+
+

धर्मभक्त माथेमाको पूर्ण कदको शालिकसहित पार्क बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते १५:५८

१४ असोज, काठमाडौं । शहीद धर्मभक्त माथेमाको पुर्ख्याैली घर नजिकै उनको पूर्ण कदको शालिकसहित पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ स्थित ओमबहालमा मंगलबार मेयर विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरेका छन् ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नै यस्तो पार्क निर्माण गर्ने उल्लेख थियो । सोहीअनुसार नै महानगरले मंगलबारदेखि निर्माण सुरु गरेको हो । त्यहाँका स्थानीयको करिब ४० वर्षको अथक प्रयासपछि २०६८ सालमा सर्वोच्चले सार्वजनिक जाग्गा भनी फैसला गरेको थियो । त्यसबाट उत्साहित बनेका स्थानीय आज त्यही जग्गामा शहीद माथेमाको पूर्णकदको शलिक निर्माण हुने भएपछि थप उत्साहित देखिएका हुन् ।

काठमाडौँ महानगरपालिकाको ७९ लाख ३८ हजार ७ सय ७८ रुपैँया अनुदानमा निर्माण हुन लागेको सो पार्क र शालिकको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गा संरक्षण अभियानमा निरन्तर लागेको बताए । साथै उनले सहिदको सम्झनामा शालिक र पार्क निर्माणको काम अघि बढाउन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा उपस्थित धर्मभक्तका भतिजा डा. केदारभक्त माथेमातिर संकेत गर्दै मेयर शाक्यले भने, ‘हामी सहिदको सम्मानमा कुनै कसर राख्दैनौँ । यहाँ पनि धर्मभक्तको शालिक र पार्क निर्माण गर्दा तपाईँहरुले भने अनुसारकै डिजाइनमा महानगरपालिका अघि बढ्छ ।’

मेयर शाक्यले गंगालाल, पद्मरत्न तुलाधरलगायतको शालिक निर्माणमा पनि उनको परिवारसँग सल्लाह गरिने बताए ।

‘गंगालाल, धर्मभक्तलगायतका शहीद हाम्रा आदर्श हुन् । उनीहरुको सम्झनाका लागि हामी सबैको योगदान आवश्यक छ,’ शाक्यले भने, ‘बुढानिलकण्ठमा महानगरपालिकाकै सहयोगमा धर्मभक्त माथेमा मानव सेवा आश्रम बनाउने प्रयासको समेत थालनी भएको छ । हामी अन्य ठाउँमा पनि यस्तो कार्यलाई निरन्तरता दिन्छौँ ।’

शाक्यले राजनीतिक पूर्वाग्रह राखेर मेयरलाई असफल बनाउने भन्दै केही व्यक्ति लागेको गुनासो गरे उनले भने, ‘उहाँहरुले मलाई असफल बनाउने भन्नु भनेको महानगर असफल हुनु हो, महानगर असफल भयो भने महानगरवासी हामी कसरी सफल हुन्छौँ ?’ उनले राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर काम गर्न पनि आग्रह गरे ।

लठ्ठी टकेकेर कार्यक्रम स्थलमा आइपुगेका प्रथम उपमेयर एवं पूर्व निर्माण तथा यातायातमन्त्री प्रयागराजसिंह सुवालले पनि यंगालमा धर्मभक्त माथेमा पार्क बन्ने कुराले निकै उत्साहित भएको बताए ।

‘शुक्रराजलाई झुण्ड्याएको प्रत्यक्ष देख्ने मध्येको एक म पनि हुँ,’ १९९७ सालतिर घटनालाई सम्झँदै सुवालले भने, ‘त्यतिबेला शुक्रराजका पिताले शुक्रराजलाई झुण्ड्याउन ठिक्क पार्दा ‘क्या वात वेटा’ भनेको शब्द अहिले पनि मेरो कानमा ठोक्किरहेको छ । म त्यतिबेलादेखि नै उनीहरुको विचार वोकेर हिँडेको हुँ । अहिले मेरै टोलका दाई धर्मभक्तको सम्झनामा उनको पूर्णकदको शालिक बन्ने र पार्क निर्माण गर्ने कुराले उत्साहित भएको छु ।’

व्यक्तिले कब्जा गरेको जग्गालाई लामो संघर्षपछि सार्वजनिक जग्गा बनाउन सफल भएको स्मरण गर्दै उनले त्यहि जग्गामा महानगरपालिकाले धर्मभक्तको शालिक र पार्क बनाउन लागेकोमा खुशी व्यक्त गरे ।

धर्मभक्त माथेमाका भतिज डा. केदारभक्त माथेमाले शालिक निर्माणस्थलबाट पारीपट्टी काँचो इट्टाले बनेको पुरानो घर देखाउँदै भने- ‘ऊ त्यो र त्यस आसपासका हाम्रा पुख्र्यौली घर हुन् । शालिक र पार्क निर्माण गर्ने कुराल हाम्रो परिवार र टोलवासी समेत खुशी भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?