सकीय अनुभवलाई अझ समृद्ध बनाए। यसैबीच, बेर्न युनिभर्सिटीबाट बायोमेडिकल इञ्जिनियरिङमा स्नातकोत्तर अध्ययन पनि पूरा गरे, जसले उनको व्यावसायिक क्षमता र अनुसन्धान क्षमतामा थप गहिराइ ल्यायो।
सर्जरीबाट अङ्कोलोजीतर्फ
सन् २००८ को सुरुवात। अर्थोपेडिक सर्जरीमै करिअर बनाउने सपना बोकेका डा. श्रेष्ठले पुरानो जागिरबाट राजीनामा दिए। तर नयाँ बाटो के हुनेछ भन्ने अनिश्चितता मनमा निरन्तर रह्यो। अब म के गर्ने त ? यो प्रश्न बारम्बार आफ्नै मनसँग सोधिरहन्थे।
त्यसपछि उनले जुरिखको युनिभर्सिटी अस्पतालमा इन्टरनल मेडिसिन रेसिडेन्सीका लागि आवेदन दिए। प्रारम्भिक उद्देश्य केवल भाषा अझ निखार्ने मात्र थियो, ताकि पछि फेरि शल्यक्रियातर्फ फर्किन सकियोस्। तर जीवनले उनलाई अप्रत्यसित मोडमा पुर्यायो।
इन्टरनल मेडिसिनमा काम गर्ने क्रममा उनले पहिलो पटक रेडिएसन अङ्कोलोजी विभागको नजिकबाट अनुभव पाए। क्यान्सर बिरामीसँगको प्रत्यक्ष सम्पर्क, उपचार प्रक्रिया र त्यहाँ संलग्न डाक्टरहरूको समर्पणले उनको सोच बदलिदियो। ‘अपरेसन मात्र गरेर होइन, यसरी पनि जीवन बचाउन सकिन्छ,’ उनले महसुस गरे। यही क्षणदेखि उनले आफ्नो करिअरको दिशा परिवर्तन गर्ने निर्णय गरे।
डेढ वर्षको गहिरो संलग्नतापछि डा. श्रेष्ठ जीवनमा कहिल्यै कल्पना नगरेको क्षेत्रमा स्थायी प्रवेश गरे- रेडिएसन अङ्कोलोजी। यससँगै उनले जनरल मेडिसिनमा पनि विशेषज्ञता हासिल गरे। ‘यी दुई क्षेत्रमा विशेषज्ञता हासिल गरेको छु भन्न पाउँदा गर्व लाग्छ,’ उनी स्मरण गर्छन्।
जुरिखस्थित युनिभर्सिटी अस्पतालमा रेडिएसन अङ्कोलोजी विभागमा उनले अनुसन्धान, अध्यापन र नेतृत्वमा अनुभव बटुले। नितान्त पारिवारिक कारणले जुरिखबाट केही समयका लागि बिदा लिए पनि यात्रा स्विट्जरल्यान्डमै निरन्तर रह्यो।
सन् २०१८ देखि डा. श्रेष्ठ बेर्नस्थित प्रतिष्ठित युनिभर्सिटी अस्पतालमा सिनियर कन्सल्टेन्टका रूपमा कार्यरत छन्। त्यहाँ अत्याधुनिक प्रविधिबाट क्यान्सर बिरामीको उपचारमा संलग्न छन्, साथै नयाँ पुस्ताका चिकित्सकलाई तालिम दिन र अनुभव बाँड्न व्यस्त छन्।
स्विस–नेपाल क्यान्सर अस्पतालको सपना
‘धेरै पटक मैले सुन्दै आएको कुरा हो- विदेशमा सिकेको ज्ञान, सिप र अनुभव बाँड्नुपर्छ। तर त्यो केवल सम्मेलन वा प्यानल छलफलमै सीमित भएर सम्भव हुँदैन,’ क्यान्सर विशेषज्ञ डा. विनय श्रेष्ठ भन्छन्।
