२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत शनिबार मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मास्कसम्बन्धी धारणा अहिलेसम्म व्यापक चर्चामा छ । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’
अध्ययनहरूले भने साँच्चै प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका २९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो ।
नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला परेको छ । नास्टको विज्ञान संकायका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्त नेतृत्वको टीमले गत जेठमा गरेको अप्रकाशित अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको हो ।

प्रतिग्राम धुलोमा औसतमा तामा ६.१ माइक्रोग्राम, फलाम ४१३० माइक्रोग्राम, निकेल १०.५ माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता (जिंक) १२९ माइक्रोग्राम भेटिएको डा. पन्तले अनलाइनखबरलाई जानकारी दिए । उनको टोलीले काठमाडौं रिङरोडको २७ किलोमिटर दुरीका ४० स्थानबाट नमुना संकलन गरेको थियो ।
कसरी गरियो अध्ययन
डा. पन्तका अनुसार नास्टले धुलोमा धातुको मात्रा पत्ता लगाउने उद्धेश्यले यो अध्ययन गरेको हो । यसका लागि गत जेठमा चालिस स्थानबाट नमुना संकलन गरिएको थियो ।
धुलो संकलन गरिसकेपछि त्यसलाई एसिडसँग डाइजेसन गराइएको थियो । तरल पदार्थमा मिसाएपछि धुलोमा भएको धातु तत्व निस्कन्छ । धातु तत्व पहिचान गर्न एटोमेटीक एकजवसन स्पेकट्रोमिटर (एएएस) को प्रयोग गरिन्छ ।
रिङरोडका धुलोहरू एएएसमा राखेर परीक्षण गर्दा तामा, निकेल, फला, जस्ता र शिशा फेला परेको हो । त्यसमध्ये पनि फलामको मात्रा सबैभन्दा बढी आठ हजार १३५ माइक्रोग्राम भेट्टिएको छ । न्यूनत्तम तामाको मात्रा प्रति ग्राम धुलोमा ०.६ माइक्रोग्राम थियो ।
रोगको खानी
धुलोमा पाइने धातु मानव स्वास्थ्यका लागि हानीकारक अत्यन्त हानीकारक भएको चिकित्सकहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी निकेलका कारण क्यान्सर लाग्न सक्ने बताउँछन् ।
अध्ययनमा समेटिएको क्षेत्रमा निकोलको मात्रा प्रतिग्राम धुलोमा २५.३५ माइक्रोग्रामसम्म फेला परेको छ ।
यस्तै, प्रतिग्राम धुलोमा शिशा ६७.५ माइक्रोग्रामसम्म भेटिएको छ । डा. मरासिनीका अनुसार शिशाले स्मरण शक्ति घट्ने, फुड पोइजनिङ जस्ता समस्या देखिने बताउँछन् ।
अध्ययन टोलीको नेतृत्व गरेका डा.पन्त शारीरिक थकान, रक्तअल्पता, मृगौला र स्नायुतन्त्रमा समेत फलामले असर पार्ने बताउँछन् । यस्तै, धुलोमा पाइने तामाले लिभरमा खराबी, घाँटीमा इरिटेसन गराउँछ । उनी जिंकका कारण पेट र आन्द्रामा जलन, जलवियोजन, वाक्वाकी, रिङ्टा लाग्ने जस्ता समस्या देखा पर्ने बताउँछन् ।
कसरी बच्ने ?
वातावरणविदहरू धुलोको दीर्घकालिन समस्या समाधान गर्न पहिला धुलोको स्र्रोत पहिचान गर्नुपर्ने बताउँछन् । रिङरोड क्षेत्रमा भएका वर्कसपहरू र औद्योगिक क्षेत्रबाट निस्कने फोहर जथाभावी विर्सन गर्दा धुलोमा धातु मिसिएको हुनसक्ने उनीहरूको भनाई छ । दीर्घकालीन समाधानका लागि वायु प्रदुषित गर्ने स्रोतमै समाधान खोज्नुपर्ने जानकारहरूको सुझाव छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौंलाई धुलोमुक्त बनाउने प्रतिबद्धता जनाएको छ । ‘सडक किनारालाई माटो रहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइने छ’ बजेट वक्तव्यमा भनिएको छ ।
नेपाल केमिकल सोसाइटीका महासचिव डा. भानु न्यौपाने, काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका डा. वसन्त गिरी लगायतले कलंकीलाई क्षेत्रलाई आधार बनाएर गरिएको अध्ययन अनुसार ३० प्रतिशतले मास्क प्रयोग गर्ने गरेका छन् । करिब १५ सय जनामा गरिएको अध्ययन अनुसार अधिकांशले प्रयोग गर्ने मास्क सुरक्षित छैन ।
बजारमा पाइने प्रायः मास्क धुलाका ठूला कणमात्रै छेक्ने खालका छन् । डा. बाबुराम मरासिनी पनि काठमाडौंको प्रदुषणबाट बच्न सामान्य मास्क अपर्याप्त रहेको बताउँछन् । उनका अनुसार वायु प्रदुषणबाट जोगिन एन–९५ मास्क आवश्यक पर्छ ।
प्रतिक्रिया 4