+
+
Shares
पौरखी प्रवासी :

मासु काट्दा काट्दै अमेरिकामा रेस्टुरेन्ट मालिक

उदयपुरको गरिब परिवारमा जन्मिएका कालुराम चौधरीले जीविकोपार्जनका लागि मजदुरी गरे । मासु काटे । क्रुजमा कुकको काम गरे । अहिले अमेरिकामा आफ्नै रेस्टुरेन्ट खोलेर दुनियाँलाई नेपाली स्वाद पस्किरहेका छन् ।

सहदेव चौधरी सहदेव चौधरी
२०८२ असोज २० गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली प्रवासीहरूले विश्वका विभिन्न भूभागमा श्रम, बुद्धि र साहसले नेपालको पहिचान स्थापित गरेका छन्।
  • उदयपुरका कालुराम चौधरीले बाल्यकालदेखि संघर्ष गर्दै अमेरिका पुगेर माउन्ट एभरेष्ट रेष्टुरेन्ट खोलेका छन्।
  • काल्सले अमेरिका पुग्नु अघि चीन, दुबई र क्रुज जहाजमा सेफको रूपमा काम गरेर अनुभव सँगालेका थिए।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

मान्छे सफलता हातमा बोकेर जन्मिँदैन । उसको सफलतासँग मिहिनेत र सङ्घर्ष, धैर्यता जोडिएको हुन्छ । निरन्तरको परिश्रम र संघर्षबाट सफलताको शिखर चुमेका व्यक्ति हुन्, उदयपुर चौदण्डीगढीका ४७ वर्षीय कालुराम चौधरी (काल्स) ।

काल्सले जीविकोपार्जनका लागि बाल्यकालमै राइस मिलमा काम गरे । गाँस, बास र कपासका लागि बिल्डर्स कम्पनीमा मजदुरी गरे । मासु काटे । क्रुजमा कुकको काम गरे । अहिले अमेरिकामा आफ्नै रेस्टुरेन्ट खोलेर दुनियाँलाई नेपाली स्वाद पस्किरहेका छन् ।

काल्सको जन्म २०३५ सालमा उदयपुर चौदण्डीगढी-५ को एक गरिब परिवारमा भयो । गरिबीकै कारण उनी बाल्यकालमै गाउँकै मंगल राइस मिलमा काम गर्न भएका बाध्य थिए । राइस मिलमा पार्ट टाइम काम गरेर केही कमाउँथे र खर्च जुटाउँथे । त्यसपछि स्कुल जान्थे ।

२०४८ सालको आम चुनाव आइरहेको थियो। राइस मिलका मालिक थिए कांग्रेस नेता सत्‍यनारायण चौधरी (क्षेत्रपाल)। उनी त्यतिबेला खुबै चल्तापुर्जा कांग्रेसका उम्‍मेदवार थिए । क्षेत्रपालको पैत्रिक सम्पत्ति टन्नै थियो । जग्गा-जमिन, मिल र गाईघाट बजारमा घर थियो । जब उनले २०४८ सालको चुनाव हारे, त्यसको असर जग्गा-जमिन, चलिरहेको राइस मिल र गाईघाट बजारको घरमा पर्‍यो। राइस मिल त बन्द नै भयो। मिलमा काम गर्ने मिस्त्री, कामदारहरूमा त्यसको ठूलो असर पर्‍यो।

काल्स त्यतिबेला ६ कक्षामा पढ्दै थिए। सँगसँगै मिलमा पार्ट टाइम काम गरेर आफ्नो रोजीरोटी चलाइरहेका काल्सको मुखको माड नै खोसियो।

काठमाडौंको संघर्ष

गाउँको राइस मिल बन्द भएपछि काल्सले कामको खोजीमा छिमेकी किसुनदेव विश्वकर्माको सहयोगमा काठमाडौंको यात्रा तय गरे । त्यतिबेला किसुनदेव काठमाडौं-गाईघाट चल्ने सीता ट्राभल्समा सहचालकको काम गर्थे। ती दिन सम्झिँदै किसुनदेव भन्छन्, ‘काल्सलाई मैले सीता ट्राभल्समा चढाएर उसको मामा बस्‍ने कलंकी पुर्‍याइदिएँ। ऊ आफ्नो मामासँग कलंकीमा बस्‍न थाल्यो।’

काल्स २०५० सालमा कामको खोजीमा काठमाडौं प्रवेश गर्दा जम्माजम्मी १५ वर्षका थिए । सुरुमा उनले बरफ फ्याक्ट्रीमा काम गरे । तर त्यो काम खासै चित्त बुझेन । काम छाडे ।

काम खोज्दै जाँदा बिल्डर्स कम्पनीमा पुगे । त्यहाँ काम त पाए तर लेबरको । स्कुल जाने उमेरका उनलाई गाँस, बास र कपासको लागि काम गर्न बाध्य भएका थिए ।

उमेर सानो तर भारी आफूभन्दा ठूलो बोक्नुपर्ने। तर नाइँ भनेनन्। कलिलै उमेरमा भारी बोकेको देखेर उनलाई कसैले राम्रो ठाउँमा काम लगाइदिने आश्वासन दिए। त्यो दिन सम्झिँदै काल्स भन्छन्, ‘मसँग काम गर्नुको विकल्प थिएन। पुस-माघको जाडो, तर पनि मामको जोहोका लागि काम त गर्नु नै थियो। मैले त्यसका लागि जस्तोसुकै भारी काम गर्न तयार हुनुपर्‍यो।’

उनले बिल्डर्स कम्पनीमा ३ महिना काम गरे। पछि बिल्डर्स कम्पनीकै एकजनाले चौधरी ग्रुप (सीजी ग्रुप) मा कार्यालय सहयोगीको काम लगाइदिए।

कार्यालय सहयोगीसँगै स्वअध्ययन

चौधरी ग्रुपमा कार्यालय सहयोगीको काम गर्ने काल्स त्यहीँ खाने-बस्‍ने गर्न थाले । उनी चौधरी ग्रुपमा दिनभर काम गर्ने र फुर्सदको समयमा स्कुलमा पढ्‍न नपाएका कोर्षहरू (कक्षा ७, ८, ९ र १०) पढ्‍ने गर्थे । उनलाई लाग्थ्यो- सँगै पढेका साथीहरू ठूलो कक्षामा पुगिसके होलान् ।

त्यही भएर उनी प्रत्‍येक वर्ष एक स्तर माथिल्लो कक्षाका किताब किनेर पढ्ने गर्थे । काल्स गाउँमा जेहेनदार विद्यार्थीका रूपमा चिनिन्थे । त्यसैले पढाइ छाड्न चाहँदैनथे। तर काठमाडौं बसेर काम गर्नु उनको बाध्यता थियो। काल्स भन्छन्, ‘काम गर्न थालेपछि कहाँ स्कुलमा पढ्न जान पाउनु र ?

साथीहरूलाई सम्झिँदै सीजीको छतमा बसेर हरेक दिन किताबका पानाहरू अध्ययन गर्थें र पाठहरू कण्ठस्थ पार्थें। कक्षा ७, ८, ९ र १० चौधरी ग्रुपको छतमै बसेर पढें।’

स्वअध्ययन गरेको हुनाले एसएसलसी दिन पाउने कुरै भएन। त्यसैले एक दिन अफिसमा उनले स्कुल पढ्ने इच्छा जाहेर गरे । तर चौधरी ग्रुपका इन्जिनियरले उनलाई उल्टै खिसिट्युरी गर्दै उडाए। ती इन्जिनियरले काल्सको कुरा हाकिमसम्म पुर्‍याए। त्यसपछि उनले नसोचेको नियति भोग्नु पर्‍यो। चौधरी ग्रुपले उनलाई कि जागिर छाड्‍नुपर्ने कि त पढाइ छाड्नुपर्ने अवस्थामा पुर्‍याइदियो । उनले पढाइ रोजे अनि स्थायी भइसकेको चौधरी ग्रुपको जागिरबाट राजीनामा दिए ।

अनि मासु काटे

काल्सले सीजी ग्रुपबाट राजीनामा दिइसकेपछि मासु पसलमा काम पाए । त्यहाँ उसले मासु काट्‍नेदेखि पसल-पसलमा पुर्‍याउनेसम्म काम गरे । उनको कामबाट साहुजी खुसी थिए । सुरुमा साइकलमा मासु पुर्‍याउने काल्सलाई एक महिनाभित्रैमा साहुजीले मोटरसाइकल किनिदिए ।

काल्सले थप मिहिनेतका साथ मासुको मार्केटिङ गर्न थाले । उनको मार्केटिङले काठमाडौंका पाँचतारे होटलबाट समेत मासुको माग आउन थाल्यो। काल्स भन्छन्, ‘मैले मोटरसाइकलमा मासु राखेर पाँचतारे होटलमा पुर्‍याउन थालें। त्यसपछि धेरै ठाउँमा कामको अफरसमेत पाउन थालें।’

विस्तारै मासु पसलका साहुजीले मार्केटिङका लागि कार किनिदिए । काल्स चौधरी अब कारमा मासु लिएर होटलमा पुर्‍याउन जान थाले । उनी मार्केटिङ गरी बिल र पैसासमेत आफैं बोकेर ल्याउँथे । ‘मेरो मिहिनेतको कदर साहुजीले गर्नुभयो । मनकारी साहुजी मलाई छोरा जस्तै मान्नुहुन्थ्यो ।कार किनेर मार्केटिङको सबै जिम्मेवारी दिनुभयो।’

त्यतिबेला काल्सले होटल-होटलमा जनसम्पर्क बनाइसकेका थिए। उनलाई याक एन्ड यति होटलमा जागिरको अफर आयो।

सन् २००२ मा काल्सले होटल याक एन्ड यतिमा मासु काट्‍ने काम थाले । त्यहाँ काम गर्दा मासु काट्नुका साथै कुकिङसम्बन्धी धेरै काम सिक्ने मौका पाए। ‘मैले त्यो होटलमा मासु काट्‍ने काम पाएको थिएँ। तर साथीहरू मिलनसार भएकाले कुकको कामसमेत सिकाइदिए,’ उनले सुनाए ।

