
१९ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’
प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागि थिए । सांसद शाहीले ‘मन्त्री ज्यूमार्फत प्रधानमन्त्रीलाई भन्न चाहन्छु’ भन्दै आफू स्कुटीमा हिँड्ने गरेको र मास्क लगाउन पर्छ कि पर्दैन भनेर हेर्न आफ्नो स्कुटीको पछाडि बसेर यात्राका लागि प्रधानमन्त्रीलाई आह्वान गरेकी हुन् ।
‘अनि त्यसपछि मात्रै तपाईंहरु कहाँ के भएको रहेछ भनेर बोल्नुहोला भन्ने सुझावका साथ बिदा हुन्छु ।’ शाहीले अन्तिममा भनेकी थिइन् ।
त्यसअघि सांसद शाहीले प्रधानमन्त्री ओलीले उद्घाटन गरेको विद्युतीय बस कहाँ थन्किएको छ ? भन्दै प्रश्न गरेकी छन् ।
गत कात्तिक ६ गते ललितपुरस्थित साझा यातायात प्रा.लि.को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । तर, ती बसहरु कहाँ छन ? भन्दै सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न गरिन् । विद्युतीय बसका लागि ब्याट्री चार्जिङ स्टेशन निर्माणको सन्दर्भमा के भइरहेको छ भन्ने पनि उनको प्रश्न थियो ।
जवाफमा मन्त्री महासेठले प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ ? भन्ने विषय आफ्नो मन्त्रालयको जानकारीमा नरहेको बताए ।
विद्युतीय बस सञ्चालन र विद्युतीय बसका लागि ब्याट्री चार्जिङ स्टेशन निर्माणको सन्दर्भमा मन्त्रालयले मापदण्ड तयार पारेको र उक्त मापदण्ड मन्त्रीपरिषदमा पेस हुने चरणमा रहेको मन्त्री महासेठको जवाफ छ ।
प्रतिक्रिया 4