
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलकी फुटबल खेलाडी अस्मिता आले हाल इंग्ल्याण्डको वुमन्स सुपर लिगमा लेस्टर सिटीबाट खेलिरहेकी छन्।
- अस्मिताले १८ वर्ष पुगेपछि एस्टन भिल्लासँग व्यावसायिक सम्झौता गर्दै इंग्ल्याण्डमा खेल्ने पहिलो नेपाली मूलकी महिला फुटबलर बन्न सफल भएकी थिइन्।
- उनी इंग्ल्याण्डको विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छन् र लफबरो युनिभर्सिटीमा स्पोर्टस साइन्समा अध्ययनरत छिन्।
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
आफ्ना सन्ताले अन्तर्राष्ट्रिय ख्याति कमाएको देख्दा कसका आमाबाबु खुसी नहोलान् ? फुलबलका माध्यमबाट परिवार मात्र होइन, सिंगो देशकै नाम उँचो बनाउने नेपाली चेली हुन् अस्मिता आले।
अस्मिता नेपाली मूलकी ती फुटबलर हुन्, जसले इंग्ल्यान्डको वुमन्स सुपर लिग (डब्लूएसएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । हाल लेस्टर सिटीबाट खेलिरहेकी २३ वर्षीय डिफेन्डर अस्मिताले यसअघि एस्टन भिल्ला र टोटनहमबाट समेत खेलिसकेकी छन् ।
इंग्ल्यान्डको विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेकी अस्मिताले १८ वर्ष पुगेपछि एस्टन भिल्लामा व्यावसायिक सम्झौता गर्दै इतिहास रचेकी थिइन् ।
रिटायर्ड गोर्खा सोल्जरकी छोरी अस्मिताको पुर्ख्यौली घर नेपालमा छ । तनहुँ, दमौली स्थायी घर भएका भूतपूर्व गोर्खा अमृत आले र वसन्ती आलेकी छोरी हुन् उनी ।
हाल लिबरो युनिभर्सिटीमा स्पोर्टस साइन्समा ब्याचलर्स गर्दै गरेकी अस्मिताले खेलसँगै पढाइलाई पनि सँगै अघि बढाएकी छिन् ।
अस्मिताले अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त गरेको सफलताले उनको परिवार मात्र होइन, सबै नेपालीलाई खुसी बनाएको छ । ‘खेलका कारण पढाइमा भने अलिक ब्रेक लागेको छ,’ बुबा अमृत भन्छन्, ‘छोरीले परिवार र देशको नाम उँचो पारेकी छिन् । त्यसैमा हामीलाई गर्व छ ।’
प्रिमियर लिग विश्वकै चर्चित फुटबल लिग हो । यहाँ खेल्न विश्वकै उत्कृष्ट खेलाडीहरू समेत आकर्षित हुन्छन् । अस्मिता त्यही देशको फुटबल लिग खेल्ने एकजना खेलाडी हुन्, जो इंग्ल्यान्डको महिला लिगमा व्यावसायिक सम्झौता पाउने नेपाली मूलकी पहिलो फुटबलरसमेत हुन् ।
गत वर्ष स्काई स्पोर्टसले न्युजले प्रकाशित गरेको एक सामग्रीमा अस्मिता वुमन्स सुपर लिगमा खेल्ने नेपाली हेरिटेजकी एक मात्र खेलाडी रहेको उल्लेख छ । यस्तै उनी साउथ एसिया कम्युनिटीबाटै इंग्ल्यान्डमा खेल्ने एक मात्र फुटबलर हुन् ।
यस सिजन उनले वुमन्स सुपर लिगमा लेस्टरका लागि तीन खेल खेलिसकेकी छन् ।
८ वर्ष हुँदा नै क्लबमा आबद्ध
अस्मिताले ७ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरिन् भने ८ वर्षको हुँदा एस्टन भिल्लाको एकेडेमीमा पुगिन् । उनले आफ्नो फुटबल कला त्यहीँ निखारिन् ।
