Comments Add Comment

राष्ट्रपतिको चीन यात्रा : पछिपछि माधव नेपाल र मन्त्रीको ताँती !

बेइजिङले किन बोलायो नेपालका राष्ट्रपतिलाई  ?

Photo Credit : RSS

१२ वैशाख, बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको सियानमा बास बसेर विहीबार बेइजिङ ओर्लंदैछिन् । अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमको मेलो पारेर चीनले राष्ट्रपति भण्डारीलाई राजकीय भ्रमणको निम्तो दिएपछि नेपाललाई थप के लाभ प्राप्त होला भन्ने चासो बढेको छ ।

हुन पनि दक्षिण एसियाली देश नेपाल र पाकिस्तानबाट मात्रै उच्चस्तरको प्रतिनिधित्व हुने भएकाले पनि यो क्षेत्रमा चीनको महत्व र सहकार्यलाई बढी नै महत्व दिइएको भान हुन्छ ।

चीनको वर्तमान कुटनीतिमा सबैभन्दा महत्वपूर्ण पार्टनर मानिएको पाकिस्तानबाट प्रधानमन्त्री इमरान खान दोस्रो बेल्ट एण्ड रोड फोरमको सहभागी हुँदैछन् । उनलाई चिनियाँ सरकारले स्टेट गेस्ट हाउसमै राखेर स्वागत गर्नेछ ।

यही अवसरमा ३७ देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख, सयुंक्त राष्ट्र संघका महासचिव, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख, विश्व बैंक, फ्रान्स, जर्मनी र अन्य शक्तिशाली मुलुकको पनि सहभागिता हुनेछ । त्यसैगरी, फोरममा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टे र मलेसियाका प्रधानमन्त्री महाथिर महम्मद पनि सहभागी हुँदैछन् ।

पछिपछि माधव नेपाल र मन्त्रीको सवारी !

राष्ट्रपति भण्डारीले दोस्रो बेल्ट एण्ड रोड फोरमको उदघाटन सत्रपछि शुक्रबार आफ्नो मन्तव्य दिने छिन् । सोही साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले पाहुनका लागि आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् ।

तीन दिने फोरममा नेपालका तर्फबाट तीन फरक-फरक प्रकृतिको सहभागिताको अनौठो संयोग परेको छ । जस्तो कि- यातायात मन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मात्रिका यादव र महिला तथा बालबालिका मन्त्री थममाया थापाको टिम मंगलबार नै बेइजिङ्ग आइपुगेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष्ट्रपतिकै टोलीमा छन् । राष्ट्रपतिको टोलीमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका नेता लालबाबु यादव, कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की लगायत छन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा माधवकुमार नेपाल

उता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बुधवार अबेर बेइजिङ आइपुगेका छन् । राष्ट्रपतिको राजकीय भ्रमण दलमा सहभागी नभए पनि यी मन्त्री र नेताहरुले दोस्रो बेल्ट एण्ड रोड फोरमका विभिन्न सत्रहरुमा सहभागिता जनाउनेछन् ।

राष्ट्रपतिको भ्रमण तालिका

राष्ट्रपति भण्डारीको भ्रमण यसरी तय गरिएको छ कि उनी बेइजिङ्ग आउँदा पनि थकित भएर आउनेछिन् भने फर्केर काठमाडौं ओर्लंदा पनि उस्तै धपेडी सहनुपर्ने छ । कारण, उनले बेइजिङ्गभन्दा पहिला सियानमा एक रात बिताउने छन् र काठमाडौं फर्कनुभन्दा अघि ल्हासा जानेछिन् ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी याङ यीले नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्ने भनिएको छ

राष्ट्रपति भण्डारीले फोरममा सहभागिता जनाएपछि उनको वास्तविक भ्रमण बल्ल शुरु हुनेछ । किनकि त्यसपछि उनले चिनियाँ समकक्षी सी र अन्य तहसँग भेट्ने र आफ्ना विषयको पोको खोल्ने मौका पाउनेछिन् ।

हालसम्म सार्वजनिक भए अनुसार, यो राजकीय भ्रमणका अवसरमा दुई देशका शीर्षतहको उपस्थितिमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी याङ यीले नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्ने भनिएको छ । तर, अन्य सबै विषयहरु गोप्य या उधारो राखिएको छ ।

यो प्रोटोकलमा हस्ताक्षर भैसकेपछि भने नेपालले चीनका ७ वटा बन्दरगाह सहजरुपमा प्रयोग गरी सामान ओसार-पसार गर्न सक्नेछ ।

भ्रमणको ठोस उपलब्धी के ?

