+
+

महामहिमज्यू, ढुंगा बेच्न पाइँदैन, मार्सी चामल बेच्दा हुन्छ !

नेपालबाट के–के मालवस्तु विदेश निकासी गर्न पाइन्न ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १९:२४

२३ असार, काठमाडौं । बंगलादेशका लागि राजदूतमा नाम सिफारिस भई अनुमोदनसमेत भैसकेका महामहिम बंशिधर मिश्रले सोमबार संसदीय सुनुवाई समितिमा एउटा गैरकानूनी योजना सुनाए ।

महाभारत पहाड काटेर नेपालको ढुंगा बंगलादेशमा बेच्ने र अर्बौं रुपैयाँ कमाउन सकिने योजना सुनाइरहँदा मिश्रले नेपालबाट विदेशमा ढुंगा गिटी निर्यात गर्न नपाइने कानूनी व्यवस्थाको चाहिँ ख्याल गरेको पाइएन ।

भर्खरै राजपत्रमा प्रकाशित वाणिज्य मन्त्रालयको ४९ पृष्ठ लामो आदेशमा नेपालको ढुंगा, माटो वा गिटी विदेश निकासी गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

असार २ गते प्रकाशित राजपत्रको सूचनामा चट्टानमाटो, ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गर्न नपाइने उल्लेख हुँदाहुँदै सरकारको कानुन ख्याल गर्नुपर्ने राजदूतले यो कानूनी व्यवस्थालाई वास्तै नगरी नेपालको ढुंगा बंगलादेशमा बेच्ने प्रस्ताव अगाडि सारे ।

के–के मालवस्तु विदेश निकासी गर्न पाइन्न ?

नेपाल सरकारले ढुंगा, माटो, गिटी बालुवा इत्यादिलाई विदेशमा लगेर बेच्न पूर्णरुपमा बञ्देज लगाएको अवस्थामा प्रस्तावित राजदूतको बंगलादेशलाई ढुंगा बेच्ने प्रस्ताव हावादारीमात्र होइन, गैरकानूनीसमेत हुने देखिन्छ ।

सरकारले ढुंगामाटोका साथै पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाइ इन्धनसमेत विदेश निकासी गर्न नपाइने असार २ गतेको राजपत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी वाणिज्य मन्त्रालयको असार २ को आदेश अनुसार निकासीमा पूर्णरुपमा प्रतिबन्ध लगाइएका वस्तुहरुमा पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तु, विदेशी तथा स्वदेशी सिक्का, देवी देवताको मूर्ति, ताडपत्र आदि समेत छन् ।

त्यस्तै गोलिया तथा चिरान काठहरुमा साल, सति साल, विजयसाल, राष्ट्रिय वनको ओखर, राष्ट्रिय वनको जंगली सिसौ पनि विदेश निकासीमा नेपाल सरकारले प्रतिबन्ध लगाएको अवस्था छ । तर, आफ्नो जग्गामा रहेका साल बाहेकका चिरान काठहरु निकासी गर्न सकिने राजपत्रमा उल्लेख छ ।

वन पैदावरतर्फ पाँचऔंले, राष्ट्रिय वनको ओखरको रुखको बोक्रा, सरकारले सिफनरिस नगरेको कुड्की र झ्याऊ विदेश निकासीमा प्रतिबिन्धत छ । वनस्पती विभाग तथा वन विभागको स्वीकृतिमा बाहेक जटामसी, तालीसपत्र, लौठसल्ला पनि विदेश निकासी गर्नु गैरकानुनी मानिन्छ ।

प्रशोधन नगरिएको सिलाजितका साथै वन विभागबाट निकासीको अनुमति नलिइएको यार्सागुम्बा पनि विदेश निकासी गर्नु गैरकानूनी ठहरिन्छ ।

खयरबाट उत्पादन हुने कथ्था वा कचलाई बिस्कुट आकार बनाएर मात्रै विदेश निकासी गर्न पाइन्छ ।

त्यसैगरी गाँजा, अफिम, चरेसजस्ता युएनले निशेध गरेका र लागू औषध (नियन्त्रण) ऐनको परिभाषाले ले निशेध गरेका वस्तुहरु पनि विदेश लैजान पूर्णरुपमा बञ्देज गरिएको छ ।

विस्फोटक तथा खरखजानाका वस्तुहरु, विस्फोटक पदार्थलाई चाहिने फ्युज वा फ्युजका लागि चाहिने वस्तु एवं जंगी खरखजनाका लागि चाहिने पदार्थहरु पनि विदेश लैजान पाइँदैन ।

त्यस्तै औद्योगिक कच्चा पदार्थ, मेसिनरी पार्टपूर्जा, काँचो छाला, कच्चा ऊन तथा जंगली जीवजन्तुको रौं पनि विदेश लैजान पाइन्न ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धिको सूचीमा सुचीकृत प्रजातिको हकमा ऐनअनुसार हुने भनिएको छ ।

मार्सी चामल बेच्न पाइने, धान चामलमा परिमाणात्मक बन्देज !

सरकारले नेपालबाट धान, चामलको निकासीमा समेत परिमाणत्मक बञ्देज लगाएको छ । तर, हिमाली तथा उच्च पहाडी भेगको स्थानीय मौलिक प्रजातिको चामल निकासीमा भने परिमाणात्मक बञ्देज नलाग्ने राजपत्रको सूचनामा उल्लेख छ ।

राजपत्रको यो व्यवस्थाले मार्सी धानको चामल विदेश निकासीमा परिमाणत्मक बन्देज नलागेको स्पष्ट हुन्छ ।

सरकारले गहुँ र चिनीको निकासीमा पनि परिमाणात्मक बञ्देज लगाएको छ । तर, चिनी निकासीको हकमा भने यसको परिणाम सरकारले निर्धारण गरे अनुसार हुने भनिएको छ

सरकारले स्वीकृत बैंकिङ प्रणालीअनुसार भुक्तानी हुने गरी अमेरिकी डलर १० हजार मूल्यसम्मको वस्तु र विना भुक्तानी १ हजार डलर सम्मको वस्तु इजाजतप्राप्त कुरियरबाट निकासी गर्न सकिने व्यवस्था गरेको छ । सोभन्दा बढीको निकासी गर्नु परे वाणिज्य विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

त्यस्तै कुनै उद्योगले पैठारी गरेको मिल (मेसिन) विदेशमा बेच्नु परेमा वा उद्योग नै बन्द भएमा सन्धीमा प्रतिकुल प्रभाव नपर्ने गरी विभागको सिफारिसमा त्यस्ता मेसिनहरु निकासी गर्न दिइने छ ।

गोमांश आयात गर्न नपाइने

सरकारले विदेशबाट गोमा‌ंश आयात गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी गाँजा चरेसजस्ता हानीकारक पदार्थ, वन मन्त्रालयले तोकेका हानीकारक एजोडाइ रंगहरु, प्लास्टिकका झुत्रा, औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुनेबाहेक ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका सिटहरुका साथै फिलामेन्टबाट प्रकाश दिने परम्परागत बत्ती, लाइट बल्बहरु पैठारी गर्न नपाइने राजपत्रमा सूचना प्रकाशित भएको छ ।

हेर्नुहोस् असार २ गतेको राजपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?