News Summary
Generated by OK AI. Editorially reviewed.- डा. विनोद साहले टर्कीयेमा अत्याधुनिक क्लिनिक सञ्चालन गर्दै नवजात शिशु र बालबालिकाको जीवन बचाएका छन् र \'बेस्ट डाक्टर अफ द इयर\' पुरस्कार पाएका छन्।
- उनले काठमाडौंको ग्रान्डी अस्पतालमा नेपालकै पहिलो पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट स्थापना गरी सयौं बच्चाको ज्यान बचाएका छन् र त्यसलाई हस्तान्तरण गरेका छन्।
- विनोदको जीवन संघर्षपूर्ण थियो, जहाँ उनले कठिन बाल्यकाल र चुनौतीपूर्ण शिक्षा पार गर्दै टर्कीयेमा एमबीबीएस र एमडी गरे र सफल चिकित्सक बने।
सूर्यको किरण अङ्काराको धरतीमा खस्न नपाउँदै एउटा अत्याधुनिक क्लिनिकको ढोका खुल्छ । जहाँ, चम्किलो अक्षरमा नेपाली नाम लेखिएको छ, डा. विनोद साह ।
क्लिनिकमा पस्नासाथ बच्चाहरूको हाँसो गुन्जिन्छ, आमाहरूको चिन्ता मधुरो स्वरमा बग्छ, र सबैको केन्द्रमा हुन्छन् डा. विनोद ।
बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उनको क्लिनिकमा लाइन लाग्छ, नवजात शिशु, प्रिम्याच्योर बच्चा र किशोर–किशोरीको । हरेक बिरामीलाई उनी समय दिन्छन् । अनि, अभिभावकलाई हौसला दिंदै मुस्कुराएर उपचार गर्छन् ।
त्यसैले, टर्कियेका स्थानीयहरूले उनलाई ‘डाक्टर’ मात्र नभएर ‘जिउँदो भगवानको दोस्रो रूप’ पनि भन्छन् । किनभने, उनले असम्भव परिस्थितिमा पनि बच्चाहरूको ज्यान बचाएका छन्, थुप्रै पटक ।
परदेशी भूमिमा आफ्नै भव्य क्लिनिक, अन्तर्राष्ट्रिय ख्याति र टर्किये सरकारबाट प्राप्त ‘बेस्ट डाक्टर अफ द इयर’ (२०१५) र ‘बेस्ट चाइल्ड डाक्टर’ (२०२४) को सम्मान । वाणिज्य राजदूतको उपाधि पनि उनीसँग छ ।
नेपालमा पनि उनको नाम चम्किलो अक्षरमा लेखिएको छ, काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पतालमा स्थापना गरिएको नेपालकै पहिलो पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू) का कारण । त्यो युनिटले आज पनि सयौं बच्चाको ज्यान बचाइरहेको छ। त्यो युनिट सञ्चालन गरी हस्तान्तरण गरेर आफू फर्किए पनि नेपालको स्वास्थ्य क्षेत्रमा अमिट छाप छोडेका छन्, उनले ।
तर, यो भव्य सफलताको पछाडि उनको आफ्नै संघर्ष छ, परिश्रम छ । सबैभन्दा ठूलो शक्ति बाबुको अडानको छ । छोरालाई डाक्टर बनेको देख्ने बुबाको सपना, अडान र चुनौतीपूर्ण यात्राले नै आज डा. विनोद साहलाई यस मुकाममा पुर्यायो ।

गोलबजारको बाल्यकाल
सिरहाको गोलबजार, जुन अहिले नगरपालिका बनेको छ, त्यहाँका धुलाम्मे गल्लीहरूमा बित्यो विनोदकुमार साहको बाल्यकाल । दिदीबहिनीहरूका एक मात्र भाइ विनोदलाई चिकित्सक बनाउने बुवाको ठूलो सपना थियो । तर बालखैदेखि उनको मन पढाइमा पटक्कै थिएन । खेलकुद र साथीहरूसँग रमाइलो गर्नमै रमाउँथे ।
‘म सानोमा निकै बदमास थिएँ’ विनोद सम्झन्छन्, ‘पढाइमा ध्यान थिएन, रमाइलो र खेलकुदमै मन जान्थ्यो । पढ्न पट्यार लाग्थ्यो ।’
छोराको स्वभावले बुवालाई चिन्तित बनाएको थियो । एकदिन बुवाले कठोर शब्दमा भने, ‘पढिस् भने डाक्टर बन्छस्, पढिनस् भने या चोर या फटाह बन्छस् । पिउँछस्, बदमासी गर्छस्, त्यसरी नै सकिन्छस् ।’ बुवाका यी शब्दले १३ वर्षीय विनोदको मनमा तीर जत्तिकै घोच्यो ।
अनुशासन सिकाउन बुवाले उनलाई विराटनगरको सेन्ट जोसेफ बोर्डिङ स्कूल पठाए । ‘मधेशी मूलमा छोरो आफैंसँग बसोस् भन्ने हुन्छ । तर ५ कक्षासम्म मात्र पढेको भए पनि मेरो बुवाको दूरदृष्टि थियो । पछिसम्मको सोच्नुहुन्थ्यो’ उनी सुनाउँछन्, ‘भविष्य सुनिश्चित यसरी हुन सक्दैन भनेर उहाँले मलाई होस्टल राखिदिनुभयो ।’
गाउँको स्वतन्त्रतामा रमेका विनोदलाई बोर्डिङ स्कूल जेल जस्तो लाग्यो । दुई महिना नबित्दै उनी भागेर गोलबजार फर्किए । दुई महिनापछि एकाएक छोरालाई देख्दा आमाले अँगालो हालेर स्वागत गरिन् । तर बुवाले ढोका बन्द गर्दै भने, ‘यो घरमा छिर्न पाइँदैन, फर्किहाल् ।’
त्यही रात ११ बजे, आमा बेहोस हुँदा पनि बुबाले गाडी रिजर्भ गरेर उनलाई बोर्डिङ फिर्ता पठाए ।‘त्यो मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो । बुबाको कठोरता देखेर मलाई बाटो बदल्न बाध्य बनायो । १३ वर्षको उमेरमा नचाहँदा नचाहँदै घरबाट निस्किएको म अझै घर छिर्न पाइनँ । करिअर, पेशाले मलाई सधैं भगाइरह्यो । फुर्सदले घर बसेको याद नै छैन’, उनी भावुक सुनिए।

उनको पारिवारिक पृष्ठभूमि धनाढ्यको थिएन । त्यतिबेला गाउँमा हाटबजार लाग्थ्यो, जहाँ सामान किनबेच हुन्थ्यो ।विनोदका बुबाले बोरा बोकेर, भारी उठाएर घर–घरमा सामान पुर्याउँथे । त्यही कमाइबाट एक–एक पैसा जोडेर उनले एउटा घोडा किने । अनि, घोडामा सामान राखेर बेच्न थाले । त्यहींबाट उनको परिवारको जीविका चल्थ्यो ।
त्यही गरिबी र अभावले विनोदका बुवालाई पढाइको महत्व बुझाएको थियो । त्यसैले, जस्तोसुकै परिस्थितिमा चिकित्सक बनाउने बुवाको सपना अटल थियो । बुवा भनिरहन्थे, ‘किड्नी बेचेर भए पनि छोरालाई डाक्टर पढाउँछु ।’
काठमाडौंको यात्रा र प्रवेश परीक्षाको चुनौती
विनोदलाई सम्झना छ, जब उनले सन् २०५० मा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । उनी औसत विद्यार्थी थिए ।उनलाई लाग्थ्यो, ‘पढ्नुपर्छ भनिएको छ, त्यसैले पढ्छु ।’ बुवाकै करले एसएलसीपछि काठमाडौं आए ।
विनोद कालीमाटीमा साथीहरूसँग बस्थे । साथीभाइको संगत र काठमाडौंको रमझमले उनको ध्यान पढाइबाट बाहिरतिर मोडियो । दशरथ रंगशालामा गएर समय बिताउँथे । साथीहरूसँग हाँसखेल गर्थे ।
बाबुकै करमा विनोदले एमबीबीएसको इन्ट्रान्स तयारी गरेर अमृत साइन्स क्याम्पसमा पढाइ सुरु गरे । एमबीबीएस प्रवेश परीक्षामा पहिलोपटक असफल भएपछि उनको मन भाँचियो ।
‘मलाई लाग्यो, सबै सकियो’ उनी सम्झन्छन्, ‘तर बुवाले हौसला दिइरहनुभयो– ‘तँ सक्छस्, हार मानिस् भने जिन्दगीभर पछुताउँछस् ।’बुवाको हौसलाले उनमा केही हदसम्म जिम्मेवारीको भाव जाग्यो । आफ्ना रुममेटहरू हेमराज, शिवराज र प्रभाकर भट्टसँगै बसेर इन्ट्रान्सको तयारी गरे । हेमराजले शिक्षण अस्पतालमा, शिवराजले धरानमा र प्रभाकरले युरोपमा चिकित्सकको करिअर बनाउँदै गए ।
तर, विनोदको मनमा भने धेरै पछिसम्म पनि स्पष्टता थिएन । उनलाई लाग्थ्यो, ‘यो सब बुवाको सपना हो, मेरो होइन ।’
गाउँभर लडडु बाँडियो
विनोदले सन् १९९४ मा फेरि इन्ट्रान्स दिए । एमबीबीएसको छात्रवृत्ति मेरिट लिस्टमा २३औं स्थानमा आयो । गाउँमा यो खबरले हलचल मच्चायो ।
२५–३० हजार जनसंख्या भएको गाउँमा उनले छात्रवृत्तिमा नाम निकाल्दा लड्डु बाँडियो । उनको नाम राष्ट्रिय पत्रिकामा छापियो । गाउँमा पहिलो पटक कसैले यस्तो छात्रवृत्ति पाएको थियो, र यो गर्वको कुरा बन्यो ।
सो छात्रवृत्तिले उनलाई नेपालको कुनै पनि मेडिकल कलेजमा पढ्ने अवसर दियो ।
विनोदका बुवाको सोच फरक थियो । बुवाले भने, ‘नेपाल बसिस् भने चिकित्सक बन्छस्, मान्छे बन्दैनस्, विदेश जा, चुनौतीको सामना गर ।’
अन्ततः, उनले टर्कियेका लागि आएको कोटाबाट पूर्ण छात्रवृत्ति पाए ।
टर्कियेको पहिलो दिन
टर्किये पुग्नु विनोदका लागि ठूलो फड्को थियो । उनी साथी मञ्जु श्रेष्ठका साथ टर्किये पुगे । तर, उनले पहिलो दिन नै नसोचेको चुनौती सामना गर्नुपर्यो । आइतबार भएकाले टर्कीये एयरपोर्टको कार्यालय बन्द थियो । भाषा नजान्ने, पैसा सीमित र अलपत्र अवस्थामा उनीहरूले एयरपोर्टमै रात बिताए ।
‘काठमाडौंकी साथी मञ्जुलाई बिरानो ठाउँमा अत्यास लागेर ज्वरो नै आयो । त्यहींमाथि भोक, प्यासले खरो पारिरहेको थियो । रमजान चलिरहेको कारण पसलहरू बन्द थिए’, विनोद सम्झन्छन् ।
विभिन्न सास्तीका बीच एक व्यक्तिले उनीहरूलाई सही ठाउँमा पुर्याए, जहाँ डा. विनोदको नाम बोलाइयो । ‘यत्रो देशमा पहिलो पटक कसैले मेरो नाम लियो, मलाई लाग्यो– म ठिक ठाउँमा पुगें’, उनले भने ।
मेडिकल शिक्षा र भाषाको लडाइँ
पहिला टर्कियेको भाषा कक्षा लिनुपर्ने थियो । विनोदले ९७ प्रतिशत अङ्क ल्याएर भाषा कोर्स पास गरे । यो नतिजा भनेको टर्किस भाषा जान्ने भएको बुझिन्थ्यो । अब एमबीबीएस गर्न उनका लागि दुई विकल्प थिए, एउटा अंग्रेजी र अर्को टर्कीये भाषामा । उनले चुनौती लिएरै टर्कीये भाषा रोजे ।
तर, पहिलो कक्षामै प्रोफेसरको पुरानो टर्किये भाषाले उनलाई समस्यामा पार्यो । ‘४५ मिनेटको कक्षामा मैले २०–२५ प्रतिशत मात्र बुझ्थें । मलाई लाग्यो, गलत निर्णय लिएँ । भविष्य बर्बाद भयो भन्ने लागेर पहिलो बेन्चमा बसेरै रुन थालें’, उनले सम्झिए । साथीहरूले हौसला दिए–टर्कियेका विद्यार्थीले पनि ५० प्रतिशत मात्र बुझ्छन् । तिमीले २५ प्रतिशत बुझ्यौ भने सामान्य हो ।
टर्कियेमा एमबीबीएस गर्न सजिलो छैन । हरेक वर्ष १५–२० लाख विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । त्यसमध्ये ५०० मा ५०० नम्बर ल्याउनेले मात्र पढ्न पाउँछन् । विनोद पनि त्यही भीडमा थिए ।
उनको आर्थिक अवस्था एकदमै कमजोर थियो । छात्रवृत्तिमा आएका उनलाई खान पुग्दैनथ्यो । त्यहाँ खानाको लागि सानो छात्रवृत्ति खुलेको थियो । मिहिनेत गरेर उनले त्यो छात्रवृत्ति पाए ।
विनोद लगातार तीन वर्षसम्म कक्षामा प्रथम भए । जसले गर्दा शिक्षकदेखि सबैले मद्दत गरे । चुनौतीका बीच विनोदले ६ वर्षको अन्तरालमा एमबीबीएस सके । र, नेपाल फर्किए ।
टर्कियेमा मेडिकल करिअरको सफलता
उमेरले २७ पुगेका डा. विनोद पुनः टर्किये गएर पेडियाट्रिक्समा एमडीको लागि छात्रवृत्तिमा नाम निकाले । उनले ह्याजेटेप युनिभर्सिटीको पेडियाट्रिक डिपार्टमेन्टमा प्रवेश पाए, जुन विश्वको छैटौं उत्कृष्ट मानिन्छ । त्यही वर्ष, उनले नवजात शिशु रोगमा अनुसन्धान गरेर विश्वका ४ उत्कृष्ट अनुसन्धानकर्तामध्ये एक बने र पुरस्कार प्राप्त गरे ।
त्यसलगत्तै नवजात शिशु विशेषज्ञको लागि डीएम गरे । उनी निरन्तर चिकित्सा पेशामै समर्पित भइरहे । सन् २०१५ मा टर्किये सरकारले उनलाई बाल र शिशु स्वास्थ्य सेवामा योगदानको कदर गर्दै ‘बेस्ट डाक्टर अफ द इयर’ को राष्ट्रपति पुरस्कार प्रदान गर्यो । जुन वर्षमा एकपटक त्यहाँको सरकारले दिने ठूलो पुरस्कार मानिन्छ ।
डा. विनोदले सन् २०२४ मा ‘बेस्ट चाइल्ड डाक्टर’ को अवार्ड समेत प्राप्त गरे ।
अविस्मरणीय क्षण
विनोदको करिअरमा धेरै अविस्मरणीय क्षण छन् । सन् २०११ को एक चिसो रात, ह्याजेटेप युनिभर्सिटीको अस्पतालमा उनी रातिको ड्युटीमा थिए । त्यही रात, एक आमाले तीन प्रिमेच्योर बच्चा जन्माइन् ।
तर, भाग्यले साथ दिएन, तीनमध्ये दुई बच्चाले संसार छोडे । तेस्रो बच्चा पनि मृत्युको मुखमा थियो, सास लिन सकिरहेको थिएन ।
प्रोटोकल अनुसार ४५ मिनेटभन्दा बढी सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गर्नुहुँदैनथ्यो । समय घर्किंदै थियो, तर डा. विनोदले हार मानेनन् । ४८ मिनेटसम्म सीपीआर जारी राखे । अन्ततः त्यो सानो मुटु फेरि धड्कन थाल्यो । बच्चा बाँच्यो ।
दुई वर्षपछि, त्यही बच्चा, जो मृत्युको नजिकबाट फर्किएको थियो, हाँस्दै–खेल्दै विनोदको काखमा दौडेर आयो । बच्चाकी आमाले आँखामा आँसु र ओठमा मुस्कान बोकेर भनिन्, ‘यो तपाईंको देन हो, डाक्टर । मेरो लागि जिउँदो भगवान बनेर आउनुभयो । हरेक प्रार्थनामा तपाईंको नाम हुन्छ ।’

विनोदको मन एकैपटक सन्तोष र भावनाले भरियो । ‘त्यो मेरो जीवनको सबैभन्दा भावनात्मक क्षण थियो’, उनले भने ।त्यसको केही वर्षपछि, पोखरामा उनको जीवनले अर्को अविस्मरणीय मोड लियो । रोयटर्स दक्षिण एशिया प्रमुखको परिवार पोखरामा घुम्न आएको बेला सो परिवारको एक बच्चा अचानक बेहोस भयो ।
हेलिकोप्टर मार्फत तुरुन्त अस्पताल ल्याइयो । विनोद नेपाल आएको दुई दिन मात्र भएको थियो । रातको १२–१ बजेको थियो । डा. आएर भने, ‘विनोद, यो बच्चालाई जसरी पनि बचाउनैपर्छ ।’
विनोद तुरुन्तै बिरामीकहाँ पुगे । बच्चा कोल्याप्सको अवस्थामा थियो । टिमले एउटा उपचार गर्न खोजिरहेको थियो, तर विनोदको अनुभवले अर्कै बाटो देखायो । उनले टिमलाई स्पष्ट भने, ‘या त तपाईंहरूले गर्नुस्, या म गर्छु ।’
विनोदले बच्चालाई इन्ट्युबेट गरे, सेटिङहरू मिलाए, इन्सुलिनको डोज सन्तुलन गरे । रातभरको मिहिनेतपछि बच्चा स्थिर भयो र अन्ततः डिस्चार्ज भयो ।
‘यो मेरो लागि सामान्य काम थियो’ विनोदले भने, ‘तर परिवारका लागि चमत्कार थियो ।’ ती अभिभावकले नेपालको स्वास्थ्य सेवाप्रति नयाँ सम्मान बोकेर फर्किए । ‘यदि तपाईं यहाँ नभएको भए बच्चा शायद बाँच्दैनथ्यो’, तिनले भनेका थिए ।
नेपालमा योगदानः ग्रान्डीमा पीआईसीयू
सन् २०१६ मा विनोद अब नेपालमै केही गर्छु भनेर स्वदेश फर्किए । नेपाल फर्किन उनलाई दुई कुराले प्रेरित गर्यो । एउटा हाड तथा नसा रोग विशेषज्ञ डा. चक्रराज पाण्डे । अर्को बुवाको सपना ।
डा. पाण्डे पनि टर्कियेमै हड्डी विभागमा पढेका थिए । पाण्डेले एकपटक भनेका थिए, ‘एनआईसीयू/पीआईसीयू नेपालमा पनि चाहिन्छ, फर्क ।’ यो शब्दले उनलाई झस्कायो । योसँगै उनले अर्को मनले सोचे, ‘बाबुले पनि गाउँमा चिकित्सक नै नहुँदा चिकित्सक बनाउने सपना देखेका हुन् । देशमै केही गर्नुपर्छ ।’
