+
+

परीक्षाको ग्रेडः कति जाने, के सिके छोराछोरीले ?

व्यवहारिक कुरा महत्वपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १३:११

पिता सोध्छन्, ‘खानेकुरा कहाँबाट आउँछ ?’

बच्चा भन्छन्, ‘किचनबाट, फ्रिजबाट ।’

पिता सोध्छन्, ‘पैसा कहाँबाट आउँछ ?’

बच्चा भन्छन्, ‘एटिएमबाट ।’

यो ठट्यौली मात्र होइन, यर्थाथ पनि हो । अहिलेका बालबालिकाहरु व्यवहारिक जीवनबाट कसरी विमुख हुँदै जाँदैछन् भन्ने कुराको दृष्टान्त पनि हो ।

छोराछोरीलाई सुख दिने वा पढाउने चक्करमा हामीले आफ्नो दुःख लुकायौं । पारिवारिक यर्थाथ लुकायौं । उनीहरुलाई बताएनौ कि, घर कसरी चल्छ ? परिवार कसरी बन्छ ? समाज कसरी निर्माण हुन्छ ?

उनीहरुलाई सिकाएनौ कि, सागसब्जी कसरी फलाउने ? फोहोरमैला कसरी विसर्जन गर्ने ? लुगाफाटो कसरी जतन गर्ने ? घरखर्च कसरी चलाउने ? चाडपर्व कसरी मनाउने ? आफन्त, इष्टमित्रसँग कसरी सम्बन्ध कायम राख्ने ?

जब बच्चा भान्सामा आए, हामीले भन्यौं, ‘तिमी किन यहाँ ? खुरुक्क पढ्न जाउ ।’

जब बच्चा हामीसँगै बगैंचामा आए, हामीले भन्यौ, ‘होमवर्क छाडेर किन यतातिर ?’

जब बच्चा हाम्रो घरव्यवहारको कुरा चासो दिएर सुन्न आए, हामीले भन्यौ, ‘यस्ता कुरामा तिमीहरुलाई किन चासो ? जाउ आफ्नो खेल्नेकुरा मिलाउ ।’

जब बच्चा हामीसँगै लुगाफाटो धुन आए, हामीले भन्यौं, ‘पानी खेल्ने होइन, चिसो लाग्छ ।’

जब बच्चा हाम्रो सिको गर्दै कुचो लिएर घर सफा गर्न थाले, हामीले भन्यौं, ‘लुगा मैला हुन्छ, थपक्क गएर पढ ।’

हामीले यसरी छोराछोरीलाई सुख दिने, पढाउने र घरको दुःख लुकाउने गर्दै आयौं । उनीहरुले घरको काम गरेमा पढाईमा बाधा पुग्छ भन्ने ठान्यौ । उनीहरुले बगैंचा वा खेतीको काम गरे फोहोर-मैला लाग्छ भन्ने ठान्यौ । उनीहरुले घरब्यवहारको कुरा सुने अनावश्यक चासो देखाए भन्ने ठान्यौं । यसरी बच्चालाई हामीले व्यवहारिक जीवनबाट विमुख बनाउँदै लग्यौं ।

आज हाम्रा बालबच्चा कस्ता भए ?

बच्चालाई सोध्नुहोस् त, तरकारी कसरी पकाइन्छ ? चामल कहाँबाट आउँछ ? लुगा कसरी धुनुपर्छ ? जुत्तामा पोलिस कसरी लगाउनुपर्छ ? घरखर्च कसरी टार्नुपर्छ ? हाम्रा आफन्त, नातेदार को-को हुन् ? चाडपर्व कहिले आउँछ ?

संभवत बच्चाले यी कुनैपनि कुराको सही उत्तर दिनेछैन । किनभने उनीहरुलाई यवात् कुरा हामीले सिकाएनौ । सिक्न दिएनौ पनि । उनीहरुले सिक्न खोज्दा, जिज्ञासा राख्दा पनि हामीले उनीहरुलाई व्यवहारिक कुराबाट अलग गराइयो । आज हाम्रा बालबच्चा रोबोट जस्तै भएका छन् ।

शिक्षकले जति सिकाएका छन्, विद्यालयले जति सिकाएका छन्, त्यती मात्र जान्दछन् । उनीहरुले किताब बाहिरका कुरा जानेकै छैनन् । साथीभाईसँग कसरी मिल्ने, कस्तो मान्छेसँग कसरी व्यवहार गर्ने, सामाजिक काममा कसरी सहभागी हुने भन्ने जस्ता मानविय गुणको विकास पनि उनीहरुमा हुन पाएको छैन ।

खासमा हामी उनीहरुको भविष्य एवं करियरलाई लिएर बढी डरायौं । भोलिका दिनमा छोराछोरीले दुःख पाउने हो कि ? छोराछोरीको भविष्य अन्धकार हुने हो कि ?

