News Summary
Generated by OK AI. Editorially reviewed.- थारु समुदायको मौलिक परिकार ढिक्री चामलको पिठोबाट बनाइने परम्परागत खाना हो, जसलाई माघी, दशैँ र तिहारमा विशेषगरी खाने गरिन्छ ।
- थारु अगुवा तुल्सी चौधरीका अनुसार माघीमा ढिक्रीसँग परिकार, उपहार आदानप्रदान र पारिवारिक भेटघाटको चलन छ ।
- पछिल्लो समय ढिक्री होटल, होमस्टे, मेला र सांस्कृतिक महोत्सवमा बिक्री हुन थालेको छ, तर परम्परागत ज्ञान हराउने जोखिम पनि रहेको छ ।
१ कात्तिक, बुटवल । थारु समुदायको रैथाने मौलिक खानामा नछुट्ने परिकार हो– ढिक्री । चामलको पिठोबाट बनाइने ढिक्री थारु समुदायको इतिहास, कृषि जीवन, चाडपर्व र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत खाना र खाजा मानिन्छ ।
पश्चिम नेपालका नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरदेखि चितवनका थारु बाहुल्य जिल्लामा ढिक्री खाने गरिन्छ । उनीहरुले आज ढिक्री पूजा पनि गर्दछन् ।
विशेषगरी माघी, दशैंलगायतका चाडपर्वमा ढिक्री बनाउने, परिवारका सदस्य तथा आफन्तसँग बाँडेर खाने चलन छ । चामल उत्पादन, परम्परागत कृषि प्रणाली र थारुहरूको पुस्तौँदेखिको खानपान संस्कृतिसँग यसको ऐतिहासिक सम्बन्ध रहेको अध्ययनहरूले देखाउँछन् ।
तराईमा बसोबास गर्ने थारु समुदायमा प्रचलित ढिक्री बनाउने मुख्य सामग्री चामलको पिठो हो । यसलाई पानीको बाफमा पकाएर तयार गरिन्छ ।
यसको आकार र बनाउने तरिका ठाउँ, स्थानीय परम्परा तथा अवसरअनुसार फरक हुने थारु कल्याणकारिणी सभा केन्द्रीय सचिवालय सदस्य दाङका भुवन चौधरी बताउँछन् ।
चामलको पिठोबाट बन्ने भएकाले यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा दिन्छ । बाफमा पकाइने भएकाले तेल आवश्यक पर्दैन । स्वस्थकर परिकार भएकाले यो खाना र खाजा दुवै हिसाबमा उपभोग गरिन्छ । धार्मिक, सांस्कृतिक हिसाबले पनि प्रयोग हुने ढिक्रीले चाडबाड बाहेक अरू बेला पनि निरन्तरता पाउँदै आएको चौधरी बताउँछन् ।
पश्चिम तराईका थारु बस्तीमा यसको सांस्कृतिक महत्व विशेष खालको रहेको चौधरीको भनाइ छ । ढिक्रीसँगै बगिया, भक्का, अनदीको भात, माछा, घोंघी, सुँगुरको मासु र विभिन्न प्रकारका अचार थारु समुदायको खाद्य संस्कृतिका महत्वपूर्ण हिस्सा मानिन्छ ।

‘धान उत्पादन हुने तराई क्षेत्रमा चामल दैनिक भोजनको मुख्य आधार भएकाले चामललाई भात बनाएर खाने मात्र नभई पिठो बनाएर विभिन्न परिकार तयार गर्ने सिप पनि विकसित हुँदा ढिक्री त्यही खाद्य परम्पराको एउटा विशिष्ट उदाहरण हो,’ चौधरी भन्छन्, ‘यो इतिहासदेखि वर्तमानसम्म थारु समुदायको कृषि, घरेलु खाद्य प्रशोधन र सामूहिक जीवनशैलीसँग जोडिएको अभिन्न परिकार हो ।’
ढिक्री खाना र खाजाका रूपमा मात्र नभई पाहुनाको सत्कार, धार्मिक वा सांस्कृतिक अनुष्ठानमा प्रसादका रूपमा समेत प्रयोग हुने गरेको उनले बताए ।
पश्चिम तराईमा माघीमा लाम्चो, दशैंमा गोलो र तिहारमा दियोको आकार जस्तो चेप्टो ढिक्री बनाउने चलन रहेको उनले बताए ।
चामलको पिठोमा अरू केही नमिसाई उमालेको पानीमा पकाएर तयार हुने ढिक्री अर्गानिक परिकार भएकाले स्वस्थकर हुने चौधरी बताउँछन् ।
थारु अगुवा तुल्सी चौधरीका अनुसार, ढिक्रीको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक सम्बन्ध थारु समुदायको प्रमुख पर्व माघीसँग छ ।
थारुहरूले माघ १ गते नयाँ वर्षका रूपमा माघी मनाउँछन् । माघीमा ढिक्री बनाएर परिवारजन र पाहुनालाई खान दिने चलन छ ।
‘परम्परागत रूपमा घरका महिलाले ढिक्री बनाउने सिप पुस्तान्तरण गर्दै आएका छन् । अहिले पुरुष र युवा पुस्ताले पनि ढिक्री बनाउने गर्छन्,’ होटेल व्यवसायीसमेत रहेका तुल्सी चौधरी भन्छन्, ‘माघीमा ढिक्रीसँग परिकार, उपहार आदानप्रदान र पारिवारिक भेटघाटको चलन छ ।’

