News Summary
Generated by OK AI. Editorially reviewed.- रोमिला थापाको पुस्तक, अरुन्धती रायको ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको ‘उज्यालोको प्रेमगीत’ बारे लेखकीय समीक्षा प्रस्तुत गरिएको छ।
- लेखकले अरुन्धती रायको लेखनलाई भारतीय समाजका द्वन्द्व, स्वतन्त्रताको खोजी र राजनीतिक प्रतिरोधसँग जोडेर उनको ‘मेकिङ’को चर्चा गरेका छन्।
- वसन्त थापाको संस्मरणमा धरानको बाल्यकाल, पारिवारिक दारिद्रय, कम्युनिस्ट पृष्ठभूमि र जीवनसंघर्षलाई आधार बनाएर उनको लेखकीय शक्ति देखाइएको छ।
- पुरुषोत्तम सुवेदीका कवितामा न्याय, प्रतिरोध, खोकु छिन्ताङको दमन, वामपन्थी राजनीति र उज्यालोको पक्षधरता केन्द्रमा रहेको लेखमा भनिएको छ।
१. भरखर रोमिला थापाको ‘जस्ट बिइङ’ पढ्न थाल्दै थिएँ (यो पढिसक्न तीन महिना त लाग्ने नै छ)। तिनका आरम्भिक पङ्क्तिहरूले तानिहाले। कहाँ इतिहासकारको छवि भएकी थापा र कहाँ एउटा मेमोयरका नाममा विलक्षण साहित्यिक प्रतिभा प्रस्तुत गरिरहेकी रोमिला ! उनले पुस्तक थाल्नुअगाडि फैज अहमद फैजलाई उद्धृत गरेकी छिन्। फैज भन्छन् :
बोल, यही थोरै समय पनि पर्याप्त छ
शरीर या वाणीको मृत्यु हुनुपहिले
बोल, कि सच्चाइ अझै जीवित छ
बोल, जेजे भन्नु छ, भनिदेऊ !!
माथेमा सर रिसाउँदै छन् कि शान्त भए कुन्नी, मलाई भने आजभोली झोक मात्रै चल्छ। छैटौँ दशकको आधाआधी बाँचिसकेपछि, सबैलाई खुसी नै राख्ने उमेरमा पनि, थाहा छैन किन रिस उठ्छ घरीघरी। रिस पोखेर लेखिसकेपछि शान्त हुन्छु र कतै बोलेको या लेखेको कुरा सार्वजनिक भइसकेपछि यसो गम खान्छु- त्यति साह्रो रिसाउनु पर्ने थियो र ? अनि आफैँसँग संवाद गर्दै यत्तिको रिसाउनु समयअनुकूल नै छ भन्ने निष्कर्ष निकाल्छु। लेख्ने या बोल्नेलाई मात्र थाहा हुन्छ- लत्रिनु सजिलो छ। कम्फर्ट जोनमा बसेर शान्त अवस्थामा सुसेल्नु सहज छ। तर यहाँ रिसाउन पनि ठूलो साहस चाहिन्छ।
मलाई लाग्छ, यो बोल्नुपर्ने बेला हो। बोल्ने संस्कृति विकृत हुँदै सामाजिक सञ्जालका भित्ताहरूमा अश्लता छाइरहेको बेला, तर्कहरूको घाँटी निमोठेर केही उरन्ठेउला कुतर्कहरू यत्रतत्र बुर्कुसी मारिरहेका बेला जतिसक्यो नजिकको सत्य बोल्नु जरुरी छ। सत्य जीवित छ, झुूट लामो समय टिकिरहन सक्दैन। जसरी खोटा सिक्का खोजेर नष्ट गरिन्छन् र नयाँ सिक्का प्रचलनमा ल्याइन्छन्, त्यसैगरी विचारजगतमा हल्ला बोलेर ध्वनि प्रदूषण गरिरहेकाहरूलाई ठेगान लगाउन पनि बोल्नुपर्छ।
आजको युग आजको आजै उत्पत्ती भएको होइन। अहिलेको समाज र मानिस आजको मात्र उपज होइन। यो हजारौँ वर्षको इतिहाससँगै बदलिँदै आएको मानिस, खोजिएका नयाँ-नयाँ ज्ञान र पत्तो लगाइएका तथा प्रयोगमा आएका अनेक थरी प्रविधिहरूको अन्तरक्रियात्मक निरन्तरताको अंश हो।
पुरानोको पुनरुत्पादन पनि हो र आफैँलाई नयाँ बनाउँदै लगेको मान्छे पनि। हिजो पनि समाज थियो, भोलि पनि हुनेछ। इतिहासका कार्यकारण सम्बन्धबाहिर न आजको प्रविधि र विज्ञान छ, न मानिस र समाज अवस्थित छ। यसलाई नै अस्वीकार गरिरहेको उरन्ठेउलो समयका विरुद्ध बोल्नु जरुरी छ।
समाजको हेपिएको, थिचिएको, जीवन र जगतका यावत् प्रबन्धहरूको सिकार भएर निसासिरहेकाहरूको पक्षमा बोल्नु जरुरी छ। मान्छेलाई स्वतन्त्रतातिर, मुक्ति (इमानसिपेसन) तिर जान सम्भव छ भन्ने सपना देखाइरहन पनि बोल्नुपर्छ। मलाई मार्क्सको खोजीको निष्कर्ष मन पर्छ। उनी आफ्नो दर्शन र सङ्घर्षको गन्तव्य मानवजातिलाई “भौतिक आवश्यकताको दासत्वबाट” मुक्तिसम्म लैजानु हो भन्छन्।
अर्थात् जहिले मान्छेलाई खाने, बस्ने, लगाउने, पढ्ने वा स्वास्थ्य उपचार गर्नका लागि आवश्यक पर्ने वस्तु तथा सेवा प्राप्त गर्नका लागि समय र शक्ति खर्च गर्नु पर्ने दबाब हुँदैन, त्यसपछि मात्र मान्छे वास्तवमा स्वतन्त्र हुन्छ। जुनसुकै पेसा छनोट गर्न, सिर्जनात्मक कर्म गर्न स्वतन्त्र हुन्छ, त्यसपछि मान्छे भौतिक–सांस्कृतिक रूपमा मुक्त (इमानसिपेटेड) हुन्छ। पुँजीवादी व्यवस्थामा, खासगरी आम मान्छेका लागि यस्तो स्वतन्त्रता सम्भव हुँदैन। त्यसको प्राप्तीको उज्यालो तत्काल कतै दृष्टिगोचर नभएको समयमा, संस्था, संरचना र राज्यका विचारहरूले तथा जीविषाका विषालु अवस्थाले अर्धमृत भइरहेको मान्छेको आत्मालाई जगाउन पनि बोल्नुपर्छ।
म जन्तरमन्तरमा या कुनै विश्वविद्यालयको सभागारमा बोलिरहेकी भारतीय युवती नेहा बोराको बोल्ने क्षमता र उनले प्रदर्शन गरि रहेको इच्छाशक्तिबाट उत्साहित छु। बोल्नुपर्छ भन्ने कुरालाई पुष्टि गर्न उनीबाट सहारा लिन्छ । अरू समयमा त पुस्तकहरू नै हुन्, जसले मलाई बोल्न उक्साउँछन्। निदाइरहेको या निराश हुन खोजेको मभित्रको मलाई जिस्क्याउँछन्।
हालसालै तीनवटा पुस्तकले केही अर्थ बोकेर मलाई जिस्काउन आए। पढ्न त यसबीचमा अरू पनि पढियो, कतै चर्चा गरियो पनि। भरखर पढ्दै छु- महेन्द्र महकको कथासङ्ग्रह ‘खुदामा’ (अहो, यी नवोदित लेखकको अति शक्तिशाली कथाहरूको सँगालो…)।
सरल र मिठाससहित गहिरो अर्थ बोकेको मित्रलाल पार्धेको ‘युगान्तर’ महाकाव्य। गणेशप्रसाद लाखेको ‘सीमान्त सम्झना’ पनि पढ्दै छु। अलि पुरानो भएर पनि पूरा नपढी थन्क्याइएको गिरीश गिरीको ‘वीरगन्ज’। झोलामा छ, केही पेज पढिसकेर दसैँ खर्चका लागि साँचेको अनरे दे बाल्जाकको उपन्यास ‘किसान’। छरिएर पढ्नुको मजा तुम क्या जानो यारौँ !
