
संसदमा विश्वासको मत पाएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका साथीहरुले टेबल ठोक्दा निस्केको आवाजले कांग्रेसका साथीहरुको मुटुको धड्कन बढ्ने अवस्था थियो । एकातिर भयको वातावरण थियो, अर्कोतिर प्रधानमन्त्रीप्रतिको चरम विश्वास पनि थियो ।
त्यही दिन प्रधानमन्त्रीलाई सुझावका रुपमा केही कुरा राखिसकेपछि हलबाट बाहिर निस्कँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट भयो । मैले उहाँलाई अभिवादन गरेँ । उहाँ सामान्यतया अभिवादन फर्काउनुहुन्न, तर त्यो दिन फर्काउनुभयो र अलि पर पुगेर फर्किएर आउनुभयो । मेरो हात समातेर विस्त्ाारै हात कोट्याएर सुस्तरी सासले भन्नुभयो-‘तपाईंले आज राम्रो बोल्नुभयो ।’
प्रतिपक्षी दलको सांसदले संसदमा उभिएर बोलेको कुरा ठीक थियो भन्न पनि डर हुने अवस्था थियो त्यसबेला ।
तर, हामीले हेर्दाहेर्दै ५/६ महिनाभित्रमा स्वयं प्रध्ाानमन्त्रीले संसदमा आएर बोल्दा उहाँको समर्थनमा टेबल ठोक्ने सांसदहरुको संख्या घट्दै गयो र अलि पछि आवाज सुन्न पनि छाडियो ।
कुनै पनि पार्टीको आफ्नो इतिहास, विचार, कार्यक्रम र लक्ष्य हुन्छ । एमाले र माओवादीका बीचमा बषार्ंै छलफल भएर यो पार्टीको लक्ष्य यसरी किटान गरेर जाउँ भनेर बनेको पार्टी होइन नेकपा ।
कांग्रेस र माओवादी मिलेर लडेको भरतपुरको चुनावपछि माओवादीलाई लाग्यो- कांग्रेसका मतदाता जब्बर रहेछन् । रुखभन्दा तलमाथि भोट हाल्न सितिमिति सजिलो रहेनछ ।
एमालेले बुझ्यो- कांग्रेस र माओवादी मिलेर चुनाव लडे भने स्थानीय चुनावका आधारमा देशभरिमा एमालेले प्राप्त गर्ने सिट ९ मात्रै हुन्थ्यो । माओवादीका अध्यक्ष प्रचण्ड आफैंलाई निर्वाचन हार्ने डर, केपी ओलीलाई प्रधानमन्त्री हुन नपाउँला कि भन्ने डर । डराएका दुई मानिसहरु एक ठाउँमा बसे । रातारात मुठ्ठी कसेर पार्टी एक बनाए । त्यहाँ कुनै सिद्धान्तको कुरा थिएन । कुनै विचार र कार्यक्रम थिएन ।
माओकी श्रीमतीलाईकसरी हेर्ने भनेर फुट्ने कम्युनिस्ट पार्टी, नेपालमा चुनाव जितेको डेढ बर्षपछि बल्ल हाम्रो सिद्धान्त के हुन्छ भनेर खोजी गर्दैछ । यो सबै कुराले देखाउँछ कि नेकपा डरले गर्दा बन्यो, अंकगणितका कारणले बन्यो ।
यो पृष्ठभूमिबाट आएको हुनाले स्वभाविकरुपमा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको सरकार संख्याको आधारमा बलियो थियो । तर, विचारका आधारमा अस्पष्ट थियो । त्यसैले काम गर्न सकेन । काम गर्न नसकेपछि एकपछि अर्को गल्ती गर्दै गइरहेको छ ।
सरकारका गल्तीका क्षेत्रहरु
१. संविधानले सरकार, संसद, न्यायपालिकाको क्षेत्राधिकार तोकिदिएको छ । तर, यो सरकारले मानेन । प्रधानन्यायाधीशलाई निरन्तर तरबार झुण्ड्याएर तर्साएको छ । दायाँ-वायाँ गरिस् भने मसँग दुई तिहाई बहुमत छ ।
एकपछि अर्को संवैधानिक आयोगलाई कमजोर बनाएको छ । संसदलाई सरकारले आफ्नो छायाँजस्तो गरी चलाउन खोजेको छ । सभामुखले नलजाइकन भन्नुभएको छ- प्रधानमन्त्रीको आदेश मैले पालन गरिरहेको छु ।
२. विधिको शासन र विधिबाट शासन फरक कुरा हुन् । विधिको शासन भनेको सरकारले कानुन बनाउन सक्छ संसदबाट । तर, कानुन बनाउँदै गर्दा संविधानका आधारभूत मूल्य र मान्यताहरुलाई भत्काउने गरी काम गर्न पाउँदैन । तर, अहिले हेर्नुभयो भने संसदमा एकपछि अर्को कानुन त्यसअनुरुप आइरहेका छैनन् ।
संसदमा विचाराधीन सूचना प्रविधि विधेयक सरकार बहुमतबाट यो विधेयक पारित गराउन चाहन्छ । स्वयं प्रचण्डजीको अभिव्यक्ति आएको छ- सामाजिक सञ्जाल देखेपछि मलाई छाती पोलेर आउँछ । यस्ता अभिव्यक्तिबाट एउटा पृष्ठभूमि तयार पारिँदैछ र सामाजिक सञ्जाल अथवा अभिव्यक्तिको स्वतन्त्रतालाई कन्ट्रोल गर्ने कानुन संसदमा पुर्याइएको छ । मिडिया काउन्सिल विधेयक त्यसै गरी अगाडि बढाइएको छ ।
यति मात्रै होइन, तपाइले कमाएको सम्पति छोराछोरीलाई र छोराछोरीबाट नाति नातिनामा पुग्नेबेलासम्म सरकारले लगाउने करबाट त्यो सम्पत्ति राख्ने वा नराख्ने अर्थात बराबर हुने ठाउँमा पुर्याउने गरी कानुन बनाउने तयारी भइरहेको छ । यस्ता दर्जनौं कानुनहरु छन् । यी सबै कानुनहरु सरकार अहिले संसदबाट बहुमतका आधारमा पारित गराउन चाहन्छ ।
यसलाई रोक्ने काम कांग्रेसका प्रतिनिधिहरुको हो । कांग्रेसका प्रतिनिधिहरुलाई निर्वाचित गरेर जनताले पठाएको संसदभित्र बसेर थपडी बजाउनका निम्ति होइन । प्रतिपक्ष भनेको पनि आफैंमा एउटा जिम्मेवारी हो । प्रतिपक्षको काम प्रश्न गर्ने हो । झक्झकाउने हो । कतिपय अवस्थामा दबाव सिर्जना गर्ने हो । सही निर्णयका लागि प्रभावित गर्ने हो । कतिपय सन्दर्भमा प्रतिरोध गर्ने हो । प्रतिपक्षीले यो काम सही ढङ्गले गर्न सकेन भने सरकारले पनि काम सही ढङ्गले गर्न सक्दैन । यो जिम्मेवारी हामीले संसदभित्र निर्वाह गर्ने प्रयास गरिरहेका छौं ।
प्रधानमन्त्रीले लगातार भन्नुभयो- मन्त्रीहरुको काम मलाई चित्त बुझेन । उहाँले भन्नुभयो मन्त्रीहरुको जाँच लिँदै गर्दा जस्ट पास हुनुभयो । तर, संसदमा उभिएर मैले भनेँ- तपाईंले मन्त्रीको मूल्याङ्कन गर्नुभयो । तर, नागरिकको तर्फबाट हामी तपाईंको मूल्यांकन गछौैर्ं । तपाईंको मूल्याङ्कनमा मन्त्रीहरु जस्ट पास भए होलान्, तपाईं त जस्ट पासभन्दा पनि धेरै तल फेल हुनुभएको छ ।
यदि हामीले दबाव नबनाउने, प्रश्न नगर्ने र कतिपय सन्दर्भमा प्रतिरोध नगर्ने हो भने, हामीले हेर्दाहेर्दै अर्को राजनीतिक दुर्घटना हुन सक्छ ।
राजाका विरुद्ध हामी राजनीतिक अधिकार, जनताको अधिकार प्रयोग गर्न पाएनौं भनेर लड्यौं । हिजो कानुन थिएन तर, अब संसदबाट एकपछि अर्को कानुन बनाएर राणाका पालाको जस्तो, पञ्चायतको पालाको जस्तो स्थिति सिर्जना गर्न खोजिँदैछ ।
चितवनको पछिल्लो घटना हेर्नुस् । व्यक्ति को हो, कताको हो, छोडिदिनस् । त्यो व्यक्तिको विचारसँग सहमत वा असहमत हुने छोडिदिनुस् । तर, एउटा नेपाली नागरिक नेपालको एउटा ठाउँमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित मानिसहरुको आहृवानमा दिनदहाडै उसको ज्यान लिने गरी जाइलाग्छन् र ती पार्टीका कार्यकर्ताहरु विज्ञप्ति निकाल्छन्- जेे भयो ठीक भयो भनेर ।
यत्रो पुस्ता राजासँग, राणासँग लडेको केका लागि ? त्यही आफ्नो स्वतन्त्रताका लागि हो । आज त्यो स्वतन्त्रता कानुन बनाएर, सरकारमा बसेर खोसिँदैछ । अधिनायकवाद पहिलाकोजस्तो बन्दुक लिएर आउँदैन । अहिलेका तानाशाहहरु बाजा बजाएर बन्दुक लिएर आउँदैनन् । चुनावबाट आउँछन्, सरकार बनाउँछन् । कानुन बनाउँछन् र एकपछि अर्को स्वतन्त्रता खोसेर लैजान्छन् । बोल्ने स्वतन्त्रता, सम्पतिको हक, सांस्कृतिक हक, गुठीको अधिकार भत्काउने ।
अब विस्तारै यो गलत भयो भन्नेलाई चितवनमा गरेको जस्तै गर्न थाल्छ । चितवनको घटना सरकार फासिस्ट हुन लागेको संकेत हो ।
योबेला मेरो प्राथमिकतामा मैले गर्ने कामहरुमध्ये सबैभन्दा ठूलो काम नेपाललाई अर्को एउटा ठूलो राजनीतिक दुर्घटनाको नियति बेहोर्ने ठाउँमा पुग्न नदिने हो । २०१५ सालमा जननायक वीपी कोइरालाको पुस्ताले १८/१९ महिना सरकार चलाएका बेलामा राजाको महत्वकांक्षा थिएन, पञ्चायत आएको थिएन भने आज के हुन्थ्यो ? आज नेपालमा संवैधानिक राजसंस्थ्ाा पनि रहन्थ्यो । केही फरक पर्दैनथ्यो । तर, नेपालमा ६० बर्ष लामो संसदीय प्रजातन्त्रको अभ्यासले हामीसँग हुने संस्थाहरु बलिया हुन्थे । सुशासन, सुशासनले हुने प्रतिफल र परिणाम अनि त्यसका आधारमा नेपाल अर्को चरणमा पुगिसकेको हुन्थ्यो । ३० बर्ष हाम्रो खेर गयो । ०४६ सालदेखि ०७६ सालसम्म अर्को ३० बर्ष पनि खेर गयो ।
मेरा बुबाको पुस्ता, जसले पञ्चायतको त्योबेलाको कष्ट देख्यो । त्योबेला नेपालको परिचय जे थियो, ०४६ सालमा मैले जनआन्दोलन सफल भएको देख्दै गर्दा एउटा फरक सन्दर्भ देखेँ । तर, नेपालको हालत धेरै बदलिएन । अहिले मेरा साना-साना दुईजना छोरीहरु हुर्कँदै गरेको देख्दा पनि बुबाको हालत त्यस्तै छ । अर्को एउटा राजनीतिक दुर्घटनामा नेपाल पर्यो भने हाम्रा छोराछोरीको पुस्त्ाा पनि त्यहीँभित्र गएर सकिन्छ ।
त्यसकारण, हाम्रो दुश्मन नेकपा होइन । हाम्रो दुश्मन कोही पनि छैन । दुश्मन छ भने नेपालको गरिबी र अविकास हो । नेकपालाई निशेध गर्ने होइन । हिजो प्रचण्डले भन्नुभयो- अबको एक बर्षमा नेपालमा कम्युनिस्ट पार्टीमात्र रहेको अवस्थ्ाा बनाउँछु । हामी त्यो चाहँदैनौं । नेकपा रहोस् ।
एमालेसँग केही गुण थियो । माओवादीसँग केही गुण थियो । एमाले र माओवादी मिलिसकेपछि अलि-अलि प्रजातान्त्रिक विचारमा प्रशिक्षित भएर आउला, एमालेले माओवादीलाई त्यो कुरा सिकाउला, समावेशी लगायतका यावत कुरामा माओवादीले एमालेेलाई सिकाउला भन्ने अपेक्षा थियो ।
तर, एमालेबाट सिक्दै नसिक्नुपर्ने कुराहरु माओवादीले सिक्यो, माओवादीबाट सिक्नै नहुने कुरा एमालेले सिक्यो । अब यो पार्टीसँग बाँकी के रहृयो ?
नेकपा समावेशी लगायतका विषयहरुमा पहिलेको एमालेजस्तो भएको छ । सत्ता कब्जा गर्ने कुरामा एमाले हिजोको माओवादीजस्तो भएको छ । र, नेकपा एकपछि अर्को कानुन बनाएर सरकार होइन, सत्ता निर्माण गर्न खोज्दैछ । त्यो रोक्ने काम हाम्रो हो ।
हाम्रा पार्टीका नेताहरुले पटक-पटक भन्नुहुन्छ-२०७९ सालको निर्वाचन जित्नुपर्छ । ०७९ सालको निर्वाचन जित्ने हो तर, ०७९ सालको निर्वाचन जित्नुभन्दा पहिला निर्वाचन हुने सुनिश्चित गर्नुपर्ने छ । निर्वाचनमात्र पनि होइन, निर्वाचनलाई निर्वाचन जस्तो बनाउने कुरा पनि सुनिश्चित गर्नुपर्ने छ ।
धेरै परको उदाहरण दिनुपर्दैन । ०५४ सालमा वामदेव गौतमले गराउनुभएको स्थानीय निर्वाचन देखेर, भोगेर आएका छौं । त्यसकारण निर्वाचन हुँदा निर्वाचनलाई निर्वाचनजस्तो गराउनुपर्ने अवस्था छ । यसका निम्ति काम गर्नुपर्ने छ । यसमा सिंगो देशभरका कांग्रेसहरु लाग्नुपर्ने छ ।
(दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
प्रतिक्रिया 4