Comments Add Comment

प्रस्तावित राजदूतले सुनाए नेपालको पहाड काटेर बंगलादेशलाई ढुंगा बेच्ने योजना

सांसदको आलोचनापछि योजना फिर्ता !

२३ असार, काठमाडौं । बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले नेपालको महाभारत र चुरे पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने योजना सुनाएका छन् ।

सोमबार संसदीय सुनुवाई समितिमा उनले ‘एक प्रयास तीन लाभ’ भन्ने अवधारणा भन्दै महाभारत शृङखला काट्ने, चुरेमा रहेका बस्तीलाई सार्ने र त्यो ढुङ्गा बंगलादेशलाई बेच्ने (निर्यात गर्ने) योजना रहेको बताएका हुन् । यसबाट नेपाललाई ठूलो उपलब्धी हुने उनले बताए ।

समिति बैठकमा उनले भनेका थिए,

‘एक प्रयास तीन लाभ भन्ने मेरो योजना रहेको छ । चुरेको बसोबासलाई हटाएर चुरे संरक्षण गरेर तराई मधेस जोगाउने र बंगलादेशलाई पनि डुब्नबाट जोगाउन सकिन्छ । त्यसको लागि के गर्न सकिन्छ भने, महाभारत श्रृङ्खला, भुगर्भविदहरुको नजरमा त्यसलाई काट्न हुन्छ । काटेर चुरेमा रहेका बस्तीलाई सार्ने र त्यो ढुङ्गा बंगलादेशलाई निर्यात गर्ने । एक खर्बको अर्डर अहिले नै दिन सक्छु भन्ने प्रस्तावका रुपमा छ । त्यसकारण हामीले ढुङ्गा मात्रै निकासी गर्न सक्यौं भने, धेरै ठूलो उपलब्धी गर्न सकिन्छ र त्यसबाट तीन वटा लाभ हुने सम्भावना रहन्छ ।

तर, सांसदहरुले प्रस्तावित राजदूत मिश्रका महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशमा निकासी गर्ने योजनाको आलोचना गरे ।

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले चुरेका पहाड खाली गराएर ढुङ्गा निकासी गर्ने योजना सरकारको हो ? भन्दै प्रश्न गरेका थिए । ‘सरकार बोलेको छैन र यस्तो कुरालाई दस्तावेजमा ल्याउनु हुँदैन । राजनीतिक रुपमा नउठेको कुरा राजदूतले गरिहाल्न हुँदैन’ उनले भने ।

सत्तारुढ नेकपाका सांसद सुरेन्द्र पाण्डेले राजदूतको यो योजना अपरिपक्व भएको र यसबारे सरकार नबोलेको भन्दै यस्ता विषयलाई आफ्ना योजनामा नराख्न सुझाव दिए । ‘यो योजना अपरिपक्व भयो । यो गर्ने कुरा होइन’ पाण्डेले भने ।

समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले चुरे महाभारत श्रृङ्खला काट्न कति सम्भव छ ? भन्दै त्यसो गर्नु व्यवहारिक नभएको बताएका थिए ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले चुरे पहाड खाली गराएर ढुङ्गा निकासी गर्ने योजना के हो ? भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि प्रस्ताव फिर्ता !

सांसदहरुले आलोचना गरेपछि भने प्रस्तावित राजदूत मिश्रले बंगलादेशमा ढुङ्गा निकासी गर्ने योजना फिर्ता लिएको बताए । ‘चुरे महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सरकारको छैन, मैले विज्ञहरुको रायका आधारमा राखेको हुँ । तर, यहाँ कुरा सुन्दा अहिले यो अपरिपक्व रहेछ भन्ने बुझेँ र यो नउठाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ मिश्रले भने ।

उनले नेपाल र बंगलादेशको द्विपक्षीय भेट, विद्युत व्यापारको विषय र पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । मेडिकल शिक्षालाई व्यवस्थित गर्न आफूले पहल गर्ने उनको भनाइ रहेको छ । ‘उच्च शिक्षामा केही समस्याहरु छन् । त्यहाँ रहेका नेपालीहरुले भोगिरहेका छन् । अवान्छित खालका जुन ब्यबहारहरु छन्, त्यस्ता कुराहरु निराकरण गर्न प्रयास गर्छु’ उनले भने ।

सोमबार बंगलादेशका लागि राजदूतमा सिफारिस भएका मिश्रको सुनुवाइ भएको छ ।

अन्य तीन प्रस्तावित राजदूतको पनि सुनुवाई हुँदै

सुनुवाई समितिले सोमबार अन्य तीन जना प्रस्तावित राजदूतहरुको पनि सुनुवाई गर्दैछ । त्यसका लागि तीन जना राजदूतलाई दिउँसो तीन बजेलाई बोलाइएको छ । राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेका छन् ।

अष्ट्रेलियाका लागि सिफारिस भएका महेश्वर दाहालकी श्रीमती प्रभा दाहालको अमेरिकी पीआर रहेको भन्दै उजुरी परेको छ । श्रीमान् वा श्रीमतीमध्ये कसैको पनि पीआर भएरमा राजदूतका लागि सिफारिस नगर्ने प्रचलन छ ।

सरकारले गत जेठ २३ गते अष्ट्रेलियाका लागि दाहाल, बंगलादेशका लागि मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment