+
+
विप्लव समूहबारे कांग्रेसको प्रतिक्रिया :

शशांक कोइरालाको विश्लेषण : विप्लवलाई देखाएर संविधान फेर्ने खतरा छ

मिनेन्द्र रिजाल भन्छन्– कम्युनिस्ट असफल हुँदैमा धेरै ठूलो दुर्भाग्य हुनेवाला छैन !

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते २२:०१

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले देशमा संविधान संशोधनको खतरा बढेको दाबी गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहलाई देखाएर संविधान फेर्ने खतरा देखा परेको डा. कोइरालाको विश्लेषण छ ।

नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको कांग्रेस महामन्त्री डा. कोइरालाले आशंका व्यक्त गरे । सोमबार साँझ काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘मलाई के लाग्छ भने यिनीहरुले विप्लवसँग वार्ता गर्छन् । वार्ता गरेर विप्लवलाई पनि ल्याउँछन् ।’

तर, विप्लवलाई मूलधारमा ल्याउने बाहनामा संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा रहेको डा. कोइरालाले बताए । उनले अगाडि भने, ‘एउटा खतरा कहाँनेर छ भने हाम्रो जुन संविधान छ, यसैलाई देखाएर, विप्लवलाई पनि ल्याउनुपर्यो त्यसैले संविधान संशोधन गर्नुपर्यो भन्ने अभिप्रायले हाम्रो संविधान नै संशोधन गरिदिने खतरा छ ।’

विप्लवलाई मूल प्रवाहमा ल्याउँदा उनीहरुले कसरी संविधान संशोधन गर्लान् ? के राष्ट्रपतीय प्रणालीमा जानेतिर संकेत गर्नुभएको हो ? अनलाइनखबरको प्रश्नमा डा. कोइरालाले भने, ‘मलाई त्यही लाग्छ ।’

बजेटमार्फत गिरेको साखलाई फर्काउन सक्छन्

कांग्रेस महामन्त्री कोइरालाले वर्तमान सरकार असफल सावित भइसकेको दाबी गरे । तर, उनीहरुले लोकप्रिय बजेट ल्याएर गिरेको साख फर्काउन सक्ने उनले बताए । विशेष गरी चुनावी वर्षमा उनीहरुले लोकप्रिय बजेट ल्याउन सक्ने कोइरालाले विश्लेषण सुनाए ।

‘हामी भन्छौं, यो सरकार असफल भैसक्यो । अब हेरौं यसपालिको बजेट कुन किसिमको आउँछ । बजेटले धेरै प्रभाव पार्छ जनतामा । लोकप्रिय बजेट ल्याए भने गिरेको साखलाई फर्काउन सक्छन्’ महामन्त्री कोइरालाले अगाडि भने, ‘मलाई लाग्छ, त्यस्तो बजेट चुनावी वर्षमा उनीहरुले ल्याउँछन् । किनभने चुनाव त जित्नु छ । तर, अहिलेको बजेट कुन प्रकारको आउँछ, मलाई थाहा भएन ।’

धेरै ठूलो दुर्भाग्य हुनेवाला छैन  : मीनेन्द्र रिजाल

नेकपा नेतृत्वको सरकारले संविधान परिवर्तन गरेर राष्ट्रपतीय प्रणालीमा जान सक्ने महामन्त्री शशांकको विश्लेषणमा कांग्रेसका अर्का नेता डा. मीनेन्द्र रिजाल पनि असहमत छैनन् । तर, नेकपाको सरकार असफल हुँदैमा प्रचण्डले सोमबार बिराटनगरमा भनेजस्तो ठूलै दुर्भाग्य चाहिँ नहुने रिजालको विश्लेषण छ ।

कार्यकारी राष्ट्रपतिको मुद्दातर्फ नेकपा जान सक्ने डा. कोइरालाको विश्लेषणमा सहमति जनाउँदै डा. रिजालले भने, ‘कार्यकारी राष्ट्रपति चाहिन्छ भन्नेमा बाबुराम भट्टराईजी भित्रैदेखि कन्भिन्स हुनुहुन्छ । प्रचण्डजी अझ अधिकार चाहियो भनिरहनुभएको छ । ओलीजीलाई धेरै अधिकार चाहिएको गलत होला तर, सरकारलाई धेरै अधिकार चाहिन्छ भन्ने लाइन हो उहाँको ।’

तर, नेपाली जनताको चाहनाअनुसार गणतन्त्र आएको र नेपाली कांग्रेसको नेतृत्वमा नै गणतन्त्र, संघीयता र संविधान निर्माण भएकाले कम्युनिष्टहरु असफल हुँदैमा धेरै ठूलो खतरा नरहेको डा. रिजालको विश्लेषण छ । उनी अगाडि भन्छन्, ‘खतरा धेरै किन छैन भने नेपालीहरु गणतन्त्र ल्याउने कुरामा सोचेर गएका हुन् । नेपाली कांग्रेसकै कारण गणतन्त्र, संविधान, संघीयताको परिवर्तन आएको हो । त्यसैले यो सरकार असफल हुँदैमा धेरै ठूलो दुर्भाग्य हुनेवाला छैन ।’

कम्युनिष्ट नेतृत्वको सरकारले देउवा सरकारका पालामा जति पनि विकास खर्च गर्न नसकेको बताउँदै डा. रिजालले अधिकार केन्द्रीकरण गरेर समस्या समाधान नहुने बताए । समस्या समाधानका लागि डेमोक्रेटिक स्पेस र अधिकारको विकेन्द्रीकरणलाई बढाउनुपर्ने उनले बताए । तर, कम्युनिष्ट सरकार ठीक उल्टो बाटोतिर लाग्न खोजिरहेको उनले आरोप लगाए ।

‘भारतमा कम्युनिस्टको के हालत भयो ?’

अर्को फरक प्रशंगमा कुरा गर्दै कांग्रेस नेता डा. रिजालले नेपाली कांग्रेसलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ने बताए । रिजालले भने, ‘विचार दर्शनको कुरा गर्दै जाँदा हामी पुराना छैनौं । हामीलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ला । बरु उता धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ कि भन्नेतिर उहाँहरुले सोच्नुपर्यो ।’

डा. रिजालकै भनाइमा सही थप्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘भारतीय चुनावमा कांग्रेसको हालत के भयो भन्नेहरुलाई प्रश्न गर्नुपर्छ, त्यहाँको चुनावमा कम्युनिस्टहरुको हालत चाहिँ के भयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?