स्थानीय ब्वाइज टिममा केही समय खेलेपछि एस्टन भिल्लाबाट उनको फुटबल यात्रा अगाडि बढेको थियो ।
१६ वर्ष पुगेपछि उनले एस्टन भिल्लाबाट वुमन्स सुपर लिगमा खेल्न थालिन् । १८ वर्ष पुगेपछि मा सन् २०१९ मा उनलाई एस्टन भिल्लाले प्रोफेसनल कन्ट्रयाक्ट गरेको थियो ।
अस्मिताले एस्टन भिल्लालाई सन् २०२० को वुमन्स सुपर लिग प्रमोसन गराउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । जसले गर्दा उनको चर्चा थप चुलिएको थियो ।
एस्टन भिल्लादेखि लेस्टरसम्म
अस्मिताले फुटबल खेल्न सुरु गरेको क्लबमै पहिलो व्यावसायिक सम्झौता गर्दै फड्को मारेकी थिइन् । सन् २०१९ मा एस्टन भिल्लाले नै उनलाई त्यो अवसर दिएको थियो ।
पहिलो पटक क्लबमा सम्झौता गरेपछि उनले व्यावसायिक फुटबल खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएकी थिइन् । ‘व्यावसायिक रूपमा फुटबल खेल्ने मेरो सपना हो र यो क्लबमा रहँदा म खुसी छु,’ अस्मिताले त्यसबेला भनेकी थिइन् ।
अस्मिताले सन् २०२१ सम्म एस्टन भिल्लाबाट खेलिन् । त्यहाँ रहँदा क्लबका लागि ५० खेल खेलेकी थिइन् । त्यसपछि इंग्ल्यान्डकै अर्को क्लब टोटनहम हटस्परमा आबद्ध भइन् । टोटनहममा उनले सन् २०२१ देखि २०२४ सम्मको अवधिमा ३१ खेल खेलिन् ।
सन् २०२१ मा बेलायतको चर्चित अनलाइन बीबीसी स्पोर्ट्सले अस्मितालाई वुमन्स सुपर लिगको पाँच ब्राइटेस्ट योङ ट्यालेन्ट भनेर समाचार प्रकाशित गरेको थियो ।
इंग्ल्यान्डमा उमेर समूहको प्रतिनिधित्व
अस्मिताले अहिलेसम्म इंग्ल्यान्डमा तीन फरक क्लबबाट खेलिसकेकी छन् । जसले उनको खेलमा थप निखार आइरहेको छ । यस अवधिमा उनले क्लबबाट मात्र नभई इंग्ल्यान्डको उमेर समूहबाट समेत खेलिसकेकी छन् ।
सन् २०१७-१८ को सिजनमा पहिलो टिममा आवद्ध भएयता उनले व्यवस्थापन, खेलाडी तथा समर्थकको मन जित्न सफल भएकी थिइन् । टिमकी प्रमुख प्रशिक्षक गेम्मा डेभिस भविष्यमा अस्मिताले टिमका लागि ठूलो योगदान दिन सक्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘अस्मिताले आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । अहिले उनी करिअरको सुरुवातमै छिन् र मलाई लाग्छ, उनीसँग पर्याप्त सम्भावना छ ।’
अस्मिताले इंग्ल्यान्डको महिला टिमको उमेर समूहको टिम यू-१७, यू-१८ र यू-१९ टिमबाट समेत खेलिसकेकी छन् । यस्तै युरोपियन यू-२३ लिगको उद्घाटन खेलमा समेत इंग्ल्यान्डको टिममा समावेश थिइन् ।
‘म इंग्ल्यान्डको लागि खेल्न मन पराउँछु । यो मेरो सपना थियो । हरेक लिटिल गर्लका लागि आफ्नो राष्ट्रका लागि खेल्नु सम्भवत: सपना हुने गर्छ,’ अस्मिताले गत वर्ष स्काई स्पोर्ट्स न्युजसँगको कुराकानीमा भनेकी थिइन्, ‘क्लबभन्दा आफ्नो देशका लागि खेल्नु केही फरक हुन्छ । तपाईँले प्रेरणा पाउनुहुनेछ।’