ढिक्री माघीमा मात्र सीमित नभई थारुहरूले दशैं, तिहार, छठ तथा अन्य चाडपर्वमा पनि बनाउँछन् । दाङका होटेल व्यवसायी विकास चौधरीका अनुसार, माघी, दशैं र तिहारमा बनाइने ढिक्री फरक खालको हुन्छ ।
दशैंका अवसरमा ढिक्री बनाउने, घरका देवतालाई चढाउने परम्पराको रहेकाले यो परिकार धार्मिक विश्वास र पारिवारिक संस्कारसँग जोडिएको चौधरीले बताए ।
ढिक्री कसरी बनाइन्छ ?
ढिक्री बनाउन सामान्यतया चामलको पिठो र पानी आवश्यक पर्छ । यसको स्वाद र बनावट चामलको प्रकार, पिठोको मसिनोपन, पानीको मात्रा र पकाउने तरिकामा निर्भर हुन्छ ।
चामल सफा गरी आवश्यकताअनुसार पिठो बनाएपछि मनतातो वा तातो पानी विस्तारै मिसाएर मुछिन्छ । पानीको मात्रा मिलाएर पिठोलाई हातले आकार दिन सकिने नरम डल्लो बनाइन्छ ।
मुछिएको पिठोलाई लाम्चो, गोलो वा स्थानीय परम्पराअनुसार अन्य आकार दिइन्छ । आकार दिँदा पिठो चर्किन नदिने प्रयास गरिन्छ, सतह सकेसम्म चिल्लो बनाइन्छ । भाँडामा पानी उमालेर त्यसको बाफमाथि ढिक्री राखिन्छ । परम्परागत रूपमा बाफमा पकाउने भाँडा र कपडाको प्रयोगसमेत गरिन्छ ।
आकार र मोटाइअनुसार करिब आधा घण्टा बाफमा पकाएर पाकेपछि ढिक्रीको बनावट कडा काँचो पिठो जस्तो नभई एकनासको र लचिलो हुने थारु अगुवा एवं होटेल व्यवसायी तुल्सी चौधरीले बताए ।
थारु समुदायभित्रै पनि स्थानीय संस्कृति, खाद्यान्न उत्पादन र धार्मिक अभ्यासअनुसार ढिक्री बनाउने तरिका फरक हुन्छ ।
ढिक्रीको व्यावसायीकरण
पछिल्लो समय ढिक्रीको व्यावसायीकरण भएको छ । विभिन्न ठाउँमा लाग्ने थारु सांस्कृतिक महोत्सव, माघी उत्सव, स्थानीय मेला, होटल, होमस्टे र पर्यटन प्रवर्द्धनका कार्यक्रममा ढिक्रीको उपलब्धता निकै सहज भएको दाङका होटेल व्यवसायी विकास चौधरी बताउँछन् ।

उपभोक्तालाई आकर्षित गर्न ढिक्रीमा केही मात्रामा चिनी र काजु, किसमिस र नरिवलको धुलो मिसाएर बनाउन थालिएको उनी बताउँछन् ।
पहिले घरपरिवारमा चाडपर्वका अवसरमा बनाइने ढिक्री अहिले पनि बनाएर बिक्री हुन थालेको छ । यसले स्थानीय खाद्य परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन र स्थानीय पहिचानलाई व्यापक रूपमा चिनाउन सहयोग गरेको थारु नेता भुवन चौधरी बताउँछन् ।
आधुनिकीकरणसँगै यसको परम्परागत विधि र ज्ञान हराउने जोखिम पनि रहेकाले परम्परागत परिकारको ज्ञान पुस्तान्तरण र संरक्षणको आवश्यकता रहेको चौधरीले औँल्याए ।
प्रतिक्रिया 4