
२५ कात्तिक, वीरगञ्ज । नक्कली भ्याट बिल प्रयोग गरी १ करोड १५ लाख भन्दा बढी कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान गरिएको छ । आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगञ्जले जानकी ट्रेडर्सका प्रोप्राईटर दिपेन्द्र पासवानलाई जेल चलान गरेको हो । ट्रेडर्स मार्फत उनले वीरगञ्जको माईस्थानमा ग्याँस सिलिण्डरको पाटपूर्जा सम्बन्धी कारोबार गर्दै आएका थिए ।
नक्कली भ्याट बिल प्रयोग गरी मुल्य अभिवृद्धि कर (भ्याट) छली गरेको प्रमाणको आधारमा पासवानलाई जेल चलान गरिएको कार्यालयले जनाएको छ । फर्मले आर्थिक वर्ष ०७३/७४ देखि ०७५/७६ ममा विभिन्न चार वटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली गरेको, ०७१/०७२ र ०७२/७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर खरिद पुष्टि गर्ने बिजक प्रमाण पेश गर्न सकेका थिएनन् ।
गलत विवरण पेश गरी कर छली गरेकोले ०७१/७२ देखि ०७५/७६ सम्मको कारोबारको कर ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ, त्यति नै जरीवाना, १० लाख ७७ हजार ७ सय ९३ थप दस्तुर र ब्याज १६ लाख १२ हजार ७ सय ५८ रुपैयाँ गरी कार्यालयले १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ कर निर्धारण गरिएको थियो । कार्यालयले माग गरे बमोजिमको रकम तिर्न नसकेपछि उनी जेल गएका हुन् ।
कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले मागे बमोजिमको रकम बुझाउन नसकेपछि उनलाई सोमबार कारागार चलान गरिएको जानकारी दिए । ‘फर्मको कागजपत्र गम्भीरतापूर्वक अध्ययन गर्दा नक्कली भ्याट बिल प्रयोग गरेको देखियो, सोही आधारमा कात्तिक २२ गते १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ तिर्नुपर्ने फैसला गरिएको हो,’ उनले भने, ‘फैसला बमोजिम रकम भुक्तानी गर्न नसकेपछि फैसला सुनाएर आज जेल चलान गरेका छौं ।’
वार्षिक रुपमा आय विवरण पेश गर्दा नक्कली बिल खर्च दाबी गरी आयकर समेत छलेकोले आयकर, शुल्क, व्याज आयकर समेत गरी पासवानलाई २ करोड २० लाख आयकर समेत निर्धारण हुने कार्यालयले जनाएको छ ।
कसरी छलिन्छ भ्याट ?
उद्योगी व्यापारीले मालसमान/सेवा बिक्रि गर्दा १३ प्रतिशत करिदकर्ता वा उपभोक्ताबाट भ्याट उठाएका हुन्छन् । त्यो अवधिमा आफूले समान खरिद गरेको अवस्थामा सो समानको भ्याट घटाउन पाउने नियम छ । व्यापारीले आफूले बिक्रि गर्दा उठाएको कर छल्न विभिन्न तरिका अपनाउँछन् । कतिपयले वास्तविक भन्दा न्यून मुल्यको भ्याट बिल जारी गर्छन त कसैले नगद उधारो क्यास मेमो बिल, कुनै बिल बिजक नै जारी नगरेर बिक्रि कर छल्छन् ।
समान नै खरिद नगरी खरिद तर्फ नक्कली बिल देखाउने, बिना बिल जिक हचुवाको भरमा करको विवरण बुझाएर कर छली गर्ने गरेको पाईएको कर कार्यालयका अधिकारीहरु बताउँछन् ।
महिनावारी भ्याट विवरण बुझाउँदा बिक्रिको भ्याटबाट खरिदको भ्याट घटाई आउने कर तिर्नुपर्ने हुन्छ तर त्यसो नगरेर छल्न विभिन्न उपाय अपनाइन्छ ।
भन्सार मुल्यांकन नै कम मुल्यमा गराई समान आयात गर्ने, चोरी पैठारीबाट ल्याएको समानको खरिद बिक्री गर्ने करदाताले बिक्रीमा तिर्नुपर्ने भ्याट घटाउन वास्तविक मुल्य भन्दा न्युन मुल्यको भ्याट बिल जारी गर्ने गर्छन । त्यस्ता व्यक्ति तथा फर्मका बारेमा आन्तरिक राजश्व कार्यालयलले छानवीन गरिरहेको निमित्त प्रमुख डम्बर बहादुर गुरुङ बताउँछन् । यथार्थ कारोबार बमोजिमको बिलबिजक जारी गर्ने, बैंक मार्फत भुक्तानी गर्ने, बिल विजक लेखा कागजात पारदर्शी र दुरुस्त राख्ने करदाताले ढुक्क भएर काम गर्ने वातावरण निर्माण गर्न पनि नक्कली कारोबार गर्नेलाई कारबाही गर्नुपर्ने तर्क उनको छ ।
प्रतिक्रिया 4