उनको आँखामा चमक छ, आवाजमा आत्मविश्वास। ‘त्यसैले हामीले केही वर्षअघि आफ्नै तवरबाट ‘स्विस–नेपाल क्यान्सर हस्पिटल प्रोजेक्ट’ सुरु गरेका हौं। कसैलाई यो देखावटी वा असम्भव लाग्न सक्छ, तर मेरो लागि यो केवल योजना होइन, जीवनको सपना हो, ’ उनी भन्छन् ।
कास्कीको ढिकुरपोखरीमा अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना पाँच वर्षअघिदेखि छ। डा. श्रेष्ठ भन्छन्, ‘२० वर्षदेखि स्विट्जरल्यान्डमा बसेर काम गर्दै आएको अनुभवले मलाई यो जिम्मेवारी अनुभूति गराएको छ। अहिले मलाई र मेरो परिवारलाई मुनाफाभन्दा बढी नेपालका क्यान्सर पीडितका लागि केही गर्ने कर्तव्य महसुस हुन्छ।’
नेपालमै मेडिसिन पढेका डा. श्रेष्ठ थप्छन्, ‘यदि मैले नेपालबाट प्राप्त गरेको आधारभूत शिक्षा र दक्षता नपाएको भए, यो यात्रा सम्भव हुने थिएन। त्यसैले मेरो जिम्मेवारी केवल स्विस बिरामीलाई उपचार गर्ने मात्र होइन, मातृभूमि नेपालमा पनि योगदान दिनु हो।’
उनको टिमले अहिलेसम्म करिब पाँच करोड रुपैयाँ निजी लगानी गरिसकेको छ। विगत पाँच वर्षदेखि नेपाल–स्विट्जरल्यान्ड दुवैतर्फ निरन्तर प्रयत्न जारी छन्- संस्था दर्ता, टिम निर्माण, जग्गा खरिद र थप जग्गा लिजिङ प्रक्रियाको अन्तिम चरणमा पुगेको छ। ‘हाम्रो टिममा व्यवसायी, प्राविधिक र नेपाल–स्विट्जरल्यान्डमा कार्यरत चिकित्सकहरू छन्,’ डा. श्रेष्ठ भन्छन्।
सन् २०२३ को अक्टोबरमा डच आर्किटेक्ट प्रो. फेन्स्त्राले अस्पताल बन्ने जग्गा अवलोकन गरेका थिए। ‘हामीले प्रो. फेन्स्त्रालाई स्विट्जरल्यान्ड बोलाएर युनिभर्सिटी हस्पिटल बेर्नको क्यान्सर विभाग देखायौं। बिरामी राख्नेदेखि उपकरण व्यवस्थासम्म सम्पूर्ण डिजाइन अध्ययन गरियो,’ उनी सम्झन्छन्।
प्रारम्भिक लागत अनुमान दुई अर्ब रुपैयाँ देखिएको भए पनि यो अझ बढ्ने निश्चित छ। ‘हामीले यसलाई तीन चरणमा अघि बढाउने योजना बनाएका छौं । पहिलो चरणमा एक अर्ब, दोस्रो र तेस्रो चरणमा फेरि एक–एक अर्ब लगानी गर्ने,’ डा. श्रेष्ठ योजना स्पष्ट पार्छन्।
प्रोजेक्ट अहिलेसम्म कम्पनीको निजी लगानीकै आधारमा अघि बढिरहेको छ। ‘सुरुमै सार्वजनिक गर्यौं भने भिजनलाई असर पुग्ने डर थियो। तर यो केवल निजी लगानी होइन, सेवामुखी सोच हो,’ उनले जोड दिए।
उनका अनुसार, स्विस क्यान्सर विशेषज्ञ दुईजना डाक्टरहरूले समेत लगानी गरेका छन्। ‘तर उनीहरूले यसलाई डोनेसनको रूपमा उल्लेख गरेका छन्। सानो–सानो रकम एफडीआईको सीमाले गर्दा नेपाल पठाउन कठिन देखिएको छ,’ डा. श्रेष्ठले थपे।