त्यसपछि डा. विनोदले काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पतालमा पेडियाट्रिक्स विभागको नेतृत्व लिएर काम गरे । ‘डा. चक्रराज मेरो लागि गडफादर जस्तै हुनुहुन्छ । उनले त्यो बेला बाटो देखाइदिनुभयो’, उनी भन्छन् ।
त्यो एक वर्ष उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो । आफ्नो गाउँ–घरको मान्छेलाई सेवा गर्न पाउँदा सन्तोष पनि मिलेको उनले सुनाए ।

उनी नआउँदासम्म नेपालमा पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू) थिएन । उनले नेपालमा पहिलो पटक पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पीआईसीयू) स्थापना गरे, जुन नेपालको स्वास्थ्य क्षेत्रमा कोसेढुङ्गा सावित भयो ।
‘नेपालमा नवजात शिशु र बालबालिकाको मृत्युदर उच्च थियो । पीआईसीयूले धेरै बच्चाको ज्यान बचाउन सकिन्छ भन्ने विश्वास थियो’, डा. विनोदले भने । उनले आधुनिक उपकरण, प्रशिक्षित कर्मचारी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रोटोकल स्थापना गरे ।
सन् २०१८ मा, यो विभाग पूर्ण रूपमा सञ्चालनमा आएपछि उनले ग्रान्डी अस्पताललाई हस्तान्तरण गरे । ‘मेरो लक्ष्य नेपालमा यस्तो संरचना बनाउने थियो, जुन मैले छोडेपछि पनि दिगो रहोस्’, उनले भने ।
नेपाल छाडेर पुनः टर्किये
नेपाल छाडेर टर्किये किन त ? भन्ने प्रश्नमा डा. विनोद भन्छन्, ‘टर्कियेमा मैले सोचेको कुरा कल्पना गर्न पनि मुस्किल थियो । टर्कीयेमा अस्पतालहरूमा अत्याधुनिक उपकरण, अन्तर्राष्ट्रिय मापदण्डका प्रोटोकल, रिसर्चका लागि फन्डिङ र निरन्तर अपडेट हुने मेडिकल सिस्टम हुन्छ ।
बिरामीको अचानक मृत्यु भएमा तुरुन्तै ‘मोर्टालिटी एन्ड मोर्बिडिटी मिटिङ’ बस्छ । डाक्टर, नर्स, टेक्निसियन सबै उपस्थित भई किन भयो ? कसको गल्ती ? डकुमेन्टेसन कसरी सुधार्ने ? हरेक घटनालाई सिकाइको रूपमा लिइन्छ । यो सिस्टमले डाक्टरलाई जिम्मेवार बनाउँछ, तर डराउँदैनन् । गल्तीबाट सिकिन्छ ।’
नेपालमा भने स्रोतको अभाव थियो । ‘एउटा भेन्टिलेटर, एउटा इन्क्युबेटर, त्यसैमा पनि लोडसेडिङ । प्रशासनिक जटिलता । बजेटको समस्या । यो सबै ठिक छ । तर सबैभन्दा ठूलो समस्या मेडिकल बोर्डको हस्तक्षेप पाएँ । डाक्टरले आफ्नो काममा फोकस गर्नै गाह्रो’, उनी सम्झन्छन् ।

ग्रान्डीमा पनि उनले धेरै लडाइँ लडे– उपकरण ल्याउन, स्टाफ तालिम दिन, प्रोटोकल लागू गर्न । सानो स्याहारसुसारको तरिका नजान्दा विकट क्षेत्रमा सामान्य समस्याले शिशुको मृत्युदर बढेकोले उनको मन पिरोल्थ्यो ।
