+
+

२२ सय मिटरको उचाइमा डीप बोरिङ, नागरिक खुसी

रामहरि ओझा रामहरि ओझा
२०७६ कात्तिक २५ गते १८:३४

२५ कात्तिक, डोटी । बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा होटेल व्यवसाय गर्दै आएका खड्कबहादुर मन्नी घरमै पानीको धारा पाएपछि खुशी छन् ।

वर्षैदेखि पानी बोक्दै होटेल चलाउँदै आएका उनी अचेल थोरबहुत तरकारीसमेत लगाउने गर्छन् । ‘धेरै दुःख गरियो, बिहानै उठेर खाली ग्यालेन डोकोमा बोक्दै धारामा पुग्नु पर्ने, उता पनि पालो कुर्नु पर्ने अनि उकालोमा बोकेर आउनु पर्ने,’ पुरानादिन सम्झदै उनी भन्छन्, ‘अबअलि सुख्ख भएको छ ।’

उनको जस्तै भोगाइ छ स्थानीयवासी प्रेमबहादुर घर्तीमगरको । ‘पानीबोकेर, लुगाफाटो धुनु पर्ने, शौचालयका लागि, बस्तुभाउका लागि सधैं पानी बोकेरै पुर्‍याउनु पर्ने अवस्था थियो,’ घर्तीमगर भन्छन्, ‘गाउँपालिकाले जमीनबाट पानी निकालेदेखि त्यो समस्या छैन ।’

मन्नी र घर्तीमगर मात्रै होइन, खानेपानीमा सहज पहुँच भएपछि स्थानीयहरु खुशी भएका छन् । पानीकै कारण टाढाको धारामापालो कुर्दाकुर्दै झगडासमेत हुने गरेको सम्झिन्छिन् एक स्थानीय महिला । उनी भन्छिन्, ‘मेरो पालो मेरो पालो भन्दै धारामै झगडा हुन्थ्यो, कतिदिन त कुटाकुटै हुने अवस्था आयो ।’

उकालोमा डोकोमा ग्यालेन र ग्यालेनमाथि बच्चासमेत बोकेर ल्याएको उनी सम्झिन्छिन् । भन्छिन् , ‘बाध्यता भएपछि सबै काम गर्न सकिने रहेछ ।’ उनी ती दिन फेरि फर्केर नआउन भन्ने चाहन्छिन् । त्यसैले गाउँपालिकालाई आग्रह गर्छिन्, ‘दुईचार दिनका लागि मात्रै होइन, योजना सधैंभरी चल्ने बनाउनुहोस् ।’

गाउँपालिका केन्द्रमै पानीको समस्या भएपछि गाउँपालिकाले समाधानको बाटो खोज्न थाल्यो । न त वरपर कतै मुहान छ, दुई हजार दुई सय मिटरको उचाइमा न त कतैबाट पानी ल्याउन नै सकिन्छ । ‘पानीको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा हामीले धेरै अध्ययन गर्‍यौं,’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेय भन्छन्, ‘अन्तमा जमीन भित्रबाट पानी तान्न सकिने प्रबिधिको विषयमा सोधी खोजी गर्‍यौं ।’

गाउँपालिकाले एलबी ड्रिलिङ्ग कम्पनीसँग सम्झौता गरेर पानी निकाल्न जिम्मा दियो । एलबी कम्पनीले दुई सय आठ मिटर ड्रिल गरेर पानी निकाल्यो । जमीन भित्रबाट पानी निकाल्ने भन्दा हासोको पात्र भएको थियो गाउँपालिका । तराईमा हेण्डपम्प देखेका स्थानीयहरु यति उचाइमा जमीनमुनिबाट पानी आउँछ भन्ने विश्वासै गर्दैन्थे । तर, पानी आएपछि उनीहरु खुशीभए ।

‘बोरिङका लागि ३७ लाख खर्च भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने, ‘मोटर, सौर्य ऊर्जा पाइप, प्लाष्टिक टंकी आदिमा थप १० लाख गरी करिव ४७ लाखमा योजना बनेको छ ।’

पानी निकाल्ने काम उपभोक्ता समितिमार्फत गराउनु पर्ने भन्दै स्थानीयबाट दबाब आएको भए पनि गाउँपालिकाले ठेक्कामै दिने निर्णय गर्‍यो । ‘उपभोक्ता समितिलाई दिएको भए यही काम ७०/८० लाखको हुन्थ्यो,’ पाण्डेयले भने, ‘त्यसैमा पनि गुणस्तरीय काम हुन्छ भन्ने ग्यारेण्टी थिएन ।’ अहिलेको काम गुणस्तरीय भएको उनको दावी छ ।

‘हामीलाई आवश्यकताभन्दा बढी पानी आइरहेको छ’ पाण्डेयले भने, ‘अब ५० हजार लिटरको टंकी बनाउने र गाउँपालिका सदरमुकामका साथसाथै पानीको समस्या भएको छैन, पाल्च्यूरी, चिन्ने र काउले गाउँहरुमा पनि यसै योजनाबाट पानी वितरण गर्छौं ।’ पानीको प्रयोगशाला परीक्षण गर्दा गुणस्तर राम्रो पाइएको उनी बताउँछन् ।

पाण्डेयलाई यो योजनाको आयु कति हुन्छ भन्ने जानकारी छैन । तर, उनले सुनेका छन् यो योजना करिब १५/२० वर्षसम्म चल्छ । हाल नेपाल प्रहरीको खड्यौली अस्थायी पोष्टलाई पानीको व्यवस्थापनको जिम्मा दिइएको पाण्डेयले बताए ।

उक्त योजनाबाट प्रति सेकेण्ड तीन लिटरसम्म पानी तान्न सकिने निर्माता कम्पनी एलबी डि्रलिङ्गका प्रतिनिधि दिनेश भट्ट बताउँछन् । उनी भन्छन्, ‘हामीले भु-गर्भविद्हरुले गरेको अध्ययनका आधारमा डि्रलिङ्ग गर्ने हो, उहाँहरुको प्रतिवेदनले त्यही कुरा देखाउँछ ।’

डीटीएच प्रविधिको प्रयोग गरी उक्त योजना निर्माण गरिएको भट्टले भने । तराईका जिल्लाहरुमा यो योजनाको आयू ५० वर्षसम्म पनि रहेको पाइएको तर पहाडमा कति हुन्छ भन्ने कुरा थाह नभएको भट्ट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?