+
+

पठाओमा आवद्ध नहुन ट्याक्सी व्यवसायीलाई आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:१४

२४ साउन, काठमाडौं । चर्चित राइड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा थालेको छ ।

तर, यसै दिन ट्याक्सी व्यवसायीको छाता संगठनले पठाओमा आवद्ध नहुन चालक तथा व्यवसायीलाई आह्वान गरेको छ ।
पठाओले करिब तीन सय ट्याक्सीमार्फत सेवा दिन थालेलगत्तै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पठाओमा आवद्ध नहुन आह्वान गरेको हो ।

समाजका केन्द्रीय सदस्य विष्णु चौहानले पठाओले गैरकानूनी तवरले निजी सवारीमार्फत सेवा दिइरहेकाले ट्याक्सी व्यवसायीलाई त्यसमा आवद्ध नहुने आग्रह गरिएको बताए ।

‘प्रविधिमा ट्याक्सी सेवा दिनुसँग हाम्रो आपत्ति हैन, तर नेपालमा कर छलीको मुद्दामा परेको बंगलादेशी कम्पनीले गैरकानूनी रुपमा निजी सवारीमा यात्रा बोकिरहेको छ,’ उनले भने, ‘यस्तो व्यवसायिक अराजकता गर्ने कम्पनीसँग ट्याक्सी व्यवसायी जोडिनु हुँदैन ।’

ट्याक्सी व्यवसायीले टुटल र पठाओ जस्ता कम्पनीले विगतदेखि नै निजी सवारीमार्फत यात्रु बोकेको भन्दै त्यसलाई गैरकानूनी भन्दै आएका छन् । हालको यातायात व्यवस्था ऐनले कालो नम्बर प्लेटका सवारीले मात्रै यस्तो सेवा दिन पाउने भन्दै उनीहरुले गैरकानूनी सेवा बन्द गराउन सरकारसाग आग्रह गर्दै आएका छौं ।

‘हामीले यातायात मन्त्रीलाई नै ज्ञापनपत्र दिएका छौं । उहाँले पनि यो सेवा गैरहकानूनी हो भन्नुभएको छ,’ चौहान भन्छन्,‘तर, सेवा बन्द गराउने आँट कसैको देखिएन ।’

समाज यही विषयलाई उठाएर पठाओविरुद्ध अदालतमा जाने तयारीमा छ । भोलि बस्ने समाजको बैठकले पठाओविरुद्ध कानूनी लडाइँ लड्ने गरी निर्णय गर्ने चौहानले जानकारी दिए ।

ट्याक्सी व्यवसायीले पठाओले सेवा शुल्कका नाममा मिटरमा उठ्ने भन्दा सय रुपैयाँ बढी शुल्क लिन थालेकोप्रति पनि आपत्ति जनाएका छन् । बजारमा आएका सारथी लगायत एपहरुले ट्याक्स बुकिङ गर्दा सरकारले तोकेको भाडाबाहेक सेवा शुल्क नलिएको एक ट्याक्सी व्यवसायीले बताए ।

‘पठाओले सेवा शुलक भन्दै ठग्न सुरु गरिरहेको छ,’ उनले भने, ‘यसका विरुद्ध पनि उपभोक्ताले आवाज उठाउनुपर्छ ।’

पठाओले २०७५ कात्तिकबाट नेपालमा सेवा सुरु गरेको थियो । चालकले मोबाइल डाटाबाट एप चलाउन फोन गर्न र बोलाएको ठाउँमा पुग्न लाग्ने लागत उठ्ने गरी यो शुल्क लिएको तर्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?