स्वभाविक हो, आफुले जन्माएका बालबच्चाप्रति संवेदनसिल हुनु । स्वभाविक हो, चिन्तित हुनु । तर, उनीहरुको भविष्य सुरक्षित गरिदिने चक्करमा हामीले उनीहरुलाई किताब र विद्यालयको सेरोफेरोभन्दा बाहिर आउनै दिएनौ । जतिबेला पनि पढाई, जतिबेला पनि विद्यालय मात्र भनिरह्यौ ।

एकछिन फुर्सद हुँदा पनि पढ्न लगायौं । उनीहरुलाई घर-व्यवहारबाट विच्छेद गरिदियौं । पढाई नै सर्वोपरी हो भन्ने कुरा घोकायौं ।

ग्रेडको चक्कर र अपेक्षाको भारी

‘अँ त, तिम्रो छोरोले कुन ग्रेड ल्यायो ?’

‘फलानोकी छोरीले ए प्लस ल्याएकी छे ।’

‘अहो Û बर्वाद भएछ कति कम ग्रेड ?’

‘मेरी छोरीले ए प्लस ल्याएकी छे, अब के पढाउने होला ?’

एसईई परीक्षाको नतिजा आएसँगै अभिभावकबीच चल्ने तात्तातो संवाद हो यो । उनीहरुले छोराछोरीको खुसी समाजिक सञ्जालमा पनि बाँढिरहेका छन् । कतिले भोज खाइसके ।

कोही अभिभावक आफुले ‘अपेक्षा गरेजस्तै’ ग्रेड ल्याएको भन्दै मख्ख छन् । कोही अभिभावक छोराछोरीले कम ग्रेड ल्याएकोमा खिन्न छन् । यसबीचमा केही दुखद् खबर पनि आइरहेको छ । परीक्षामा ‘सोचेजस्तो नतिजा नआएकाले’ दुई किशोरीले आत्महत्या गरेका छन् । झापा बुधबारेकी सलिना ढकाल र सन्धिखर्ककी सदिक्षा पौडेलले आत्महत्या गरेकी हुन् ।

दुई किशोरीको आत्महत्याले के देखाउँछ भने उनीहरुमाथि अभिभावक वा शिक्षकलेे ‘अपेक्षाको भारी’ बोकाइदिएका थिए । एसईई उत्तिर्ण हुनैपर्छ, यत्ति ग्रेड हासिल गर्नैपर्छ भन्ने मानसिकताले उनीहरुलाई कसरी ग्रसित बनायो ? सोचनिय विषय हो ।

धेरै अभिभावक यस्ता छन्, जो आफ्नो इच्छा, आकंक्षाको बोझ छोराछोरीलाई बोकाइदिन्छन् । छिमेकसँगको देखासेखी वा सफलता प्राप्त गर्ने हताराले उनीहरु छोराछोरीलाई बोझ बोकाइदिन्छन् । जब छोराछोरीले अभिभावकको अपेक्षा पुरा गर्न सक्दैनन्, आफैलाई समाप्त गर्छन् ।

एसईई परीक्षामा प्राप्त हुने ग्रेड नै सर्वोपरी हो भन्ने धारणाका कारण आज लाखौं बालबालिका ‘टुप्पी बाँधेर’, ‘घुँडा धसेर’ किताब घोकिरहेका छन् । मेहनत अनुसार उनीहरुले राम्रै ग्रेड पनि हासिल गरेका होलान् । यद्यपी एसईईमा प्राप्त ग्रेडबाट छोराछोरीको सफलता नाप्ने अभिभावकले ख्याल गरेका छन् कि छैनन्, छोराछोरीले व्यवहारिक र जीवनोपयोगी ज्ञान अरु बढी जरुरी छ ।

छोराछोरीले परीक्षामा उत्कृष्ट ग्रेड ल्याएका छन् । यो खुसीको कुरा हो । तर, उनीहरुका लागि परीक्षाको नतिजा मात्र सबैकुरा होइन । व्यवहारिक जीवनमा उनीहरुले यस्ता थुप्रै परीक्षा सामना गर्नुपर्नेछ । त्यसैले छोराछोरीका लागि व्यवहारिक र जीवनोपयोगी कुरा अहिलेको मुख्य आवश्यक्ता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?