+
+

सम्पदाका सारथि, जसले गर्दा लुटेर खान गाह्रो छ !

ऋग्वेद शर्मा ऋग्वेद शर्मा
२०७६ वैशाख १७ गते १७:०१

१७ वैशाख, काठमाडौं । रानीपोखरी पराम्परागत शैलीमा बनाउन छाडेर जगमा कंक्रिट किन हालेको ? बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रड किन प्रयोग गरेको ? पशुपतिक्षेत्रमा कंक्रिट किन हालेको ? बौद्धनाथमा किला ठोकेर झिलिमिली किन बालेको ? खुला चौरहरु मासेर भ्युटावर वा सटर किन हालेको ? अहो, यत्रो माथापच्चिसी कसले गर्नू ।

यस्तो माथापच्चिसीलाई सबैले बेफ्वाँकको लफडा ठानेको भए अहिले रानीपोखरीमा कफीसप सहित ‘स्वीमिङ पुल’ बनेको हुन्थ्यो । बौद्धनाथ चैत्यलाई झिलझिले नियोनलाइटले छोपिएको हुन्थ्यो । काष्ठमण्डप कुनै झिल्के स्वरुपमा उठिसक्थ्यो । अनि भर्खरै खुलामञ्च रातारात बनेको सटरहरुमा सरकारी डोजर पनि लाग्ने थिएन ।

सबभन्दा मालामाल भइरहेका हुन्थे- नेता र कर्मचारीसँग चोचोमोचो मिलाएर सम्पदा मास्ने दलाल र बिचौलिया ।

बिगार्न, लुट्न र रातारात धनी बन्न लाग्नेहरुको तुलनामा जोगाउनुपर्छ भन्ने अभियन्ताहरु थोरै संख्यामा देखिन्छन्, जसलाई नकाम देख्नेवित्तिकै बोलिहाल्नुपर्छ । तीनै मध्येका हुन्- गणपतिलाल श्रेष्ठ र सुसन वैद्य । उनीहरुकै कारण लुट्नेहरु खुलामञ्चबाट बाहिरिन बाध्य भए । खुलामञ्च खुला रहनुपर्छ भन्ने स्थापित भयो ।

खुलामञ्च मात्र होइन, पुरा काठमाडौं उपत्यकाको सम्पदा र सार्वजनिक स्थलमा बेथिति र लुट मच्चाउन गाह्रो पारिदिएका छन्, श्रेष्ठ, वैद्य लगायतका अभियन्ताले ।

गणपतिलाल श्रेष्ठ

३० वर्षीय श्रेष्ठ बसन्तपुर दरबार क्षेत्रमा खाईखेली गरेर हुर्किए । बसन्तपुर स्कूलमा पढ्दा नै सम्पदाको महत्व गहिरोसँग महसुस गरे । वसन्तपुर दरबार क्षेत्रको कलामा घोत्लिएका उनले ९ कक्षामा पढ्दा काठमाडौं महानगरपािलकाले वातावरणीय सरसफाइका लागि गठन गरेको ‘ईको क्लब’ मा पहिलो अध्यक्ष बनेर काम गर्ने मौका पाए । त्यतिबेला नै काष्ठमण्डप, पशुपतिनाथ सरसफाइ गर्दा पुरातात्विक वस्तुको महत्व बुझ्ने अवसर पाएका उनी भन्छन्, ‘काम गर्दै जाँदा पुरातात्विक वस्तुहरुको महत्व अझ बुझ्दै गइयो ।’

सुसन वैद्य (३५) लाई चाहिँ आफ्नै घरको अनुभवले पनि सम्पदा संरक्षणमा दत्तचित्त बन्न उत्प्रेरित गर्‍यो ।

२०७० सालमा वैद्य परिवारलाई नरदेवीस्थित बौद्धचुक भन्ने पुरानो संयुक्त घर बेच्नुपर्ने व्यवहारिक वाध्यता आइलाग्यो । बिक्रीपछि त्यसको केही झ्याल मात्र जोगाउन सकेको वैद्य बताउँछन् । ‘किन्नेले त्यसलाई जसरी बनाउनुपर्ने थियो, त्यसअनुसार गरेनन्’, भन्छन्, ‘त्यही पीडाले सकेसम्म अरु सम्पदा जोगाउनपर्छ भने लागेको हुँ ।’

भूकम्पपछि बुलन्द आवाज

लामो राजनीतिक अस्थितरताले नेपाली समाजलाई थेत्तरो बनाएको वैद्य र श्रेष्ठको अनुभव छ । पैसा र राजनीतिक शक्ति सम्बन्धको यती बोलवाला छ कि आफूलाई टाठाबाठ ठान्नेहरु सकेसम्म नियम कानुन मिचेर कमाउन लाग्ने ।

वैद्य र श्रेष्ठ २०७२ सालको महाभूकम्पपछि खुलेरै सम्पदा र वातावरण संरक्षणमा सक्रिय भएका हुन् ।

भूकम्पले सम्पदा संरक्षणका धेरै पाटाहरु देखाइदियो । आर्किटेक्ट इन्जिनियर पनि भएकाले वैद्यले त्यो पाटो बढी केलाए । पुननिर्माणको क्रममा कसरी पनि बदमासी हुनसक्छ भन्ने पूर्वामानुमान थियो । २०६९ चैतमा हनुमानढोका दरबार सञ्चालन गर्न निजी कम्पनीलाई ठेकामा दिने प्रपञ्च उनीहरुले नै असफल पारेका थिए । श्रेष्ठ भन्छन्, ‘सर्वोच्च अदालतमा त्यो मुद्वा जितेपछि सामाजिक काममा लाग्ने हौसला बढ्यो ।’