अस्मिताले सन् २०१८ मा १६ वर्षको उमेरमै यू-१७ युरोमा इंग्ल्यान्डका लागि डेब्यु गरेकी थिइन् । जहाँ उनले इटलीविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलेकी थिइन् ।
अस्मिताले आफ्नो परिवार नै आफ्नो लागि सबैभन्दा ठूलो समर्थक भएको बताएकी छन् । साथै उनले आफ्नो बुबाबाट नै स्पोर्ट्सको जेनेटिक्स आफूमा सरेको बताइन् ।
ब्रिटेनले गएको २०० वर्षभन्दा बढी समयदेखि नेपालबाट गोर्खा सैनिक भर्ती गर्दै आएको छ । गोर्खा सैनिकहरू विश्वमै आफ्नो बहादुरी, इमानदारी र निडरका लागि परिचित छन् ।
अस्मिताका बुबा अमृतले पनि १९ वर्ष आर्मीमा काम गरे । उनी आफैं पनि स्क्वास खेलाडी हुन् । नेपालमा रहँदा उनले दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय स्क्वास टिमका लागि छनोट खेलेका थिए ।
तर, उनले छनोटमा सहभागिता जनाए पनि सेप्टेम्बर ११ को अमेरिका अट्याकका कारण तत्काल खेल हुन सकेन । त्यसपछि अस्मिताको बुबा अमृत बेलायतको एक रेजिमेन्टमा फर्किनुपर्ने भएकाले उनले आफ्नो परिवारलाई पनि पहिल्यै पहिले नै बेलायत लगे । किनभने, उनकी श्रीमतीको डेलिभरी मिति नजिक रहेकोले त्यस्तो बेला यात्रा असुरक्षित ठानिन्थ्यो ।
अस्मिता बेलायत जन्मने उनको परिवारको पहिलो सदस्य बनिन् । उनी आफ्नो करिअरभर परिवारको साथ पाएकोले आफूलाई भाग्यमानी ठान्छिन् ।
‘म बच्चा हुँदादेखि उहाँहरूले मलाई इंग्ल्यान्ड लैजानुहुन्थ्यो । मैले भिल्ला एकेडेमीमा खेल्दा पनि सँगै लैजानुहुन्थ्यो,’ अस्मिताले स्काई स्पोर्ट्स न्युजसँग भनेकी छन्, ‘जब मैले इंग्ल्यान्डको लागि खेलेँ, उहाँहरू मलाई हेर्नका लागि फ्लाइट चढेर विभिन्न देशमा पुग्नुहुन्थ्यो । उहाँहरू कति सपोर्टिभ हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो।’
अस्मितालाई परिवारले सधैँ आफूहरू कहाँबाट आएको हो भन्ने कुरा सुनाउने गरेका छन् र साथै संस्कृति पनि सम्झन भनेका छन् ।
‘मलाई नेपाली खाना मन पर्छ । मेरो ममी निकै राम्रो कुक हुनुहुन्छ । हामी धेरै उत्सवहरू सँगै मनाउँछौं,’ अस्मिताले भनिन्, ‘जब म युवा थिएँ, म हरेक वर्ष परिवारसँगै नेपाल जाने गर्थेँ । किनकि, मेरा धेरै आफन्तहरू नेपालमै बस्नुहुन्थ्यो ।’
इंग्ल्यान्डमा ब्रिटिस नेपालिज कम्युनिटी धेरै रहेको र त्यहाँ विवाह, पार्टी जस्ता रमाइलो क्षण पनि हुने गरेको उनले बताइन् ।
अस्मिताले आफ्नो जीवनमा फुटबलको ठूलो प्रभाव रहेको बताउँदै यसले आफ्नो विकास र आत्मविश्वासमा सहयोग गरेको बताइन् । ‘जब म बच्चा थिएँ, धेरै शान्त थिएँ । म्यानेजरले मलाई तिमीले बोल्नुपर्छ भनेर धेरै पटक भनेका थिए ।
फुटबलले मलाई फरक अवस्थामा अघि बढ्नका लागि धेरै सहयोग गरेको छ । मलाई स्कुलमा चिन्नेहरूले अहिले म धेरै कन्फिडेन्ट भएको भन्छन्,’ उनले भनिन् ।
प्रतिक्रिया 4