+
+
Shares
विचार :

कांग्रेसले जेनजी आन्दोलनबाट सिक्नुपर्ने पाठ

कुनै ठोस सुधार विना महाधिवेशन वा विशेष महाधिवेशन जे भए पनि र नेतृत्वमा जो आए पनि जनताले चाहेको परिवर्तन हुन सक्दैन ।

गोविन्द परियार गोविन्द परियार
२०८२ कात्तिक २१ गते १३:१४

नेपाली कांग्रेसभित्र अहिले नियमित महाधिवेशन र विशेष महाधिवेशनका विषयमा गराइएको विवादका विषयमा धेरैको चासो र चिन्ता देखिन्छ । लामो राजनीतिक इतिहास र हरेक राजनीतिक, सामाजिक र आर्थिक आन्दोलनको नेतृत्व गरेको पार्टीभित्र विभिन्न तह र तप्काका व्यक्तिहरूको चासो र चिन्ता हुनु स्वाभाविक पनि हो । नेपाली राजनीतिका हरेक मोडहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कांग्रेसमा आम भरोसाकै कारण चासो देखिएको हो ।

नेपालको हरेक राजनीतिक कालखण्डलाई मिहिन रूपमा केलाउने हो भने नेपाली कांग्रेस मुलुकको एउटा मात्रै स्थायी संस्थागत शक्ति हो । लोकतन्त्रमा कुनै सम्झौता नगर्ने कांग्रेस अन्य जनताको आवाजहरूलाई दबाउने तर्फ कहिल्यै उन्मुख भएन– आफ्नो जस्तोसुकै विरोध हुँदा पनि ।

यसको पछिल्लो उदाहरण तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा काठमाडौंका मेयर बालेन्द्र साहले आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले चेक गरेपछि उनले ‘सिंहदरबार जलाइदिन्छु’ भनेर लेखेको स्टाटस र त्यस विषयमा के गर्ने भन्ने विषयमा तत्कालीन सत्तारुढ दलहरूको छलफललाई लिन सकिन्छ ।

बैठकमा तत्कालीन प्रधानमन्त्री दाहाल लगायत अधिकांशले सिंहदरबार नै जलाइदिन्छु भन्ने मान्छे राष्ट्रद्रोही हो कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने तर्क–वितर्क भरहेका बेला कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालेन्द्रको आक्रोशलाई बुझ्दै ‘सिंहदरबार जलाउँछु न भनेको हो जलाएको त छैन नि’ भन्दै आक्रोशलाई पनि लोकतान्त्रिक दलले स्वीकार गर्नुपर्ने मत राखेका थिए । साँच्चिकै कांग्रेसको स्कुलिङ, चरित्र र संस्कार यस्तै हो– फरक मतलाई नै विरोध मान्न हुन्न भन्ने आलोचनालाई सहन सक्ने चेत ।

जेनजी आन्दोलनको ८ घण्टे उभारले नेपालको राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

मानिसको चरित्र, दृष्टिकोण र नेतृत्व क्षमता परीक्षण गर्ने यस्तै सामान्य घटनाहरूमा उसले राखेको अभिव्यक्तिबाट हो । मिडियामा लिइने अन्तर्वार्तामा त मानिसले सबै प्रश्नका जवाफ सकभर सैद्धान्तिक रूपमा सही नै दिने गर्छन् । कुनै घटना, परिस्थिति र चुनौती आएका बेला राख्ने अडान नै सहि नेतृत्वको परीक्षण हो । संवेदनशील समयमा भिडको पछि लागेर होइन, एक्लै पनि अडान लिन सक्ने खुबी नेतृत्वमा हुनुपर्छ । अर्थात् भीडको पछि लाग्ने होइन कि सहि अडान छ भने विस्तारै भीडलाई आफ्नो पछि लगाउन सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ ।

गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनपछि मुलुकले लोकतन्त्रलाई अझ बढी चलायमान बनाउने र मुलुकलाई सही बाटोमा अघि बढाउन सक्ने सच्चा नेतृत्व खोजेको देखिएको छ । तर त्यो नेतृत्व यूट्यूवमा कसरी भ्युअर बढाउन सकिन्छ ?  कसरी भाइरल हुन सकिन्छ ? भन्ने मनसय सहितको आत्मकेन्द्रित होइन, आफू अलोकप्रिय भएर पनि मुलुकको हितको सही दिशा निर्देशन गर्ने खालको हुनु पर्छ । सधैं भिडले उठाएको मुद्दा वा एजेन्डाले मात्रै मुलुकलाई सही मार्गमा डोहोर्‍याउन सक्छ भन्ने हुँदैन । कहिलेकाही एक्लै अडान लिएर पनि भिडलाई पछि लगाउन सक्ने क्षमता नेतृत्वले देखाउन सक्नुपर्छ ।

यो सन्दर्भ मैले अहिले नेपालका हेरक राजनीतिक दलमा नेतृत्व परिवर्तनका विषयमा भएका छलफल र बहसतर्फ ध्यानकर्षण गर्न खोजेको हो । जेनजी आन्दोलनको ८ घण्टे उभारले नेपालको राजनीतिमा नयाँ बहस सुरु भएको छ । आन्दोलन किन भयो ? कसरी भयो ? यसको दीर्घकालीन असर के हुन्छ ? सुरक्षा निकायले गनडाउन किन गरे र गर्नु पर्ने अवस्था आयो भन्ने विषयमा म यहाँ प्रवेश गर्न चाहन्न । यस विषयमा भविष्यमा पक्कै पनि सम्बन्धित निकायले अध्ययन अनुसन्धान गर्ने नै छ । म यहाँ जनतामा किन आक्रोश वा निरासा आयो ? भन्ने विषय र नेपाली कांग्रेसभित्र अहिले देखिएको रडाकोका विषयमा लेखलाई मोड्न चाहन्छु।

जन आक्रोशको मूल समस्या : संस्थाहरूको अति राजनीतीकरण

मेरो झन्डै दुइ दशकको पत्रकारिता र सातर/आठ वर्षको राजनीतिक अनुभवले जनताप्रति पछिल्लो समय बढेको आक्रोश वा निराशाको मूल कारण राज्यका हरेक निकायहरूमा बढ्दै गएको अति राजनीतीकरण नै हो ।

हाम्रो राजनीतिक दलको संरचना, राज्यका निकायहरूको संरचना, नागरिक समाजको संरचना, पेशागत संघ संस्थाहरूको संरचनामा जानी नजानी आवश्यकता भन्दा बढी राजनीति मिसाइएको छ ।

टोल उपभोक्ता समितिको चुनावमा हुने दलीय विभाजन, निजामति कर्मचारी युनियनदेखि चिकित्सक, इन्जिनियर, खानेपानी उपभोक्ता समितिसम्म हुने निर्वाचन र दलीय विभाजनले जनतालाई राजनीतिक दलप्रति वितृष्णा र आक्रोश सिर्जना गरेको हो ।

कुनै निकायमा कामदारहरूको ट्रेड युनियन अधिकारका लागि युनियन हुनु जायज हो । तर बैंकका कर्मचारीलाई दलै पिच्छे युनियन खोल्न दिएर हामीले अति राजनीतिकरण घुसाएका छौं । जसले ती संस्थाहरूको कार्यसम्पादनमा राजनीतिक हस्तक्षेप बढवा गरी संस्थाको कार्यसम्पादन र संस्थाको प्रतिस्पर्धात्मक क्षमतामै गम्भीर असर गरेको छ ।

सबै क्षेत्रमा राजनीतिक रंग दिँदा ती संस्थाहरूको व्यावसायिकता कमजोर हुँदै जान्छ । जसको कारण राज्यका निकायहरूसँगको जनताको विश्वास कमजोर बनाउँदै लैजान्छ । त्यसैले सबै जनसंख्यालाई राजनीतिक रंगमा विभाजन गर्ने अहिलेको राजनीतिक संस्कारलाई बदल्न आवश्यक छ ।

राज्यका निकायमा स्थानीय तहका वडा सदस्यदेखि हुने निर्वाचनले वडा तहमा दलीय विभाजन गरेकै छ । विभिन्न नागरिक समाज, मिडिया, उद्योग वाणिज्य महासंघदेखि बैंकर एसोसिएसनसम्ममा हुने चुनाव र त्यहाँ देखिने दलीय समर्थन र विरोधले समग्र राज्यका निकायहरूको प्रभावकारिता कमजोर बनाउँदै लगेको छ ।

यस्तै अतिराजनीतीकरणका कारण एउटा खानेपानी उपभोक्ता समितिको अध्यक्षले कुनै गल्ती गरेको छ भने त्यस विरुद्धको गाली केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको थाप्लोमा सिधै आउँछ ।

सबै क्षेत्रमा राजनीतिक रंग दिँदा ती संस्थाहरूको व्यावसायिकता कमजोर हुँदै जान्छ । जसको कारण राज्यका निकायहरूसँगको जनताको विश्वास कमजोर बनाउँदै लैजान्छ । त्यसैले सबै जनसंख्यालाई राजनीतिक रंगमा विभाजन गर्ने अहिलेको राजनीतिक संस्कारलाई बदल्न आवश्यक छ ।

मलाई लाग्छ, जेनजी आन्दोलनपछि राजनीतिक दलहरूले सुधार्नै पर्ने मुख्य काम  हो– सबै क्षेत्रमा हुने अतिराजनीतिकरणको अन्त्य ।

सबै जनसंख्यालाई नै दलीय रूपमा विभाजन गर्ने अहिलेको संरचनालाई सुधार गरेर पेशागत स्वतन्त्रता कामय गर्न दलीय प्रभाव हटाउनै पर्छ । यस विषयमा दलहरूले नै छलफल र बहसको थालनी गर्न आवश्यक छ । मूल समस्या पहिचान गरेर सुधारतर्फ अघि बढिएन भने हामी अहिले जहाँ छौं त्यसबाट अघि बढ्ने होइन, पछाडि फर्कन पर्ने अवस्था आउन सक्छ ।

जनेजी आन्दोलनले सिकाएको एउटा महत्वपूर्ण पाठ भनेको हाम्रा राज्यका निकायहरू कति कमजोर रहेछन् भन्ने पनि हो । केही घण्टा मै राज्यविहीनताको अवस्थामा मुलुक कसरी पुग्यो ? अहिले कुनै संस्थालाई दोष दिनेभन्दा पनि राज्यका अंगहरू बलिया छैन रहेछन् भन्ने देखिएपछि त्यसमा कसरी सुधार गर्ने भन्ने तर्फ सरकारको मुख्य कामको रूपमा अघि बढाउन आवश्यक छ ।

कांग्रेसको अहिलेको प्राथमिकता के ?

नेपाली कांग्रेसको अहिलेको प्राथमिकता प्रक्रियामा होइन, कार्यक्रमात्मक र एजेण्डामा हुनुपर्छ । व्यक्तिगत रूपमा को खराब, को असलमा होइन, पार्टीले लिएको र अब लिने नीतिगत बहसमा कांग्रेस केन्द्रित हुनुपर्छ । व्यक्ति हेरेर होइन, मुलुक र लोकतन्त्र हेरेर बहस र छलफल गर्न आवश्यक छ ।

महाधिवेशन वा विषेश महाधिवेशन गर्ने नगर्नेमा समय बर्बाद गर्न आवस्यक छैन । आवश्यक छ त कांग्रेसले विगतमा लिएको नीतिमा के-के कमजोरी भए ? अब के-के सुधार गर्ने भन्नेमा बहस हुनुपर्छ । प्रक्रियामा त पार्टीको विधानभन्दा तलमाथि जाने छुट कसैलाई छैन, सोही अनुसार भइ नै हाल्छ। प्रक्रियागत कुरामा धेरै पोजिसन बनाउनु अहिलेको सामाजको राजनीतिक संस्कार होइन ।