यस्तो प्रोजेक्ट केवल संरचना निर्माण मात्र होइन, यो सपना हो- नेपालका क्यान्सर पीडितका लागि आशाको किरण, स्वास्थ्य क्षेत्रमा परिवर्तनको सन्देश र मातृभूमिसँग गहिरो भावनात्मक जोड। डा. श्रेष्ठ यो अस्पताल भविष्यको स्वास्थ्य सेवा प्रणालीमा एक महत्वपूर्ण पुल बन्ने कुरामा विश्वस्त छन्।
क्यान्सर सेन्टरसँग सहकार्य
डा. विनय श्रेष्ठ भन्छन्, ‘स्विस–नेपाल क्यान्सर हस्पिटल स्थापना र सञ्चालनका लागि आवश्यक ‘नो-हाउ ट्रान्सफर’ र तालिमका लागि हामीले युनिभर्सिटी हस्पिटल बेर्नको क्यान्सर सेन्टरसँग एमओयू गरेका छौं। सन् २०२४ फेब्रुअरी १४ मा स्विट्जरल्यान्डमै दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।’
उनका अनुसार, यस सम्झौतापछि नेपाली चिकित्सक र प्राविधिकले स्विट्जरल्यान्डमै अत्याधुनिक अस्पताल सञ्चालनका अभ्यास नजिकैबाट हेर्ने, सिक्ने र तालिम लिने अवसर पाउनेछन्।
‘यसरी गर्दा डिजाइन कस्तो हुनुपर्छ, कस्तो खालको मेसिन प्रभावकारी हुन्छ भन्नेबारे प्रत्यक्ष अनुभव लिन सकिन्छ,’ उनले भने, ‘हाम्रा डाक्टर, नर्स र प्राविधिकलाई यहाँ ल्याएर तालिम दिन सकिन्छ। साथै, स्विस डाक्टरलाई नेपाल लगेपछि उनीहरूलाई प्रत्यक्ष उपचारमा संलग्न गराउने वातावरण पनि तयार भइरहेको छ।’
डा. श्रेष्ठका अनुसार, यस सहकार्यले स्विस अनुभवलाई प्रत्यक्ष नेपालमा जोड्ने पुल निर्माण गर्नेछ। ‘यहाँका क्यान्सर सेन्टरमा उपचारसँग सम्बन्धित धेरै महत्वपूर्ण डकुमेन्टहरू छन्, जसमा नेपालबाट प्रत्यक्ष पहुँच हुनेछ। साथै, हामीले क्यान्सर सेन्टरका प्रमुख तथा हाम्रो प्रोजेक्टमा लगानी गरेका स्विस डाक्टरलाई पनि नेपाल लैजाने तयारी गरिरहेका छौं। नेपालतिर कामको प्रक्रिया अघि बढ्नेबित्तिकै त्यो वातावरण सुनिश्चित हुनेछ,’ उनले थपे।
अनुभव र नेतृत्वको यात्रा
नेपालमा क्यान्सर अस्पतालको सपना अघि बढाउँदै गर्दा डा. विनय श्रेष्ठ युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई पनि एकजुट गर्दैछन्। गत वर्ष उनले सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप नामक संस्थाको नेतृत्व सम्हाले।
‘युरोपमा विभिन्न मुलुकमा काम गर्दा फरक–फरक नियम, प्रक्रिया र चुनौती आउँछ। नयाँ आउने स्वास्थ्यकर्मीलाई सहज बनाउन हामीले अनुभव साटासाट गर्ने प्लेटफर्म बनाएका हौं,’ डा. श्रेष्ठ भन्छन्।
यस संस्थाले विभिन्न मुलुकमा स्वास्थ्यकर्मीका लागि आवश्यक दर्ता (रजिष्ट्रेसन), परीक्षा प्रक्रिया र अन्य विवरण आफ्नै वेबसाइटमार्फत उपलब्ध गराएको छ। ‘अब नयाँ आउनेलाई पहिलेका स्वास्थ्यकर्मीले सहयोग गर्ने, अनुभव बाँड्ने वातावरण बनेको छ,’ उनले थपे।
