+
+
Shares

जब वैज्ञानिकहरू नै तालभित्र ‘भूत’ खोज्न लागिपरे…

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १८:४९
१९३४ मा सार्वजनिक भएर चर्चित भएको फोटो, जुन पछि नक्कली ठहरियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९३३ मा स्कटल्यान्डको लोच नेस तालमा एल्डी म्याके नामकी होटल व्यवस्थापकले अनौठो जीव देखेको बताइन्।
  • सन् १९८७ मा अपरेसन डीप स्क्यानमा वैज्ञानिकहरूले सोनार प्रविधिबाट लोच नेस मोनस्टर खोजे तर ठोस प्रमाण फेला पार्न सकेनन्।
  • सन् २०१८ मा तालको पानीमा रहेका सबै जीवहरूको डीएनए परीक्षण गर्दा नेसीको कुनै डीएनए फेला परेन।

स्कटल्यान्डको हाइल्यान्ड्समा एउटा ताल छ । नाम हो, ‘लोच नेस’ । यो ताल लामो तर साँघुरो आकारको छ । तुलनात्मक रूपमा यस भेगका अन्य तालहरू भन्दा लोच नेसमा धेरै पानी भएको बताइन्छ ।

यसै ताललाई लिएर फैलिएको एउटा प्रख्यात किवदन्ती छ । जसको पछाडि वैज्ञानिकहरू समेत लाग्नुपरेको थियो ।

कुरा सन् १९३३ तिरको हो । एल्डी म्याके नाम गरेकी एक होटल व्यवस्थापकले तालको शान्त पानीमा एउटा ठूलो, कालो र अनौठो चिज देखेको बताइन् । उनको कुरामा शंका गर्ने ठाउँ थिएन, ताल आफैंमा विशाल थियो । गहिरो थियो । रहस्यमी थियो ।

त्यो के थियो ? उनले सत्य भन्न सकिनन् । तर, उनको कुरो आगो सरी फैलियो ।

एकजना पत्रकारले उनले देखेको चिजलाई काल्पनिक जीव ‘दानव’ (भूत) नाम दिए । त्यसपछि त कसैले उसैगरी लामो घाँटी भएको जीव देखेको भने त कसैले डुंगाजस्तो ठूलो ढाड देखेकोसम्म भन्न भ्याए ।

यसरी त्यो कुरा चर्चित किवदन्ती बन्यो । एकअर्थले आधुनिक दानवको मिथकलाई जन्म दियो ।

यो कथा हो, ‘लोच नेस मोनस्टर’को । जसलाई छोटकरीमा ‘नेसी’ मात्र भनेर पनि चिनिन्छ । बुझ्दा, यो स्कटिश लोककथामा आधारित पौराणिक प्राणी हो । जुन त्यही लोच नेस तालमा बस्ने विश्वास गरिन्छ ।

यस जीवलाई प्रायः ठूलो, लामो घाँटी भएको र एक वा सोभन्दा बढी ढाड भएको प्राणीको रूपमा वर्णन गरिएको छ । यसैबारे सन् १९३३ को अगस्टमा ‘द कुरियर’ नामक पत्रिकाले लेखेपछि हल्ला व्यापक हुन थालेको थियो । त्यस्तै यही पत्रिकालाई आफूले पनि जीव देखेको भन्दै पाठकहरूले पत्रहरू पनि उल्लेख्य संङ्ख्यामा पठाउँथे । जहाँ धेरैले ती प्राणीलाई ‘दानवीय माछा’, ‘समुद्री सर्प’ वा ‘ड्रागन’ भन्ने गर्थे ।

यद्यपि अहिले यो कुराको वास्तविकता बाहिर आइसकेको छ । तर त्यसबेला यस जीवलाई खोज्न वैज्ञानिकहरू नै लागिपरेका थिए।

000

सन् १९८७ मा लोच नेस दानव साँच्चै छ कि छैन भनी पत्ता लगाउन एउटा ठूलो खोज गरिएको थियो । जसलाई ‘अपरेसन डीप स्क्यान’ नाम दिइएको थियो ।

बीबीसीका अनुसार त्यसका लागि वैज्ञानिकहरू १० लाख पाउन्ड बराबरको उच्च प्रविधि उपकरणसहित ताल पुगेका थिए । तालमा चौबीस वटा डुंगाहरू लाइन लगाएर राखिएका थिए । ती प्रत्येकमा अत्याधुनिक सोनार राखिएको थियो ।

सोनार भनेको पानीभित्रका चिजहरू पत्ता लगाउने एउटा प्रविधि वा यन्त्र हो । यो यन्त्रले पानीभित्र आवाजका तरङ्गहरू पठाउँछ । जुन तरङ्ग कुनै वस्तुमा ठोक्किन्छ र फर्कन्छ । त्यसैका आधारमा वस्तु कति टाढा छ र त्यसको आकार कत्रो छ भनेर थाहा हुन्छ ।

यही विधिमार्फत वैज्ञानिकहरू आधुनिक समयमा दानव खोज्न लागि परेका थिए । तर एक हप्तासम्म लगातार खोजी गर्दा समेत वैज्ञानिकहरूले कुनै ठोस प्रमाण फेला पार्न सकेनन् ।

यद्यपि सेन्सरहरूले तीनवटा सोनार सम्पर्कहरू पत्ता लगाएको थियो । तर ती सोचेजस्तो जीवसँग सम्बन्धित थिएनन् । सील नामक जनावर अथवा सामन माछाको समूह हुन सक्ने निष्कर्ष निक्लियो । तर, ठोस नतिजा नआउँदा लोच नेस मोन्स्टरको मिथक भने यथावत नै रहन गयो ।

त्यस्तै यो बाहेक पनि नेसीलाई खोज्न अनेकन् प्रयास भएका छन् ।

जस्तो, डिसेम्बर १९३३ मा डेली मेलले जालहारी मार्मड्युक वेदरललाई त्यस जीवको खोजी गर्न लगाएको थियो । नभन्दै उनले तालको किनारमा ठूला पदचिन्हहरू पनि फेला पारे । तर कालान्तरमा प्राणीविद्हरूले ती पदचिन्ह गैंडाको खुट्टा भएको छाता स्ट्यान्ड वा एस्ट्रे प्रयोग गरेर बनाइएको पत्ता लगाए ।

यसका साथै सन् १९३४ मा एउटा फोटो सार्वजनिक भयो । तालको सतहबाट अलि उठेको, पातलो, सर्प जस्तो घाँटी भएको फोटो सार्वजनिक भएपछि धेरै त्यही नै दानव भएको विश्वास गरे । यसै फोटोलाई लिएर पनि विभिन्न कथा रचिए । तर, कालान्तरमा यो फोटो पनि नक्कली निस्कियो

यी बाहेक सन् १९३४ मै एडवर्ड माउन्टेन अभियान चलाइएको थियो । त्यसमा एडवर्ड माउन्टेन नामक व्यक्तिले २० जना मानिसहरूलाई क्यामेरा र दूरबीन दिएर पाँच हप्तासम्म तालको निगरानी गरिएको थियो । उनीहरूले उक्त अवधिमा २१ वटा फोटो खिचे पनि कुनै ठोस प्रमाण निस्किए ।

हुँदाहुँदा सन् २०१८ मा वैज्ञानिकहरूले तालको पानीमा रहेका सबै जीवहरूको डीएनएन नै परीक्षण गरे । त्यसको उद्देश्य तालमा कुनै ठूलो प्राणी छ कि भनेर पत्ता लगाउनु थियो । यद्यपि नेसीको कुनै डीएनए फेला परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?