यहाँ भने संस्मरणात्मक कृतिहरू- अरुन्धती रायको ‘मेरी माँ मेरी ग्याङस्टर’ र वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ अनि पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ को अवलोकन भ्रमण गरिनेछ। पुस्तकबाट पसे पनि कुरा त बोल्नु हो, मनका कुरा खोल्नु हो।
मनमा लागेको कुरा भन्नु या लेखेर व्यक्त हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दसैँको लयमा लय मिलाएर भन्ने हो भने बोली या लेखले : निदाइरहेकाहरूलाई झक्झकाओस्, प्रतिरोधको भाव बोकोस् र दमनकारी शक्तिहरूलाई सजिलै निदाउन नदेओस्। पसिना बगाइरहेका, कुनामा हराइरहेका, ऋण, रोग र भोकले लखेटिएकाहरूको पक्षमा होस्। न्यायको भाका बनोस्। स्वतन्त्रताको गीत बनोस्। (मिल्दासम्म) बोली चिल्लो, नरम र रसिलो होस्, तर अर्थहरू खस्रा र चोटिला होऊन्।
२. मेकिङ अफ अरुन्धती राय
‘मेरी माँ मेरी ग्याङस्टर’ अथवा यसको मूल अङ्ग्रेजी रूप ‘मदर मेरी कम्स टु मी’ पछिल्लो समय अरुन्धतीले हामीलाई दिएको एउटा अद्भुत उपहार हो। उनले आफ्नो जीवनको हुर्काइ र आफूले हासिल गरेको उपलब्धिप्रतिको प्रभाव पार्ने सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक र सांस्कृतिक पक्षलाई यस पुस्तकमार्फत विस्तारमा चर्चा गरेकी छन्। मेमोयर हो तर उपन्यासजस्तो छ, साहित्य हो तर राजनीतिक घटना र प्रवृत्तिहरूको उजागर गर्छ। छत र माटो अनिश्चित भएकी एकल महिला तर शिक्षित र दृढ इच्छाशक्ति भएकी मिसेज मेरीको हप्कीदप्की र खेदाइ सहित इसाई परिवारमा हुर्केकी अरुन्धतीले भारतीय समाजमा सन् १९८० पछि आएका र आउँदै गरेका परिवर्तनको प्रतिविम्ब सर्लक्क उतारेकी छन् पुस्तकमा।
यसले सीमान्त जीवनको कथा भन्छ। राजनीतिको अपराधीकरण र हिन्दुवादीहरूको भण्डाफोर गर्छ। कथा पारिवारिक पनि छ, रोमाञ्चक पनि छ। हामीलाई आफ्नो जीवनतिर फर्केर हेर्न र “हामीले कसका लागि जीवन बितायौँ ? के हामीले अर्थपूर्ण जीवन बितायौँ ?” भनेर प्रश्न सोध्न बाध्य पार्छ।
“मेरो काम फरक थियो। मेरो जिम्मेवारी लेख्नु थियो। एक लेखक हुनुको नाताले लेख्नु, न कि कुनै नेता या कार्यकर्ताका रूपमा। त्यसो गर्नका लागि मलाई समर्थकहरूको बोझ उठाउनु या मानिसहरूको आशा पूरा गर्नुपर्ने दबाब झेल्नु पर्दैनथ्यो। मलाई अलोकप्रिय हुने अधिकार चाहिएको थियो। मलाई सहमतिका सीमाहरूसम्म अनुसन्धान गर्ने, असहमत हुने र एक्लै खडा हुने विकल्प चाहिएको थियो।” (र्याली फर दि भ्याली)

यो वाक्यांश अरुन्धतीले ‘आउटलुक’मा प्रकाशित नर्मदा बाँधका सम्बन्धमा लेखिएको आफ्नो लामो लेख ‘दि ग्रेटर कमन गुड’ का सन्दर्भमा सम्झना गरेकी छन्। जसको पृष्ठभूमिमा मेधा पाटकरसँग रहेका कतिपय असहमतिहरू हुन्छन्। एउटा लेखकका रूपमा मलाई उनको यो सामर्थ्य र दाबीसँग ईर्ष्या हुन्छ। अलोकप्रिय हुने, असहमत हुने र एक्लै खडा हुने विकल्प खोज्दै गरेकी लेखक।
‘मेरी माँ मेरी ग्याङस्टर’ अरुन्धतीको पछिल्लो कृति हो। यो प्रचलित विधागत विभाजनको परम्परामा संस्मरण नै हो तर यसले वैयक्तिक अनुभूतिका पर्दा पन्छाएर भारतीय समाजका समकालीन द्वन्द्वका अनेक पाटा उत्खनन गर्छ, समाजका ज्वलन्त मुद्दाहरूमा विचरण गर्छ। यो आफैँमा आजको भारतीय समाजको महाआख्यान हो।
‘मेरी माँ मेरी ग्याङस्टर’ पढ्नु अरुन्धती रायलाई चिन्नु हो र यो उनकी आमाको पनि समानान्तर कथा हो। तर यो दुई आमाछोरीको कथा मात्र चाहिँ कत्ति पनि होइन। म यस पुस्तकका भित्री पाटाबारे यहाँ चर्चा गर्न गइरहेको छैन। पुस्तक पढ्दै जाँदा आज विश्वका पहिलो लहरका सार्वजनिक बौद्धिकहरूको पङ्क्तिमा पर्ने अरुन्धती राय भारतीय समाजले कसरी तयार पार्यो ? अर्थात् ‘मेकिङ अफ अरुन्धती राय’ मेरो चासो र जिज्ञासाको विषय बन्छ।
“मलाई आफ्नो जिन्दगी कसरी बाँचिरहेकी छु, त्यो अक्सर म आफैँ पनि बुझ्न सक्दिनँ। कोसिस गर्न पनि छाडिदिएँ। साँचो कुरा त यो हो कि जहिलेदेखि सञ्जय र प्रदीपसँग भेटें, उनीहरू दुवैसँग प्रेम गरें। बहुत फरक-फरक तरिकाबाट। हामीले एक-अर्कालाई बहुत गहिरिया चोट पुर्याएका छौँ, फेरि सम्झौता गरेका छौँ।
हामीले एक-अर्कालाई सम्हालेका छौँ। एक-अर्कालाई सहारा दिएका छौँ, मिलेर काम गरेका छौँ। हामी एक-अर्काका लागि सहोदर आमाबाबु, बालबालिका, साथी, जसलाई जस्तो खाँचो पर्छ, त्यस्तै सहाराका रूपमा पनि रहेका छौँ। हामी एक-अर्कामा जटिलतापूर्वक उल्झिएका मान्छेहरू हौँ, हामीलाई कसैले सुल्झाउन सक्दैन।” (और बैंड बिखर गया)
उनको वैयक्तिक जीवनको एउटा पाटो हो यो। यसले भारतीय समाज, जसलाई यताबाट हेर्दा रुढीगत परम्परागत प्रभाव वर्चस्वशाली देखिन्छ, मोब लिञ्चिङ, अनर किलिङ, राममन्दिर र भगवा रङ्गको दिग्दग्गी र साधुसन्तहरूको राजनीतिमा वर्चस्वशाली उपस्थिति, विप्रेषण राजनीति, दलितहरू र मुसलिममाथिको उग्र दमन अनि मार्क्सवादी वा प्रगतिशील विचारधारामाथि सत्ताको घोर आक्रमण झेलिरहेको समाजमा स्त्री–पुरुष सम्बन्धमा देखिएको यो उदारता अनुमान गर्न गाह्रो हुन्छ। यसले महिलाहरू स्वतन्त्रताको पक्षमा केही पर्खालहरू नाघेर अघि बढिरहेको सन्देश दिन्छ। यो अरुन्धतीको ‘मेकिङ’मा अर्थपूर्ण मोड थियो।
कथामा छ आमा मिसेज राय र छोरी अरुन्धतीको समानान्तर जीवनकथा। कथा पढ्दा लाग्छ, मिसेज राय एकजना क्रूर र हठी महिला थिइन्। बाबुको दमन सहन नसकेर यसै पहिलो प्रस्तावबाट स्वीकार गरिएको विवाहबाट प्राप्त भएको एउटा जँड्याहा लोग्ने (नथिङ म्यान) मिस्टर विक्कीलाई चटक्कै छाडेर दुई नाबालक सन्तानसहित आफ्नो दुनियाँ बनाउन हिँडेकी मिसेज राय।
कहिल्यै छोराछोरीलाई मायाले मुसारिरहेकी देखिँदैनन् र जसले छोराछोरीको हाइस्कुल शिक्षाको व्यवस्था त गरिन् तर छोरीलाई ‘रण्डी’ भन्ने र घरबाट निकाल्न सक्ने हदसम्मको निष्ठुरता जहिले पनि प्रदर्शन गरिन्। दिल्लीमा नाम बनाइसकेपछि मात्रै अरुन्धतीले बाबु चिनिन्— मिस्टर विक्की राय। जो रक्सीकै मातमा जीवन बिताउन जन्मिएजस्तो थियो। आमा रायले आफ्नै बलबुतामा केरलको एउटा कसवामा भव्यतम विद्यालय पनि खडा गरिन्, धन र नाम कमाइन्।
तर छोरी अरुन्धती जहिले स्कुले शिक्षा सकेर दिल्लीमा आर्किटेक्ट पढ्न आइन अनि भइन् फुक्काफला, अभिभावक नभएकी, आयस्ता नभएकी, आफैँ कमाउनुपर्ने। झुपडीपट्टिको डेरा, पुरुषहरूको साथ, गाँजा र यौन, सङ्गीत र पढाइ। क्रमशः सिनेमा पटकथा, अभिनय। एउटा समयमा फरक-फरक पुरुषहरूसँग सम्बन्ध र प्रेम। आफैले पाएको रोयल्टीको निस्फिक्री वितरण। लालचविहीन मनोविज्ञान। लेखनबाट प्रसिद्धि र भारतीय लोकतन्त्रभित्र हुर्किरहेको पाखण्डको भण्डाफोर।
कहिले दाँतेवाडाका नक्सली कमरेडहरूसँग, कहिले कश्मीरको घाँटीका विद्रोही युवाहरूसँग, कहिले नर्मदा बचाउ आन्दोलनका आदिवासी किसानहरूसँग अनि कहिले दिल्लीका सभाहल र जुलुसहरूमा सामेल भएर उनले जनपक्षधरतालाई आफ्नो व्यक्तित्वको अभिन्न अङ्ग बनाइन्।
पोखरणमा गरिएको आणविक परीक्षण, गुजरातमा भएको मुसलिमविरोधी दङ्गा र आमहत्याको विपक्षमा उभिएन्। र, विस्तारै विश्वभर सुनिन थालेकी रायले विश्वमा थोपरिएको युद्ध, साम्राज्यवादी हस्तक्षेप र उपनिवेशवादी नीतिहरू, जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण मामिलाहरूमा डटेर न्यायको पक्षमा उभिन सिकिन्।
अरुन्धती रायको व्यक्तित्व आमाको निष्ठुरी व्यवहार, स्वच्छन्दताको खोजी र स्वतन्त्रताको सीमाहीन चाहनाबाट बनेको छ। अनेक रात भोकले तड्पिए पनि, आफूले गर्दै आएको काममा अवरोध र निराशा हात लागे पनि नथाकीकन जुधिरहने र बाटो खोजिरहने हिम्मत नहार्ने उनको अख्खडपन अहिले हेर्दा लोभलाग्दो छ।
उनको व्यक्तित्वमा रहेको दृढ स्वभाव निर्माणमा आमाको भूमिका देखिन्छ, उनको राजनीतिक भावनाको विकासमा उनको स्वतन्त्रताको खोजी र सीमान्त मान्छेहरूप्रतिको प्रेममा देखिन्छ र ज्ञानको दायरा फराकिलो हुनुमा उनको अध्ययन र अनुभवको प्रभाव। प्रगतिशील व्यक्तित्वहरूसँगको संगत र सम्बन्धले उनलाई प्रतिरोधी बनाएको छ।
म अपूर्ण इसाई थिएँ
म अपूर्ण हिन्दु थिएँ
म अपूर्ण वामपन्थी थिएँ
म अपूर्ण थिएँ।
(चलता फिरता गणराज्य)
अरुन्धतीसँग एकदम छोटो देखादेख सन् २००० को मार्चमा दिल्लीमा भएको थियो— एउटा सम्मेलनमा। उनी मञ्चमा थिइन् वक्ताका रूपमा। भारतका कम्युनिस्ट पार्टीहरू र समाजवादीहरूले आयोजना गरेको कार्यक्रम थियो (त्यहीँ दुर्घटनावश म नेकपा मालेको प्रतिनिधिका रूपमा मञ्चमा बोल्न बाध्य भएको थिएँ। हामीलाई समाजवादी नेता विजय प्रतापले बोलाएका थिए)।
छोटो वक्तव्य दिएकी अरुन्धतीको त्यतिबेलासम्म जुन विश्वव्यापी परिचय बनेको थियो, त्यो केवल उनको ‘द गड अफ स्मल थिङ्स’ का कारणले मात्र नभएर उनले प्रभावकारी रूपमा उठाइरहेका शक्तिशाली सामाजिक मुद्दाहरूका कारणले बनेको थियो। उनी आफ्नो शक्तिका कारण अब भारतीय संस्थापनका लागि आँखैको कसिंगर बन्न थालेकी थिइन् र उनको लोकप्रियताको पारो चढिरहेको बेला थियो।
उनको उपन्यास ‘गड अफ स्मल थिङ्स’ र उनका निबन्ध र वार्ताहरू पढेका हाम्रा लागि उनी आइकन बनिसकेकी थिइन्। चम्किला आँखा, घुम्रिएको छोटो कपाल र गम्भीर अवलोकन गरिरहेको अनुहारकी यी लेखकले त्यसपछि माओवादी कमरेडहरूसँग गरेको जङ्गल यात्रा, अनेक निबन्धहरू र ‘मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ जस्ता कालजयी रचनाहरू दिएकी छिन्।
उनको शक्ति प्रचलित शास्त्रीय भाषामा साम्राज्यवादविरोधी, जातिवादविरोधी, आरएसएसले फैलाइरहेको हिन्दुवादी राजनीतिविरोधी, वातावरणीय विनाशविरोधी अभिव्यक्तिहरूमा आधारित थियो। र, भारतमा विभिन्न तह र तप्काका जनताले उठाउने गरेका न्यायपूर्ण सङ्घर्षका मागहरूको पक्षमा थियो। यो बृहत्तर वैचारिकीको सन्दर्भमा उनी वामपन्थी थिइन् तर कम्युनिस्ट थिइनन्। कम्युनिस्ट पार्टीहरूले जनपक्षधरताका उनका लेख र प्रवचन अनि उनको स्थापित व्यक्तित्वका कारणले होला, कार्यक्रममा बोलाएका थिए।
तर उनले भनेको जस्तो उनी अपूर्ण वामपन्थी थिइन् भन्ने म मान्न सक्दिनँ, बरु उनलाई भारतको कम्युनिस्ट आन्दोलनभित्र कहिलेकाहीँ भनिदो हो— उनी अपूर्ण कम्युनिस्ट हुन्। किनभने उनी कुनै पनि कम्युनिस्ट पार्टीमा छैनन्। आफैँ एउटा संस्थाका रूपमा प्रगतिशील शक्तिको केन्द्र बनेकी छिन्।
सिरियाली क्रिस्चियन परिवारमा जन्मे पनि क्रिस्चियनसँगै पहिलो बिहे गरे पनि उनको लगाव धर्मतिर देखिँदैन। हिन्दुहरूसँग प्रेममा र विवाहमा बाँधिएको भए पनि उनी हिन्दु बनेकी थिइनन्। अपूर्ण त अवश्य थिइन् तर यो उनको रोजाइ थियो स्वतन्त्रताको। आमव्यक्तिलाई यस्तो स्वतन्त्रता प्राप्त गर्ने कुरा परिवार, संस्कृति, धर्म र आर्थिक बाध्यताले बनेको संरचनासँग सम्बन्ध विच्छेद गरेर मात्र सम्भव हुन्छ, जो कमैले हिम्मत गर्न सक्छन्।
समग्रमा विरलाकोटी मान्छेले हासिल गर्ने बौद्धिक शक्ति बनेकी रायको निर्माणमा पारिवारिक वातावरण र राजनीतिले नकारात्मक पक्षबाट र उनको स्वतन्त्रताको चाहना र प्रतिबद्धताले सकारात्मक पक्षबाट योगदान गरेको देखिन्छ। उनको यो आख्यानात्मक गैह्रआख्यान पनि पढ्नैपर्ने पुस्तक हो।
३. औसतबाट विशिष्ट बनेको जिन्दगी
“आमाले पुर्याउनु भयो कि जस्तो लाग्छ स्कुलमा भर्ना गर्नलाई… बा त यस्तो अवसरमा कहिल्यै उपस्थित भएको याद छैन— एक त पेसाले र अर्को उहाँले समातेको राजनीतिका कारणले। …मैले आधा बाहुलाको कमिज र प्यान्टको सट्टा कट्टु लगाउनुको कारण धरानको गर्मी मौसम थिएन। जाडोमा पनि लामो बाहुलाको कमिज र प्यान्ट नसिब हुँदैनथ्यो र त्यसको कारण हाम्रो परिवारको चरम दारिद्रय थियो।” (बाह्रखरीको मेरो पाठशाला)
वसन्त थापाको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘एउटा औसत जिन्दगी’ को यो एउटा सन्दर्भ हो, जसले उनको बाल्यकालको अवस्था झल्काउँछ। उनले धेरैपछिको आफ्नो मेहनतले आर्जन गरेको सुविधाका कारण बिताएका कतिपय सुनौला दिनको पृष्ठभूमिमा बसेर धरानको यो बितेको समयले उनलाई चियाइरहन्छ र स्मृतिदंशले लखेटिरहन्छ यत्रतत्र।

वसन्त यस्ता लेखक हुन्, जसले आफ्ना संस्मरणहरूलाई पनि व्यक्तिका अनुभूति हुन् कि तत्कालीन समाजको चित्र भनेर खुट्याउन गाह्रो पार्छन्। उनको हेराइ सूक्ष्म खालको छ, आफैँले बिताएको समय, आफूसँग जोडिएका वा नजोडिएका तर वरपरको परिवेशसँग गाँसिएका पात्रहरूको सूक्ष्म अध्ययन गर्छन्, इतिहासको सम्मान गर्छन् र आख्यानसरह चरित्र निर्माण गर्छन्। उनको बाल्यकाल एकजना श्रमिक महिलाले अनेक हन्डरठक्कर सहँदै स्याहारेको परिवारका दुःखसँग साक्षात्कार गरेर बित्छ। र, यसमा आफ्ना राजनीतिमा संलग्न पिता इन्द्रबहादुर थापाको भूमिकाको योगदान देखिन्छ। अर्थात्, कम्युनिस्ट कार्यकर्ताको परिवार कस्तो हुन्छ भन्ने एउटा बिम्ब।
“खुकुलो ढुङ्गाको घेराबाट पुरिएको चरमाथि गेगरसहितको माटो पुरेर भुइँ हालिएको थियो। भुइँलाई घरको भुइँजस्तो बनाउने पानी हालेर ठोक्ने, पिट्ने र सम्याउन बाँकी नै थियो। छानो हाल्ने काम के सिद्धियो, आमालाई त्यहाँ सर्न हतारो भयो। चारवटा खाँबामा बाँसका घाराको चेपुवा हाली त्यसमा घोँचाघारा, काठका तखता, बाकल आदि बाँधेर एउटा कोठाजस्तो निकालियो। अनि एक साँझ आफ्नो थाङ्नाभोक्ता र हाँडाचिण्डा लिएर हामी तीनजना त्यहाँ सर्यौँ— आमा, म र मभन्दा दुईवर्षे भाइ। यसै पनि बगरसमानको भुइँमा सुत्न गाह्रो छँदै थियो, घोँचाको एक मान्छेजति अग्लो अस्थायी बारले पनि सुरक्षाको अनुभूति दिइरहेको थिएन। मभित्र अतिशय डर जगाएको थियो— नदेखिने भूतप्रेत, पिशाचका साथै देख्न सकिने सर्प, बिच्छी, खजुरो र स्यालहरूको।” (मेरो मालगुडी) एउटा कलिलो मस्तिष्कमा बसेको जीवनको यो भोगाइको छाप कтаकता अहिलेका वसन्त थापाको मनोविज्ञानमा बसिरहेको अनुभव हुन्छ।
वसन्त थापामा आफ्नै बाबुको विद्रोह चेत, नैतिकता, क्रान्तिकारी समर्पण र त्यागको प्रभाव छ। उनले तत्कालीन रायमाझी समूहको विद्यार्थी नेताका रूपमा केही वर्ष काम गरेका थिए। तर खै कसरी यी कुनै युवतीको हात माग्न कलकत्ता पुग्छन् र एउटा सर्तमा उनलाई छोरी दिन सासू-ससुरा राजी भएछन् : उपरान्त राजनीति गर्न पाइने छैन। त्यसपछि यिनले राजनीति गरेनन्। तटस्थ अवलोकनकर्ता भइरहे। र पनि, विचारको तहमा यिनमा समाजप्रति उत्तरदायित्वबोध देखिन्छ, लेखनमा पनि र कुराकानी र जीवनशैलीमा पनि।
गरिबीले सानैदेखि संसार चिन्ने वर्गदृष्टि दिएको, धरानमा उपलब्ध साहित्य, संस्कृति र पठन कल्चरको प्रभाव छ। बहुप्रतिभाशाली थापाको जीवनदृष्टिमा र रचनामा पनि धरानको छाप छ। उनीसँग म कम्तीमा २५ वर्षदेखि परिचित छु। त्यस अगाडि पनि ‘हिमाल’ पत्रिकाको सम्पादकका रूपमा उनका लेखहरूबाट चिनेकै थिएँ। मलाई पोखराबाट आएर यता खुट्टा टेक्न नसकेर थरथराइरहेको बेला उनको जीवन मेरा लागि आकर्षक लाग्थ्यो।
तीन वर्ष पहिले एउटा लामो संवाद गरेको थिएँ ‘नेपाल रिडर्स’का लागि। पछिल्ला केही वर्षदेखि उनले दसैँमा निस्कने विशेषाङ्कहरूमा लेख्ने गरेका संस्मरणहरूको एउटा लोभी पाठकका रूपमा उनलाई नजिकबाट चिन्ने प्रयास गरेको थिएँ। यी हाँसोठट्टा गरेर हँसिलो अनुहार लिएर सिनेमा पर्वहरू आयोजना गर्न हिँड्ने, अनुवादक, सम्पादक, लेखक, सङ्घसंस्थाहरूका अगुवा, पहिलेका होटल सञ्चालक, पर्यटकका पथप्रदर्शक, गीतकारसमेत अनेक थरी परिचय भएका मान्छेभित्र केके दुःखका स्मृतिहरू छन् भन्ने यी लेखहरूबाट पनि थाहा हुन्छ।
सिनेमाका किरा, जमघटहरूमा हिन्दी सिनेमाका गीतहरू सम्झँदै उक्त गीतको रचनाकार, गायक, सङ्गीतकार कोको हो, कसले निर्देशन गरेको थियो अनि अभिनय कसले गरेको थियो भन्ने सबै वृत्तान्तसहित टेबल ठटाएर गाइदिने यिनको खूबी रिस उठ्ने गरी आकर्षक हुन्छ।
कुराकानीका क्रममा उनले भनेका थिए, “म अहिले पनि काठमाडौँका लागि आउटसाइडर नै हुँ, राम्ररी जरा गाड्न सकिनँ यता।”
धनकुटाको डाँडागाउँमा जन्मिए पनि यिनको रगतको नसा-नसामा बग्ने रगत धरानकै आबोहवाबाट बनेको छ। तर उनको लेखनले भन्छ- उनले भोगेको धरान पनि अब कति धरान रह्यो र ?
शब्दशिल्पी हुन् वसन्त, उनको शब्दशिल्प वर्णनातित छ। जीवनका कहालीलाग्दा दुःखहरूसँग सङ्घर्ष गरेर बाल्यकाल र किशोरावस्था बिताएका वसन्त थापा आज जुन ठाउँमा छन्, जुन नाम छ, जुन काम गरेका छन् र जहाँ आइपुगेका छन्, त्यो उनको अवस्थामा हुर्केको कुनै पनि व्यक्तिले विरलै हासिल गर्ने उपलब्धि हो।
“पछाडि फर्केर हेर्दा म देख्छु, उसबेला सर्वहारा मुक्तिको राजनीति अँगाल्नेहरूमा प्रायः सबै हुनेखाने साहुमहाजन र जमिन्दार परिवारका थिए। कलकत्ता, बनारस, इलाहावादमा पढेका र उतैबाट नयाँ राजनीतिक चेत बोकेर आएका। उच्च शिक्षा नपाएकाहरूमा पनि आर्थिक हालत निम्छरो भएका कोही थिएनन्। सबैको मधेसमा धरधरोरस जग्गाजमिन थियाे वा कुनै व्यापारिक कारोबार थियो। त्यसको आयस्ताले उनीहरूको जीवन आरामपूर्वक चलेको थियो र साइडमा राजनीति… उनीहरूको भान्सामा नुनिया बासमतीको भात पाक्थ्यो, हाम्रोमा धेरैजसो मकैको च्याँख्ला वा ढिँडो। चामल भए पनि कि बगेडा कि उसिना। अर्थात्, अर्का थिए उच्च र मध्यमवर्गीय तहका, हामी थियौँ पूरै सर्वहारा मार्काका।… बाको कष्टकर जीवनले भन्छ, एउटा सच्चा कम्युनिस्ट भएर बाँच्नु कति गाह्रो थियो। मेरो आफ्नै हुर्काइको अनुभवले पनि भन्छ, कम्युनिस्टको छोरा भएर बाँच्नु झन् गाह्रो थियो।” (बाँच्न गाह्रो कम्युनिस्ट पुत्र भएर)
उनले कम्युनिस्ट पुत्र हुनुको जुन दुःख पोखेका छन्, त्यसले नेपालको कम्युनिस्ट राजनीतिकै केही चित्र प्रस्तुत गर्छन् र अनेक शिक्षा दिन्छन्। यो लेख्दै गर्दा मित्र विजय पौडेलको अन्त्येष्टि गरेर फर्केको छु। उनको हुर्काइ पनि कम्युनिस्ट पुत्रका रूपमा ब्यहोर्नुपर्ने दुःखका साथमा भयो। पछि उनले आफैँ केही व्यवसाय गरेर उदाहरण देखाउने कसम खाए र प्रकाशन र सञ्चारमा हात हाले। तर जुन व्यवसायलाई रोजे, त्यसबाट नाफा कमाउन सम्भव नै थिएन। उनले हार खाए। आफ्नो एकमात्र पुत्रको अन्त्येष्टिमा आर्यघाट लगिएका मोदनाथ प्रश्रित अल्जाइमरबाट विस्मृतिमा थिए, उनलाई के भइरहेको छ भन्ने भेउसमेत थिएन। विजय हारे र बिदा लिए। वसन्तले सङ्घर्ष गरे र हामीसामु छन्।
धरानमा जेजे उपलब्ध अनुकूलताहरू थिए, तिनको उपयोग गरेर अनि थोरै आफ्ना पिताका राजनीतिक सहकर्मीहरू पुण्यप्रसाद आचार्य या मदनमणि दीक्षित अथवा बीए कृष्ण र मदनमणि दीक्षितहरूबाट पाएको धापले नै थापाले जीवनको यो लामो यात्राको बाटो तय गर्न थोरै आधार दिएको हो।
उनको संस्मरणका प्रत्येक अध्यायले आफ्नो समयको समाजको प्रतिनिधित्व गर्छन्। उनी एउटा माध्यमका रूपमा रहेका छन् र कथा समाजको भनेका छन्। आफैँलाई एकैपटक देखाउन र लुकाउन सक्ने रचनात्मक सामर्थ्य छ उनको जादुमय लेखाइमा। कसरी लेख्ने, के लेख्ने, आफ्नो संस्मरणलाई समाजसँग कसरी जोड्ने अनि कसरी आफ्नो कथा भन्नुपर्दा पनि उत्ताउलो नभइकनै भन्न सकिन्छ भन्ने जान्न चाहनेले त यो पुस्तक पढ्नै पर्छ। उनले आफूसँगै जोडेर डाँडागाउँ धनकुटा र धरानको कथालाई अनुभूति र यथार्थ, हास्य र व्यङ्ग्यचेत, भावना र कल्पनाशीलता, समाज र अर्थतन्त्र तथा संस्कृतिका विशाल फलक मिसमास पारेर पाठकलाई लठ्याउने खूबीसहित लेखेका छन्। काठमाडौँदेखि विदेश यात्रासम्म, सिनेमादेखि पत्रिकासम्म, जेलयात्रादेखि राजनीतिसम्म र खासमा आफ्नो परिवार, आफैँ हुर्केको वातावरण र ब्यहोरेका दुःखसुखका कथा भनेका छन्।
समाजका पात्रदेखि प्रवृत्तिसम्म सूक्ष्म रूपमा चित्रण गरेर उनले आफूले बिताएको समयको राम्रो अभिलेख तयार पारेर नेपाली भाषा र समाज अध्ययनलाई गुन लगाएका छन्।
तपाईं आफैँलाई कसरी चिन्ने, कसरी व्यक्त गर्ने भनेर अलमलमा हुनुहुन्छ या लेखक कसरी बन्ने भनेर बाटो खोजीरहनुभएको छ भने ‘एउटा औसत जिन्दगी’ पढ्नुस्, तपाईंका लागि एउटा झर्रो नुस्खा हो।
४. उज्यालोको प्रेमगीत गाइरहेका पुरुषोत्तम सुवेदी
कवि तथा समालोचक पुरुषोत्तम सुवेदी साहित्य क्षेत्रका एकजना ‘डन’ हुन्। नयाँ सडक पिपलबोटबाट दक्षिणतिर एउटा कर्नरमा सरेको कवि कुनोका यी अघोषित नेता या संयोजक हुन्। हरेक मङ्गलबार र शुक्रबार अपराह्न विमल निभा, नारायण ढकाल, रघु पन्त, अविनाश श्रेष्ठ, शार्दुल भट्टराई तथा अरू अनियमित आगन्तुकसँगै यी नियमित उपस्थित हुन्छन्।