त्यसका लागि सबैभन्दा पहिला जेनजी आन्दोलन वा आमजनताले कांग्रेसमाथि लगाएको आरोप के-के हुन र त्यसलाई कसरी सुधार गर्ने भन्ने विषयमा विमर्श गरौं । जारी केन्द्रीय समिति बैठकमा विगतमा कांग्रेसले गरेका यो-यो काम जनताले मन पराएनन् त्यसैले यसमा सुधार गरौं भन्ने निष्पक्ष छलफल गर्न आवश्यक छ । जस्तै कांग्रेस लगायत ठूला दललाई लागेको एउटा आरोप भनेको पटक-पटक एउटै व्यक्ति हावी भयो भन्ने छ । यसमा  नीतिगत सुधार गर्नै पर्छ ।  उदाहरणका लागि २०४८ सालपछि तीनपटक सांसद भएको व्यक्तिले कम्तिमा आगामी निर्वाचनमा चुनाव नलड्ने अर्थात कुलिङ अफ पिरियडमा बस्ने घोषणा गरौं । समानुपातिकमा एकपटक भएकाहरूले कहिल्यै नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरौं । पार्टीको पदाधिकारीमा जिल्लादेखि केन्द्रसम्म एउटै पदमा बढीमा दुई कार्यकाल मात्रै दोहोर्‍याउन पाउने व्यवस्था गरौं । सभापति बाहेकका पदमा एक कार्यकाल कुलिङ अफ पिरियडमा बसेपछि पुन लड्न पाउने व्यवस्था गरौं ।  पार्टीको केन्द्रीय सदस्य तीन कार्यकालमा सिमित गरौं ।

कांग्रेस केन्द्रीय समितिले जेनजी आन्दोलन अघि, जेनजी आन्दोलन र जेनजी आन्दोलनपछिको राजनीतिक परिदृष्यको समीक्षा हुनेगरी बहस केन्द्रित गर्न आवश्यक छ ।

 

वडादेखि केन्द्रसम्मका सबैजसो पद निर्वाचन गर्ने प्रणाली अन्त्य गरेर आधा निर्वाचित र आधा मनोनित गर्ने विधि विधान मै समावेश गरौं । भातृ संस्थाका रूपमा रहेका पेशागत संस्थाहरू सबैलाई शुभेच्छुक संस्थामा रूपान्त्रण गरौं । अहिलेको केन्द्रीय कार्यसमिति बैठकले यति मात्रै निर्णय गर्न सक्यो भने तुरुन्तै जनताले कांग्रेसलाई ताली लगाउँछन् । सुधारको ढोका खुल्छ ।

अर्को महत्वपूर्ण विषय जेनजी आन्दोलनबाट कांग्रेसले के लिने भन्ने पनि हो । कांग्रेसमा जेनजी उमेर समूहलाई समाहित गर्ने पार्टीको रणनीति के हो ?  यो उमेर समूहलाई समाहित नगरी हुने कांग्रेसको १५ औं महाधिवेशनले कुनै सुधार ल्याउन सक्दैन । त्यसैले जारी केन्द्रीय कार्यसमितिले जेनजीसँग कांग्रेस कम्तीमा तीनमहिने देशव्यापी अभियान सुरु गर्ने निर्णय गरोस् । जसको उद्देश्य कांग्रेसमा कम्तीमा एक लाख जेनजी सदस्य हुन् ।

कुनै ठोस सुधार बिना महाधिवेशन वा विषेश महाधिवेशन जे भए पनि र नेतृत्वमा जो आए पनि जनताले चाहेको परिवर्तन हुन सक्दैन । तसर्थ कांग्रेस केन्द्रीय समितिले जेनजी आन्दोलन अघि, जेनजी आन्दोलन र जेनजी आन्दोलनपछिको राजनीतिक परिदृश्यको समीक्षा हुने गरी बहस केन्द्रित गर्न आवश्यक छ ।

(लेखक हार्वर्ड विश्वविद्यालयको इमर्जिङ लिडर्स कार्यक्रम २०२५ का फेलो हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?