गणतन्त्र स्थापना भएको यत्रो बर्षपछि हाम्रो राष्ट्रपतिलाई पहिलोपल्ट विश्वशक्ति हुने दौडमा रहेको छिमेकी चीनले बेइजिङ्गमा रातो कार्पेट बिछ्याउनुलाई राम्रो कुटनीतिक सम्मानका रुपमा लिन सकिन्छ ।

तर, यस्तो भीमकाय सम्मेलनमा चीनले दिएको राजकीय भ्रमण हाम्रा लागि भारतलाई खुच्चिङ्ग गर्न पर्याप्त त होला, तर हामीले के लाभ लिन सक्छौं भन्नेमा प्रशस्त संशय बाँकी छ ।

दोस्रो बेल्ट एण्ड रोड फोरममा हाम्रो तयारी, राष्ट्रपति भण्डारीको भाषण, प्रतिनिधि मण्डलको सझौता गर्ने सीपजस्ता विषयमा यो भ्रमणको सफलता निर्भर गर्नेछ ।

विश्वका नेताका सामुन्ने राष्ट्रपति भण्डारीले दिने मन्तव्य, उनको व्यक्तित्व र नेपाली टोलीको पूर्वतयारीले पनि चीनले हामीलाई दिने महत्वको मात्रा निर्धारण गर्नमा भूमिका अवस्य रुपमा खेल्ने नै छ ।

यो पनि पढ्नुहोस चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा 

सामान्यतः कुटनीतिमा उच्चस्तरीय भ्रमण आदान-प्रदान आफैंमा महत्वपूर्ण उपलब्धी हो । तर, पछिल्लो समयमा नेपालका तर्फबाट चीनमा यति धेरै उच्चस्तरीय भ्रमण भएका छन्, जबकि त्यसको जवाफमा चीनका तर्फबाट एकदम न्यून भ्रमणहरु हुँदै आएका छन् ।

यो भ्रमणमा पनि विगतमा झैं नेपाललाई चीनले केही सहायता दिने घोषणा गर्ने अपेक्षा नेपाली पक्षको छ भने अन्य साना परियोजना अघि बढाउने अमूर्त सहमति मन्त्रीस्तरमा हुनेछ र अन्य दीर्घकालीन महत्वका पूर्वाधारका विषयमा संयन्त्र निर्माण हुने सम्भावना देखिन्छ ।

किनकि, छिमेकी चीन हाम्रो कर्मचारीतन्त्रको असहयोग र राजनीतिक नेत्तृवको अस्थिर चरित्रका बारेमा जानकार रहेको सार्वजनिक रुपमा अभिव्यक्त दिन हिच्किचाउँदैनन् । त्यसैले पनि नेपालीले अपेक्षा गरेको रेल, ठूला जलविद्युत र राजमार्गमा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणमा खासै ठोस उपलब्धि हुने कमै सम्भावना देखिन्छ ।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको निम्तो पाउने

राष्ट्रपति भण्डारीको यो भ्रमणले चिनियाँ शीर्ष राजनीतिक तहलाई नेपाल भ्रमणको स्वाभाविक दबाव पर्नेछ । चिनियाँ राष्ट्रपतिले दक्षिण एसियामा भुटान र नेपालबाहेक सबै मुलुकको भ्रमण गरिसकेको अवस्थामा नेपाल भ्रमणको निम्ता दिएर त्यसको अनिवार्यता दर्शाउन सकेमात्रै पनि राष्ट्रपति भण्डारीको राजकीय भ्रमणले नेपाल-चीनबीचको सम्बन्धमा नयाँ आयाम दिनेछ ।

तसर्थ, राष्ट्रपति भण्डारीको यो भ्रमणको उपलब्धी यही हुनेछ भनेर अहिल्यै भन्न हतार हुने भए पनि चीनले हामीलाई उच्च तहको साझेदारका रुपमा विश्वास गर्ने वातावरण निर्माण गर्न हामी आफैं चुकेको र बीआरआई फ्रेमवर्क अन्तर्गत निर्माण गर्ने आयोजना हामीले छनोट गर्न नसकेका कारण पनि चीन त्यति खुल्न चाहेको देखिँदैन ।

तैपनि आशा गरौं, राष्ट्रपति भण्डारीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तय होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment