
२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘तिमी’ सम्बोधन गर्ने अखबारी लेखनलाई कटाक्ष गर्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन, तिमी भन्दामाथि उठ्दैन ।’
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘सानालाई तिमी र ठूलालाई तपाईं भन्नु स्वाभाविक हो ।’
प्रधानमन्त्रीले भनेजस्तै केही वर्षयता अधिकांश सञ्चार माध्यमको सम्बोधनशैली तिमी नै छ । अब यस्तै लेखौं भनेर निर्णय गरेको नभए पनि यो शैली करिब–करिब स्थापित भइसकेको सम्वद्धहरू बताउँछन् ।
‘गरिबक्स्यो, गर्नुभयो, गर्यो’ लेख्दै आएका पत्रकारहरूले ‘गरे’ भनेर किन लेख्न थाले त ? यो प्रश्न आमसञ्चार र पत्रकारिताका प्राध्यापक पी खरेल, भाषाको प्रयोगसम्बन्धी विभिन्न पुस्तकका लेखक शरच्चन्द्र वस्ती र नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाई हामीले सोेधेका छौं ।
तिमी स्थापित भइसक्यो
पी. खरेल (प्राध्यापक)
शुरुमा आफ्नै कुरा गर्छु । चार दशक लामो करिअरमा नौ–दशवटा संस्थामा आवद्ध भएर काम गरेँ । आफूभन्दा जुनियर थुप्रै सहकर्मीहरूसँग काम गरेको छु । तर, अहिलेसम्म मैले जम्मा चारजनालाई ‘तिमी’ भनेको छु । बाँकी सबैलाई ‘तपाईं’ नै भनें ।
प्रधानमन्त्रीको भनाइको आशय सञ्चार माध्यमले ‘तिमी’ को सट्टा ‘तपाई/हजुर’ भनेर सम्बोधन गर्नुपर्छ भन्ने देखिन्छ । तर, उहाँले यो आमजनताको सन्दर्भमा भन्न खोज्नुभएको होइन । प्रधानमन्त्रीज्यूको आपत्ति जनतालाई तिमी भनेकोमा नभई महत्वपूर्ण पदमा भएका व्यक्तिको सन्दर्भमा हो ।
सञ्चार माध्यमले तिमी लेख्नुहुँदैन भन्ने उहाँको निश्कर्ष हो भने यो कुरालाई लिएर प्रेस काउन्सिलमा जानुपर्ने हुन्छ । प्रेस काउन्सिलकै कतिपय पदाधिकारीले सञ्चालन गरेका पत्रपत्रिका पनि एकपटक नियाल्दा हुन्छ ।
उदाहरणका लागि पूर्वराजालाई पनि ‘थिए’ नै लेखेको देखिन्छ । मूलधारका सञ्चार माध्यमले ‘तिमी’ भन्ने सम्बोधन चलाएको १३ वर्ष जति भयो होला । अब यो सम्बोधन स्वीकार्य भइसकेको छ । कुरा यत्ति हो, एकरुपता चाहिन्छ । कसैलाई हजुर, कसैलाई तिमी, तँ लेख्न मिल्दैन ।
तिमीमा आपत्ति जनाउनुपर्ने कारण छैन
राजेन्द्र दाहाल, सम्पादक, शिक्षक मासिक
हामी एकदमै माया गर्नेलाई तँ भन्छौं । अर्थात माया गरेर भनिएको छ भने तँ भन्दा पनि अपमान हुँदैन । कहिलेकाँही भनिबक्सियो, गरिबक्सियो भन्दा पनि खिल्ली उडाएको हुन्छ ।
यसको अर्थ शब्द के प्रयोग गर्यो भन्दा पनि कुन अवस्थामा प्रयोग गरिएको हो भन्ने कुरा महत्वपूर्ण हुँदो रहेछ । भावले शब्दको अर्थ लगाउँदो रहेछ ।
गरे, गर्यो, गर्नुभयो सबै नेपाली भाषाकै कृयापद हुन् । ती हाम्रै सम्पत्ति हुन् । तर, सञ्चार माध्यमले कसैलाई तिमी र कसैलाई तपाईं, हजुर भन्न मिल्दैन ।
कसैले निर्णय गरेर अबदेखि तिमी लेख्नै है भनेको पनि होइन । एकरुपता कायम गर्न यसो गरिएको हो । यो सम्पादकहरूको रोजाइ हो । यसमा अरुले चित्त नदुखाए हुन्छ । एकरुपता कायम भएको छ भने आपत्ति जनाउनुपर्दैन ।
‘टप फाइभ’लाई तपाईं चलाउने कि ?
शरच्चन्द्र वस्ती (भाषाविद)
तिमी लेख्ने चलन एकरुपता होस् भनेरै चलाइएको हो । कसलाई हजुर लेख्ने, कसलाई तपार्इं वा तिमी लेख्ने भनेर छुट्याउन गाह्रो हुन्छ भनेर पनि यो शैली अपनाइएको हो ।
यसमा थोरै प्रेरणा अंग्रेजी ‘यु’ को पनि छ । उनीहरूले साह्रै मन नपर्ने र खुट्टा मै ढोग्न मन लागेको मान्छेलाई पनि ‘यु’ नै चलाउँछन् ।
अंग्रेजीमा तपाईं, हजुर जस्ता शब्द नभएर पो एउटै शब्द चलाएको पो हो कि भन्ने बिर्सेका छौं । हामीले हाम्रो भाषा समृद्ध हुँदाहुँदै त्यसो गरिरहेका छौं कि ? हाम्रो समाजमा ठूलालाई तपाईं, हजुर र सानालाई तँ वा तिमी भन्ने चलन छ ।
पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । यदि त्यसो हो भने पत्रपत्रिकामा समाज त प्रतिविम्वित हुनु पर्यो नि । पत्रकारितामा एबीसी (एक्युरेट, ब्यालेन्स र क्रेडिबल) अनिवार्य मानिन्छ । समाजमा जे छ, त्यो सञ्चार माध्यममा आएन भने त त्यो एक्युरेट पनि भएन होला ।
बक्सियोस्, हजुर जस्ता शब्दको प्रयोग कम हुँदै गएको छ । मेरो विचारमा तपाईं र तिमी प्रयोग गर्दा ठीक हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत ‘टप फाइभ’ लाई तपाईं चलाउने कि ?
प्रतिक्रिया 4