+
+

सेयर बजारमा सुधारको संकेत, १३७ अर्बले बढ्यो लगानीकर्ताको पुँजी

रोयल आचार्य रोयल आचार्य
२०७६ असार ६ गते ११:२४

६ असार, काठमाडौं विगतका केही वर्षदेखि सेयर बजार ओरालो दिशामा छ । २ वर्षअघि १९ खर्ब माथि पुगेको सेयर बजारको पुँजीकरण १३ खर्ब तल झर्यो । बजार लगातार ओरालो लागेपछि सेयर लगानीकर्ताहरु आत्तिए । फलस्वरुप सेयर बजारका विषयमा गलत नीति लिएको आरोपमा अर्थमन्त्रीको राजिनामा माग गर्नेसम्ममा कार्यक्रम भए ।

लगानीकर्ताहरु आमरण अनसन पनि बसे । आन्दोलनले बजार बढ्ने वा घट्ने त होइन । तर बजार विस्तार र केही नीति तथा प्रविधिमा सुधार भए बजार बढ्ने लगानीकर्ताहरुको अपेक्षा थियो । लगानीकर्ताहरुको आन्दोलन चर्किरहँदा पनि बजार ओरालै दिशामा थियो ।

नेपाल स्टक एक्सचेञ्जले भित्र्याएको बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीले बजारमा निकै सुधार हुने विश्वासमा रहेका लगानीकर्ताहरु अनलाइन कारोबार शुरु भएपछि पनि खुसी हुन सकेका छैनन् । अनलाइन कारोबार शुरु भएकै भोलिपल्टदेखि समेत बजार ओरालो लाग्न शुरु गरेको थियो ।

यद्यपि, पछिल्लो समय भने सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सेयर बजारका लगानीकर्ताका लागि केही राम्रा व्यवस्थाहरु भए । बजेटपछि पनि बजार अपेक्षाकृत सुधार त हुन सकेको छैन, तर चालु आर्थिक वर्षको सुरुवातदेखि हालसम्मको तुलना गर्ने हो भने सकारात्मक देखिएको छ ।

अहिले लगानीकर्ताहरुले कति कमाए वा गुमाए ? सेयर बजारको अवस्था के छ ?  यही विषयमा चालु आर्थिक वर्ष (साउन प्रारम्भदेखि) ५ असार २०७६ सम्मको तथ्यांकका बारेमा यहाँ चर्चा गर्न खोज्दैछौं ।

नेप्से परिसूचकको अवस्था के छ  ?

नेप्से परिसूचक यति अंकले गिरावट आयो, सुधि्रयन सेयर बजार, राताम्मे सेयर, लगायतका थुप्रै समाचारहरु केही वर्षदेखि निरन्तर प्रकाशन भइरहेका छन् । किनकी एक दिन बढे दुई दिन बजार घट्ने गरेको थियो ।

तर पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको पहिलो दिनदेखि हालसम्म -असार ५ गतेसम्म) बजार सुधारको दिशामा दखिन्छ । किनभने सेयर कारोबार मापक नेप्से परिसूचक करिब ५२ अंकले बढेको छ ।

साताको अन्तिम कारोबार असार ५ गते बिहीबार करिब ६ अंकले सुधार आएको थियो । चालु आर्थिक वर्षको असार मसान्तसम्म सेयर बजार ५१.९६ अंकले सुधार भएको छ । २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा रहेको नेप्से परिसूचक ५१.९६ अंकले बढेर २०७६ असार ५ सम्म आइपुग्दा १२६४.३६ अंकमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ बैशाख मसान्तमा २०९ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

बढ्यो लगानीकर्ताको पुँजी

नेप्से परिसूचकमात्रै होइन यस अवधिमा सेयर बजारका लगानीकर्ताहरुको पुँजीसमेत बढेको छ । ११ महिनाभन्दा ५ दिन बढीको अवधिमा सेयर बजारको बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँ बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते सेयर बजारको बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ थियो । वर्षको असार ५ गतेसम्म आइपुग्दा बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँले बढेर १५ खर्ब ७३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गाह्रस्थ उत्पादनसँगको अनुपात करिब ४७ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ५१.८ प्रतिशत थियो ।

स्टक एक्सचेन्जमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा ४१६ अर्ब रुपैयाँ बढी पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को दश महिनामा २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर ९ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड बराबरको बोनस शेयर र ७५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका थिए ।

यस्तो थियो गत आर्थिक वर्ष

गत आर्थिक वर्ष सेयर बजारका लागि त्यति फलदायी बन्न सकेको थिएन । नेप्से परिसूचक वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको थियो । २०७४ असार मसान्तमा उक्त सूचकांक ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो ।

यसैगरी सेयर बजारको बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १४ खर्ब ३५ अर्ब १४ करोड कायम भएको थियो । बजार पुँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो ।

२०७५ असारमा कुल शेयर कारोबार रकम २०७४ असारको तुलनामा ४६.२ प्रतिशतले ह्रास भई ६ अर्ब ६३ करोड कायम भएको थियो भने यस्तो कारोबार रकम २०७४ असारमा ६१ प्रतिशतले ह्रास भइ १२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?