त्यो अनुभवले पनि भूकम्पपछि पुनर्निर्माण र जीर्णोद्वारमा के हुनुपर्ने थियो, के भइरहेको छ भनेर आवाज उठाउन उनीहरुलाई सजिलो भयो । भूकम्पपछि विज्ञहरुसँग परामर्श गरे, उनीहरुकै रायअनुसार ‘सम्पदा बचाउ अभियान’ नै सुरु गरे ।

वैद्य ‘बस्न लायक काठमाडौं’ अभियानमा पनि लागेका थिए, २०७० सालबाट । भूकम्पपछि चाहिँँ डा. सुदर्शनराज तिवारी, डा. जीवराज पोखरेल लगायतका विज्ञहरुको समेत सुझाव लिएर ‘सम्पदा बचाउ अभियान’मा केन्दि्रत भएको उनी बताउँछन् ।

लालच र धाकधम्की

समान सोच र कर्मले श्रेष्ठ र वैधलाई एउटै बाटोमा डोर्‍यायो । उनीहरुले रानीपोखरीको पुनर्निर्माण प्रताप मल्लको पालाकै शैलीमा बनाउनुपर्छ भनेर आवाज उठाए ।

काष्ठमण्डपको मौलिकता मर्न दिनु हुँदैन, पुनर्निर्माणमा स्थानीयको सहभागिता हुनुपर्छ भने । खुलामञ्च जनताका लागि खुला नै हुनुपर्छ भनेर बोले ।

सुसन वैद्य

बोल्दा बोल्दै पनि बौद्धनाथको पुनर्निर्माणमा क्रंकिट र रड प्रयोग भएकोमा उनीहरुलाई दुःख लागेको छ । ‘चैत्यमा झिलिमिलि बत्ती बाल्न डि्रल गरेर गाडिएका काँटीहरु हटाउन पेन्चिस अभियान चलायौं’, श्रेष्ठ भन्छन् ‘त्यसअघि पुननिर्माणमा भएका बदमासी चाहिँ हटाउन सकिएन ।’

रानीपोखरीमा कंक्रिट बिछ्याउन थालिएपछि सुरु भएको उनीहरुको बिरोध र खबरदारी अझै जारी छ । वैद्य भन्छन्, ‘हिजो कर्मचारीतन्त्रसँग माथापच्ची गर्नुपथ्यो, अहिले हाम्रै आँगनबाट गएका जनप्रतिनिधिसँग पनि लड्नु पर्दा दुःख लाग्छ ।’

लामो राजनीतिक अस्थितरताले नेपाली समाजलाई थेत्तरो बनाएको वैद्य र श्रेष्ठको अनुभव छ । पैसा र राजनीतिक शक्ति सम्बन्धको यती बोलवाला छ कि आफूलाई टाठाबाठ ठान्नेहरु सकेसम्म नियम कानुन मिचेर कमाउन लाग्ने । यस्तो सामाजिक परिवेशले पनि आफूहरुलाई अभियन्ता बन्न कर लगाएको श्रेष्ठ बताउँछन् ।

समाजको लागि यसरी मरिमेटेर लाग्दा समाजभित्रै खासखुस चल्छ- कहीँबाट पैसा पाएछन्, त्यसले बिरोध गर्दै हिडेका छन् ।’ कतिपय सल्लाह दिन्छन्, ‘सित्तैमा शत्रु कमाउन जाँगर नचलाऊ ।’

बेलाबेला मुद्वा अनुसार, लोभलाचन र धाकधम्की पनि आउँछन् । वौद्वनाथमा सुधार र खुला मञ्च खाली हुनुपर्छ भन्दै हिँड्दा गुण्डा लगाउने प्रयास समेत भएको वैद्य बताउँछन् । लालच देखाएर मिलाउन खोज्ने, आफन्तमार्फत सम्झाउने प्रयास भइरहन्छ ।

‘अनावश्यक तनाव नलिन सुझाव दिने फोनहरु आउँछन्, नयाँनयाँ मोवाइलबाट फोन गर्छन्,’ श्रेष्ठ भन्छन् । तर उनीहरुको एउटै शुत्र छ- बद्मासी भएको वा हुन लागेको पक्का नभई बिरोध नगर्ने, बिरोध गरेपछि छाड्दै नछाड्ने ।

त्यसक्रममा कुरा बुझ्नुपर्ने ठाउँमा बसेकाहरु कुरा नबुझ्ने भएको देख्दा उनीहरुलाई दिक्क लाग्छ । ‘कुरा नबुझ्नेमा पुरातत्व विभागका अधिकारीहरु हुन्छन्’, सुसन बैद्य भन्छन्, ‘कतिपय बेला उनीहरु मन्दिरलाई सजिलो ठाउँमा सार्न, काम गर्न सजिलो हुने सामान प्रयोग गर्न हुदैन भन्ने कुरा समेत बुझ्दैनन् ।’

‘खुला मञ्चमा के भइरहेको छ’ भनेर सोध्दा वडाअध्यक्षले नै आफूले केहि थाह नपाएको बताएको संरक्षण अभियन्ताहरुको अनुभव छ । ‘त्यसैले सटर भत्किए पनि हाम्रो अभियान टुंगिँदैन, क-कसले केके गलत गरेका छन् थाहा पाउनैपर्छ’, श्रेष्ठ भन्छन्, ‘सम्झौताको बुँदामा त्रुटी भयो भनिँदैछ, तर त्यो कीर्ते हो । त्यसको जवाफ खोज्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?