Comments Add Comment

प्रधानमन्त्रीलाई चिनियाँ कम्पनीको पत्र : काठमाडौंमा स्काई रेल कुदाउँछु

११ वैशाख, काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्ट १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाडौंमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको छ ।

(सीसीएआर) ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्ष समेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्वोधन गरेर प्रस्ताव प्राप्त भएको छ’ सीसीएआरको पत्र देखाउँदै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हामीले प्रस्ताव पत्र लगानी बोर्डमा फरवार्ड गरिसकेका छौं, यस विषयमा अध्ययन भइरहेको होला ।’

लगानी बोर्डले पनि प्रधानमन्त्री कार्यालयमार्फत प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ । केहि साता अघि प्राप्त प्रस्तावबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

चक्रपथमा ५ हजार क्षमताको स्काई रेल !

चिनियाँ कम्पनी सीसीएआरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाल राजदूत लिलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीले जनाएको छ ।

उसको दाबी छ, काठमाडौंको बढ्दो सवारी जाम व्यवस्थापन गर्न स्काई रेल उपयोगी हुनेछ ।

उसले पहिलो चरणमा चक्रपथभित्र चलाउने र दोस्रो तथा तेस्रो चरणमा चक्रपथ बाहिर विस्तार गर्न सकिने बताएको छ । सीसीएआरका अनुसार काठमाडौंको चक्रपथमा ५ हजार यात्रुसम्म बोक्न सक्ने स्काई रेल चलाउन सकिनेछ ।

चक्रपथभित्रै १४ किलोमिटर स्काई रेल चलाउन सकिने भन्दै कम्पनीले रुट प्रस्ताव गरेको छ । एयरपोर्ट–तिनकुने–बानेश्वर–माइतिघर–त्रिपुरेश्वर हुँदै नारायणगोपाल चोकसम्म र त्यहाँबाट चावाहिल–चावाहिल गौशाला हुँदै एयरपोर्टसम्मै हुनेछ ।

दोस्रो र तेस्रो चरणमा भने काठमाडौं र धादिङको सिमाना थानकोटसम्म र काठाडौं–भक्तापुर खण्डमा समेत स्काई रेल चलाउन सकिने चिनियाँ कम्पनीको प्रस्ताव गरिएको छ ।

सीसीएआरको दाबी छ कि मोनो तथा मेट्रो रेलको तुलनामा स्काई रेल सस्तो हुनेछ ।

स्काई रेलले अन्य रेलहरुको जस्तो धेरै स्पेश (ठाउँ) लिँदैन । सडककै किनारामा वा सडककै बिच भागमा ठाउँ–ठाउँमा पोल गाडेर स्काई रेल चलाउन सकिनेछ । माथि रेल गुड्ने र तल सवारीसाधनहरु निर्वाध रुपमा गुड्न सक्ने भएका कारण सहरमा जामको समस्या समाधान हुने कम्पनीले बताएको छ ।

२ वर्षमा निर्माण सक्ने, २८ वर्षपछि हस्तान्तरण

सीसीएआरले आफ्नै लगानीमा २ वर्षभित्र चक्रपथमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । यसरी निर्माण भएको रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । लगानीका लागि चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी छ ।

यद्यपि, यो आयोजना लगानी सम्मेलनमा राखिएकै थिएन । सोकेशमा नराखेका आयोजनामा पनि वैदेशिक लगानी भित्र्याउन चाहनेहरुले प्रस्ताव गर्न सक्नेछ ।

अर्को चिनियाँ कम्पनी अन्यौलमा

काठमाडौंमा मोनो रेल गुडाउने भन्दै काठमाडौं र ललितपुर महानगरले अर्को चिनियाँ कम्पनीसँग काम गरिरहेको छ । प्रारम्भिक अध्ययन गरेको चाइना रेल्वे २५ औं ग्रुप (सीआरसीसी)ले ४ पुस २०७५ मा डीपीआरको जिम्मा पाएको छ ।

आफूले महानगरमार्फत काम गरिरहँदा अर्को चिनियाँ कम्पनीले स्कोई रेल गुडाउँछु भन्दै प्रधानमन्त्री कहाँ प्रस्ताव राखेपछि सीआरसीसी अन्यौलमा परेको छ ।

चाइना रेलवेका नेपालस्थित स्थानीय प्रतिनिधि नविन पोखरेलले सीसीएआरले स्काई रेल चलाउँछु भन्दै प्रधानमन्त्रीलाई लेखेको पत्रबारे जानकार रहेछन् । एउटा कम्पनीले डीपीआर अध्ययन गरिहेको बेलामा अर्को कम्पनीलाई स्वीकृति दिने हो भने नकारात्मक असर पर्न सक्ने उनले बताए ।

कम्पनीले आफैं खर्चमा सम्भाव्यता अध्ययन र डीपीआरको काम गरेको भन्दै पोखरेल भन्छन्, ‘आज आईबीएन (लगानी बोर्ड) ले आह्वान गर्‍यो भोलि रेल विभागले गर्ला, यहाँ काम गरिरहेको कम्पनीलाई त द्विविधा हुने भयो ।’

लगानी बार्डले भने सीसीएआरको लगानी प्रस्ताव स्वीकार गर्ने नगर्ने टुंगो नभएको बताएको छ ।

हेर्नुहोस् चिनियाँ कम्पनीले लेखेको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment