
१६ असार, गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका-४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
आइतबार राति १ बजे भङ्गहा नगरपालिका- २ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा-४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
घटनापछि सख्त घाइते युवक पण्डित बेहोश भइ रथबाट भुइँमा झरेपछि उनलाई आइतबार राति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकामा सोमबार बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक युवकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4