
२६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्मेवारी डा. रमेश पौडेललाई दिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पौडेल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रूपमा डा. पौडेललाई स्वागत गरेका थिए ।
बिहीबार नै विश्वविद्यालयले एमफिल–पीएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा उपकुलपति प्रा.डा. केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतासँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।
विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा. पौडेललाई स्वागत गरिन् । पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञानआर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4