त्यो समकालीन राजनीति र मूलतः साहित्य-संस्कृति केन्द्रित अनौपचारिक बहसको थलोको मियो यिनै बनेका छन्। प्रगतिवाद यिनको वैचारिक धारा हो। समाजलाई विद्यमान विभेदयुक्त जालझेलबाट न्यायपूर्ण समाजतिर, अँध्यारोबाट उज्यालोतिर रूपान्तरण गर्न आफ्ना रचनामार्फत प्रयास गरिरहन्छन्। जागिरबाट निवृत्त सुवेदीको मूल विधा समालोचना, निबन्ध र कविता हुन्। कहिले कतै अनुवादको काम पनि गरिदिन्छन्।
इनका कवितामा नेपाली समाज र माटोको सुगन्ध आउँछ। आम मान्छे यिनका कविताका सरोकारका क्षेत्र हुन्। पुँजीवादी विश्व बजार, साम्राज्यवाद र निरंकुशताका यी विरोधी हुन् र आम मान्छेको मुक्तिको गीत रच्नु यिनको रचनाधर्मिता हो।
भोकानाङ्गा र दुःखी मान्छेहरूका कथामा
सुकुमार राजकुमार राजकुमारी हुँदैनन्
सामन्ती नखरा हुँदैन
प्रायोजित सुखान्त हुँदैन
स्पष्ट देखिन्छन् यथार्थहरू
स्यामस्वेत तस्बिरझैँ
सोह्र सहिदहरूको बलिदानको इतिहास
यसअघि यस क्षेत्रमा घटेकै थिएन
सोह्र सहिदहरूको प्रतिरोधी दस्ता
खोकु छिन्ताङको धर्तीको प्राण हो
र त्यो बलिदानी दस्ता आगो हो
(हाङ्खिमा साँइली)
‘उज्यालोको प्रेमगीत’ सङ्ग्रहमा सामेल यो कविताले २०३६ साल कात्तिकमा राजा वीरेन्द्रको सरकारले खोकु छिन्ताङ क्षेत्रमा गरेको नृशंस दमनको उत्खनन गरेको छ। बलिदानको प्रशंसा र दमनको विरोध, न्यायको पक्षधरता कविताको सार हो। मारिने बेलामा गर्भवती रहेकी हाङ्खिमा साँइलीको क्रूर हत्या पञ्चायती कालरात्रिको एउटा बिम्ब हो र पुरुषोत्तमले उनलाई मूल बहसमसम्म सम्मानपूर्वक ल्याइदिएका छन्।
सुवेदी समकालीन राजनीतिक पात्र तथा प्रवृत्तिहरू, खासगरी वामपन्थी राजनीतिक दल र नेताले देखाएका सपना र कार्यव्यवहारमा देखिएको भिन्नताबाट खिन्न छन्। यो समयले दिएको धोकाका विरुद्ध फेरि उठ्ने र नयाँ यात्रा थाल्ने कसम खान्छन्।
सडक र यात्रामार्ग
फोहोर थुप्रिएर
मैलिएको रहेछ भने
सुरु गरौँला हामी
हक्षेप गरेर
सुरुआत गरौँला
पुनः एकपटक
अन्त्यबाट।
सुरु गरौँला अन्त्यबाटै।
(अन्त्यबाट सुरु)
यसैगरी, उनी नेताहरू र दलका व्यवहारप्रति घृणा ओकल्छन्। कसरी उही मान्छे या शक्ति हिजो क्रान्तिकारी थियो, जनताको पक्षमा थियो र आज ऊ नक्कली जनपक्षधरताको खोल ओढेर समयलाई धोका दिइरहेको छ भन्ने देखेर कवि आक्रोश व्यक्त गर्छन्। उनका रचनाले जनआन्दोलनहरू, जनयुद्ध र त्यसपछि बनेका सरकारहरूले गरेका व्यवहारमा रहेका विरोधाभासको भण्डाफोर गर्छन्।
एउटा व्यक्तिको अनुहार
व्यवहार, विवेक र सक्रियतामा
एक समय दृष्टिगोचर हुने
स्वाभाविकता र स्पष्टताको यथास्थिति
लगत्तै अर्को समयमा
ठीक विपरीत द्वैध चरित्रको
भ्रष्ट, नक्कली र अविश्वसनीय
देखिएपछि, भेटिएपछि
सर्पको काँचुली फेरिएझैँ
फेरिन सक्ने मान्छेको चरित्रमाथि
कुनै पूर्वधारणा बनाउनु
जोखिमपूर्ण छ।
सामाजिक चेतनाको बजारमुखी स्तर र उपभोक्तावादले मान्छेलाई धनी र सुखी बन्ने हतारोको विज्ञापन गरेर लठ्याइरहेको र मानिसहरूलाई वास्तविक ज्ञान, विवेक, विचार र निरन्तर प्रयासबाट उन्नति गर्नमा विश्वास गर्नबाट भगाइरहेको छ भन्ने विषयमा लेखिएको उनको कविता हो— ‘बेस्ट सेलर’। लेखेका छन् :
ठूलो सङ्ख्यामा बिक्छन्
धनी कसरी बन्ने
कसरी सफल बन्ने
सकारात्मक सोचका भनिएका पुस्तक
मोटिभेसन प्रवचन सुनेर
नैतिकता र यथार्थको
राम्रो ज्ञान मिल्छ भन्नेहरू
निकै धेरै छन् शायद।
५८ वटा मूलतः साना चिटिक्कका भाका र लय मिलेका गद्य कविताहरू सङ्गालिएको ‘प्रेमगीत’मा वास्तवमै मान्छेप्रति, माटोप्रति र देशप्रति प्रेमका कविता छन्। पुरुषोत्तम समाज र यसको प्रवृत्तिको सूक्ष्म चित्रण गर्छन्, सामान्य प्रयोगशील शब्दहरूलाई मुसार्छन्, वाक्यहरूलाई मुठार्छन् र सिपालु बगैँचेले मुठारेको निलकाँटाको लहरजस्तो गरेर शृङ्गार गर्छन्। हाङ्खिमा साँइलीजस्ता विस्मृत हुँदै गएका सहिदका गाथा गाउँछन्, सक्कली सपना देखाएर सत्तामा पुगेपछि पूरै नक्कली बनेका शक्तिपुजकहरूको उछित्तो काढ्छन्।
द्विविधा र अराजकताग्रस्त
हस्तक्षेप गर्दै आएको
अपरिभाषित
एउटा कालो समयविरुद्ध
के ल्याउन सकिएला
उज्यालोको आँधीबेहरी ?
