Comments Add Comment

नेपाल र चीन झन् नजिक ! बीआरआईमा नेपालको प्रस्ताव पारित

चीनसँगको सम्बन्ध राजनीति र अर्थतन्त्रमा पनि विस्तार : परराष्ट्रमन्त्री

Photo Credit : Xinhua/Xie Huanchi

१५ वैशाख, बेइजिङ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।

बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।

शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।

ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने नेपालको प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएको छ ।

बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ ।’एनेक्स’को २३ औं बुँदामा भनिएको छ- ‘नेपाल चीन ट्रान्स-हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल-चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’

त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।

चीनको बीआरआई परियोजनामा नेपालले यसअघि नै सैद्धान्तिक सहमति जनाइसकेको भएता पनि यो परियोजनाभित्र नेपाललाई कसरी समेटिने छ भन्ने स्पष्ट भएको थिएन । तर, शनिबार सम्पन्न गोलमेच बैठकले अब नेपाल-चीन कनेक्टिभिटीलाई औपचारिकरुपमै बीआरआईमा समेटेको छ ।

ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने प्रस्ताव नेपालले राख्दै आएको थियो । नेपालको यो प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएसँगै अब यसलाई नेपालको प्रस्ताव मान्य भएको अर्थमा बुझ्न सकिन्छ । यसबाट अब नेपाल औपचारिक एवं ठोस प्रोजेक्टका साथ बीआरआईमा जोडिएको छ । र, अब नेपाल र चीन एक आपसमा झन् नजिक बनेका छन् ।

फलस्वरुप नेपालले तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको प्रतिवछता दोहोर्‍याउँदै एक चीन नीतिप्रति आफ्नो कटिवद्धतालाई चिनियाँ नेतृत्वसमक्ष थप आश्वस्त पारेको छ भने चिनियाँ अधिकारीहरुले पनि समृत नेपाल सुशी नेपालीको अभियानमा चीनलाई सम्झन भनेका छन् ।

यो पनि पढ्नुहोस बीआरआईको ३८ बुँदे घोषणामा के छ ? (पूर्णविवरण)

ट्रान्स-हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ । सम्मेलनलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । त्यसैगरी जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन एवं उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको भण्डारीेले बताइन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा चिनियाँ पक्षले नेपालको जलवायु परिवर्तनको क्षेत्रमा चासो देखाएको राष्ट्रपति भण्डारीलाई उधृत गर्दै नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।

बीआरआईमा सहभागी राष्ट्रहरु रातो रंगमा

चीनसँगको सम्बन्ध राजनीति र अर्थतन्त्रमा पनि विस्तार भयोः परराष्ट्रमन्त्री

यसैवीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  नेपाल र चीनवीच हजारौं वर्षदेखि रहँदै आएको सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका छन् ।

बेइजिङस्थित नेपाली दूताबासले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका हुन् ।

यो पनि पढ्नुहोस बीआरआईको अनुसुचीमा समेटिएका ६४ परियोजना र कार्यक्रमको सूची

मन्त्री ज्ञवालीले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिग रहेको बताए । उनले चीनले ‘सुधार र खुलापन’ पछिको ४० वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गरे ।

बीआरआई फोरममा सहभागीहरु चिनियाँ राष्ट्रपति सि जिनपिङसँग सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : सीजीटीएन

दूतावासद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले औपचारिक मन्तव्य नदिए पनि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपतिका तर्फबाट मन्तव्य दिएका थिए ।

यसक्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि जिनपिङवीचको भेटमा भएका कुराकानीबारे जानकारी गराउँदै भने, सुखी नेपाली र समृद्ध नेपालको नारामा चीनले सहयोग गर्न तयार छ, यसमा चीनलाई सम्झनोस् ।’

नेपालले चीनसँगको सम्वन्धलाई उच्च महत्व दिएको छ भन्दै विकासको साझा प्रयासमा नेपाल र चीन अझ जोडिने विश्वाससमेत मन्त्री ज्ञवालीले व्यक्त गरे । राष्ट्रपतिको तर्फबाट परराष्ट्र मन्त्रीले व्यक्त गरेको भाषणमा चीनको विकासलाई ‘मानव सभ्यताको चमत्कार’ समेत भनिएको छ ।

चीन नेपालको सुखदुखको साथी हो र नेपालको सार्वभौम सत्तालाई चीनले सम्मान गरेको छ भन्दै मन्त्री ज्ञवालीले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । तिब्बत र ताइवान चीनको अभिन्न अंग हो भन्नेमा नेपाल अविचलित रहेको मन्त्री ज्ञवालीले बताए ।

ट्रान्स हिमालय कनेक्टिभिटीको सन्दर्भमा काम गर्न चीन तयार भएको र सि जिनपिङले जलवायु परिवर्तनका लागि काम गर्ने चासो देखाएकाले गर्दा नेपाल र चीन अब थप नजिक आउने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे ।

राजदूत लीलामणि पौडेलले स्वागत गर्दै नेपाल र चीनवीचको सम्बन्ध सुमधुर बनिरहेको बताए ।  चीनस्थित नेपाली दूताबासले  नेपालको पर्यटन, शिक्षा लगायतका क्षेत्रमा निरन्तर काम गरेको बताए ।

दूताबासले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति थियो ।

मन्त्रीहरु मात्रिका यादव, रघुवीर महासेठ राजदूताबासको रात्री भोजमा सरिक थिएनन् । चीन भ्रमणमा रहेका माधव नेपाल पनि स्वदेश फर्किइसकेका कारण दूताबासको रात्रीभोजमा देखिएनन् । महिला तथा वालवालिका मन्त्री थममाया थापा भने दूताबासको कार्यक्रममा उपस्थित थिइन् ।

यो पनि पढ्नुहोस्- 

डा. दिनेश पाैडेलकाे विश्लेषण :   बीआरआई नेपालको ऐतिहासिक अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment