
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. राजेन्द्र पंगेनीले विदेशमा मस्तिष्क क्यान्सर अनुसन्धान गरी नेपाल फर्केर अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएका छन्।
- उनले नेपाल फर्कौं महाअभियान सुरु गरी दक्ष नेपाली विज्ञहरूलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरिरहेका छन्।
- राजेन्द्रले अमेरिकाको सहायक प्राध्यापक पदबाट राजीनामा दिएर गाउँ फर्कने तयारी गरिरहेका छन् र अनलाइन प्रविधिमार्फत पढाउने योजना बनाएका छन्।
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
स्याङ्जाको वालिङ नगरपालिका । केही पर डाँडाको एउटा ग्रामीण बस्तीभित्र एक परिवारमा हुर्किए- राजेन्द्र पंगेनी। बुबा स्थानीय विद्यालयमा शिक्षण गर्थे, आमाले घरधन्दा सम्हाल्थिन्।
राजेन्द्र बाल्यकालदेखि नै चञ्चल, जिज्ञासु र पढाइमा अब्बल थिए। गाउँका अरू बालक फुटबल खेल्दा उनी प्रश्न गर्थे, ‘आकाश किन निलो हुन्छ? पानी कसरी पर्छ?’
अरूका लागि सामान्य लाग्ने यी सवालहरूले उनका लागि रहस्यका पुञ्ज बनेर पछ्याउँथे । यस्तै प्रश्नहरूको जवाफ खोज्न उनले कक्षाकोठा बाहिर पनि अध्ययनमा अतिरिक्त मिहिनेत गरे ।
नतिजामा, २०५१ सालमा उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे। अब के गर्ने ? एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि काठमाडौं गएर क्याम्पस पढ्नु तत्कालीन समाज खासगरी मोफसलका विद्यार्थीको ठूलै सपना हुने गर्थ्यो जसरी आज युरोप-अमेरिका-अष्ट्रेलिया लगायतका देशमा पढ्ने हुन्छ ।
उनका लागि त्यतिबेला सपना भनेको राजधानी शहर काठमाडौं पुग्नु थियो ।
घर जल्यो, जलेन सपना
राजेन्द्र परीक्षा सकेर भविष्यका योजनामा रमाइरहेका थिए, तर दुर्भाग्यले उनको परिवारमाथि ठूलो विपत्ति ल्यायो।
एक रात आगलागी भयो । घर, किताब, कपडा सबै खरानी भयो। गाउँको आकाश मात्र होइन, मनको आकाशलाई पनि कालो धुवाँले छोप्यो । त्यो आगोले उनका सपनालाई समेत निल्ने प्रयास गर्यो।
‘त्यो रात मलाई लाग्यो, सबै सकियो,’ उनी अहिले पनि सम्झिन्छन् ।
आर्थिक अभाव र संकटबीच काठमाडौं पुग्ने सपना स्थगित भयो। पढ्ने इच्छा त थियो, तर बाटो बन्द थियो। आगोको रापले उनको सपनाको आयतन नमज्जाले खुम्च्याइदियो । शहर गएर कलेज पढ्ने सपना कोमामा पुग्यो।
काठमाडौंको ढोका बन्द भएपछि बाटो मोडियो । उनी कानपुर, दिल्ली हुँदै मुम्बई पुगे- हातमा केही रुपैयाँ र मनमा अटुट आत्मविश्वास बोकेर ।
मुम्बईमा उनी पेट्रोल पम्पमा काम गर्थे । कहिले होटल, कहिले पसल, कहिले डान्स बारमा काम गरे । जहाँ पुगे पनि पढाइ भने कहिल्यै छोडेनन् ।
‘म कहिलेकाहीँ रातभर काम गर्थें, बिहान पढ्न जान्थें,’ उनी सम्झन्छन् ।
त्यही संघर्षबीच राजेन्द्रले मुम्बई विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा स्नातक सके । ७ वर्ष मुम्बईमा संघर्षका दिनहरू बिताएपछि उनले नेपाललाई आफू बसेको ठाउँसँग तुलना गर्न थाले ।
उनलाई लाग्यो, ‘अहो नेपाल त निकै पछि रहेछ । हामीले गर्नुपर्ने धेरै छ ।’
अन्ततः सन् २००१ मा नेपाल फर्किए र शिक्षण सुरु गरे । भारतकै विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक कलेजबाट उनले स्नातकोत्तर अध्ययन पनि सके।
राजेन्द्रलाई लागिरह्यो- नेपाल र विश्वबीचको दूरी केवल भूगोलको होइन, सोच र प्रविधिको पनि हो। ‘म मुम्बईबाट फर्किंदा नेपाल दशकौं पछि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘हामीसँग क्षमता भए पनि अवसर र संयोजनको निकै अभाव थियो।’
अध्ययनको तृष्णा कहिले सकिन्छ र ? थप अध्ययनको चाहनाले उनलाई बेलायत पुर्यायो। उनले युनिभर्सिटी अफ वोल्भरह्यम्प्टन मा अध्ययनका क्रममा समाजसँग जोडिने रहरले गैरराजनीतिक विद्यार्थी युनियनको चुनावमा भाग लिएर जीत हासिल गरे जसमार्फत विश्वविद्यालयका सयौं विद्यार्थीका समस्या बुझ्ने र हल गर्ने अवसर पाए।
त्यहीँबाट उनले छात्रवृत्ति प्राप्त गरी मस्तिष्क क्यान्सरसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गर्ने अवसर समेत पाए।विदेशमा अध्ययनको अनुभवले उनलाई अझ परिपक्व बनायो। उनी भन्छन्, ‘विज्ञानले मलाई मानव पीडाको गहिरो अर्थ बुझायो। प्रयोगशालामा बिताएका रातहरूमा मैले अनुसन्धानको अर्थ जीवन बचाउनु हो भनेर अनुभूत गरेँ ।’
अमेरिकामा अनुसन्धान
विद्यावारिधि सकेपछि उनले अमेरिकाको नर्थ वेस्टर्न युनिभर्सिटी, सिकागोमा पोस्टडक्टरल अनुसन्धान गरे। त्यहाँ उनले मस्तिष्क क्यान्सरका कोषिकाहरूमा हुने सूक्ष्म परिवर्तन अध्ययन गरे, जसले उपचारको प्रभावकारिता निर्धारण गर्छ।
उनको विद्यावारिधि अध्ययन स्तन क्यान्सर कसरी मस्तिष्कमा फैलिन्छ र त्यसलाई रगत परीक्षणद्वारा प्रारम्भिक चरणमै रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो।
विद्यावारिधिपछि उनले ग्लियोब्लास्टोमा नामक जटिल मस्तिष्क क्यान्सरमा अनुसन्धान गरे।
त्यस अनुसन्धानले अहिले प्रयोगमा रहेका उपचारहरू किन न्यून प्रभावकारी छन् र नयाँ औषधि रणनीति कसरी बनाइन्छ भन्ने दिशा देखायो। दुई वर्ष अमेरिकाको नर्थ वेस्टर्न विश्वविद्यालयमा मष्तिष्क क्यान्सरमा अनुसन्धान गरेपछि उनलाई आफ्ना अनुसन्धानका नतिजालाई अझ प्रभावकारी रूपमा कसरी बिरामीको उपचारमा बदल्न सकिएला भन्ने लाग्यो । सँगै, फरक ठाउँमा फरक अनुभव लिन पनि ।
त्यसैले उनी पुगे क्यान्सर उपचारमा अमेरिकाकै प्रमुख पाँचमध्येको अस्पताल सिटी अफ होप नेसनल मेडिकल सेन्टर । त्यहाँ उनले फोक्सो क्यान्सरको औषधि निर्माण गर्ने अनुसन्धानमा पनि संलग्न हुने अवसर पाए ।
‘त्यो अनुभवले मलाई सिकायो- विज्ञानले प्रयोगशालामा मात्र होइन, बिरामीको जीवनमा पनि अर्थपूर्ण परिवर्तन ल्याउनुपर्छ,’ उनले भने ।त्यो त्यही अस्पताल हो जहाँ कार्यरत वैज्ञानिकले मधुमेह बिरामीका लागि इन्सुलिन खोपको विकास गरेका थिए । राजेन्द्रले त्यही अस्पतालमा गएर ती वैज्ञानिकसँग भलाकुसारी गर्ने सपना पनि पूरा गरे ।
डा. राजेन्द्रको अनुसन्धान क्षेत्र क्यान्सर एपिजेनेटिक्स हो।अहिले निरी नेपालमार्फत उनी काठमाडौँ क्यान्सर सेन्टरसँग सहकार्य गरिरहेका छन्। सँगै, सेरेब्रल पाल्सी लगायत अन्य रोगहरूमा अध्ययन भइरहेको उनले जानकारी दिए ।
उनीहरूको अध्ययनको विषय हो- नेपालका विभिन्न जातीय समुदायहरूमा क्यान्सरका फरक प्रकार किन बढी देखिन्छन् भन्ने। साथै, सेरेब्रल पाल्सी लगायत अन्य रोगमा पनि अध्ययन जारी रहेको डा. राजेन्द्र बताउँछन् ।
उनका करिब ४ दर्जन अनुसन्धानपत्रहरू अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भइसकेका छन्।
नेपाल फर्कौं महाअभियान र निरी नेपाल
डा. राजेन्द्रको मनमा स्वदेश फर्कने इच्छा बलियो बनेर बसेको छ । ‘सन् २०१० मा बेलायत जाँदा नै सोचेको थिएँ, पीएचडी सकेर नेपाल फर्किन्छु,’ उनी भन्छन्। विदेशमै रहँदा उनले केही वर्षअघि सुरु गरेका हुन्- नेपाल फर्कौं महाअभियान ।
विदेशमा रहेका नेपाली विज्ञहरूसँगका कुराकानीमा उनले महसुस गरे- सबै मातृभूमि फर्किन चाहन्छन्, तर एक्लै फर्किन डराउँछन्।‘अनौपचारिक संवादहरूमा विदेशमा रहेका हजारौं साथीहरूले प्राय: नेपाल फर्किने इच्छा देखाउनुहुन्थ्यो तर एक्लै फर्किन र नेपालमै रहेर काम गर्न गाह्रो हुने बताउनुहुन्थ्यो,’ उनले भने, ‘नेपाल फर्किने र विदेशबाट पनि नेपालमै केही गर्न चाहनेहरूलाई सहयोग गर्न इच्छुक साथीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले नेपाल फर्कौं महाअभियान सुरु गर्यौं ।’
उनले थपे, ‘यसमा धेरै साथीहरू जोडिनुभएको छ र केही साथीहरू नेपाल फर्किइ सक्नुभएको छ ।’ नेपाल फर्केर चाहिँ गर्ने के ? उनको उद्देश्य स्पष्ट थियो- विदेशमा रहेका दक्ष र अनुभवी नेपालीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने। यसलाई विश्वस्तरको अनुसन्धान केन्द्र बनाउने ।
भर्चुअल मिटिङ र नियमित छलफलमार्फत राजेन्द्रसहित केही नेपाली युवाहरूले बनाए निरी नेपाल अर्थात् नेसनल इन्स्टिच्युट फर रिसर्च एन्ड इन्नोभेसन । विश्वभरका प्रतिभाशाली युवाहरूलाई जोडेर नाफा नबाँड्ने विश्वस्तरको अनुसन्धान केन्द्रको बनाउने योजना रहेको उनी बताउँछन् ।
‘२७ जना साथीले सुरु गरेको यो सपना आज ४२ जना विश्वभरिका नेपाली वैज्ञानिकहरूको साझा परिवार बनिसकेको छ,’ उनी गर्वका साथ भन्छन्। नेपाल फर्कौं भनेर अभियान चलाउन पहिला आफैं फर्कनुपर्यो ।
मानिसका इच्छा कहाँ स्वतन्त्र हुन्छन् र ! व्यावहारिक कठिनाइसँगै संशाधन, संरचना र सम्भावनाको कमीले उनलाई केही समय रोक्यो। अहिले अमेरिकाको सहायक प्राध्यापक पदबाट राजीनामा दिइसकेका उनी आफ्नै गाउँ फर्कने तयारीमा छन्।
‘म अनलाइन प्रविधिमार्फत अमेरिकाको विश्वविद्यालयमा पढाउनेछु, तर नेपालमै बस्नेछु,’ उनी भन्छन्, ‘म चाहन्छु, मेरो गाउँका बालकहरूले बुझुन्- सपना देख्नलाई विदेश पुग्नु पर्दैन।’
उनले थपे, ‘नेपालमा पनि उत्कृष्ट मस्तिष्कहरू छन्, केवल संयोजन र विश्वासको कमी छ।’डा. पंगेनी अब नयाँ पुस्तालाई अनुसन्धानमा आकर्षित गर्न चाहन्छन्- नेपालमै बसेर, नेपाली माटोमा आधारित समस्या समाधान गर्ने उद्देश्यसहित ।
‘जब म आफ्नै गाउँको डाँडामा उभिन्छु र मनास्लु हिमाल हेर्छु, मलाई लाग्छ- सपना खरानीबाट पनि पलाउँछ, यदि आत्मविश्वास बाँकी छ भने,’ उनी भन्छन्।
राजेन्द्र अब त्यही जलेर खरानी भएको घर फर्कंदैछन् । ‘अब म त्यहीँ फर्किंदैछु जहाँबाट यात्रा सुरु भएको थियो, त्यहीँ पुगेर केही नयाँ काम गर्न चाहन्छु,’ उनले भने, ‘हामी सबैले अठोट गर्नुपर्छ, आत्मविश्वास बलियो बनाउनुपर्छ, खरानीमा पनि सपना पलाउन सकिन्छ।’
सम्भवतः उनी जेनजी विद्रोहपछि देशको अवस्था संकेत गरिरहेका छन् ।
प्रतिक्रिया 4