
काठमाडौं । थिसारा परेरा मान्छन् कि कप्तानमा गरिएको हेरफेरले श्रीलंका क्रिकेटमा राम्रो दिन फेरि आउनेछ ।
लगातार निराशाजनक प्रदर्शन गरेपछि श्रीलंका विश्वकप खेलिरहेको छ । टिम वनडे र्याङकिङमा नवौं नम्बरमा छ । विश्वकप अगाडि उसले स्कटल्याण्डलाई हरायो । यसबाहेक अरु सिरिज जितेन ।
दक्षिण अफ्रिकासँग सिरिज ५–० ले गुमाएपछि श्रीलंकाले लासिथ मालिंगाको स्थानमा दिमुन करुणारत्नेलाई कप्तान बनाएको छ । यसअघि एसिया कपमा हारेपछि दोस्रो पटक कप्तानीको भूमिका निभाइरहको एन्जेलो म्याथुको स्थानमा दिनेश चण्डिमाललाई ल्याइएको थियो । तर खराब फर्मका कारण मात्र दुई सिरिजपछि उनी टिमबाहिर भए ।
परेरा मान्छन् कि अब सही खेलाडीलाई कप्तान बनाइएको छ । उनले भनेका छन्, ‘म उनलाई राम्रोसँग चिन्छु । हामी यू–१३ देखि नै सँगै खेल्दै आएका हौं । अहिले कप्तानीको जिम्मेवारी सम्हाल्ने उनी उपयुक्त खेलाडी हुन् ।’
‘सबैभन्दा महत्वपूर्ण उनी राम्रो मानिस हुन्, यो कप्तानीका लागि जरुरी छ । सबै खेलाडीले उनलाई साथ दिन्छन् र उही उनको शक्ति हो’ उनले अघि भने, ‘उनी शान्त रहन्छन् । कसैलाई गाली गर्दैनन् । सबैका लागि उनी एक भाइ जस्तै हुन् ।’
विश्वकपमा श्रीलंकाको प्रदर्शन औषत छ । न्यूजिल्याण्डसँग हारेको उसले अफगानिस्तानलाई हराएको छ । पाकिस्तानसँगको खेल भने वर्षाले रद्द भएर अंक बाँडेको छन् ।
टिमलाई सफल बनाउन सिनियर खेलाडीहरुले करुणारत्नेलाई साथ दिनुपर्ने परेराले बताए । भन्छन्, एक सिनियर खेलाडी हुनुको नाताले म कप्तानका लागि २०० प्रतिशत प्रयास गर्छु । यदि हामीले हाम्रो सबै शक्ति लगाउने हो भने केही हुनसक्छ ।’
प्रतिक्रिया 4