डा. विनोदले जनचेतना फैलाउनेदेखि शिविर पनि गरे । तर सोचेको जस्तो नभएपछि टर्किये फर्किएको उनी बताउँछन्।‘नेपालमा चिकित्सक राम्रा छन्, सिस्टमले उनीहरूलाई बाँध्छ । मैले स्वास्थ्य सेवा सुधार्ने कोसिस धेरै गरें । तर एक्लैले गर्दा सम्भव नहुने रहेछ’, उनी सुनाउँछन् ।
नेपालप्रति उनको माया र जिम्मेवारी कम भएको छैन । टर्कियेमा उनको सानो परिवार छ । बाबुआमाको निधन भइसक्यो । त्यही पनि उनी हरेक वर्ष दशैंमा नेपाल आउँछन् । भविष्यमा नेपालमै पेडियाट्रिक अस्पताल खोल्ने उनको योजना छ, जसले गाउँ–गाउँका बच्चाहरूलाई गुणस्तरीय उपचार प्रदान गरोस् ।
बुवाको टर्कियो यात्रा
६० वर्षको उमेरमा बुवाको मुटुमा समस्या हुनुका साथै मिर्गाैला फेल भयो, जसको नेपालमा उपचार सम्भव थिएन । डा. चक्रराज पाण्डेले भने, ‘यहाँ हामीले गर्न सक्ने केही छैन । टर्किये लैजाऊ ।’
यो सजिलो थिएन । बाबुको अवस्था गम्भीर भएर अक्सिजन लगाएर उड्न सक्ने अवस्थामा नहुँदा कसरी लामो उडानमा लैजाने भनेर विनोदको मन डरायो । तर विकल्प थिएन ।
एम्बुलेन्स, अक्सिजन सिलिन्डर, नर्स, डाक्टर सबै व्यवस्था सहित उनी पुगे । ‘दिल्लीबाट टर्किये उडान हुँदा बाबुलाई स्ट्रेचरमा राखियो । हात समातेर बुबा तपाईं बाँच्नुहुन्छ, बारम्बार भनिरहें’, उनी सम्झन्छन् ।
टर्किये पुग्दा बाबुको अवस्था झन् खराब भई २५ दिन आईसीयूमा, डायलासिस, भेन्टिलेसन, निरन्तर मोनिटरिङ गरेर डा. विनोदको रातदिन अस्पतालमै बित्थ्यो । ‘म डाक्टर थिएँ, तर छोराको रूपमा थिएँ । मेरो टिमले बुवालाई बचाउन सक्दो गरे । विस्तारै बुवाको अवस्था सुधार भयो । आँखा खोले । मुस्कुराएर भने तैंले मलाई बचाइस्’, उनी भन्छन् ।
त्यही वर्ष डा. विनोदले ‘बेस्ट डाक्टर अफ द इयर’ पुरस्कार पाए । अवार्ड समारोहमा बुवा ह्विलचेयरमा साथ दिन पुगे ।
बुवाले भने, ‘म मरे पनि अब सुर्ता छैन । मेरो छोराको हातले मलाई बचायो । मेरो सपना पूरा भयो ।’विनोदका आँखा रसाए । ‘मैले बुवालाई डाक्टर बनें भनेर देखाउन सकिनँ । तर उहाँले मलाई बचाउन सकें भनेर देखाउन सकें’ उनी भावुक हुन्छन्, ‘हरेक उपलब्धि बुवालाई समर्पित छ । सपना देख्ने आँखा बुबाको थियो, तर त्यो सपना बोकेर हिंड्ने खुट्टा मेरो थियो ।’
कठिन बाल्यकाल, चुनौतीपूर्ण शिक्षा, विदेशी भूमि र जीवनको असंख्य चुनौती पार गर्दै डा. विनोद आज सफल पेडियाट्रिक चिकित्सक मात्र नभई, स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी योगदान दिने व्यक्ति बनेका छन् ।
प्रतिक्रिया 4