के गाउन सक्ला समयले
उज्यालोको प्रेमगीत ?
उनी उज्यालोका गायक हुन्। अँध्यारोका विपक्षमा उभिएर औँलो ठड्याउनु र उज्यालोको स्वागतमा आममानिससँग मिलेर समवेत स्वरमा गीत गाउनु उनको काव्यधर्म हो।
सुवेदी आफ्नो समयका शक्तिशाली कवि हुन्। उनका कवितासबारे कवि विमल निभा भन्छन्, “वस्तुतः कवि पुरुषोत्तम सुवेदीको कविताको अन्तर्य एउटा ठोस वैचारिकताले निर्मित छ। र, त्यो विचार हो— कविताको न्यायपूर्ण सामाजिक पक्षधरतासँग बलियो गठबन्धन। अर्थात्, कवि सुवेदीका कविताहरू जागरूक चेतनाका कलात्मक शब्दसाक्षी हुन्।”
५.
मलाई अरुन्धती र वसन्त थापा पढेपछि उनीहरूको लेखनमा आफ्नो हृदय निचोरेर, अनुभूतिहरूलाई अरूलाई सुनाउन योग्य बनाएर लेखे जस्तो लाग्यो। उनीहरूले बाँचेर आएको समय छ, समाज छ, समाजका मुद्दाहरू छन्, स्मृतिहरू छन् र सङ्घर्षहरू छन्। तिनमा लेखकका निजी अनुभूति कति हुन् र समाजका अनुभूति कति हुन्, अलग्याउन गाह्रो पर्छ। यता पुरुषोत्तम सुवेदी पनि हृदय छचल्काएर लेख्छन्, सुन्दर कविता छन्, विचार छ, समाज छ र पनि उनका रचना परबाट अरूलाई अवलोकन–परीक्षण गरेर देखिएका दृश्यको चित्र कुँदेजस्ता लाग्छन्। पहिलो खण्डमा आफ्नै माटो समूहमा परेका कविताहरू भने स्वअनुभूतिका भावुक चित्रहरू हुन्। बाँकी पर्यवेक्षकका दृष्टिहरू र विचारप्रधान।
लेखनशिल्प, कला र विचारका दृष्टिले सबै अब्बल हुँदाहुँदै पनि संस्मरणमा मान्छेलाई उसको बाहिरी आवरण उतारेर एक्सरे गरेर हेरे जस्तो लाग्छ। मान्छेभित्रको मान्छे तत्त्व वा उसको भावनाको गहिराइलाई छोपिराखेको हाडछालाको ढक्कन झिकेर हेरेजस्तो। कवितामा भने एउटा निरीक्षक र परीक्षकका आँखा छन्, जसले समाज र घटना–प्रवृत्तिको आत्मसात् गरेको छ। पहिलोपटक संस्मरणात्मक कृति र कवितामा मैले यस्तो भिन्नता अनुभव गरेँ। शायद सँगै पढेर तुलना गर्दा भायस पो भइयो कि ?
यी लेखकहरूमध्ये वसन्त थापा ७५ कटिसकेका र १९६० को दशकको समाजमा जीवनका लागि सङ्घर्ष गर्दै अनेक अनुभव बटुलेका व्यक्तित्व हुन्। उनी आफ्नो समयका वामपन्थी कार्यकर्ता हुन्, कम्युनिस्टका छोरा हुन्, जतिबेला कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादमा विश्वास गर्थे। जस्तो, वसन्तहरूको समूह भारतीय कम्युनिस्टहरूको चुनाव प्रचार गर्न दार्जिलिंग पनि जाँदो रहेछ। तर लेखनमा सकेसम्म तटस्थ भएर आफ्ना सबै कुरा बताएर पनि विचारका पक्षमा केही लुकाएका जस्ता लाग्छन्।
पुरुषोत्तम मूलतः विचारका दृष्टिले १९७० को दशकका उपज हुन्। उनीमा माओकालीन मार्क्सवादको प्रभाव छ। त्यहाँको राजनीतिको सीमान्त सहभागी हुन्। लेखनमा वैचारिक प्रष्टतासहितको आग्रह लिएर आएका छन्।
यी सबै लेखकहरू सामान्य परिवारबाट आएका हुन्। आर्थिक रूपले सहज हुर्काइ भएका सुवेदी मात्र छन् तर उनको राजनीतिक परिवेशमा पञ्चायती निरंकुशताविरुद्ध जागिरहेको समाज छ र विश्वव्यापी प्रभाव पारेको माओको सांस्कृतिक क्रान्तिकालिन क्रान्तिकारी मार्क्सवादको छाप छ।
अरुन्धती यी सबैभन्दा कान्छी हुन्। उनको निर्माणमा सन् १९८० को दशकमा विश्वबाटै र खासगरी भारतबाट ओरालो झर्दै गरेको समाजवाद र कम्युनिस्ट राजनीति, पीभी नरसिंह राव–मनमोहन सिंहका समयमा लागू गरिएको नवउदारवादी आर्थिक नीतिको संधिकालिन प्रभावहरू छन्। लालकृष्ण आडवाणीको रथयात्रा, बाबरी मस्जिद घटना, त्यसपछिका दङ्गाहरू र जाग्दो भगवा राजनीतिले विथोलेको समयको प्रभाव छ। नक्सलवारी आन्दोलनको विफलतापछि भारतीय युवामा फैलिएको निराशाका केही झिल्काले यिनको निर्माणमा प्रभाव पारेको देखिन्छ। मलाई यिनको संस्मरण पढ्दा पङ्कज बिष्टको उपन्यास ‘लेकिन दरवाजा’ को सम्झना आइरह्यो।
यसपटकको दसैँको बिदाको एउटा हिस्सा तपाईं पनि पुस्तकका लागि छुट्याउनुहोस्। शुभकामना !
प्रतिक्रिया 4