नेदरल्यान्ड्सको आम्स्टर्डाममा भर्खरै सम्पन्न प्रथम वार्षिक अधिवेशनमा युरोपका नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा देखिएका नयाँ प्रवृत्ति, चुनौती र समाधानबारे छलफल गरे।
सम्मेलनमै नेपलिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५ को अवार्ड प्रा. डा. गणेश आचार्यलाई प्रदान गरियो। ‘युरोपमै मात्र होइन, नेपालको दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि हामीले नियमित रूपमा सम्मान गर्ने योजना बनाएका छौं,’ डा. श्रेष्ठले भने।
उनका लागि नेपालमा अत्याधुनिक क्यान्सर अस्पताल स्थापना गर्ने सपना र युरोपमा फैलिएका नेपाली स्वास्थ्यकर्मीलाई एकताबद्ध गर्ने अभियान दुवै मोर्चामा अघि बढिरहेका छन्। ‘नेपालप्रति प्रेम कहिल्यै घटेन। स्वदेशमै केही गर्ने अठोट नै मेरो यात्राको आधार हो,’ उनी भन्छन्।
डा. श्रेष्ठका अनुसार, उनको विदेशमा अनुभव लामो समयदेखि सुरु भएको थियो। ‘सन् १९६०–७० ताका नेपालमा गएर काम गरेका स्विसहरूले स्थापना गरेको स्विस-नेपाली समाजमा पनि मैले काम गर्ने अवसर पाएको थिएँ। सन् २००६ देखि २०१५ सम्म त्यहाँ बसेर कार्य गर्दा धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले सम्झिए।
त्यसै क्रममा उनले स्विट्जरल्यान्डमा एनआरएन अभियानमा सक्रिय सहभागिता जनाए। दुई पटकसम्म एनआरएनए स्विट्जरल्यान्डको नेतृत्व गरे र एक कार्यकाल आईसीसी सदस्य बने। ‘युरोपमा रहेका नेपालीहरूबीच समन्वय र हेलमेलको अनुभव त्यहीँबाट प्राप्त भयो,’ उनले बताए।
दृढ संकल्प
अन्ततः, डा. श्रेष्ठका शब्दहरूले उनको अटुट अठोट र मातृभूमिप्रतिको निष्ठा प्रष्ट पार्छन्। ‘मेरो सपना केवल भवन होइन, यो जीवन बचाउने, आशा दिने र मातृभूमिसँगको अटूट सम्बन्ध हो। जहाँ अठोट, योजना र सेवा भाव छ, त्यहाँ असम्भव केही छैन,’ उनी भन्छन्।
रेडिएसन अङ्कोलोजीमा मात्रै होइन, पछि उनले जनरल मेडिसिनमा पनि विशेषज्ञता हासिल गरे। आफ्नै यात्रालाई फर्केर हेर्दै उनी थप्छन्, ‘यी दुई क्षेत्रमा विशेषज्ञता हासिल गरेको छु भन्न पाउँदा मलाई गर्व लाग्छ। तर अब मैले मात्र गर्व गरेर होइन, देशका लागि केही गरौं भन्ने संकल्पसहित यो सपनाको प्रोजेक्टमा होमिएको हुँ।’
उनको गर्व अब व्यक्तिगत उपलब्धिमा सीमित छैन। त्यो नेपालका क्यान्सर बिरामीहरूको जीवनमा नयाँ आशा जगाउने सामूहिक यात्राको सुरुवात बनेको छ। यही संकल्पले उनलाई केवल सफल चिकित्सक मात्र होइन, मातृभूमिलाई आशाको उज्यालो दिन खोज्ने प्रेरणा स्रोत बनाएको छ।
प्रतिक्रिया 4