होटल याक एन्ड यतिमा खानाका सबै परिकार बनाउन सिकिसकेपछि काल्स केन्टिनेन्टल सेफको रूपमा सन् २००६ मा तिब्बत गए। ‘सबै खाना बनाउन सिकिसकेपछि मलाई चीनमा कन्टिनेन्टल सेफको रूपमा काम गर्ने अफर आयो। म चीन गएँ, यो मेरो पहिलो विदेश यात्रा थियो,’ उनी भन्छन्, ‘चीनको प्रशासित क्षेत्र तिब्बतमा चाइनिज कजिन सिक्‍ने र सिकाउने मौका पाएँ होटल ल्हासामा।’

तिब्बतमा ६ महिना काम गरे भने ६ महिना बसेरै बिताएको अनुभव उनले सुनाए । त्यहाँ ६ महिना हिउँ पर्ने भएकाले ६ महिना मात्रै काम गर्न सकिन्थ्यो। त्यसकारण उनी सन् २००७ (एक वर्ष)मै नेपाल फर्किए । ‘ मैले त्यहाँ चिसोका कारण धेरै काम गर्न सकिनँ,’ उनले भने ।

काल्स तिब्बतको अनुभवले फेरि काठमाडौंको होटल र्‍याडिसनमा सिनियर कुकका रूपमा काम गर्न थाले। होटल र्‍याडिसनमा २ वर्ष काम गरे।

‘मलाई र्‍याडिसन होटलमा काम गर्दागर्दै दुबईमा सेफको अफर आयो होटल अल बुस्तानबाट। किनकी मैले यहाँ हुने हरेक पार्टी वा नयाँ परिकारलाई स्वादिष्ट तरिकाले पकाउने गर्थें।बाहिरबाट आउने विद्यार्थीहरू पनि नयाँ तरिकाबाट सिक्न खोज्थे र मैले विस्तृतमा सिकाउँथे।’

उनी सन् २००९ मा यूएई गए र अल बुस्टान होटलमा सेफको रूपमा काम गर्न थाले। दुबईमा उनले ५ वर्षसम्म सेफ भएर काम गरे । काल्स भन्छन्, ‘ दुबईमा मैले ५ वर्ष काम गरें कुक भएर।’

अनि सपनाको देश अमेरिका प्रस्थान

दुबईमा काम गरेको ५ वर्षको अनुभवले काल्स सन् २०१४ मा सपनाको देश अमेरिका प्रस्थान गरे । ‘ मैले दुबईमा राम्रो काम गरेकाले अमेरिकाबाटै मलाई सबैभन्दा ठूलो पानीजहाजमा सेफको रूपमा काम गर्ने अवसर आयो,’ उनले सुनाए ।

उनले अमेरिकाको सबैभन्दा ठूलो पानी जहाज कम्पनी द रोयल क्यारेबियन क्रुजमा सेफको रूपमा काम गरे । ‘यो क्रुज अमेरिकाको सबैभन्दा ठुलो पानी जहाज हो। यहाँ करिब ५ हजारदेखि ७ हजार मानिसहरू एकै पटकमा अटाउँछन्, ‘उनी भन्छन्, ‘मैले यहाँ सिनियर कुकको रूपमा काम गर्ने मौका पाएँ, जहाँ बिरलै नेपालीले काम पाउँछन्।’

काल्सले रोयल क्यारेबियन क्रुजमा काम गर्दा थुप्रै देशका नागरिकसँग अनुभव साट्ने मौका पाए भने ती देशहरूका परिकार र खाना पनि बनाउन सिके। ‘देश अनुसारको भेष भनेझैं खाना र परिकार पनि विभिन्न देश अनुसारको बनाउन सिकें र अनुभव पनि साटासाट गर्ने मौकाम पाएँ,’ उनी प्रफुल्ल भावमा भन्छन्।

क्रुजमा २ वर्षको अनुभवपछि उनले त्यहाँबाट अवकाश पाए। त्यसपछि केही नेपाली र केही अमेरिकी साथीहरूसँग मिलेर आफ्नै नाममा सन् २०२२ देखि कम्पनी दर्ता गराए र रेष्टुरेन्ट खोले। उनले अमेरिकामा बसेर पनि नेपाली टिपिकल स्वाद पाइने रेष्टुरेन्ट खोले जसको नाम राखे- माउन्ट एभरेष्ट रेष्टुरेन्ट।

विदेशी स्वाद लिन चाह्नेहरूका लागि पनि यहाँ विशेष व्यवस्था रहेको काल्स बताउँछन्। उनी भन्छन्, ‘यहाँ नेपाली टिपिकल खाना र परिकारका साथै विदेशी खानाहरूको स्वाद लिन सकिन्छ। हामी मिलेर सबै प्रकारका खाना र परिकारको पस्किन सक्ने भएका छौं। नेपालीहरूको शिर उँचो भएको छ।’ उनले अमेरिकामा रहेको आफ्नो रेष्टुरेन्टमा ८ जनालाई रोजगारी दिएका छन्।

लेखक
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?