
पानीका स्रोतहरु काम हुँदै गएपछि अहिले नेपालका अधिकांश ठाउँमा अन्धाधुन्द रुपमा जमिनमुनिबाट डीप बोरिङ गरेर पानी तान्ने काम धमाधम चलिरहेको छ । कतिले जानेर पनि र अधिकांशले नजानेर यसलाई गम्भीररुपमा नलिई पर्यावरणीय समस्याप्रति आँखा चिम्लेर बसेका छन् ।
सर्वविदितै छ कि ताजा पानी (फ्रेस वाटर) को संकट अहिले संसारभरि नै विकराल समस्याका रुपमा फैलिँदै गएको छ ।
हुन त पृथ्वीको ७१ प्रतिशत भाग पुरै पानीले ढाकिएको छ । तर, त्यो ७१ प्रतिशतमा ९७ प्रतिशतभन्दा बढी पानी समुद्रमा नुनिलो पानीको रुपमा छ । बाँकी ३५ प्रतिशत भन्दा कमको ताजा पानीमा पनि अधिकांश पानी बरफ र हिमनदीका रुपमा सञ्चित छ । त्यसैले मानवले उपयोग गर्न पाउने ताजा पानी निकै कम मात्रामा छ ।
त्यही बाँकी रहेको पानीमा पनि रसायन र मानव उत्पादित फोहोरले पिउने प्रयोजनका लागि अयोग्य बनाएका छन् । त्यसैले आउँदा केही वर्षमा दैनिक जीवनमा प्रयोग हुने पानीको समस्या विश्वमा निकै नै ठूलो समस्याका रुपमा आउनेछ ।
नेपालको सन्दर्भमा हामी निकै भाग्यमानी छौँ कि हामी जलस्रोतमा धनी छौँ । समुद्रको पहुँच नभए पनि ताजा पानीका नदीनालाहरु हाम्रा भविष्यका भाग्यरेखाहरु हुन् । किनभने, जब पृथ्वीमा ताजा पानीको हाहाकार हुनेछ, त्यतिबेला मनग्गे पानी हुने थोरै देशमध्येमा हामी पनि हुनेछौं ।
समुद्रको पानीलाई प्रसोधन गरेर दैनिक जीवनमा प्रयोगमा ल्याउन सकिने बनाउन निकै खर्चिलो हुन्छ । त्यसैले जमिनमा भएको ताजापानी निकै नै मूल्यवान हुनेछ ।

हाम्रा अधिकांश पानीका स्रोतहरु हिमालबाट पग्लेर आएका नदीहरु, तालहरु, बर्षाका बेलामा परेको पानीले माघ फागुनसम्म बग्ने खहरेहरु अनि जमिनमुनिको पानी नै हो । नदी र तालहरु अनि साना खोलाहरुको पहुँच हुन नसकेका ठाउँहरुमा जमिनमुनिबाट पानी तानेर प्रयोगमा ल्याउने चलन अहिले तीव्र गतिमा बढ्दैछ ।
हुन त जमिनमुनिको पानी प्रयोगमा ल्याउने चलन नयाँ चाहिँ होइन । कुवा, इनार खनेर जमिनमुनिको पानी निकालेर प्रयोगमा ल्याउने चलन नेपालमा धेरै पहिलेदेखि नै चलेको हो । तर, जनसंख्याको चाप, वन विनास अनि अन्य पानीका स्रोतहरुको कमीले गर्दा कुवा खन्दा निकै गहिरो खन्नुपर्ने भयो । त्यसैले आधुनिक प्रविधिको उपयोग गरेर मानिसले सजिलैसँग जमिनमुनिको धेरै तलको पानी बाहिर निकालेर प्रयोग गर्न थालियो ।
बोरिङबाट पानी निकालेर प्रयोग गर्नु आफंैमा कुनै गलत काम होइन । प्रकृतिले दिएको यो जलस्रोत मानव आवश्यकता पूरा गर्नका लागि उपयोग हुनुपर्छ । तर, एकोहोरो जमिनमुनिको पानी निकालेर प्रयोग गरिरहने तर त्यसलाई जम्मा हुन समय नदिने हो भने छोटो समयमा नै जमिनमुनिको पानी समाप्त भएर हामी काकाकुलको अवस्थामा पुग्नेछौं ।
जमिनमुनिको पानीले सतहको जमिनलाई सन्तुलनमा राख्न निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जमिनमुनि रुखका जराहरु जस्तै फैलिएर जताततै पानीका स—साना नशाहरु (क्यापिलारी) फैलिएका हुन्छन् । ती जल नशाहरुले नै बोटबिरुवाहरुलाई चाहिने पानी पुर्याउँछन् । त्यो भन्दा तल जमिनमुनि जम्मा भएको पानीको पहिलो सतह हुन्छ । परम्परागत कुवाहरुमा जम्मा हुने पानी तिनै जल नशाबाट आउने पानी र जमिनमुनिको पहिलो सतहमा जम्मा भएको पानी हो ।
त्यो पहिलो सतहको पानी सामान्यतया प्रयोग भैसके पनि बर्षायाममा केही दिनमै फेरि भरिन्छ । त्यसैले त्यसले वातावरणलाई त्यति हानी गर्न सक्दैन । तर, जब हामीले डीप बोरिंग गरेर पानी तान्छौँ, प्रायः हामीले पहिलो सतहको हैन कि दोस्रो सतहको पानी तान्छौँ ।
जमीनमुनिको दोस्रो सतहको पानी जम्मा हुन दशकौं या कहिलेकाहीँ शताब्दि नै लाग्छ । तर, जब हामीले त्यो दोस्रो सतहको पानी प्रयोगमा ल्याउँछौं, त्यसलाई भरिनका लागि चाहिने समय अपुग हुन्छ अनि जमीनमुनि पानीको अभाव हुन थाल्छ । जमीनमुनिको पानीले पानीको आपूर्तिलाई मात्र सन्तुलित नराखेर जमीनमाथिको भूगोललाई पनि सन्तुलित राखेको हुन्छ ।
यदि जमीनमुनिको पानी सुक्दै गयो भने त्यसको ठाउँ माटोले लिन्छ अनि जमीन विस्तारै भासिँदै जान्छ । जमीनमुनिको पानी असावधानीपूर्वक अन्धाधुन्ध प्रयोग गर्नाले इरानको राजधानी तेहरान विस्तारै जमीनमुनि भासिन थालेको तथ्य बाहिर आएको छ । यदि यसको रोकथाममा तुरुन्तै कुनै उपाय नलगाए पुरै शहर नै खण्डहरमा परिणत हुनेछ ।
तेहरानमात्र होइन, काठमाडौंजस्तो घना बस्ती भएको र उच्च जोखिमको भूवनोट भएको ठाउँमा त झन जमिनमुनिको पानी दोहन गर्ने कार्य निकै नै खतरनाक सावित हुने निश्चित छ ।
जमीनमुनिको पानी सुकेपछि जल नशाहरुमा पानी आपूर्ति हुँदैन । त्यसपछि त्यहाँबाट रुख बिरुवाहरुले सोसेर पानी लिन सक्दैनन् अनि त्यो ठाउँमा रुख बिरुवा पनि उम्रन छोड्छ ।
जमीनमुनिको पानीको कमीले माटोको ओसिलोपन पनि सकिने हुनाले ठूला रुख बिरुवा मात्रै होइन, अन्य अन्न बाली पनि उम्रिन छोड्छन् र विस्तारै मरुभूमिकरण शुरु हुन्छ ।
डीप बोरिङ गरेर तानेको पानी हामीले खेतबारीमा मात्र होइन, घरायसी काम र पिउनमा पनि प्रयोग गर्छौं । बिशेष गरी शहरमा र औद्योगिक क्षेत्रहरुमा अनेक हानिकारक रसायनहरू, औषधिका हानिकारक अवशेषहरु, मानव बस्तीका फोहरहरु बर्षाको पानीसँगै घुलेर जमीनमुनि पुगेका हुन्छन् । कतिपय लवण र रसायनहरु पानी उमाल्दा पनि नष्ट नहुने हुन्छन् ।
जब डीप बोरिङबाट पानी तानेर हामी पिउनका लागि प्रयोग गर्छौं, त्यसले हाम्रो स्वास्थमा दीर्घकालीन नकारात्मक असरहरु पनि गर्छ । नेपालजस्तो स्वास्थ्य–शिक्षामा पिछडिएको मुलुकमा न त हानिकारक रसायन र लबणहरुको मापन गर्ने संयन्त्र छ, न नियन्त्रण गर्ने सरकारी निकाय नै छ । जनता आफंैले त्यसको नियन्त्रण गर्न सम्भव हुँदैन । र, यसले स्वास्थ्यमा कस्तो नकारात्मक असर पुर्याउँछ भन्ने चेतना पनि छैन । त्यसैले अनियन्त्रित डीप बोरिङले एकातिर वातावरणीय समस्या त छँदैछ, अर्कोतिर नसोचेको स्वास्थ्य समस्या पनि निम्तिन सक्छ ।
त्यसैले जमीनमुनिको पानीलाई जथाभावी निकाल्ने प्रवृत्तिलाई तुरुन्त सरकारी स्तरमा नै नियन्त्रण थाल्नु जरुरी छ । यसका लागि आवश्यक कानुनहरु बनेका छैनन् भने कानुन बनाउने, यदि कानुन पहिले नै छन् भने तिनलाई परिमार्जन गरेर प्रभावकारी बनाउने काम थाल्नुपर्छ ।
डीप बोरिङको आवश्यकता नै भयो भने, समुदाय, सरकारी निकाय अनि वातावरणविदको संयुक्त समहति र स्वीकृतिमा मात्रै बोरिङ खन्ने, बोरिङ खनेको समुदायमा अनिवार्यरुपमा निश्चित मापदण्डमा रुखहरु लगाउने नियम बनाउने, भएको वन जोगाउने, सकभर बर्षाको पानीलाई संकलन गरेर चलाउने, शहरका घरहरुमा आकासे पानीलाई जम्मा गर्नेखालको घर बनाउँदा सहुलियत दिने, गाउँमा चौपाया, बन्यजन्तु र बच्चाहरुलाई हानी नहुने गरी ठूला ठूला बाँधहरु बनाएर पानीलाई संगाल्ने र अभावका बेलामा प्रयोगमा ल्याएर पानीको सक्दो सदुपयोग गर्नुपर्छ ।
त्यसैले सरकारी पक्ष, वातावरणविद अनि सामान्य जनताले पनि यो गहन विषयलाई गम्भीरतापूर्वक लिएर भविश्यमा आउने पानीको हाहाकारबाट हाम्रा सन्ततिलाई बचाउन अहिले नै आवश्यक कदम चाल्नु अपरिहार्य भएको छ ।
प्रतिक्रिया 4