
७ जेठ, काठमाडौं । भारतमा लोकसभा चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ । अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ ।
किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । उनीसँगै भाजपाका गिरिराज सिंह र राष्ट्रिय जनता दल (राजद)का तनवीर हसन पनि उम्मेदवार छन् ।
बिहारको राजनीतिक समीकरण यसपटक विगतकोभन्दा धेरै बदलिएको छ । भाजपा, जनता दल युनाइटेड (जदयु) र लोक जनशक्ति पार्टी (एलजेपी)ले चुनावी गठबन्धन गरेका छन् ।

अर्कोतर्फ कांग्रेस, राष्ट्रिय जनता दल (आरजेडी), राष्ट्रिय लोक समता पार्टी (रालोसपा), विकासशील इन्सान पार्टी (विआइपी) र हम पार्टीको गठबन्धन छ । यसलाई ‘महागठबन्धन’ भनिएको छ ।
बेगुसरायको मत सर्वेक्षणका नतिजालाई विश्वास गर्ने हो भने कन्हैया कुमारका लागि चुनावी नतिजा सुखद छैन । उनी तेस्रो नम्बरमा रहने आकलन गरिएको छ । र, यसपटक कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै बाजी मार्ने अनुमान गरिएको छ ।
मत सर्वेक्षणका अनुसार बिहारका ४० मध्ये सत्तारुढ गठबन्धनले ३२ सिटसम्म जित्न सक्ने छ । यसमा भाजपाको १५, जदयुको १३ र एलजेपीको ४ सिट सामेल छन् । यसैगरी महागठबन्धनको कुरा गर्ने हो भने राहुल गान्धी नेतृत्वको कांग्रेस पार्टीले जम्मा २, आरजेडीले ५ र राष्ट्रिय लोक समता पार्टीले १ सिट जित्ने अनुमान गरिएको छ ।
मोदीको कट्टर आलोचक मानिने कन्हैया कुमार उम्मेदवार बनेपछि बेगुसरायको चुनावी प्रतिस्पर्धा रोचक बनेका छ । बेगुसराय क्षेत्रमा साढे तीन लाखभन्दा बढी भूमिहार मतदाता छन् । गिरिराज र कन्हैया कुमार पनि यही समुदायका उम्मेदवार हुन् ।
यहाँ मुस्लिम मतदाताको संख्या पनि साढे २ लाखभन्दा बढी छ । मुस्लिम समुदायले आफूलाई भोट हालेको विश्वासमा छन् अर्का उम्मेदवार तनवीर हसन । यद्यपि यादवसहित अन्य सबै समुदायका मतदाता पनि यहाँको चुनावी नतिजामा निर्णायक मानिन्छन् ।
सन् २०१४ को चुनावको कुरा गर्ने हो भने भारतीय जनता पार्टीका भोला सिंहले ४ लाख २८ हजार २२७ मतका साथ यहाँबाट चुनाव जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी राजदका तनवीर हसनले ३ लाख ६९ हजार ८९२ भोट पाएका थिए ।
प्रतिक्रिया 4